जन्मिँदै पक्षघात भएका रघुनाथ बस्नेत अहिले तीस वर्ष भए। उनको घर भक्तपुर हो। हिँड्न सक्दैनन्। वरपर घुमफिर गर्न उनलाई ह्विलचेयर चाहिन्छ।
रघुनाथले स्नातक तह पास गरेका छन्। उनलाई सरकारी जागिर खाने मन थियो। सरकारी जागिरकै लागि तीन वर्ष लोक सेवा तयारी गरे। नायब सुब्बा र खरिदारका लागि परीक्षा पनि दिए। पास हुन सकेनन्।
त्यसपछि ललितपुरको एउटा निजी संस्थामा सात वर्ष काम गरे।
'शारीरिक रूपमा अशक्त भए पनि म बाँचुञ्जेल आफ्नै पाखुरा बझारेर खान चाहन्छु,' रघुनाथ भन्छन्।
त्यसैले उनले जीवन ह्विलचेयरमा मात्र बिताएनन्। १३ वर्षदेखि चारपांग्रे स्कुटर पनि गुडाइरहेका छन्।
१३ वर्षअघि रातो रङको प्लेजर स्कुटर थियो रघुनाथसँग। भक्तपुर घरबाट पुल्चोकस्थित कार्यालय जान-आउन मात्र चलाउँथे। घर वरपर ह्विलचेयरमै गुड्छन्।
ह्विलचेयरमा गुडेको शरीरले स्कुटर गुडाउन सजिलो थिएन। सुरूमा डर भयो। ह्विलचेयरको जीन्दगीबाट पहिलोपटक एक्लै सडकमा पुग्दा उनी हराएका पनि थिए। तर आफ्नो आत्मविश्वास अड्याइराखे। त्यसैले स्कुटर चलाएर काठमाडौंका सडकमा खुट्टा टेक्दा उनलाई संसार जितेजस्तो लागेको थियो।
'ह्विलचेयरबाट स्कुटरमा चढेको पहिलो दिन म हराएको थिएँ। डर लागेको थियो। तर सँगै खुसी पनि थिएँ,' उनी त्यो दिन सम्झिँदै भन्छन्, 'जब स्कुटर गुडाउन जान्ने भएँ, त्यसपछि दिनभर काठमाडौं डुलेँ। अनि बल्ल थाहा भयो ह्विलचेयर बाहिरको जीवन कस्तो हुँदो रहेछ।'
अहिले उनको दैनिकी पूरै फेरिएको छ। चारपांग्रे स्कुटरमा उनी आफू मात्र हुँइकिँदैनन्, पछाडि यात्रुलाई राखेर गन्तव्यसम्म पुर्याइदिन्छन्। यही कामबाट कमाइ पनि गर्छन्।
रघुनाथ राइड सेयरिङ कम्पनी पठाओका चालक हुन्। कुनै बेला सरकारी जागिर खाने रहर पालेका उनले अहिले यात्रु ओसारपसारको कामलाई नै पेसा बनाएका छन्।
'सरकारी जागिर खाने रहर थियो तर पठाओ राइडर भइयो,' होन्डाको नयाँ चारपांग्रे स्कुटरमा बसेका रघुनाथले मुस्कुराउँदै भने।
सुरूसुरूमा उनलाई स–साना खाल्डाखुल्डीमा पनि डर लाग्थ्यो। आजभोलि उनको आत्मविश्वास बढेको छ।
उनी हरेक बिहान १० बजे भक्तपुरबाट निस्किन्छन्।
'कोठाबाट ह्विलचेयरको सहायताले बाहिर निस्कन्छु। विस्तारै ह्विलचेयरलाई स्कुटरसँगै जोड्छु अनि स्कुटरमा चढ्छु,' उनी स्कुटरमा बस्दाको अनुभव सुनाउँछन्, 'सुरूमा त श्रीमतीको सहयोग पनि चाहिन्थ्यो। अचेल एक्लै चढ्ने बानी भइसक्यो।'
निस्किने बेलामा उनी पठाओ एप खोल्छन्। यात्रुले पठाओ बुक गर्नासाथ लोकेसन-अन गर्दै उनी सेवा दिन त्यही स्थान पुग्छन्। दिनभरि सहरका मुख्य र भित्री सडक छिचोल्दै यात्रुलाई गन्तव्यसम्म पुर्याउँछन्।
यसरी उनी दिनमा दसदेखि १५ जनालाई सेवा दिन्छन्। पठाओ चलाएरै मासिक २५ हजारसम्म आम्दानी हुने उनले बताए।
'अरूको जागिर खानुभन्दा आफूले सकेको काम गरेर कमाएको रकमले खुसी पनि दिने रहेछ,' उनले सेतीपाटीसँग भने।
दिनभरि यात्रुको सेवामा खटिएपछि जब घडीमा साँझको ६ बज्छ, उनी घर फर्किन्छन्।
उनले श्रीमती संगीता बस्नेतलाई पनि पठाओ चालक बन्न प्रेरित गरेका छन्। २४ वर्षीया संगीता शारीरिक रूपमा अशक्त छिन्। उनलाई जन्मजातै 'क्ल फुट' भएको हो।
यसअघि संगीता एक गैरसरकारी संस्थामार्फत् अशक्त व्यक्तिको समूहमा बसेर काम गर्थिन्। त्यहाँ उनले बच्चाका लुगा तथा सुत्केरी महिलाले लगाउने गाउन बनाउँथिन्। मासिक १५ हजार कमाइ हुन्थ्यो।
श्रीमान रघुनाथले एउटै पेसामा आउन अनुरोध गरे। उनले चारपांग्रे स्कुटर चलाउन सिकिन्। लाइसेन्स निकालिन् र पठाओमा आफ्नो नम्बर दर्ता गराइन्।
'पहिले हामीसँग एउटा मात्र स्कुटर थियो। त्यसकारण एक जनाले मात्र पठाओको काम गर्नुपर्ने बाध्यता थियो,' हाँस्दै संगीता सुनाउँछिन्, 'रहर त मलाई पहिल्यैदेखि थियो नि।'
दुवै जनाको आम्दानी बचत गरेर संगीताले केही महिनाअघि मात्र टिभिएसको एनटर्क स्कुटर किनेकी छिन्। त्यसपछि भने उनीहरू दुवैले यात्रुलाई सेवा दिन थालेका हुन्।
सुरूमा त संगीताको अशक्तता र महिला भएकै कारण धेरै यात्रुले बुकिङ गरेका पठाओ पनि रद्द गर्थे। उनी मन चिसो बनाउँथिन् र घरतिर फर्किन्थिन्।
'महिला त्यसमाथि अपांगता भएको व्यक्ति, सुरूमा काम गर्न धेरै समस्या भयो,' उनले भनिन्, 'महिलालाई हेर्ने यो समाज जहिल्यै त्यस्तै हो। यस्तो महिलाले हामीलाई कसरी पुर्याइदिन्छ भन्छन्।'
अचेल भने संगीतालाई यो सबै बानी पर्दै गएको छ। उनलाई पठाओ राइडर बन्नु नै थियो। त्यसैले उनी यात्रुलाई गन्तव्यमा पुर्याउन सम्झाइबुझाइ गर्थिन्, गर्छिन्- 'एकपटक बसेर त हेर्नुस् अनि भन्नुस्।'
सहजै गन्तव्यमा पुर्याएपछि यात्रुहरू छक्क परेर प्रशंसा गर्ने संगीताको अनुभव छ। भन्छिन्, 'सजिलै गन्तव्यमा पुर्याइदिँदा सबैले सम्मानपूर्वक हेर्छन्। कतिले टिप्स पनि दिएर जान्छन्।'
संगीताले पठाओ चालक भएर काम थालेको चार महिना भयो। उनी दैनिक १५ जनासम्मलाई गन्तव्यमा पुर्याउँछिन्। यही कामबाट महिनामा बीस हजार रूपैयाँ कमाउने उनले बताइन्।
शारीरिक रूपमा अशक्त भए पनि आफूहरूलाई पठाओले स्वरोजगार बनाएको बस्नेत दम्पती बताउँछन्। दिनभरि आफ्नै सवारीसाधनमा यात्रुलाई राखेर पुर्याउन पाउँदा निकै खुसी अनुभूति गर्छन्।
'पठाओले रोजगारीमूलक काम दिएको छ। शारीरिक रूपमा अपांगता/अशक्त भएकालाई आयआर्जनको माध्यम बनेको छ,' खुसी हुँदै बस्नेत दम्पतीले भने।
उनीहरू अरू अशक्त व्यक्तिलाई पनि पठाओ चालक बन्न सुझाव दिन्छन्। आफूहरूको सुझावअनुसारै अहिले चारपांग्रे स्कुटर चलाएर यात्रुलाई सेवा दिने पठाओ चालक दस जनाभन्दा बढी भइसकेको उनीहरू बताउँछन्।
'अशक्तता हुँदैमा सर्वस्व गुमाएको भन्ने होइन। केही गर्न नसके पनि चारपांग्रे मोटरसाइकल गुडाएर पठाओ राइडर बन्ने हो भने सामान्य परिवार धान्न सकिन्छ,' आत्मविश्वास दिलाउँदै उनीहरूले भने।