दुई सय चालीस मिनेट — त्यो सन्तोष साहको जिन्दगीकै सबभन्दा यादगार दुई सय चालीस मिनेट थियो।
गत वर्ष बिबिसी मास्टरसेफ च्यालेन्जका उपविजेता रहेका सन्तोष यसपालि फेरि प्रतिस्पर्धामा ओर्लेका थिए। उपाधि जित्ने अधुरो ख्वाब पूरा गर्ने हुटहुटीले उनलाई दोस्रोचोटि प्रतिस्पर्धामा ओरालेको थियो।
कतिले त उनलाई भने पनि, उपविजेता भइसकेको मान्छे फेरि भिडेर किन चुनौती मोल्छौ!
कतिले त तर्साए पनि, उपाधि जित्ने आकांक्षाले कतै कमाइसकेको नाम गुमाउने त होइनौ!
सन्तोष दोधारमा परे।
उनको मनले भन्दै थियो, दोस्रोचोटि पाएको मौका कुनै हालतमा छाड्नु हुन्न। दिमागले भन्दै थियो, फेरि पनि उपाधि जितिएला–नजितिएला ठेगान छैन, प्रतिस्पर्धामा लागेर किन चुनौती मोल्नु!
आखिरमा उनले मनको सुने।
‘मलाई दुइटा कुराले दोस्रोचोटि प्रतिस्पर्धा गर्न हौस्यायो,’ सन्तोष साहले बुधबार राति बेलायतको लन्डनबाट ह्वाट्सएपमा सेतोपाटीसँग कुरा गर्दै भने, ‘एक त, मान्छेले कोशिस गरेर थाक्नुहुन्न। एकचोटि असफल भइयो भन्दैमा प्रतिस्पर्धाबाट भाग्ने मान्छे जिन्दगीमा कहीँ पुग्दैन। जिन्दगीको यात्रामा लड्नु नै पराजय हुनु होइन, लडेपछि उठ्न नखोज्नु चाहिँ पराजयको निशानी हो। म लड्न त लडेँ तर त्यसले मलाई आफ्नो गल्ती र कमी–कमजोरी फर्केर हेर्न सिकायो। तिनै गल्तीबाट पाठ सिकेर फेरि उठ्ने र रेसमा भाग लिने निधो गरेँ।’
अनि दोस्रो?
‘दोस्रो कुरा, मास्टरसेफ च्यालेन्जमा उपाधि जित्नु भनेको म सन्तोष साहले व्यक्तिगत रूपमा उपाधि जित्ने कुरा मात्र होइन। त्यो त नेपालको सिराहामा पर्ने मधेस गाउँ कर्जनाबाट आएको नेपाली केटोले संसारकै प्रतिष्ठित प्रतियोगितामा आफूलाई अब्बल साबित गर्नु हो।’
‘त्यति मात्र होइन,’ उनले अगाडि भने, ‘मैले यो उपाधि जित्नु भनेको नेपाली परिकारलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु पनि हो। अघिल्लोचोटि म उपविजेता भएँ, अर्थात् मेरो नेपाली परिकार संसारको प्रतिस्पर्धामा उपविजेता ठहरियो। मैले सोचेँ, के उपविजेतामै चित्त बुझाएर बस्ने त! के नेपाली परिकार संसारकै अब्बल ठहरिन योग्य छैन त! मलाई दोस्रोचोटि प्रतिस्पर्धा गर्न घच्घच्याउने मुख्य कारण यही हो। मेरो लागि यो प्रतिस्पर्धा नेपाली परिकारलाई संसारकै अब्बल परिकारका रूपमा चिनाउने कोशिस पनि थियो।’
सन्तोष आफ्नो यो कोशिसमा सफल भएका छन्।
नेपाली समयअनुसार गत मंगलबार राति भएको बिबिसी मास्टरसेफ च्यालेन्ज ‘रिम्याच’ मा सन्तोषले बनाएको नेपाली परिकार अब्बल ठहरिएको छ। उनले प्रतियोगितामा तीन जनालाई उछिन्दै ‘मास्टरसेफ’ उपाधि हात पारेका छन्।
जसरी विश्वकप उचालेको फुटबल टोलीका लागि खेलको नब्बे मिनेट जिन्दगीकै यादगार नब्बे मिनेट हुन्छ, मास्टरसेफ उपाधि जितेका सन्तोष साह पनि प्रतियोगिताको त्यो दुई सय चालीस मिनेट आफ्नो निम्ति अविश्मरणीय रहेको बताउँछन्।
मास्टरसेफ च्यालेन्ज ‘रिम्याच’ मा सन्तोषसहित चारै जना प्रतियोगीले दुई राउन्डमा गरेर दुई सय चालीस मिनेट अर्थात् चार घन्टा समय पाएका थिए, आफ्नो पाककला देखाउन।
पहिलो राउन्ड डेढ घन्टाको थियो। यो राउन्डको मुख्य चुनौती के भने, यसमा निर्णायक मण्डलका सदस्यको मात्र मन जितेर पुग्दैन, संसारकै नामी खाना समीक्षक जे रेनरलाई पनि खुसी बनाउनुपर्छ।
बेलायती पत्रिका ‘गार्डियन’ मा खाना समीक्षा गर्ने जे रेनरको जिब्रोलाई जित्नु भनेको कुनै पनि सेफका लागि फलामको हड्डी चपाउनुसरह हो।
सन्तोषकै शब्दमा भन्दा, जे रेनर एकदमै कडा समीक्षकका रूपमा चिनिन्छन्। संसारका एक–से–एक स्वादको परख गरेकाले उनी कुनै खानेकुरा जिब्रोमा बसेन भने पकाउने व्यक्तिलाई गाली गर्न पनि पछि पर्दैनन्।
‘रेनरको मन जित्नु मेरो लागि बढी चुनौतीपूर्ण थियो,’ सन्तोषले भने, ‘यसका लागि मैले नेपालका राई–लिम्बूहरूको शैलीमा कुखुराको मासु पकाउने निधो गरेँ।’
जसै डेढ घन्टाको स्टपवाच टिकटक गर्न थाल्यो, सन्तोषले कुखुराको भुत्ला आगोमा पोलेर त्यसको पाउडर बनाए। राई–लिम्बूहरू यसरी पोलेको कुखुराको भुत्लालाई ‘तीते’ भन्छन्। त्यसपछि उनले कुखुराको मासुका चौटामा त्यो तीते पाउडर मिसाए। सँगसँगै, कुखुराको छातीको मासु झोल हालेर पकाए।
घडीको टिकटक सकिँदा नसकिँदै मास्टरसेफ च्यालेन्जका निर्णायक र खाना समीक्षक जे रेनरको टेबल अगाडि नेपालको लिम्बू परिकार तयार थियो।
‘उनीहरूले खान सुरू गर्दा म चाहिँ ट्वाल्ल परेर उनीहरूको मुख हेर्दै थिएँ,’ सन्तोषले भने, ‘हामी कुनै नयाँ खानेकुरा चाख्दै छौं भने जिब्रोमा स्वाद पर्नेबित्तिकै त्यसको प्रतिक्रिया हाम्रो आँखामा देखिन्छ। जिब्रोलाई स्वाद मन परेको छ कि छैन भनेर आँखाले भन्छ। म पनि एकटक उनीहरूका आँखातिर हेर्दै थिएँ।’
जसै निर्णायक मण्डल र जे रेनरका आँखा चम्के, उनीहरूको जिब्रोले कस्तो स्वाद पायो भनेर बुझ्न सन्तोषलाई गाह्रो भएन।
‘मलाई रेनरको टिप्पणी सुन्न एकदमै डर लागिरहेको थियो,’ सन्तोषले भने, ‘उनले खुसी हुँदै ‘फेन्टास्टिक’ भने। कुखुराको मासुको झोल त औंला चाटीचाटी खाए।’
पहिलो राउन्ड पास भएपछि सुरू भयो, साढे दुई घन्टाको दोस्रो राउन्ड। मास्टरसेफ च्यालेन्जको मुख्य प्रतिस्पर्धा यसैमा हुन्छ।
यो राउन्डमा निर्णायक मण्डलले प्रतियोगीहरूलाई कुनै एउटा ‘थिम’ (विषय) दिन्छन्। प्रतियोगीहरूले त्यही थिमका आधारमा परिकार बनाउनुपर्छ। के परिकार कसरी बनाउने भन्नेमा चाहिँ उनीहरू स्वतन्त्र हुन्छन्।
प्रतियोगीहरूले जे पकाउने हो, त्यसको सुरूदेखि अन्त्यसम्मको काम यही साढे दुई घन्टाबीच गर्नुपर्छ। उनीहरूले आफ्नो परिकारको मेनु दिएका हुन्छन्। मेनुअनुसार के–के चाहिन्छ, ती चिज सबै टेबलमा ल्याएर राखिएको हुन्छ। आलु चाहिन्छ भने आलु राखिन्छ। काउली चाहिन्छ भने काउली राखिन्छ। कुन–कुन मसला मागिएको छ, त्यही त्यही मसला राखिएको हुन्छ।
स्टपवाचमा टिकटक सुरू हुनेबित्तिकै प्रतियोगीले साढे दुई घन्टाकै बीचमा तरकारी ताछ्ने, काट्ने, सफासुग्घर गर्ने, पकाउने र पस्किनेसम्मको काम पूरा गर्नुपर्छ।
यसपालि क्रिश्चियनहरूको ठूलो पर्व क्रिसमसलगत्तै प्रतियोगिता भएकाले उनीहरूलाई दिइएको थिम ‘क्रिसमसमा पकाइने भोज’ थियो।
सन्तोषले यो थिमलाई आफ्नै शैलीमा ढालेका थिए। यसबारे निर्णायक मण्डललाई जनाउ दिँदै उनले भनेका थिए, ‘जसरी तिमीहरूको ठूलो पर्व क्रिमसम हो, हामी नेपालमा क्रिसमसजस्तै धूमधामका साथ दसैं मनाउँछौं। जसरी तिमीहरू क्रिसमसमा सपरिवार जम्मा भएर अनेक परिकार पकाएर खान्छौ, हामी पनि दसैंमा सबै सदस्य जम्मा भएर अनेक परिकार पकाएर खान्छौं। म तपाईंहरूलाई नेपालको ठूलो चाड दसैंका परिकारहरू खुवाउँछु।’
यसमा निर्णायक मण्डल सहमत भएपछि उनले आफ्नै मधेसको दसैं परिकारलाई मास्टरसेफ च्यालेन्जको भान्सामा प्रवेश गराए।
दसैं भन्नेबित्तिकै हामीलाई मासुका थरीथरी परिकार याद आउँछ। साकाहारी परिवारमा हुर्केका सन्तोषले भने दसैंमा आफ्नी आमा र दिदीहरूले पकाउने साकाहारी स्वाद अहिलेसम्म भुलेका छैनन्। आमाको भान्साको त्यही साकाहारी स्वाद सन्तोषले मास्टरसेफका निर्णायकहरूलाई चखाए।
‘मेरो परिवारमा आमा, दुई जना दिदी र एक जना दाइ साकाहारी हो। हाम्रो घरमा दसैं बेला पनि साकाहारी खाना नै पाक्छ,’ उनले भने, ‘मेरी आमा र दिदीहरू आलु, काउली, कटहर, भ्यान्टा र घिरौंला पनि अनेक किसिमले पकाउनुहुन्छ। एउटै तरकारीबाट कसरी त्यतिविधि परिकार बन्छ भनेर म सानोमा छक्कै पर्थेँ। आफूले बच्चैदेखि आमाको हातबाट जे पाक्दै आएको देखेको थिएँ, मैले तिनै परिकार मास्टरसेफमा पकाएँ।’
उनले अगाडि भने, ‘मान्छेको अर्गानिक रूप नै उसको बेस्ट रूप हो भनेर भनिन्छ नि, हो रहेछ। मैले आफ्नो परिकारमा कृतिम स्वाद हाल्न खोजेको भए न त्यसमा न्याय गर्न सक्थेँ, न निर्णायकहरू मेरो कामबाट खुसी हुन्थे। सानैदेखि जे देखेँ, जे चाखेँ, त्यसैलाई हुबहु मास्टरसेफमा पेस गरेँ। मैले पकाएको अर्गानिक स्वाद नै बेस्ट भयो।’
उनले यो राउन्डमा १८ थरीका साकाहारी परिकार पकाएका थिए जसमा चामलको पुरी, तिलौरी, तिलको चटनी, गोलभेँडाको चटनी, पुलाउ, तामाको अचार, पोलेको कटहर, माल्पुवा प्रमुख थिए। यसबाहेक आलु, काउली, भन्टा, तरूल लगायतको तरूवा पनि चखाए।
‘यी सबै परिकार मैले जन्मेदेखि आमाको हातबाट खाँदै आएको हुँ,’ उनले सेतोपाटीसँगको कुराकानीमा भने, ‘म बेलायत आएको ११ वर्ष भयो, त्योभन्दा अगाडि दस वर्ष भारतमा काम गरेँ। यो २१ वर्षमा मैले सबभन्दा बढी मिस गर्ने भनेकै आमाको हातका परिकार हुन्। आज पनि बेलाबेला दसैं मनाउन नेपाल जाँदा म यी परिकार खान छुटाउँदिनँ।’
गत वर्ष फागुनमा नेपाल आउँदा उनले यी परिकार चाख्नुका साथै पकाउने तरिका मिहिन रूपमा हेरेका थिए। आमाको हातबाट बनेको तिलौरी आफूसँगै बेलायत लगे र त्यही तिलौरी उनले मास्टरसेफमा पकाए।
‘मैले जितेको उपाधिमा आमाको हातको स्वाद पनि मिसिएको छ,’ उनले भने, ‘मैले प्रतियोगिता जित्नेबित्तिकै घरमा फोन गरेको थिएँ। दाइले उठाउनुभएको थियो। आमासँग पनि कुरा गरेँ। तपाईंले बनाउनुभएको तिलौरीले मलाई मास्टरसेफ जितायो नि आमा भनेर भनेँ। आमा खुसीले दंग पर्नुभो।’
हुन त सन्तोषकी आमालाई मास्टरसेफ भनेको के हो, कस्तो हो, केही थाहा छैन। मतलब पनि छैन। तर आमाको मन न हो!
गाउँमा कुनै सानो खेल जितेर मेडल ल्याउँदा त आमाको भुइँमा खुट्टा हुन्न, झन् छोराले ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता जित्यो भनेपछि आमालाई खुसी हुन अरू के चाहियो!
सन्तोषलाई दोस्रो राउन्ड पूरा गर्न निर्धारित साढे दुई घन्टा पनि लागेन। उनले पन्ध्र मिनेटअगाडि नै सबै पकाइवरी तयार पारिसकेका थिए। बचेको समयमा चामलको पुरी र प्याजको अचार बनाए। यी दुवै परिकार उनको सुरूको मेनुमा थिएन।
अघिल्लो प्रतियोगितामा काठमाडौंको नेवार परिकार यःमरि चखाएर निर्णायकहरूको वाहवाही कमाएका सन्तोषले यसपालि पकाएको मधेसको स्वादले पनि निर्णायकहरूको मन जित्यो।
एक जना निर्णायकले उनको परिकार चाखेपछि भने, ‘तपाईंले आफ्नो देश गएर त्यहाँको रैथाने स्वाद लिएर आउनुभयो। यो चाख्दा म आफैं त्यहाँ पुगेँजस्तो लाग्यो। अर्कोचोटि तपाईं नेपाल जाँदा मलाई पनि सँगै लैजानुस् है।’
हुन त बाँकी तीन प्रतियोगीले पकाएका खानेकुरामा पनि निर्णायकहरूले कुनै खोट देखाएका थिएनन्। यसले उपाधि कसको हातमा पर्ला भन्ने अन्यौल कायमै थियो।
‘कसैको खानामा पनि खोट थिएन भने उपाधि चाहिँ तपाईंले कसरी जित्नुभयो?’
यो प्रश्नमा सन्तोषले भने, ‘मास्टरसेफ च्यालेन्जमा खानाको स्वाद मात्र हेरिँदैन। प्रतियोगिता जित्न स्वाद त मिठो हुनैपर्यो तर त्यतिले पुग्दैन। खानेकुरा कत्तिको सिर्जनशील छ, कत्तिको स्वस्थ छ, तोकिएको अवधिमा पकाएर भ्यायो कि भ्याएन, कसरी पस्कियो भन्नेदेखि त्यो परिकारसँग जोडिएको सामाजिक कथा पनि उनीहरू केलाउँछन्।’
यी सबै पक्ष जोडेर आफूले बाँकी प्रतियोगीलाई उछिनेको उनले बताए।
‘मास्टरसेफ च्यालेन्जमा हामीसँग जम्मा दुई सय चालीस मिनेट थियो, त्यो अवधिमा हामीले आफ्नो बेस्ट दिनुपर्थ्यो। मैले नेपालका लिम्बू जाति र मधेस क्षेत्रमा खाइने फरक–फरक शैलीको परिकारलाई जतिसक्दो सिर्जनात्मक ढंगले पस्किएँ, त्योसँग जोडिएको कथा पनि उनीहरूले खुब रूचाए,’ सन्तोषले भने, ‘यो दुई सय चालीस मिनेट मेरो जिन्दगीकै सबभन्दा यादगार क्षण रह्यो।’
सन्तोषले मास्टरसेफ जितेर आफ्नो एउटा अधुरो धोको पूरा गरेका छन्। उनको अर्को धोको छिट्टै पूरा हुँदैछ। आउँदो फेब्रुअरी ३ मा उनको किताब प्रकाशित हुँदैछ।
नेपालका विभिन्न जातजाति र क्षेत्रमा प्रचलित परिकारहरू र त्यसको कथा समेटिएको किताब ‘ऐला’ पेन्गुइन प्रकाशनले छापेको हो। पहिलो चरणमा लन्डनमा मात्र विमोचन गरिँदैछ। केही समयपछि नेपालका लागि अलग्गै प्रकाशन गर्ने तयारी छ।
‘अनि लन्डनमा नेपाली परिकारहरू पाइने नेपाली रेस्टुरेन्ट खोल्ने योजना चाहिँ कहाँ पुग्यो?’ मैले उनको तेस्रो धोकोबारे जिज्ञासा राखेँ।
जवाफमा उनले भने, ‘सबै कुरा एकैचोटि पूरा हुँदैन नि, एक–एक पाइला बिस्तारै चाल्नुपर्छ।’
उनले अगाडि भने, ‘यसपालि मास्टरसेफ जितेँ, किताब पनि आउँदैछ। त्यसपछि तेस्रो धोको पूरा गर्ने पालो।’
हुन त उनको चौथो धोको पनि छ — नेपालका थुप्रै रैथाने परिकारहरू पाइने एउटा ठेट नेपाली रेस्टुरेन्ट काठमाडौंमै खोल्ने।
‘त्यसको पालो चाहिँ लन्डनमा रेस्टुरेन्ट खोलेपछि,’ उनले भने।
यी पनि हेर्नुहोस्: