लिम्बुवान इतिहासका अध्येता भगिराज इङ्नामसँग दसैं वार्ता
लिम्बुवान इतिहासका अध्येता भगिराज इङ्नामको घरमा दसैं नभित्रिएको तीन वर्ष भयो।
झापामा रहेका उनका दिदीबहिनी र दाजुभाइले दसैं मान्न छाडेको त २०४५–४६ सालतिरै हो। उनले भने चटक्कै छाड्न सकेका थिएनन्। तै पनि उनलाई मनमनमा सधैं लाग्थ्यो, 'दसैं हाम्रो चाड होइन।'
हरेकचोटि दसैं मनाउँदा मनमा यस्तो कुरा खेल्न थालेपछि इङ्नामले तीन वर्षअघि दसैं नमनाउने निर्णय गरे। परिवारका ठूलादेखि साना सदस्य सबैलाई भेला गरेर उनले भने, 'दसैं हाम्रो चाड होइन।'
इङ्नामजस्ता लिम्बू र अन्य किराँती समुदायले दसैं मान्नु र छाड्नुको कारण लगभग उस्तै छ।
करिब साढे दुई सय वर्षअघि राज्यको दबाव वा प्रभावमा उनीहरूले दसैं मनाउन थालेका थिए। अहिले उनीहरू दसैं आफ्नो चाड होइन भन्दै मनाउन छाडिरहेका छन्।
यसपालि मदन पुरस्कार जितेको 'लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह' का लेखक इङ्नामसँग हामीले लिम्बू समुदायको दसैं र अन्य चाडपर्वबारे कुराकानी गरेका छौं।
लिम्बुवानमा दसैं संस्कृतिको प्रवेश पृथ्वीनारायण शाहको राज्य विस्तारसँग जोडिएको उनी बताउँछन्।
पृथ्वीनारायणले गोरखा राज्य विस्तार गर्नुअघि लिम्बुवानमा सेन राज्य थियो। थोरै संख्याका लिम्बूहरू मात्र राज्यको प्रभावमा हिन्दुधर्मी भएका थिए। उनीहरू चाहिँ दसैं मान्थे।
त्यस बेला लिम्बुवानमा राजा कर्णसेन नाम मात्रका शासक थिए। उनीभन्दा शक्तिशाली थिए, लिम्बुवानका दस क्षेत्रमा फैलिएका दस जना लिम्बूहरू जसलाई सरदार वा हाङ (राजा) भनिन्थ्यो। ती लिम्बूहरू विजयपुरमा पालैपालो मुख्यमन्त्री बन्न आइपुग्थे।
राज्य विस्तार क्रममा गोर्खाली सेना तीनपटकसम्म लिम्बुवानसँग पराजित भयो। पृथ्वीनारायणले चौथोपटकमा जुक्ति लगाएर दस जना लिम्बू सरदारबीच फाटो ल्याए। त्यसैको परिणामस्वरूप बिक्रम सम्बत् १८३१ सालमा पाँच जना लिम्बूले गोर्खालीसँग सम्झौताको कागजात गरे।
उक्त सम्झौतामा लिम्बूहरूको जग्गाजमिन र खानपान यथावत् राखिने कबुल गरिएको थियो। उनीहरूलाई गोर्खाली सरकारले नगरा निसान पनि दिएको थियो। झन्डाजस्तो देखिने नगरा निसान युद्धको चिह्न हो। यस्तो निसान सेना र लिम्बूसँग मात्र छ।
राजाबाट नगरा निसान पाउनु त्यस बेला लिम्बू सुब्बाहरूको प्रतिष्ठासँग गाँसिन्थ्यो। गोर्खाली राज्यले आफ्नो प्रतिष्ठा कायम राख्न स्वीकार गरेपछि लिम्बूहरूले पनि राज्यले दिएको दसैं मान्ने आदेश पालना गरे। दसैंको समयमा निसान, नगरा (बाजा), तरबार, ढाल, खुँडा लगायत युद्ध सामग्री निकालेर पूजाआजा गर्ने चलन अझै छ।
राज्यको आदेशअनुसार लिम्बूहरूले हरेक दसैंमा बोका र राँगाको बलि दिनुपर्थ्यो। बलि दिएपछि आलो रगत हातमा लतपताएर भित्तामा छाप लगाउनुपर्थ्यो।
लिम्बूहरूले यसरी विधिपूर्वक दसैं मनाए कि मनाएनन् भनेर अनुगमन गर्न सरकार पक्षले तिलंगा (प्रहरी) पठाउँथ्यो। जसको घरको भित्तामा रगत छापिएको छ, उनीहरूले दसैं मानेका छन् भन्ने बुझिन्थ्यो। छाप नलगाउनेहरूलाई राज्यको आदेश उल्लंघन गरेको घोषित गरेर कारबाही गरिन्थ्यो।
कारबाहीबापत् लिम्बूहरूले सन्तान-दरसन्तान भोगचलन गर्नू भनी पाएको किपट जग्गादेखि सुबांगी पदवीसमेत खोसिन्थ्यो। त्यही डरले लिम्बूहरू दसैं मान्न बाध्य भएको इङ्नाम बताउँछन्।
राणा प्रधानमन्त्री जंगबहादुरको पालामा त दसैं नमान्दा दुई जनालाई मृत्युदण्डसमेत दिइएको थियो, उनले भने, 'धनकुटा आसपास बसोबास गर्ने अठप्रे (आठपरीय) जातिहरू दसैं मान्दैनन्। उनीहरूले दसैं नमान्दा न रामलीहाङ र रिदमा नाम गरेका दुई पुजारीलाई झुन्ड्याएर मारिएको थियो।'
दसैं मनाउँदा राँगा वा बोका काट्नू भन्ने आदेशले पनि कतिपय लिम्बूलाई दुःख भयो। त्यही भएर १८६२ सालमा उनीहरूले तत्कालीन सरकारलाई पत्र नै लेखे। त्यसपछि राज्यबाट उक्त आदेश मिनाहा गरिदिँदै 'काट्न सक्नेले काट्नू, नसक्नेले नकाट्नू' भन्ने आदेश गरियो।
राज्यले दिएको आदेश एकातर्फ छँदै थियो, अर्कातिर लिम्बूहरू आफैंले पनि दसैंमा विकृति थपे।
विवाहपछि तीनवटा दसैंमा ससुराली जाँदा सुँगुर लग्नुपर्ने नियम लिम्बूहरूले नै बनाए। २०३८ सालमा विवाह गरेका इङ्नाम आफैं पनि त्यो विकृतिबाट मुक्त हुन सकेनन्। झापामा रहेको उनको ससुराली अलि आधुनिक भएकाले तीनवटा दसैंमा सुँगुरको साटो खसी लगेको उनी सुनाउँछन्।
लिम्बू समुदायमा चलेको अर्को विकृति थियो, दसैंलाई तिहारसम्म मनाउने। पहाडबाट टाढाटाढा टीका लगाउन जाँदा समय लाग्ने भएकाले उनीहरूले दसैंलाई तिहारसम्म लम्ब्याएका थिए।
दसैंमा किराँत समुदायले लगाउने टीकाको रङ भने फरक छ। अरू हिन्दुहरूले रातो टीका लगाउँछन् तर लिम्बू, राई, तामाङ, गुरूङ, याक्खा लगायत किराँत समुदायले सेतो टीका लगाउँछन्।
यसरी सेतो टीका लगाउनुको पछाडि एउटा किम्बदन्ती छ।
त्रेतायुगमा दशमीका दिन भगवान रामले रावण वध गरेर विजय हासिल गरेको मानिन्छ। यसलाई असत्यमाथि सत्यको विजयका रूपमा लिइन्छ र यही विजयमा खुसियाली मनाउन दसैं पर्व सुरू भएको भनाइ छ। कतिपयले दसैंमा लगाइने रातो टीकालाई रावणको रगतको प्रतीकका रूपमा लिन्छन्। किराँतीहरूले भने रावणको रगतले मुछेको टीका आफूहरूले नलगाउने भनेर शान्तिको प्रतीकका रूपमा सेतो चामलको टीका लगाउने गरेको इङ्नामको भनाइ छ।
'हामी रावणलाई किराँती मान्छौं। हाम्रै समुदायका रावणको रगतले मुछेको टीका कसरी लगाउनु?' उनले तर्क दिए।
पृथ्वीनारायण शाहको शासनपछि धेरै लिम्बूहरूले दसैं मनाउन थाले पनि केही ठाउँमा भने दसैंको प्रभाव पर्दै परेन।
'म २०४७ देखि २०५० सालसम्म पश्चिम दार्चुलामा बसेँ। पश्चिमका नौ जिल्लामा दसैं मनाइँदैन। उनीहरू भदौमा हुने गौरा पर्वलाई आफ्नो मुख्य चाडका रूपमा मनाउँछन्। मुस्ताङ, मुगु, कालिकाेट लगायत सेती अञ्चलतिर पनि मस्टो पर्व दसैंभन्दा धुमधामसँग मनाइन्छ,' इङ्नामले भने, 'अहिले आएर उनीहरूमा पनि दसैंको रौनक छाएको छ। कतिपयले तराई झरेपछि दसैं मनाउन सिके, कतिले भने काठमाडौं र अन्य सहरमा प्रवेश गरेपछि दसैं मनाउन थाले। यसरी दसैं नमान्ने समुदायमा पनि यो चाड भित्रियो।'
यसरी नेपालकै केही ठाउँमा भर्खर-भर्खरै दसैं भित्रिने क्रम सुरू भए पनि धेरै लिम्बू लगायत किराँत समुदायले भने दसैं बहिष्कार गरिरहेका छन्।
उनीहरूले दसैं बहिष्कार गर्नुका पछाडि दुई मुख्य कारण छन्।
पहिलो कारण त, उनीहरूलाई १८३१ सालमा दिइएको अधिकार खोसिनु हो। पहिले लिम्बुवानमा किपट जग्गा व्यवस्था थियो जसलाई उनीहरूका सन्तान–दरसन्तानले मात्र भोगचलन गर्न पाउँथे। यस्तो जग्गामा कर लाग्दैनथ्यो। पछि राजा महेन्द्रले जग्गासम्बन्धी ऐन ल्याए। राजा वीरेन्द्रको पालामा नापी पनि आयो र किपट जग्गा इतिहासमा सीमित भयो।
आफूले पाएको जग्गाको अधिकार नै गुमेपछि कतिपय लिम्बूले दसैं बहिष्कार गर्दै भने, 'पहिले पो सरकारले हामीलाई किपट दिएको थियो, त्यही भएर हामीले दसैं मान्यौं। अब हामीले दसैं मान्नुको कुनै औचित्य छैन।'
दोस्रो कारण, २०४६ को जनआन्दोलनपछि विभिन्न संस्कृति, भाषाभाषी र जातजातिमा आएको सांस्कृतिक जागरण। यही जागरणका कारण लिम्बू र किराँती समुदायले हिन्दुहरूले लादेको संस्कृति नमान्ने भनेर दसैं बहिष्कारको अभियानै चलाए।
यही क्रममा कतिपय लिम्बूले २०४६ देखि नै दसैं मान्न छाडे पनि दुई सय वर्षभन्दा बढी समयदेखि मनाइरहेको चाड छाड्न सबैलाई सजिलो भएन। किराँती समुदायमा अझै पनि दसैं मान्नेहरू थुप्रै भेटिन्छन्। कतिले टीका नलगाए पनि खानपान र रमाइलो गर्न छाडेका छैनन्।
इङ्नामका अनुसार लिम्बूहरूको सबभन्दा ठूलो चाड चासोक तङ्नाम (उँधौली) हो। त्यो नेवाः समुदायले मनाउने योःमरि पुन्हीको दिन पर्छ। त्यस दिन काठमाडौं उपत्यकाको हात्तिवनमा लिम्बु किराँतीहरूको मेला लाग्छ। त्यहाँ उनीहरुको 'माङहिम' छ। 'माङ' भनेको देवता र 'हिम' भनेको घर हो।
उँधौलीको दिन माङहिममा पूजा हुन्छ र लिम्बूहरूको मौलिक परिकार बेच्न पनि राखिन्छ।
चासोक तङ्नाम मनाउनु दुई दिनअघि लिम्बूहरूले आफ्नै घरमा पूजाआजा गर्छन्। त्यस दिन मकै, कोदो, धान लगायत अन्न घर भित्र्याइन्छ। भात, पोलेको हरियो मकै र कोदोको जाँड बनाएर आफूहरूले पुज्ने तागेरा निङ्वाफुङ्, युमा लगायत देवीदेवतालाई चढाइन्छ। पूजा गरेपछि मात्र ती परिकार खान पाइन्छ।
चासोक तङ्नाममा भगवानलाई जस्तै आफ्ना बहिनीहरूलाई पनि पूजाआजा गर्ने र भाग चढाउने चलन छ।
मुन्धुमका अनुसार जंगली अवस्थामा किराँतीहरूले खेती गर्न जानेका थिएनन्। जनसंख्या बढ्दै गएपछि उनीहरूले खाने जंगली तरूल, भ्याकुर लगायत खानेकुरा सकिन थाले। अनिकालले बाँच्न गाह्रो पर्दै गयो। त्यस बेला सिकेरा याकथुङबा भन्ने एक जना केटीको माइती अनिकालले मर्न लागेपछि उनले भगवानको प्रार्थना गरिन्। भगवानले उनको प्रार्थना सुनेर मकै, कोदो, सिमी लगायत बीउबिजन दिएछन्। ती बीउबाट खेती गर्न सिकाएछन्। आफूले सिकेको ज्ञान याकथुङबाले माइतीलाई सिकाइन् र अनिकालबाट मुक्त पारिन्।
यसरी माइती पक्षलाई बचाएकाले उनीहरूले त्यस दिन आफ्ना बहिनीहरूको पूजा गर्छन् र उब्जाउ अन्नको पहिलो भाग चढाउँछन्।
'हामीकहाँ हरियो मकै देउतालाई नचढाई खायो भने गाँड निस्कन्छ भन्थे। तर ढलेको मकै खान पाइन्थ्यो,' इङ्नामले विगत सम्झँदै भने, 'केटाकेटी हुँदा हामी मकै ढलाउन त्यहीँ ढलिमली गरेर खेल्थ्यौं। मकै ढलेपछि गाँड निस्कन्छ भन्ने डरबाट पनि मुक्त भइन्थ्यो।'
आफ्ना केटाकेटी बेलाको हरकत सुनाएपछि उनले भने, 'चासोक तङ्नामझैं लिम्बू समुदायका धेरै चाडपर्व खेतीपातीसँग सम्बन्धित छन्।'
चैत–वैशाखतिर हुने योक्वा पूजा (उँभौली) मा पनि उनीहरू उब्जनी राम्रो होस्, बाढीपहिरोले नलगोस्, पानी बेलैमा परोस् र असिना नपरोस् भनेर आफ्ना देवीदेवताको पूजा गर्छन्। त्यस्तै, हिन्दुहरूले साउने संक्रान्ति मनाउँदा किराँतीहरू सिसेक्पा तङ्नाम मनाउँछन्। त्यो दिन घरमा खुर्सानी, कागती, काँडा झुन्ड्याएर लुतो फाल्ने, अनिकाल भगाउने र सहकाल ल्याउने भन्दै पूजाआजा गरिन्छ।
माघ १ गते अर्थात् माघे संक्रान्तिका दिन उनीहरू कक्फेवा तङ्नाम मनाउँछन्। त्यो भनेको उनीहरूको नयाँ वर्ष हो। किराती ऐले सम्बत अनुसार अहिले ५०८१ हो। यसबाहेक किराँतीहरू तिहार पनि मनाउँछन्।
'जसरी दसैंलाई नेपालीहरूको महान् चाड भनिन्छ, अब यसको परिभाषा बदल्नुपर्ने बेला भएको छ,' इङ्नाम भन्छन्, 'बरू दसैंको साटो तिहारलाई महान् चाड भन्न उपयुक्त छ।'
उनले अगाडि भने, 'जनजातिमध्ये अधिकांशले दसैं मान्दैनन्, मधेसतिर पनि कतिपयले यो चाड मान्दैनन्। धेरैले नमान्ने चाडलाई महान् भन्नुको कुनै औचित्य छैन। तिहार त मधेसी, जनजाति, शेर्पा, लिम्बू, चेपाङ लगायत सबै समुदायले भव्य रूपमा मनाउँछन्। त्यसो हुँदा अधिकांशले मान्ने चाड त तिहार पो देखियो! सबैले मनाउने तिहार पो महान् चाड हुनुपर्ने!'
उनका अनुसार तिहारमा लिम्बूहरू टीका लगाउँछन्, सेलरोटी खान्छन् र पूजाआजा गर्छन्। काग र कुकुरलाई पनि पुज्छन्। गाई भने पुज्ने चलन नभएको इङ्नामले बताए।
आफूहरू गाई खाने समुदाय भएको र गाईलाई राष्ट्रिय जनावर बनाएपछि समस्या परेको उनले बताए, '१८४३ सालमा तिमीहरू गाई–गोरू मार्दा रहेछौ, अब मार्यौ भने तिमीहरूलाई जातच्यूत (जात घटाउने) गराउने भनियो। त्यसैगरी १८६७ सालको एक लालमोहरमा गौहत्या गर्नेलाई मृत्युदण्ड दिइएको छ।'
आफ्ना शक्तिशाली किराँती देउतालाई पनि हिन्दुकरण गरिएकोमा इङ्नामको गुनासो छ।
तिहारको देउसीभैलोमा हामीले सुन्दै आएको नाम हो, बलि राजा। को हुन् ती बलि राजा?
'बलि राजालाई हामी लिम्बूहरू किराँती भन्छौं,' इङ्नामले भने, 'उनी गण्डकी प्रदेशमा थिए भनिन्छ। तर साहित्य लेख्न सिपालु हिन्दुहरूले उनलाई आफ्नो धर्मशास्त्रमा लगेर जोडे।'
उनका अनुसार हिन्दु शास्त्रमा बलि राजालाई यसरी व्याख्या गरिएको छः
एकदिन बलि राजाको घरमा भगवान विष्णु भेष बदलेर आउँछन्। भिक्षामा उनले तीन पाइला जमिन माग्छन्। तीन पाइला भनेको कति नै हो भनेर बलि राजा सहमत हुन्छन्। तर उनको पाइलाले बराहको रूप लिन्छ। पैतालाले ठूलो रूप लिएपछि उनी एक पाइला जमिन, एक पाइला आकाशमा टेक्छन् र अर्को पाइला राजाको टाउकाेमा टेक्न खोज्छन्।
इङ्नामका अनुसार, बलि राजा प्रजाको खुसी चाहने राजा थिए। आँखामा राखे पनि नबिझाउने भएकाले जनताका प्यारा थिए। उनी त्रिकालदर्शी पनि थिए– भूत, भविष्य र वर्तमान जान्थे। एकदिन उनले आफ्नै मृत्यु भएको देखे। गाईतरे औंसीको दिन उनले आफ्नो मृत्यु हुने थाहा पाए र आफ्ना सारा भारदार, भलाद्मी र जनतालाई डाकेर सम्झाउँदै भने, 'अब म मर्दैछु। तिमीहरू राम्ररी बस।'
त्यहाँ उपस्थित सबैले दुःखी हुँदै भने, 'तपाईं मर्नु हुँदैन। हामी तपाईंलाई जसरी भए पनि बचाउँछौं। बरू हामीलाई उपाय भन्नुहोस्।'
त्यसपछि बलि राजाले औंसीको रात आफ्नो काल आउँदा युमा थेवको प्रार्थना गर्नू भने। मुन्धुममा पनि युमाको नाम आउँछ। उनी शक्तिका प्रतीक हुन्। मान्छेलाई दुःख पर्दा युमा आएर सान्त्वना दिन्छिन् र सुख पर्दा युमा आएर नाच्छिन् भन्ने मुन्धुममा छ।
यसरी जतिखेर पनि साथ दिने युमासँग औंसीको रात सलेदो बत्ती बालेर शक्ति माग्न बलि राजाले सुझाउँछन्। युमाकै प्रार्थना र उनकै कृपाले बलि राजाको प्राण बच्छ।
उनी बाँचेपछि गाउँभरि सूचना पुग्छ, 'बलि हाङ फैलीफैली (बलि राजा उज्याला भए)।'
त्यही 'फैली' पछि 'भैली' भएको इङ्नाम बताउँछन्।
इतिहास सधैं जित्नेको पक्षमा लेखिँदै आएको छ। जित्नेहरूले आफ्नो भाषा, संस्कृति, परम्परा विस्तार गर्छन्। त्यस क्रममा हार्नेको कथा तोडमोड हुन्छ, ओझेल पर्छ। दसैं पनि त्यसरी नै विस्तार भएर किराँती समुदायमा पुगेको इङ्नामको भनाइ छ।
'दसैं हामीमाथि लादिएको चाड हो,' इङ्नामले भने, 'हामीसँग भएका थुप्रै संस्कृति र कथाहरू हराउने क्रममा छन्। अब तिनलाई जोगाउने समय आएको छ।'
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
यो पनि हेर्नुहोस्: