गत कात्तिकको पहिलो साता महाकाली नदीमा आएको बाढीले भएको घरखेत र पालेका कुखुरा बगाउँदा यतिबेला कञ्चनपुरको भीमदत्त नगरपालिका-९ मसेट्टीका लक्ष्मण नायक चिन्तित छन्।
कुखुरापालन र गाउँमा सामान्य खेतीपाती गर्दै परिवार चलाएका नायकको बाढीले खोरमा हालेका पाँच हजार कुखुरा बगाउनाका साथै घर पनि बगायो।
कुखुरा फार्म कुर्न गएका बेला श्रीमती र दुई छोरासहित महाकालीको भङ्गालोमा परेका नायक परिवारलाई सेनाको हेलिकप्टरबाट उद्दार गरिएको थियो।
'सेनाले ज्यान बचाएर गाउँमा बिसाए', नायकले भने,'गाउँमा अवस्था सामान्य बन्दै गएपछि नेतादेखि जनप्रतिनिधिसम्म आएर आश्वास बाँडे तर राहत कहीँबाट पनि पाइएको छैन।'
उनले आफूसित भएको सम्पत्ति बगाउँदै गाउँमा छाक टार्न समेत समस्या भइरहेको दुःख सुनाए।
'दोधारा चादँनी र ऐरी क्षेत्रमा दाताले केही दिनलाई पुग्ने राहत वितरण गरेको सुनिए पनि हाम्रो बस्तीमा पीडित सहाराकै आशमा छन्', उनले भने, 'यसपालिको बाढीबाट जोगिने आश नै मरिसकेको थियो, धन्य परिवारसहित बाच्यौं।'
बाढीका बेला सडक अवरूद्ध भएको खल्लामसेट्टीको सडक खुलाउने कार्य अहिले भइरहेको छ।
बाढीले सडक भत्काएको दुई साता बित्न लाग्दा पनि सडक खुलाउन पहल नभएको भन्दै स्थानीय युवाले सडक खुलाइरहेका छन्। स्थानीय दीपराज चटौतले स्थानीय युवाले स्काभेटर मगाएर सडक खुलाउन थालेको बताए।
उनले बाढीका बेला स्थानीयबासीको धानबाली बगाउनाका साथै दस किलोमिटर भन्दा बढी कच्ची सडकमा क्षति पुगेको जानकारी दिए।
बाढीपछि प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा पनि यहाँ आएका थिए।
उनले दोधारा चादँनी र भीमदत्त नगरपालिकाको प्रभावित क्षेत्रको अनुगमनपछि पीडितलाई राहत र पुनःनिर्माणमा सरकार लाग्ने बताएका थिए।
त्यसैगरी यहाँको भीमदत्त नगरपालिका–१२ ऐरीकी रूपा सुनारले पनि बाढीका कारण आफूहरू विस्थापित भएको बताइन्।
'बाढीका बेला एक/दुई दिन स्कुलमा बितायौं', उनले भनिन्,'अहिले घर फर्कियौं तर खानेकुरा केही छैन।'
उनले स्थानीयबासीदेखि संघ सरकारले राहत उपलब्ध गराउन बताए पनि पीडितको घरमा नपुगेको बताइन्।
'महाकालीको बाढी गाउँ पसेको भए पनि स्थानीय नागरिककै ज्यान खतरामा थियो', उनले भनिन्,'भित्र्याउने बेलाको धान डुबान पर्दा चामल किन्नुपर्ने अवस्था आयो।'
बाढीका कारण भीमदत्त–९, ११, १२ र १३ को तटीय क्षेत्र प्रभावित भएको थियो।
यस्तै, दोधारा चादँनीका केही वडासमेत डुबानले प्रभावित बनेका थिए।
भीमदत्त-१३ का वडाध्यक्ष लालबहादुर शाहीले बाढीले तीन सय परिवार प्रभावित भएको बताए।
'कुखुरा फार्म बग्नाका साथै यहाँ पसलसम्म बगे', वडाध्यक्ष शाहीले भने, 'दाताले पीडितलाई सहयोग गर्यो, तर स्थानीय सरकारले पीडितको नामावली मात्रै मागेको छ।'
उनले दाताको भरमा पीडितको छाक टरिरहेको बताए।
'हामीले क्षतिको विवरण सबै माथिल्लो तहमा पठायौं', उनले भने, 'तर राहत दिने विषयमा कुनै विषयमा सुनुवाइ नहुँदा पीडित समस्यामा छन्।'
त्यसैगरी यहाँको दोधारा चादँनीका नगरप्रमुख वीरबहादुर सुनारले बाढीबाट नगरक्षेत्रमा एक हजार परिवार प्रभावित बनेको बताए।
'दाताले गरेको सहयोगले पीडित बसिरहेका छन्', उनले भने, 'विभिन्न संघ/संस्थाको सहयोगमा हामीले पनि हातेमालो गरेर खाद्यान्न दिइरहेका छौं।'
उनले प्रदेश र संघ सरकारबाट पीडितलाई अझै कुनैखाले सहयोग नआएको बताए। कञ्चनपुरमा बाढी र डुबानबाट करिब १२ हजार हेक्टर क्षेत्रफलको धानमा क्षति भएको छ। (रासस)