सुर्खेतको वीरेन्द्रनगरका केशबहादुर वादीको परिवारमा १२ जना सदस्य छन्। छोरा-बुहारी, नाती-नातिनासहितको उनको संयुक्त परिवार हो।
परिवारका सदस्यमध्ये उनका दुई जना छोराको सामान्य आम्दानी छ। त्यो आम्दानीले परिवारका लागि खर्च पुग्दैन। १२ जनाको परिवारको भरपूर खर्च धान्ने भनेको केशबहादुरकै कमाइ हो।
उनी काँक्रेविहार परिसरमा पर्यटकलाई घोडामा सवार गराउँछन्। उनको दैनिक कमाइ औसतमा ८ सय रुपैयाँसम्म हुन्छ।
केशबहादुर केहीवर्ष अघिसम्म पैसा कमाउन भारतमा गएर काम गर्थे। सिजनमा भारत गएर कमाएको पैसाले घर खर्च चलाउन मुस्किल हुन्थ्यो। उनी भारत जान छोडेको अहिले तीन वर्ष भयो।
‘परिवार पाल्न भारत जानुपर्ने, परिवारबाट टाढा बसेर काम गरेको त्यहाँको कमाइ पनि भारु ४ सयसम्म दैनिक हुन्थ्यो,’ केशबहादुरले भने, ‘अहिले आफ्नै ठाउँमा बसेर यो काम गर्न थालेपछि भारतको भन्दा राम्रो कमाइ भएको छ, तीन वर्षयता भारत जानु पनि परेको छैन।’
उनले तीन वर्षअघि भारतमै बसेर कमाएको पैसाले दैलेखबाट एउटा घोडा किनेर ल्याए। सुरूमा ६० हजार रुपैयाँमा एउटा घोडा किनेका उनले पछि त्यही घोडाबाट भएको कमाइले अर्को घोडा ८० हजार रुपैयाँमा किने।
पहिले काँक्रेबिहार परिसरमा वीरेन्द्रनगर-९ को वडा कार्यालयले नै पर्यटकलाई घोडामा सवार गराउने गरेको थियो। वडा कार्यालयले त्यहाँ लिएका घोडामध्ये एउटा मरिसकेको छ। त्यसपछि वडाले घोडा ल्याएन।
वडा कार्यालयले चलाएका घोडा देखेपछि केशबहादुरले आफूले पनि घोडा ल्याएर पर्यटकलाई सवार गराउने योजना बनाएका थिए।
काँक्रेविहार सुर्खेतको प्रमुख पर्यटकीय स्थल हो। यहाँ दैनिक आन्तरिक तथा बाह्य पर्यटक घुमघामका लागि आउने गर्छन्।
घुम्न आउने पर्यटकले घोडा चढेको छुट्टाछुट्टै दर छ। घोडामा चढेर फोटो खिचेको ५० रुपैयाँ तिर्नुपर्छ। काँक्रेविहारको प्रवेशद्वार नजिकको चौतारी वरिपरि घोडामा परिक्रमा गरेको १०० रुपैयाँ तिर्नुपर्छ भने काँक्रेविहार परिसर पूरै परिक्रमा गरे ३०० रुपैयाँ तिर्नुपर्छ।
‘धेरैजसोले फोटोमात्र खिच्छन्, कोही बाहिरबाट आएकाहरूले टिकटक बनाउँदै परिसर वरिपरि पनि घुम्छन्,’ केशबहादुरले भने, ‘शुक्रबार र शनिबार धेरै पर्यटक आउँछन्, त्यो दिन अन्य दिनभन्दा धेरै कमाइ हुन्छ।’
काँक्रेविहारको टिकट काउन्टरमा काम गर्ने विष्णुबहादुर कार्कीका अनुसार शुक्रबार र शनिबार घुम्न आउने पर्यटकको संख्या एक हजारभन्दा माथि हुन्छ।
शुक्रबार र शनिबार २-३ हजार रुपैयाँसम्म घोडाबाट कमाइ हुने गरेको केशबहादुरले बताए।
उनले सुरूमा किनेको घोडा देउतीबज्यै मन्दिर परिसरमा चलाएका थिए। त्यहाँ मन्दिर नजिक घोडा लिन नपाएपछि उनले काँक्रेविहारमा आफ्नो घोडा ल्याएका हुन्। काँक्रेविहारमा घोडा चलाउँदा कमाइ राम्रो भएपछि उनले अर्को घोडा थपेका हुन्।
बिहान ८ बजेदेखि बेलुका पाँच बजेसम्म उनी दुई वटा घोडा ल्याएर काँक्रेविहारमा आउँछन्। उनी आउन नपाउने दिनमा छोराले सहयोग गर्ने गरेका छन्।
आफूसँग भएका दुई वटा घोडामध्ये केशबहादुरले शुक्रबार र शनिबार बाहेकका दिनमा एउटामात्र ल्याउने गरेका छन्। पर्यटक बढी आउने ती दुई दिनमा भने दुबै घोडा ल्याएर चलाउने गरेको उनले बताए।
आफ्नै पौरख गरी परिवार पाल्न थालेपछि अरूको भरमा जीविका चलाउने अवस्था हटेकोमा उनी खुसी छन्। केशबहादुरले भने, ‘हाम्रो समुदाय पुस्तौंदेखि अर्काको घरमा काम गरेर जीविका चलाउने समुदाय हो, अहिले आफैंले काम गरेर परिवार पाल्न पाएपछि खुसी लागेको छ।’
भग्नावशेष अवस्थामा रहेको काँक्रेविहारको संरचना पुनःनिर्माण भएपछि यहाँ आउने पर्यटकको संख्यामा पनि वृद्धि भएको छ। केही वर्षयता पुरातत्व विभागले पुनःनिर्माण थालेको काँक्रेविहार मन्दिरको संरचना भर्खरै पूरा भएको छ। यसलाई अहिले पुरानै संरचनामा तयार पारिएको छ।
काँक्रेविहारबाट राजश्व संकलन गर्ने प्रयोजनका लागि अरूलाई नै सञ्चालनको ठेक्का दिने तयारी गरिएको छ।
अरूले ठेक्का लिन लागेपछि केशबहादुरलाई भने आफ्नो घोडा चलाउन पाइन्न कि भन्ने चिन्ता छ। ‘यसको ठेक्का अरूलाई दिने कुरा छ, ठेक्का भइसकेपछि मैले अहिले गरेको व्यवसाय निरन्तर हुन्छ कि हुँदैन,’ उनले भने, ‘फेरि भारत जाने अवस्था पो आउँछ कि भन्ने चिन्ता पनि लागेको छ।’