सहरको कथा: पनौती
चारैतिर डाँडाहरू, बीचमा झुरूप्प बस्ती। टाढाबाट हेर्दा यस्तो लाग्छ, यो सहर पिपलको पातमा बसेको छ। दुई खोला (पुण्यमती र रोशी) को बीचमा रहेको यो सहर गोप्य ठाउँमा लुकाएर राखेको खजानाजस्तो छ।
यो सहर काठमाडौं उपत्यका हो पनि, होइन पनि।
यदि साँगा भञ्ज्याङलाई सीमा मान्ने हो भने यो काठमाडौं उपत्यकाभन्दा बाहिर पर्छ। तर बनेपा–धुलिखेललाई सीमा मान्ने हो भने यो उपत्यकाभित्रै पर्छ।
भित्र परोस् या बाहिर, यो काठमाडौं उपत्यकासँग सालनाल गाँसिएको प्राचीन नेवार बस्ती हो।
काठमाडौंबाट लगभग ३२ किलोमिटर टाढाको यो सहरलाई कुनै समय पूर्णमती भनिन्थ्यो। यसले हरेक कालखण्डमा आफ्नो नाम फेर्दै गयो। कहिले अश्मपुर भनियो, कहिले पुण्यवती। कहिले पाञ्चाल, कहिले पलाँती।
हिजोआज पनौती भनिन्छ।
यो त्यही सहरको कथा हो।
पनौती श्रृंखलाको पहिलो अंकमा आज म तपाईंहरूलाई यो सहरको उत्पत्ति र सभ्यता विकासको कथा सुनाउँछु। यसका दुई पक्ष छन्– इतिहास र किम्बदन्ती। इतिहासले तथ्यसँग साक्षात्कार गराउँदै हामीलाई वास्तविकताको नजिक पुर्याउँछ। किम्बदन्तीको धरातल अलि खुकुलो हुन्छ तर ती त्यसै बनेका हुँदैनन्। तिनमा पनि कतै न कतै वास्तविकताको झल्को हुन्छ।
सुरू गरौं, पनौतीको इतिहासबाट।
पनौतीको इतिहास पत्ता लगाउने उद्देश्यले विभिन्न समयमा यहाँका विभिन्न भू–भाग उत्खनन भएका छन्। इतिहासकार केदारनाथ प्रधानले 'बनेपाको ऐतिहासिक रूपरेखा' किताबमा पनौती र वरपरका क्षेत्रमा नवपाषाणकालीन अवशेषहरू फेला परेको उल्लेख गरेका छन्।
उनका अनुसार बल्थली, कुशादेवी, खोपासी लगायत स्थानमा ढुंगाद्वारा निर्मित प्राचीन हातहतियार फेला परेका थिए।
'त्रिभुज, कोदालो, हँसिया आकारका ढुंगे हतियार पाइएबाट पनौतीको अस्तित्व नवपाषाण युगमै रहेको प्रस्ट हुन्छ,' उनले लेखेका छन्।
प्रधानका अनुसार पनौतीको प्राचीन थलो पनौती नगरपालिका वडा नम्बर ४ मा पर्ने 'जेलाँदे' भन्ने ठाउँमा थियो। अहिले पनि त्यहाँ प्राचीन पाटी र घरहरूका अवशेष भेटिन्छन्। त्यहाँ उडुसले निकै दुःख दिन थालेपछि मान्छेहरू कोही पवित्र तीर्थस्थल त्रिवेणीमा बसाइँ सरे, कोही भक्तपुर गएर बस्न थाले।
यहाँबाट भक्तपुर गएका मानिसले आफ्नो जन्मथलोको स्मरणमा सूर्यमढी टोललाई जेलाँ वा जेनाटोल भनी सम्बोधन गर्न थालेको प्रधानको भनाइ छ।
पनौती किराँतकालीन सहर भएको विश्वास गरिन्छ। आसपासका स्थानहरू बनेपा, नाला, पलाञ्चोक, खोपासी, साँगा लगायत ठाउँमा क्रमशः भुजङ्ग, नालाङ्ग, पिराखचो, कुर्पासी, शाङ्गाजस्ता किराँतकालीन नामहरू प्रयोग भएका छन्।
यही आधारमा सूर्यप्रसाद लाकोजुले आफ्नो किताब 'पनौती' मा किराँतकालमै यहाँ ठूलो मानव बस्ती विकास भइसकेको लेखेका छन्। करिब साढे दई दशकदेखि पत्रकारिता गरिरहेका पनौतीका स्थानीय लाकोजु भन्छन्, 'किराँतकालीन शब्दहरू यहाँका विभिन्न ठाउँसँग जोडिएर आए पनि त्यस समयका अभिलेख फेला परेका छैनन्। बरू लिच्छविकालका यथेष्ट प्रमाण भेटिएका छन्।'
पनौतीमा रहेका ढुंगाका मूर्तिहरूको बनोट एवं कलाकृतिले लिच्छविकालको इतिहास झल्काउँछ।
विक्रम सम्बत् २०४२ मा पनौती–खोपासी क्षेत्र उत्खनन गर्दा अंशुवर्माको समयका मुद्राहरू फेला परेका थिए। लिच्छवि राजा शिवदेव प्रथमले विक्रम सम्बत् ६५५ मा खोपासीमा एउटा शिलालेख स्थापना गराएका थिए। खोपासीस्थित वैष्णव मन्दिरमा रहेको उक्त शिलालेखमा द्वारोद्वाटन र कैलाशकुटको यात्रामा रकम चलाएबापत् यहाँका जनताले करका रूपमा सेतो माटो (कमेरो) बुझाउनुपर्ने उल्लेख छ।
उक्त शिलालेखमा लिच्छविकालीन दुई चर्चित शासक शिवदेव प्रथम र अंशुवर्माको चर्चा छ। इतिहासकार धनवज्र बज्राचार्यको किताब 'लिच्छविकालका अभिलेख' मा पनि उक्त शिलालेखबारे उल्लेख गरिएको छ।
शिलालेखमा त्यस बेलाका महासामन्त अंशुवर्माको गुणगान गरिनुका साथै राजा शिवदेव प्रथमले खोपासी (कुर्पासी) मा बस्ने जनताको कुशलमंगल सोधेका छन् भन्ने बेहोरा उल्लेख छ।
उत्खननकै क्रममा २०६६ चैत २७ गते पनौतीको लायकू डबलीमा उत्तर लिच्छविकालीन मुद्रा फेला परेका थिए। गोलाकार तामाको उक्त मुद्रामा एकातर्फ पशुपति लेखिएको थियो भने अर्कातर्फ साँढेको चित्र अंकित थियो।
त्यो समय 'खबरचौतारी' साप्ताहिकमा काम गर्ने लाकोजुले मुद्रा फेला पर्नेबित्तिकै फोटो खिचेर समाचार बनाएका थिए। त्यसो गर्नुको कारण बताउँदै उनी भन्छन्, 'राष्ट्रिय अभिलेखालय पुगेपछि त के हो के! यसरी समाचार नै छापेपछि हाम्रै हो भन्ने प्रमाण हुन्छ भन्ने दिमागमा आएको थियो।'
लिच्छविहरूको शासनपछि मल्लवंशको उदय भयो।
राजा आनन्ददेव मल्लले आफू भक्तपुरका राजा भएका बेला विक्रम सम्बत् ११५३ मा राज्य विस्तार गर्ने क्रममा सात सय घरसहित सात गाउँ निर्माण गरेको भाषा वंशावलीमा छ। त्यसमा उल्लिखित सात गाउँहरू पनौती, बनेपा, नाला, साँगा, श्रीखण्डपुर, धुलिखेल र चौकोट हुन्।
बनेपा निवासी संस्कृतिविद् ज्ञानकाजी मानन्धरका अनुसार जसरी बनेपामा नौवटा बहाल, नौवटा ढुंगेधार, नौवटा ननी, ९९ वटा इनार बनाएर नौलाई प्राथमिकता दिई बस्ती निर्माण गरिएको छ, त्यसरी नै पनौतीमा सातलाई स्थान दिइएको छ।
'राजा आनन्ददेव मल्लले सात सय घरको बस्ती बसालेर पनौती निर्माण गरेका थिए,' मानन्धरले बनेपा सातगाउँ स्मारिकामा लेखेका छन्, 'चार दिशामा चार दिक्पाल अनि अष्टमातृकाले परिवेष्ठित राजा आनन्ददेवबाट निर्माण भएको यो सहर अति पवित्रस्थल हो। काभ्रेमा अहिले पनि बृहत्तर पनौती क्षेत्रलाई सात सय पनौती भन्ने चलन छ।'
भाषा वंशावलीमै आनन्ददेवले सात गाउँ बनाएको उल्लेख भए पनि उनले आफू राजा भएका बेला पनौतीको पुनर्निर्माण वा एकीकरण मात्र गरेको हुनसक्ने लाकोजु बताउँछन्।
'यी ठाउँको ऐतिहासिकता मल्लकालमा मात्र सीमित छैन। ढुंगाको हातहतियार फेला पर्नुले हामीलाई नवपाषाण युगमै पुर्याउँछ। किराँतकालीन नाम हुनुले किराँतकालमै यहाँ बस्ती बसिसकेको आकलन गर्न सकिन्छ। लिच्छविकालका त शिलापत्र र मुद्राहरू नै फेला परेका छन्। त्यही भएर यो बस्ती आनन्ददेवको पालामा मात्र बसेको होइन, त्योभन्दा अगाडि नै विकास भइसकेको हुनसक्छ,' उनले भने।
यसरी पनौतीको विकास मल्लकालभन्दा पहिल्यै भइसकेको थियो भन्ने ऐतिहासिक तथ्यहरू फेला परे पनि मल्लकालमा यहाँ विकासका गतिविधिले तीव्रता पाएको हुनसक्ने इतिहासकारहरूको भनाइ छ।
लिच्छविहरूको पतन र मल्लहरूको उदय हुने क्रममा पनौतीसहित विभिन्न ठाउँमा सामन्तहरूले केन्द्रको प्रवाह नगरी सोझै राज्य गरेको देखिन्छ। जब जब केन्द्रमा राजा शक्तिवान हुन्थे, यी सामन्तहरू दबेर बस्थे। केन्द्रमा राजा कमजोर हुनासाथ सामन्तहरूले आफूखुसी राज गर्न थाल्थे। मल्लकालमा पनि पनौतीमा विभिन्न सामन्तहरूको दबदबा थियो।
चौधौं–पन्ध्रौं शताब्दीतिर सामन्त रामवर्द्धनको परिवारले पनौतीमा स्थानीय शासक भएर राज्य गरेको इतिहास छ। उनीहरूले पनौती मात्र नभई नेपाल उपत्यकाको शासन व्यवस्थामै ठूलो भूमिका खेलेका थिए।
रामवर्द्धन परिवारका महाथ अनेकराम, ज्योतिराम, जयसिंहराम, मदनराम र शक्ति सिंहरामको इतिहास नेपाल उपत्यकामा उल्लेखनीय छ।
ज्योतिरामका छोरा अनेकरामले पनौतीका महासामन्त भई विक्रम सम्बत् १३८९ देखि १४१२ सम्म राज्य गरेका थिए। उनको मृत्युपछि उनका छोरा जयसिंहरामले स्वतन्त्र शासक बनेर पनौती लगायत त्यस बेलाका सात गाउँ र वरपर शासन गरे। बनेपामा स्थापना गरिएको सूर्य मूर्तिमा रहेको शिलालेखमा नाम उल्लेख भएबाट उनको प्रभाव झल्किन्छ।
लाकोजुको अर्को किताब 'पनौतीको बाह्रवर्षे मकरमेला' मा उल्लेख भएअनुसार जयसिंहराम धर्मात्मा थिए। बुढेसकालमा महाभारत सुन्ने इच्छा भएपछि उनले उक्त ग्रन्थ सार्न लगाएका थिए। उनले तोलानारायणको विशाल मूर्ति पनौतीमा बनाउन लगाएका थिए। सूर्यग्रहणको समयमा उनले आफ्नो शरीरको तौल बराबर सुन दान गरेका थिए भन्ने इतिहास छ।
त्यस्तै, इन्द्रेश्वर महादेवको अभिलेखअनुसार यिनले सुनको घोडा, सुनकै हात्ती, सुनको रथ र सुनकै कल्पवृक्ष बनाई ब्राह्मणहरूलाई दान दिएका थिए। उनले पछि इन्द्रेश्वर मन्दिर जिर्णोद्वार गरी चुल्का प्रदान गरेको वंशावलीमा छ। उनैले पशुपतिनाथ पुनर्निर्माण गरी नयाँ शिवलिंग स्थापना गरेका थिए।
विक्रम सम्बत् १४५७ मा जयसिंहरामको मृत्युपछि उनको परिवारले चतुर्मुखी सुनौलो कोष (सुनको मोलम्बा लगाएको चतुर्मुखी शिवलिंगको खोल) चढाएको उल्लेख छ।
जयसिंहराम निःसन्तान भएकाले उनका भतिज शक्ति सिंहराम स्थानीय शासक भए। करिब सय वर्षसम्म महत्वपूर्ण भूमिका निर्वाह गरेका रामवर्द्धन परिवारको वर्चस्व शक्ति सिंहरामपछि घट्दै गएको इतिहासकारहरू बताउँछन्।
पन्ध्रौं शताब्दीमा राजा यक्ष मल्लका छोराहरूको पालामा नेपाल विभिन्न राज्यमा विभाजित भयो। कान्तिपुर, ललितपुर र भक्तपुर गरी उपत्यका तीन राज्यमा बाँडिन पुग्यो। त्यो बेला पनौती भक्तपुर राज्यअन्तर्गत रह्यो। मल्ल राजा भूपतिन्द्र, रणजित र रानी विश्वलक्ष्मीको समयमा पनौतीमा विभिन्न मठमन्दिरहरू निर्माण भएका छन्।
विक्रम सम्बत् १७२७ मा राजा प्रताप मल्लले रानीपोखरी निर्माण क्रममा यहाँको त्रिवेणीघाटको जल लगेर पोखरीमा मिसाएको इतिहास छ।
रणजित मल्ल भक्तपुरका अन्तिम राजा हुन्। उनको समयमा एकातिर उपत्यकाका मल्ल राजाहरूबीच राम्रो सम्बन्ध थिएन भने अर्कातिर गोर्खा राज्य विस्तारको अभियानमा लागेका पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामा आँखा गाढेका थिए।
१८२० असारमा पृथ्वीनारायणले भक्तपुरका गाउँ जित्ने व्यवस्था मिलाउन आफ्ना भारदार रामकृष्ण कुँवरलाई पनौती पठाए। यही क्रममा उनले नुवाकोटबाट कुँवरलाई पठाएको चिठीमा पनौतीको नाम उल्लेख छ।
कुँवरलाई चिठी पठाएलगत्तै पृथ्वीनारायण त्यसै वर्ष साउनमा काभ्रे पुगे। गोर्खाली फौजलाई धुलिखेल, चौकोट, खड्पु, पनौती आक्रमण गर्न सजिलो होस् भनेर उनले काभ्रेलाई मुकाम बनाए।
कात्तिक १० गते गोर्खाली सेनाले धुलिखेल जिते। भोलिपल्ट चौकोट, खड्पु र पनौती पनि जिते। यसरी मल्लकालीन पनौती इतिहासको अध्याय समाप्त भयो।
सरकारले नगरपालिका ऐन २०४८ अनुसार २०५३ माघ ११ गते पनौतीलाई नगरपालिका घोषणा गरेको हो। यसअन्तर्गत पनौती, सुन्थान, शारदा, टौखाल, देवीस्थान, सुब्बागाउँ, मल्पी र खोपासी गरी छ गाविस समावेश छन्।
इतिहासपछि अब कुरा गरौं, पनौतीमा प्रचलित किम्बदन्तीहरूको।
अहिले हामी धेरैले भन्ने 'पनौती' नाम विभिन्न कालखण्डमा अपभ्रंस हुँदै आएको हो। पनौतीलाई नेपाल भाषामा 'पंल्वँती', 'पन्ती', 'पनाती' र 'पलाँती' भनिन्छ। नामको सन्दर्भमा यहाँ एउटा किम्बदन्ती छ।
परापूर्वकालमा एक साधुले पनौतीको पवित्रता र पुण्य जाँच्न सुकेको बाँसलाई पानीले खिइएर चिल्लो भएको ढुंगामा गाडे र अन्य धार्मिक स्थलहरू घुम्न गए। बाह्र वर्षसम्म यताउति घुमिफिरी पनौतीको 'शची तीर्थ' भनेर चिनिने त्रिवेणी घाटमा आए।
त्यतिका वर्षपछि आउँदा उनले त्यहाँ बाँस पलाएको देखे। नेपाल भाषामा 'पं' को अर्थ बाँस, 'लोवँ' को अर्थ ढुंगा र 'ती' को अर्थ तीर्थ हो। त्यसैले उनले यो ठाउँको धार्मिक महत्व थाहा पाएर 'पँ लोवँती' अर्थात् ढुंगामा बाँस पलाएको भनी नाम दिए। यसैबाट पंल्वँती र पछि पन्ती भएको जनविश्वास छ।
पनौतीको अर्को नाम 'पलाँती' को अर्थ हो, पाइला राख। यो ठाउँमा सबैले एकपटक पाइला राख्नुपर्ने धार्मिक मान्यता छ। यहाँ पाइला राखे मोक्ष प्राप्त हुने र मृत्युपछि स्वर्गमा बास पाइने धार्मिक मान्यता छ।
पनौतीमा पद्मावती, लीलावती र रूद्रावती नामका तीन नदी छन्। यी तीन नदीमध्ये पहिलोबाट 'प', दोस्रोबाट दोस्रो अक्षर 'ला' र तेस्रोको अन्तिम अक्षर 'ती' लिएर यो ठाउँको नाम पलाती भएको पनि स्थानीय बताउँछन्।
बौद्ध कथनअनुसार पनौतीलाई 'पाञ्चाल देश' भनिन्थ्यो। पनौतीबारे भेटिएका विभिन्न अभिलेखमा यो सहरलाई पूर्णमती, पनौती ग्राम, पूर्णवती, अश्मपुर लगायत पनि भनिएका छन्।
पनौती सहरका अनेकन किम्बदन्तीहरू लेखक एवं पत्रकार सूर्यप्रसाद लाकोजुसँगै यहाँका दुई पाका स्थानीय ७८ वर्षीय पूर्णभक्त कोङ्गा र ७० वर्षीय शिवप्रसाद जंगमले मलाई सुनाएका हुन्। ती किम्बदन्ती मुख्यत: तीनवटा छन्।
पहिलो किम्बदन्तीअनुसार पनौतीमा धनञ्जय बासुकी नागको बास छ भन्ने विश्वास गरिन्छ।
धनञ्जय भनेको सबभन्दा धनी नाग हो जसको सम्पत्ति पनौतीमा रहेको मान्यता छ। त्रिवेणी घाटमा बासस्थान रहेको मानिने बासुकी नागले पनौतीको रक्षा गरेर बसेको विश्वास छ।
बासुकी नागको महत्व बुझेका काठमाडौंका तान्त्रिक बन्धुदत्तले एकपटक यहाँको नागलाई कब्जा गरेर पाटन लग्ने जुक्ति निकालेछन्। उनले आफ्नो तन्त्रविद्याको माध्यमबाट बासुकीको आराधना गरेछन्। आराधनाबाट खुसी भएर बासुकीले बन्धुदत्तलाई दर्शन दिएछन्।
दर्शन पाएपछि बन्धुदत्तले बासुकीलाई भनेछन्, 'तपाईं यति शक्तिशाली हुनुहुन्छ, तपाईंको चर्चा परपरसम्म छ। मलाई तपाईंको शक्ति प्रत्यक्ष हेर्न मन छ। के तपाईं मलाई आफ्नो सबभन्दा विशाल रूप देखाउन सक्नुहुन्छ।'
आफ्नो यति धेरै प्रशंसा सुनेपछि बासुकी फुरूंग भइहाले। उनले नजिकैको गोरखनाथ डाँडालाई तीन फन्को बेरे र आफ्नो टाउको त्रिवेणी घाट नजिकैको ब्रह्मायणी मन्दिरको गजुरमा राखे।
त्यसपछि बन्धुदत्तले बासुकीको प्रशंसा गर्दै भने, 'तपाईंबारे मैले जे सुनेको थिएँ, त्यो साँचो रहेछ। तपाईं त मैले सोचेभन्दा शक्तिशाली हुनुहुँदो रहेछ। अब तपाईंको विशाल रूपको दर्शन पाइसकेपछि मलाई तपाईं कतिसम्म सानो बन्न सक्नुहुन्छ भन्ने खुल्दुली भइरहेको छ। तपाईंले जसरी आफ्नो भीमकाय रूप देखाउनुभयो, त्यसरी नै सानो पनि बन्न सक्नुहुन्छ त?'
'किन नसक्नु?' बासुकीले उत्साही हुँदै भने, 'म तिमीले ल्याएको कमण्डलुभित्र छिरेर त्यहीँबाट बाहिर निस्कन सक्छु।'
यति भनेर बासुकीले आफ्नो सबभन्दा सानो रूप देखाए र बन्धुदत्तको कमण्डलुभित्र पसे।
त्यही बेला बन्धुदत्तले तन्त्रविद्या प्रयोग गरेर कमण्डलुको मुख बन्द गरिदिए।
बासुकी नाग उनको कब्जामा परे।
रात निकै छिप्पिसकेको थियो। हावा बेतोडले चल्दै थियो। आकाश गडगडाइरहेको थियो। बासुकी नागले कमण्डलुबाट बाहिर निस्कन हरसम्भव प्रयास गरे तर सकेनन्।
उनले पनौतीका जनतालाई हारगुहार गरे, कसैले सुनेनन्। रातको समय सबै मस्त निद्रामा थिए। त्यसमाथि कमण्डलुभित्रबाट नागराजको मसिनो स्वर कसैको कानमा पर्ने कुरै थिएन।
बासुकीलाई बन्धुदत्तले लग्ने निश्चित नै भएपछि उनले त्यहीँबाट आफ्नो शक्ति प्रदर्शन गर्न थाले। उनी एकाएक निकै गह्रौं भइदिए। त्यही भारका कारण बासुकी नागलाई पुण्यमती खोलैखोला लग्दा त्यहाँका सबै ढुंगा मास्तिर फर्किएको जनविश्वास छ।
यसरी बासुकी निकै गह्रौं भएपछि बन्धुदत्तले उनलाई चसखुसी (बाँसडोल खोला) को एउटा ढुंगामा बिसाए। अझै पनि त्यो स्थानमा नागराजलाई सम्झेर पूजा गर्ने चलन छ।
बन्धुदत्तले आफ्नो तन्त्रविद्याको माध्यमबाट पनौतीका बासुकी नागलाई बन्दी बनाएर पाटन ल्याएपछि यहाँ रातो मच्छिन्द्रनाथको मन्दिरमा राखे। त्यसैले आज पनि पनौतीका जोकोहीलाई पाटनको रातो मच्छिन्द्रनाथ मन्दिरमा बासुकी नाग दर्शन गर्न दिने व्यवस्था छ।
तान्त्रिक बन्धुदत्तको शक्तिबारे त हामीले रातो मच्छिन्द्रनाथको कथामा धेरै सुनेका छौं। लिच्छवि राजा नरेन्द्रदेव, काठमाडौंका तान्त्रिक बन्धुदत्त र रथचक्र भन्ने व्यक्तिले रातो मच्छिन्द्रनाथलाई आसामस्थित कामरू कामख्या पिठबाट यहाँ ल्याएको विश्वास गरिन्छ। उनीहरू आसाम जाँदा बाटोमा नागराजले पुल बनेर नदी तारेको भनाइ पनि छ।
कतै ती नाग यिनै बासुकी त होइनन्? बन्धुदत्तले जालझेल गरी उनलाई कब्जामा पारेर लग्नुको कारण आफ्नो आसाम यात्रा सहज पार्न पो थियो कि! के बेर!
तर हामीले सुन्दै आएको नागराजको कथा टौदहसँग जोडिन्छ र उनलाई कर्कोटक नागराज भनिन्छ। त्यसैले अहिलेलाई हामी बासुकी नागकै कुरा गरौं।
उनलाई बन्धुदत्तले त्यसरी बन्दी बनाएर लग्नुको पीडा त थियो नै, त्यसमाथि आफैंले सुरक्षा दिएर राखेको पनौतीवासीसँग हारगुहार गर्दा पनि कसैले नसुनेकाले चित्त दुखेको थियो। त्यही झोँकमा उनले पनौतीवासीलाई सराप दिएछन्, 'यहाँका मान्छेलाई खानलाउनको कहिल्यै अभाव नहोस् तर यहाँका मानिस धनी पनि कहिल्यै नहोस्।'
'यो कुरा हो नै जस्तो लाग्छ,' स्थानीय पूर्णभक्त कोङ्गा भन्छन्, 'यहाँका मान्छेसँग सम्पत्ति भएको त होइन तर फूर्ति चाहिँ बढी छ। यहाँ बस्दा अनेक फूर्ति गर्छन् तर यहाँबाट बाहिरतिर गयो भने लाटोजस्तो झोक्राएर बस्छन्।'
उनले अगाडि भने, 'बासुकी नागले नसहने भएर जोगीहरू पनि यहाँ बस्न सक्दैनन्। बरू बाहिरबाट पनौती बसाइँ सरेर आउने मान्छेको भने राम्रै भएको छ।'
पनौतीलाई अश्मपुर अर्थात् एउटै ढुंगामा अवस्थित सहर पनि भनिन्छ। त्यसैले भूकम्प गए पनि त्यति क्षति नहुने सहरका रूपमा प्रसिद्ध छ। नब्बे सालको र २०७२ को भुइँचालोमा पनि यहाँ खासै क्षति नभएको स्थानीय बताउँछन्।
पनौती बस्ती योजनाबद्ध र वैज्ञानिक तरिकाको छ। प्रत्येक सय मिटरमा पाटी–पौवा छन्। बाटो ६ देखि १८ फिटसम्मका छन्। बस्ती बीचबीचमा चोक छन्। प्रत्येक गल्ली र चोकमा पानी बग्ने नाली छ। त्यसैले जस्तोसुकै वर्षामा पनि यहाँ पानी जम्दैन। वास्तुविद्हरू पनौती नमूनायोग्य बस्ती भएको बताउँछन्।
यो सहरमा बासुकी नागको राज भएकाले यहाँ राजा आएर बास बस्न नहुने मान्यता छ। एउटै ठाउँमा दुईवटा राजा हुनु खतरनाक मानिन्छ।
पनौतीमा शान्तिपूर्वक शयन गरिरहेका नागराजलाई खलल् पुग्छ भनेर ढिकीमा अन्न कुट्नु हुँदैन भन्ने विश्वास गरिन्छ। यिनै बासुकी नागले पनौतीलाई सुरक्षा दिनुका साथै यहाँ धनसम्पत्ति ल्याएर लुकाएर राखेका छन् भनेर मान्नेहरू पनि छन्। त्यसै पनि चारैतिर डाँडाहरूले घेरिएको यो सहर आफैंमा गोप्य ठाउँमा लुकाएर राखिएको खजानाजस्तै लाग्छ।
पनौतीको दोस्रो किम्बदन्ती नमोबुद्धसँग जोडिएको छ।
धेरै वर्ष पहिले यहाँ राजा महारथको राज्य थियो। उनका तीन छोरामध्ये कान्छा छोरा महासत्व थिए। उनै महासत्व आफ्नो दया, करूणा, त्याग र बलिदानका कारण नमोबुद्ध बने।
एकदिन उनी आफ्ना दाइहरूसँग जंगलतिर गए। त्यहाँ उनले भोकले व्याकुल बनेकी एक दुब्ली बघिनी र उसका डमरूहरूलाई देखे। घना जंगलबीच भोकाएका यी जनावरलाई देख्दा महासत्वको मनमा दया पलायो।
उनले सोचे, 'जिन्दगी यसै पनि बेकारमा गइरहेको छ। दुनियामा कुनै बेला रोगको निम्ति, कुनै बेला द्वेषका निम्ति र कुनै बेला मोहका निम्ति पनि शरीर त्यागिन्छ। तर धर्मका निम्ति शरीर त्यति त्यागिएको छैन। बरू म यिनीहरूका लागि मेरै शरीर त्याग गर्छु।'
यस्तो सोचेर महासत्वले आफ्नै शरीरको मासु तिनीहरूलाई खुवाउने विचार गरे। तर दाइहरूसँग हिँडेका उनलाई त्यस्तो गर्न सजिलो थिएन।
उनले दाइहरूका आँखा छल्न एक्लै हिँड्ने बहाना बनाए र बघिनीको ओडारतिर लागे। त्यहाँ गएर आफैंलाई उनीहरूको आहरा बनाए।
दाइहरू महासत्वलाई खोज्दै आउँदा उनको कंकाल मात्र फेला पर्यो।
त्यसरी मृत्युवरण गरेका कान्छा राजकुमार महासत्व बोधिसत्वमा परिणत भएको दरबारभरि हल्ला फैलियो। त्यसपछि उनको कंकाल र लुगाहरू पुरेर त्यो ठाउँमा चैत्य निर्माण गरियो। त्यसैलाई नमोबुद्धको चैत्य मानिन्छ।
महासत्वले आफ्नै शरिरको अंग काटेर भोकाएका अशक्त बघिनी र डमरूहरूलाई खुवाएको दृश्य अंकित हुलाक टिकट बनेको छ। पनाैती पुर्ख्यौली घर भएका कलाकार के.के कर्माचार्यले २०६२ सालमा उक्त टिकट बनाएका हुन्।
नमोबुद्ध गौतम बुद्धको पूर्वजन्मको रूप हो भन्ने भनाइ छ। उनी त्याग र समर्पणका प्रतीक हुन्। उनी 'पाञ्चाल देश' अर्थात् पनौतीमा नै जन्मिएको मान्दै प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन यहाँ नमोबुद्धको जात्रा लाग्छ। त्यसैले पनौती बौद्धमार्गीहरूका लागि पनि एक महत्वपूर्ण धार्मिक स्थल हो।
हाम्रा धेरैजसो चाडपर्व धर्मलाई आधार मानेर बनेका हुन्छन्। पनौतीमा पनि विभिन्न जात्रा एवं चाडपर्व मनाइन्छन्। हरेक बाह्र वर्षमा यहाँ मकर मेला लाग्छ। यो वर्ष ठ्याक्कै बाह्रवर्षे मकर मेलाको साइत जुरेको छ जुन माघ १ गतेबाट सुरू भयो। एक महिनासम्म चल्ने यही मेलासँग पनौतीको अर्को किम्बदन्ती जोडिएको छ।
पनौती सहरको अर्को श्रृंखलामा म तपाईंहरूलाई उक्त मेलाको किम्बदन्ती र त्यससँग जोडिएका सांस्कृतिक पक्षहरूबारे सुनाउँछु है!
(पनौती कथा शृंखलाको दोस्रो अंक बुधबार प्रकाशन हुनेछ।)
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी