शरीरमा देउता चढेको निहुँमा महिलालाई पैतला चटाउने सुर्खेतका तीन जना पुरूष (धामी) माथि प्रहरीले अनुसन्धान सकेको छ। उनीहरुलाई आज सरकारी वकिल समक्ष पेश गर्न लागिएको छ।
ईलाका प्रहरी कार्यालय छिन्चुको हिरासतमा राखेर उनीहरूमाथि अनुसन्धान गरिएको थियो। अनुसन्धान सकिएपछि अब अदालती प्रक्रिया सुरु गर्न लागिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए।
‘प्रहरीले अनुसन्धान सकाईसकेको छ, अब सरकारी वकिलमार्फत उनीहरुलाई अदालतमा पेश गरिन्छ,’ उनले भने, ‘पीडितले भने सोधपुछका क्रममा आफू पीडित नभएको बताएको रेकर्ड छ।’
उनका अनुसार पुरूष धामीहरूले पैतला चटाएको र शारीरिक रुपमै झम्टिएको घटनामा पीडित भनिएकी बाँकेकी महिलाले प्रहरीसँग पुगेर ‘आफूमाथि अन्याय नभएको’ बताएकी छिन्।
‘मलाई उहाँहरुले यस्तो गरेको होईन, देउताले गरेको हो भनेर प्रहरीले गरेको सोधपुछका क्रममा उहाँले भन्नुभएको रहेछ,’ प्रहरी निरीक्षक शाहीले भने।
एक अधिवक्ताका अनुसार पीडित भनिएकी ती महिलाले वकिलमार्फत सार्वजनिक भएको घटनामा ‘आफू पीडित नभएको’ निवेदन लेखाएर प्रहरीको अनुसन्धान अधिकारीलाई दिएकी थिईन्। उक्त निवेदन प्रहरीले दर्ता नगरी बयान गराएको थियो।
सुर्खेतको लेकवेशी नगरपालिका–४ दशरथपुरमा भएको एक कुलपूजामा महिलालाई पुरुषहरुले झम्टिएको र पैताला चटाएको भिडियो सार्वजनिक भएको थियो। उक्त कुलपूजा यही पुस ४ गते भएको थियो।
आफूलाई धामी भन्ने व्यक्तिहरुले आफ्नो शरीरमा देउता चढेको भन्दै महिलामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो।
महिलामाथि तीन पुरूषले अमानवीय क्रियाकलाप गरेको भिडिओ सार्वजनिक भएपछि मानव अधिकारकर्मी, महिला अधिकारकर्मीले यस विषयमा आवाज उठाएका छन्। मानव अधिकारकर्मी संस्थाको सहयोग र प्रहरी प्रतिवेदनका आधारमा मुद्दा दर्ता गरिएको थियो।
पीडित महिला तथा उनको परिवारले भने आफ्नो तर्फबाट जाहेरी दिएका छैनन्।
तीन पुरुषले भने आफूहरुले ती महिलामाथि भिडिओमा देखिएजस्तो व्यवहार गरेको स्वीकारेका छन्।
पीडित भनिएकी महिलाको घर बाँकेको खजुरा हो । पुस ४ गते माइतीमा हुने कुल पूजाका लागि सुर्खेतको दशरथपुर गाउँमा उनी आएकी थिइन्।