केही दिनयता उनी नेपालका विभिन्न सहर घुमिरहेका छन्। धरान, पोखरा, चितवन, धनगढी, बुटवल लगायत सहर पुगेका उनलाई हेर्न र भेट्न आउनेहरूको घुइँचो थामिनसक्नु नै छ।
उनको नजिक जान, सँगै फोटो खिचाउन, अंकमाल गर्न चाहने फ्यानहरू उत्तिकै। सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा अहिले उनी नै छाएका छन्।
फ्यानहरूले बनाएका यी 'सेलेब्रेटी' हुन् साइग्रेस पोख्रेल।
उनी शब्दमार्फत् दर्शक-श्रोता लठ्याउँछन् भन्दा फरक पर्दैन।
साइग्रेस स्पेन बस्छन्। त्यहीँबाट युट्युब र सामाजिक सञ्जालहरूमा नेपाली मूलका कथा नेपाली भाषामै सुनाउँछन्। साइग्रेसको युट्युब च्यानलमा तीन लाखभन्दा बढी सबस्क्राइबर्स छन्। केही साताअघि मात्र उनी 'वर्ड टुर' को सिलसिलामा नेपाल आएका हुन्।
'स्टोरीटेलर' अर्थात् 'कथावाचक' को परिचय बनाएका साइग्रेस कथाहरूमा जिउन रूचाउँछन्, शब्दहरू पर्गेल्न रूचाउँछन् र कथालाई आफ्नो आवाजको मालामा उन्न रूचाउँछन्। त्यसैले युवादेखि सबै उमेर समूहका श्रोतामाझ लोकप्रिय छन्।
उनकै शब्दमा भन्नुपर्दा, युवाहरू 'आफ्नै ठाउँको केटा त हो नि' भनेर आत्मीयता देखाउँछन्, आमाबुवाहरू 'आफ्नै छोराले सुनाएको कथा हो नि' भनेर सुन्छन्।
साइग्रेसले धेरैपटक आफ्नो भिडिओ वा अन्तर्वार्तामा भन्दै पनि आएका छन्, 'जबसम्म म कथाहरूलाई जिउन सक्दिनँ, शब्दहरूलाई पानीसरी पिउन सक्दिनँ, म कथा भन्नै सक्दिनँ।'
उनीसँगको कुराकानी क्रममा हामीले सबभन्दा पहिला सोध्यौं, 'तपाईंको नामको अर्थ के हो?'
जवाफमा उनले भने, 'साइग्रेसको शाब्दिक अर्थ भन्नुपर्दा साइबाबाको कृपा। यो एउटा आध्यात्मिक विश्वास हो।'
अध्यात्ममा रूचि राख्ने र विशेषगरी साइबाबालाई मान्ने उनलाई सानैदेखि कथाको भूत सवार थियो। उनको मन-मस्तिष्कमा त्यो भूत चढाइदिएका थिए, उनका बुवाले सुनाउने लोक कथाहरूले।
बुवाले भाइ र उनलाई साँझको समय कथा सुनाउँथे। भन्दै जाँदा कथाहरू कहिले दोहोरिन्थे पनि, तर हरेकपटक सुन्दा उनलाई उत्तिकै उत्कृष्ट र रोचक लाग्थे। तिनमा भएका पात्रहरू आफ्नै आँखाअगाडि आइरहेजस्तो उनलाई महशुस हुन्थ्यो। उनी हरेकचोटि ती कथा सुनेर मन्त्रमुग्ध हुन्थे। अहिले साइग्रेसका कथा सुन्नेहरूले उनलाई त्यस्तै प्रतिक्रिया दिन्छन्।
'बुवाले कथा सुनाउने बेला धेरै लोडसेडिङ हुन्थ्यो। उहाँले सुनाउने कथाहरू नै त्यस बेलाका हाम्रा साथी थिए। मलाई त्यसैको प्रभाव परेको हुनुपर्छ,' कथावाचक बन्नुको प्रेरणा स्रोत बुवालाई बताउँदै उनले भने, 'अहिले धेरै जनाले मेरो कथा सुत्ने बेलाको आफ्नो साथीजस्तो भएको प्रतिक्रिया दिनुहुन्छ। त्यस्ताे प्रतिक्रिया सुन्दा मलाई निकै खुसी लाग्छ।'
साइग्रेसले सन् २०१६ मै युट्युब च्यानल खोलेका थिए। तर युट्युब खोले पनि फेसबुकमै सेयर गरेका भिडिओमा उनी रमाउँथे। दुई वर्षअघि उनी 'नाइन्टिज किड' शीर्षकमा युट्युबमा भिडिओ हालेर सुतेका थिए। भोलिपल्ट बिहान उठ्दासम्म त्यो भिडिओ धेरैले हेरिसकेका रहेछन्। धेरैले त्यसबाट प्रभावित भएर सेयर पनि गरिसकेका रहेछन्।
करिब ८६ हजारले हेरेको उक्त भिडिओमा साइग्रेसले भनेका छन्, 'अहिलेका विद्यार्थीहरू जसरी फेसबुक, युट्युब, इन्स्टाग्राम लुकीलुकी चलाउँछन्, हामी किताबको बीचमा लुकाएर सुपर कमान्डो ध्रुव, नागराजका कमिक्सहरू पढ्थ्यौं। त्यसको छुट्टै मजा थियो।'
सन् १९९० तिर मोबाइल, ल्यापटप लगायत मनोरञ्जन सामग्री केटाकेटीको पहुँचबाट टाढा थिए। कथा, चुट्किलाका किताब र कमिक्सहरू पनि मनोरञ्जनकै माध्यम हुन्थे। सानोमा पढेको 'मुना' पत्रिकामा हुने बाल साहित्य स्तम्भ र पजल खेलहरू उनी अझै सम्झन्छन्।
'सन् २००८ देखि २०१७–१८ सम्म म दिनमा एउटा कृति त पढेकै हुन्थेँ। त्यसले पनि मेरो शब्द भण्डार बढाउन सहयोग गर्यो,' नेपालीमा पकड बलियो हुनुको कारण बताउँदै उनले भने।
किताब पढ्ने र कथा सुन्ने साइग्रेसले कहिले कथावाचक बन्छु र यसमै व्यावसायिक रूपले लाग्छु भन्ने सोचेका थिएनन्। तर यसबाट आकर्षित र प्रभावित चाहिँ थिए।
कक्षा ४ मा पढ्दा उनले पहिलोपटक स्कुलको कमेडी च्याम्पियन प्रतियोगितामा भाग लिएका थिए। त्यो बेला धेरैले जोडी बनाएर प्रदर्शन गरे। साइग्रेसले भने हाँस्य कथा लेखेका थिए जसलाई उनले एकल प्रदर्शन गरे। उनी त्यो प्रतियोगितामा प्रथम भए।
'मैले अनुमान पनि गरेको थिइनँ, कसरी झुक्किएर प्रथम भएछु जस्तो लाग्छ,' स्कुले दिन सम्झिँदै उनी मुसुक्क हाँसे र भने, 'त्यस दिन मलाई अनुभव भयो, लेखाइमा शक्ति हुन्छ र आवाजमा क्षमता हुन्छ।'
त्यसपछि उनी विस्तारै आफ्नो डायरीमा कथा, कविता र गीतका खेस्रा कोर्न थाले। उनले पहिलोपटक ठूलो जमातमा कथा वाचन गरेको भने सन् २०१२ मा हो। त्यो बेला साइबाबा संगठन नेपालले राष्ट्रिय युवा सम्मेलन गरेको थियो। त्यसमा आएको प्रतिक्रियाबाट उनले आफ्नो आवाजमा छुट्टै किसिमको पकड र बनावट भएको थाहा पाए।
त्यही बेला उनले अठोट गरे, 'मैले कथावाचनलाई निरन्तरता दिनुपर्छ।'
त्यही कार्यक्रमकी एक कथावाचक सरिता अधिकारी (श्रीता) ले उनको वाचन मनपरेको बताउँदै एउटा नोट छाडेकी थिइन्, 'मान्छे अक्सर तालीको भोको हुन्छ। जब ताली र गाली दुवैको भोको रहन थाल्छ, तब उसले प्रगतिलाई अंगालो हाल्छ। त्यस कारण नआत्तिनू, नमात्तिनू।'
पछि उनै सरिता साइग्रेसकी जीवनसाथी बनिन्। उनी पनि युट्युबमा कथावाचन गर्छिन्।
कथावाचनलाई नै आफ्नो करिअरका रूपमा अगाडि बढाउनुअघि २०६५ सालमा साइग्रेस स्वास्थ्य मन्त्रालयमा जागिरे थिए। त्यहाँ कागज, किताब र जर्नलमा लेखिएका विवरणलाई डिजिटल बनाउने र अनुसन्धान गर्ने उनको काम थियो। त्यो अनुभवले उनलाई डिजिटल माध्यमको विशेषता चिनाउनुको साथै भाषा निखार्न मद्दत गर्यो।
सन् २०१५ मा डेनमार्कमा 'स्ट्राटेजिक म्यानेजमेन्ट' पढ्न गएका उनी फिल्म निर्माणमा पनि जोडिए। यसबाहेक कथा सुनाउँथे।
साइग्रेस सुरूदेखि नै सामाजिक मूल्य-मान्यताका कथाहरू भन्न र लेख्न रूचाउँथे। अधुरो प्रेम, माया र मजाक, जात नमिलेको प्रेमजस्ता कथा र अडिओ उपन्यासमा पनि अन्तिममा उनी मानवीय मूल्य-मान्यतालाई नै समावेश गर्ने प्रयास गर्छन्।
'मलाई सामाजिक विषयवस्तुमा रहेर कथाहरू बुन्न मनपर्छ। त्यसका लागि मलाई कथाको परिवेश, कुन धरातलमा टेकेर कथा भनिरहेको छु भन्ने महशुस हुनुपर्छ,' उनले भने, 'कथाको कुन पात्रमा म आफूलाई भेट्टाउँछु भन्ने परख राख्छु। जबसम्म त्यो भोगाइलाई कसैले भोगेको देख्दिनँ वा मैले प्रत्यक्षदर्शी भएर हेर्न सक्दिनँ, तबसम्म म कथा भन्न सक्दिनँ।'
डेनमार्क हुँदै स्पेन सरेका उनी यहाँका कथा भन्न सक्नुको मूल कारण पनि यसैलई मान्छन्, 'ती कथाको सूक्ष्म अवलोकन।'
आफ्नो कथा आफैं लेख्ने र अरूको कथा पुनर्लेखन गरेर सुनाउने साइग्रेस कथाहरूको मूल तत्व शब्दलाई मान्छन्। त्यही भएकाले शब्द भण्डार बलियो बनाउने र नयाँ–नयाँ कुरा सुनेर शब्दहरू संकलन गर्न रुचाउँछन्। त्यसबाट आफ्नो लेखनमा स्वतस्फूर्त निखार आउने उनको धारणा छ।
करिब आठ महिनादेखि साइग्रेसले एउटा अडिओ सिरिज सुरू गरेका छन्– साइग्रेससँग मनका कथा। त्यो सिरिजमा जो आफ्ना कथा सुनाउन नपाएर भित्रभित्रै पिल्सिएका छन्, उनीहरूको गोपनीयतालाई मध्यनजर गदै कथा भनिन्छ।
'धेरै मानिस आफ्ना कुरा अभिव्यक्त गर्न सक्दैनन्। त्यसमा सस्तो मसला मिसाएर झूटा प्रचार गरिन्छ भन्ने डर उनीहरूमा हुन्छ। उनीहरूको पहिचान गोप्य हुने भएकाले ती मान्छेले मलाई निर्धक्क कथा सुनाउँछन्,' उनले भने, 'म त्यस्ता कथा उठान गर्छु जुन समाजमा भएका छन् र जसले सामाजिक मूल्य-मान्यतामा दख्खल राख्छन्। ती प्रतिनिधि कथा हुने भएकाले उस्तै खालको सन्देश जाने कथा भने दोहोर्याउँदिनँ।'
स्पेनमा उनी कथासम्बन्धी कामहरू नै गर्छन्। सन् २०१८ मा डिजिटल मार्केटिङको स्नातकोत्तर अध्ययन क्रममा स्पेन पुगेका उनले फोटोग्राफी र भिडिओग्राफी निर्माण गर्ने कम्पनी खोलेका छन्। त्यही कम्पनीअन्तर्गत रहेर उनले चार–पाँच कम्पनीमा मिडिया म्यनेजरका रूपमा काम गरिरहेका छन्।
सम्पूर्ण समय कथावाचन र कथा लेखनमै रहने उनले पछिल्लो समय विभिन्न गैरसरकारी संघ-संस्था र व्यावसायिक कम्पनीमा समेत काम गरेका छन्। सुरूमा 'सेभ द चिल्ड्रेन' का लागि उनले १२ वटा जनचेतनामूलक कथा भनेका थिए। बागमती अभियान, रक्तदान लगायत सामाजिक अभियानमा पनि चासो देखाउने उनले कोरोना महामारी समयमा पनि सहयोग गरे। त्यही बेलाको लकडाउनमा उनका कथाहरू धेरैमाझ लोकप्रिय भए।
उनलाई लाग्छ, जसरी विदेशमा विज्ञापन वा डबिङका रूपमा आवाजको व्यावसायिकीकरण भएको छ, नेपाली उद्योगमा पनि त्यो समय आएको छ। अहिलेको युवा पुस्ता कथावाचनमा लाग्न थालेकाले यो क्षेत्रले भविष्य कोर्दै गएको उनले महशुस गर्न थालेका छन्।
'मेरो ममीले पनि स्टोरीटेलर बन भनेर सल्लाह दिनुभएको छ भन्ने प्रतिक्रियाहरू सुन्न पाउँदा निकै खुसी लाग्छ,' उनले भने, 'यो पेसा मर्यादित छ भनेर उहाँहरूले चिनिदिनुभएको छ। आफूलाई पनि सही बाटोमा लम्किरहेको छु भन्ने महशुस हुन्छ।'
साइग्रेस कथावाचनलाई कला र विज्ञानको मिश्रण मान्छन्। कस्तो कथा उठान हुँदैछ, पात्रलाई कहाँ राखिन्छ, कसरी कथा डिजाइन हुँदैछ, यी सबैलाई कथावाचनको पाटा मान्ने उनी भन्छन्, 'कथा भन्नु र कथावाचन गर्नु दुई फरक कुरा हुन्। कथावाचनको आयाम निकै बृहत् छ।'
अहिले सबैलाई भाइरल बन्ने प्रवृत्तिले भने उनलाई युवाहरूको भविष्यप्रति चिन्तित बनाएको छ। अहिलेको समय सबै जना आतुर छन्। त्यही भएकाले कसैलाई विषय खोज्न जाँगर छैन। विवादमा परेका कुराहरू छिटो फैलिइरहेका छन्। त्यस्तो समय साहित्यका कुराहरू हाइलाइटमा आउनु आफैंमा चुनौती भएको उनले महशुस गरेका छन्।
'हामी १५ मिनेटको भिडिओ हेर्नै सक्दैनौं। बरू १५ सेकेन्डको टिकटक छिटोछिटो हेर्छौं। डिजिटल टाफ्रिक बढी भइरहेको परिवेशमा यस्तो कन्टेन्टले अडियन्स पाएर पहिचान कमाउँदा यो क्षत्रलाई नै सफलता दिएको अनुभूति हुन्छ,' उनले भने।
युवाहरूलाई सन्देश दिँदै उनले भने, 'सामाजिक सञ्जालको जुन जालो छ, त्यसले हामीलाई छिट्टै चर्चित हुने भोक जगाइदिएको छ। त्यो जालोमा पर्दै गर्दा भाइरल हुने सोचमा आफ्नो प्रोडक्टिभिटी नगुमाउनुहोला। हामी कसरी राम्रो कुरा दिन सक्छौं भन्नेमा ध्यान दियौं भने सफलता अवश्य आउँछ।'
'साइबर बुलिङ' बाट सजग रहने साइग्रेस सकारात्मक ऊर्जा सञ्चय गर्न रूचाउँछन्। त्यही भएकाले नराम्रा प्रतिक्रियालाई तुरून्तै हटाउँछन्। त्यस्ता गतिविधि बढ्दै गए आवाज उठाउने र कारबाहीको पहल गर्ने अभियान चलाएका छन्।
यही नोभेम्बर ९ देखि २७ सम्म वर्ड टुर (शब्द यात्रा) का लागि साइग्रेस नेपाल आएका हुन्। कलेजमा पढेको 'म्याजिक अफ वर्डस्' किताबबाट यो 'वर्ड टुर' शब्द प्रभावित रहेछ। आइएमईले आयोजना गरेको यो यात्रामा उनी आफ्ना प्रशंसकहरूसँग भेट्छन्, आफ्नो अनुभव सुनाउँछन् र उनीहरूका कुरा पनि सुन्छन्।
यस क्रममा उनले प्रशंसकबाट थुप्रै माया र सरहना पाएका छन्।
यो यात्रापछि एक साता उनको साथीहरूसँग बाइकमा घुम्न जाने योजना छ।
साइग्रेसको योजनामा अर्को कुरा पनि छ, अडिओ उपन्यासका रूपमा सुनाइसकेको किताब 'अधुरो प्रेम' को किताब निकाल्ने। आफ्नै अधुरो प्रेमकथामा आधारित उक्त उपन्यासलाई युट्युब च्यानलमा ३५ लाखले सुनेका छन्।
'आज भखरै यसको किताब प्रेसमा गएको छ,' गत मंगलबार सेतोपाटीमा आएका उनले भने, 'सम्भवतः चाँडै किताब सार्वजनिक हुनेछ।'