जनताको विरोधलाई बेवास्ता गरेका नमूना इँटाभट्टाका सञ्चालकले स्थानीय सरकारलाई समेत नटेरेको पाइएको छ।
झापाको हल्दिबारी गाउँपालिकाको न्यायिक समितिलाई नमूना इँटाभट्टाका सञ्चालकले नटेरेका हुन्।
स्थानीयको उजुरीपछि मंगलबार तत्काल इँटाभट्टा सञ्चालन नगर्नू भनेर दिएको आदेश सञ्चालकले बेवास्ता गरेका हुन्।
उनले बुधबार बिहानैदेखि भट्टा सञ्चालन गरिरहेको गाउँपालिकाले जनाएको छ।
साबिक चारपाने-३ मा दर्ता भएको इँटाभट्टाका सञ्चालकले स्थानीय वडा कार्यपालिकासँगको मिलेमतो गरी हल्दिबारी-१ गोलधापमा पुनः भट्टा सञ्चालन गरेको स्थानीयको आरोप छ। यसरी एक ठाँउमा दर्ता भएको उद्योग अर्को ठाउँमा सञ्चालन गर्न पाइँदैन।
स्थानीय बासिन्दाले गएको असोज २० गते स्थानीय हल्दिबारी गाँउपालिकाको न्यायिक समितिमा उजुरी गरेका थिए। पालिकाले एक महिनापछि भट्टा सञ्चालन नगर्न सञ्चालकलाई लिखित आदेश दिएको थियो।
पालिकाको सूचना शाखाका अनुसार मङ्गलबार नमूना इँटाभट्टा उद्योगका सञ्चालक दिनेश चौलागाईंको नाममा पत्र पठाउँदै भट्टा तत्काल रोक्न आदेश दिइएको थियो।
सो आदेशमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ८ को दफा ४७ को उपदफा २ (ञ) बमोजिम स्थानीयले उजुरी दिएपछि तत्काल भट्टाको कामकाज सञ्चालन नगर्नू भनिएको छ।
‘भट्टा साबिकको चारपाने ३ मा दर्ता भएको छ। हल्दिबारी गाँउपालिकामा दर्ता भएकै छैन,’ स्थानीय गोविन्द घिमिरेले भने, ‘स्थानीयको विरोधका बीच पनि नमूना इँटाभट्टाका सञ्चालकले स्थानीय जनप्रतिनिधिलाई प्रभावमा पारेर भट्टा सञ्चालन गरिरहेका छन्।’
मानव स्वास्थ्य र वातावरणमा समेत स्थानीयलाई प्रत्यक्ष असर पर्न थालेपछि १२२ जनाले हल्दिबारी गाउँपालिकाको न्यायिक समितिमा असोज २० गते लिखित उजुरी गरेका थिए। स्थानीयले भट्टा सञ्चालक चौलागाईं र वीरबल योङहाङ (लिम्बु)लाई विपक्षी बनाई उजुरी गरेको हल्दिबारी गाँउपालिकाले जनाएको छ।
स्थानीयहरू भट्टा सञ्चालनको विरोधमा लामो समयदेखि आन्दोलनमा थिए। ‘हामीले पटक-पटक अनुरोध गर्दा पनि ‘प्रशासनले केही गर्न नसक्ने’ भन्दै सञ्चालकले भट्टा सञ्चालन गर्दै आएका थिए,’ स्थानीय व्यवसायी समेत रहेका घिमिरेले भने।
यता पालिकाका प्रमुख रविन्द्र लिङ्देनले हल्दिबारी गाँउपालिकामा नमूना इँटा उद्योग दर्ता नभएको बताए। दर्ता नभएको उद्योग बिना अनुमति सञ्चालन गर्न नपाइने अध्यक्ष लिङ्देनले सेतोपाटीलाई बताए। जबरजस्ती गरे कानुन अनुसार कारबाही हुने लिङ्देनले बताए।
स्थानीयका अनुसार भट्टा सञ्चालकले वातावरणको प्रभाव मूल्याङ्कन पनि गराएका छैनन्। उद्योग सञ्चालन गर्नुपूर्व वातावरण प्रभाव मूल्यांकनको प्रमाण पत्र लिन अनिवार्य रहेको लिङ्देनले बताए। भट्टाको साँध सिमाना भएका सँधियार र स्थानीय प्रभावित परिवारको असहमति हुँदाहुँदै भट्टा सञ्चालन गरिएको आरोप स्थानीयको छ।
घरेलु तथा साना उद्योग कार्यालयमा नमूना इँटा उद्योग दर्ता नभएको कार्यालयकी सूचना अधिकारी दुर्गा बाँस्तोलाले बताइन्।
उनका अनुसार २०६४ सालमा साबिकको गोलधाप ८ मा नेसनल इँटा उद्योग दर्ता भएको तथ्यांक कार्यालयसँग छ। ‘त्यसको सञ्चालक दिनेश चौलागाईं नै हुनुहुन्थ्यो। अहिले पनि उहाँको नाम अनौपचारिक रूपमा जोडिएको छ,’ बास्तोलाले भनिन्।
सञ्चालकले यतिबेला प्रालिमा आफ्नो उद्योग रहेको भन्दै सूचीकृत गरिदिन निवेदन दिएको कार्यालयले जनाएको छ। स्थानीय बासिन्दाको विरोधका कारण अब भट्टा सञ्चालनको अख्तियारी कार्यालयले दिन नसक्ने बाँस्तोलाले बताइन्।
स्थानीयले नजिकै रहेको मानव बस्ती, विद्यालय, अस्पताललाई प्रतिकूल असर पारको भन्दै कार्यालयमा पनि उजुरी गरेको कार्यालयले जनाएको छ।
स्थानीयको निवेदनपछि भट्टा सञ्चालन गर्न रोक लगाइएको हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले बताए। पालिकाको पत्र पाएपछि पनि उद्योग सञ्चालनमा रहेका पाइए प्रहरी लगाएर सञ्चालकलाई पक्राउ गरिने उपाध्यक्ष गिरीले बताए।