पछिल्लो समय भारतमा कोरोना संक्रमण दर तीव्र गतिले फैलिएसँगै नेपालमा पनि संक्रमणको जोखिम बढेको छ। बिहीबार भारतमा एकैदिन १ लाख १६ हजार बढी मानिसमा संक्रमण पुष्टि भएको छ।
भारतसँग खुला सीमा रहेका कारण नेपालमा पनि संक्रमण भित्रिने निश्चित छ। किनभने यसअघि पहिलो र दोस्रो लहर पनि भारतमै संक्रमण व्यापक भएपछि भित्रिएको थियो।
संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप बास्तोला पनि नेपालमा अब संक्रमितको संख्या बढ्दै जाने बताउँछन्। उनले अहिले भारतमा जुन हिसाबले संक्रमण तीव्र फैलिरहेको छ, त्यसको असर दुई सातापछि नेपालमा देखिन थाल्ने बताए।
'भारतमा केसहरू बढेको छ। त्यसैले नेपालमा पनि दुई-तीन हप्तामा संक्रमण धेरै नै बढ्न सक्छ,' उनले भने।
सरकारको पछिल्लो तथ्यांकअनुसार पनि नेपालमा पछिल्लो समय दैनिक संक्रमितको संख्या बढ्दै गएको छ। बिहीबार ५ सय ४० जनामा संक्रमण पुष्टि भएको थियो। जुन दुई महिनायताकै धेरै हो। गत कत्तिक २३ गते ५ सय ३३ जनामा संक्रमण पुष्टि भएयता संक्रमितको संख्या ५ सय मूनि थियो। गत मंगलबारदेखि भने संक्रमण पुनः उकालो लाग्न थालेको छ।
यो संख्या अझ बढ्दै जाने विज्ञहरू बताउँछन्। यसअघि रोग नियन्त्रण महाशाखाका प्रमुख रहेका भाइरोलोजिस्ट डाक्टर वासुदेव पाण्डेले पछिल्लो समय भारतमा संक्रमण बढ्न थालेका कारण अबको दुई हप्तापछि नेपालमा संक्रमण बढ्न थाल्ने जनाए।
'भारतसँग नेपाललाई छुट्याउन सकिँदैन। भारतमा संक्रमण आएपछि नेपालमा पनि संक्रमण बढ्छ,' पाण्डेले भने।
संक्रमण बढे पनि आत्तिनु नपर्ने विज्ञहरू बताउँछन्। भारतकै अवस्थालाई आधार मानेर नेपालमा पनि त्यहीँ स्थिति आउँछ भनेर बुझ्नु नहुने उल्लेख गर्दै डाक्टर बास्तोलाले भने, 'भारतमा केसहरू बढेको छ। तर त्यहाँ कतिले खोप लगाएको भन्ने स्पष्ट आँकडा आएको छैन। खालि संक्रमितहरूको संख्या मात्र भनिएको देखिन्छ। तर नेपालमा खोप लगाएको संख्या अलिकति राम्रो छ। त्यसले पनि संक्रमण रोकथामलाई सघाउ पुर्याउँछ।'
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कुल जनसंख्याको ३६ प्रतिशत मानिसले पूर्ण खोप लगाएका छन्।
अर्को कुरा अहिले फैलिरहेको ओमिक्रोन भेरियन्टले संक्रमितलाई सिकिस्त बनाउने दर न्यून रहेको अध्ययनहरूले देखाएका छन्। संक्रमित बढे पनि सिकिस्त हुने बिरामीको संख्या नबढ्न सक्ने डाक्टर बास्तोलाको बुझाइ छ।
अहिलेको अवस्थामा खोप नै प्रभावकारी रहेको उल्लेख गर्दै उनले भने, 'संक्रमितहरूको संख्या बढ्छ। तर कति मानिसहरू सिकिस्त हुन्छ भन्ने कुरा हो। अहिले हेर्दा पनि अस्पतालहरूमा बिरामीको संख्या बढेको देखिँदैन।'
संक्रमण बढे पनि अब पहिलेको जस्तै लकडाउन वा निषेधाज्ञा गर्नु पर्ने अवस्था नआउने विज्ञहरूले बताएका छन्। लकडाउन गर्ने/नगर्ने अवस्था संक्रमणको असर कस्तो देखिन्छ भन्ने कुराले निर्क्यौल गर्ने उनीहरूको भनाइ छ।
'लकडाउन गर्ने कुरा पहिले संक्रमणको असर कस्तो देखिन्छ भन्ने कुराले निर्धारण गर्ने हो। यदि केसहरू मात्र बढ्यो तर सिकिस्त हुने दर बढेन भने आत्तिहाल्नुपर्ने अवस्था हुँदैन,' डाक्टर बाँस्तोला भन्छन्, 'त्यसैले कस्ता किसिमका बिरामी बढ्छन् भन्ने कुरा हो। यदि सिकिस्त बिरामीको संख्या बढ्दै गयो र अस्पतालहरूमा बेड चाप बढ्न थालेको अवस्थामा लकडाउनको रणनीति अपनाउन सकिन्छ भन्ने कुरा हो।'
बाँस्तोलाले पछिल्लो समय क्रमिक रूपमा संक्रमण बढ्न थालेको र केही दिनमा यो संख्या बढ्ने भन्दै तत्काललाई मुख्य दुईटा कुरामा ध्यान दिनुपर्ने जोड दिए। पहिलो कुरा जतिसक्दो चाँडो खोप लगाउने र दोस्रो भनेको जनस्वास्थ्यका मापदण्डहरू पालना गर्नुपर्ने उनको भनाइ छ।
कस्तो छ सरकारको तयारी?
भारतपछि नेपालमा पनि कोरोना संक्रमण दर बढ्ने देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोकथाम र नियन्त्रणका कार्यहरूलाई थप प्रभावकारी ढंगबाट अघि बढाइएको जनाएको छ। मन्त्रालयकी प्रवक्ता डाक्टर संगिता मिश्राले संक्रमण बढ्ने कुरालाई मध्यनजर गर्दै सबै नाकाहरूमा निगरानी बढाएको जानकारी दिइन्।
'अहिले सबै नाकाहरूमा तुरून्त एन्टिजेन परीक्षण गर्ने व्यवस्था गरिएको छ। हवाइ नाकाहरूमा पनि शंकास्पद मानिसहरूको व्यवस्थापन गरिरहेका छौं,' मिश्राले भनिन्।
अबको दुई सातामा संक्रमण बढ्न थाल्ने देखिएसँगै स्थानीय तहहरूलाई क्वारेन्टिन र आइसोलेसन सेन्टरको व्यवस्थापन गरिएको र सीमा क्षेत्रका जिल्लाहरूलाई होल्डिङ सेन्टरको व्यवस्थापन गर्न भनिएको प्रवक्ता मिश्रा बताउँछिन्। साथै खोप लगाउने कार्य अझ बढाउनलाई काम भइरहेको उनले बताइन्।
मन्त्रालयले सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ। प्रवक्ता मिश्राले भनिन्, 'अहिले अस्पतालहरूको स्रोतहरूको अवस्था कस्तो छ भनेर हेरिरहेका छौं। खालि भएका अक्सिजन सिलिन्डरहरू भरेर राख्न निर्देशन भइसकेको छ। अक्सिजन प्लान्टहरू बिग्रिएको छ भने मर्मत गर्न भनेका छौं। साथै कोभिडको केन्द्रीय अस्पताल र हब अस्पतालहरूलाई तयारी अवस्थामा रहन भनेका छौं।'
लकडाउनको कुरामा भने संक्रमणको जोखिम हेरेर निर्देशिकाका आधारमा सिसिएमसीले निर्णय लिने मिश्राले जनाइन्। उनले यसको अधिकार नै जिल्ला स्तरका डिसिसिएमसी र केन्द्रीय स्तरमा सिसिएमसीलाई दिइएको भन्दै संक्रमणको असर हेरेर उक्त निकायहरूले नै निर्णय लिने बताइन्।