धेरै धेरै, धेरै नै वर्षअगाडि जतिखेर राक्षस उर्फ लाखेहरू मान्छेको भेष धारण गरेर खेतीपातीमा सघाउन आउँथे, त्यति बेला एक जना नवयुवक लाखे सधैं नै पाटनको एउटा ज्यापु परिवारलाई सघाउन आउँदो रहेछ।
लाखे समुदायभित्र यसरी काममा सघाउन आउँदा कुन साल को कुन ठाउँमा जाने भनेर पहिले नै निधो गरिएको हुन्थ्यो। स्थानीयसँग बढी हिमचिम नहोस् भनेर कुनै पनि लाखेलाई सालैपिच्छे एकै ठाउँ नपठाउने चलन थियो। यो वर्ष काठमाडौं आएको लाखेलाई अर्को वर्ष कीर्तिपुर पठाइन्थ्यो। यो वर्ष भक्तपुर गएको लाखेलाई अर्को वर्ष पाटन खटाइन्थ्यो। लाखे र मान्छेबीच सधैं एउटा दुरी रहोस् भनेर यहाँका तान्त्रिकहरूले सुरूदेखि यस्तो रित चलाएका थिए।
यति हुँदाहुँदै त्यो नवयुवक लाखे भने कसरी कसरी जुक्ति लगाएर सधैं पाटनको उही ज्यापु परिवारको खेतमा खटिएर जान्थ्यो। कुनै वर्ष उसको जुक्ति फेल खान्थ्यो, त्यस्तो बेला ऊ दोब्बर काम गर्थ्यो। सुरूमा आफूलाई खटाइएको ठाउँमा गएर बिजुली गतिले सबै काम सक्थ्यो, अनि त्यहाँबाट भेष बदलेर पाटन जान्थ्यो र आफूलाई मनपर्ने ज्यापु परिवारको काम पनि सबै पूरा गर्थ्यो।
पाटनको त्यो खास ज्यापुको खेतमा कुनै साल नबिराई जानुको पछाडि एउटा खास कारण थियो — ऊ ज्यापुकी कान्छी छोरीलाई प्रेम गर्न थालेको थियो।
त्यस दिन ऊ पहिलोचोटि काम सघाउन गएको थियो। ऊ र ऊसँगै गएका अरू लाखेहरूले दिनभरि खेत खने, माटोका डल्ला फोडे र साँझसम्ममा आफ्नो भागको लगभग आधी काम सके।
घाम डुब्नै आँटेको थियो। साँझको सिरसिर बतासले बाग्मती नदी किनारमा रूखका पातहरू फिरफिर हल्लिँदै थिए। आकाशमा कपासको थुप्रोझैं सेता बादलहरू चञ्चल खरायोझैं यताउति चल्दै थिए। चराको बथान चिँचिँ गर्दै गुँड फर्किन हतारिएको थियो। घामको रातो डल्लो चन्द्रागिरि डाँडामा आधा छेल परेको थियो, बाँकी आधा बादलसँग लुकामारी खेल्दै थियो। छिनमै बादलको लिहाफभित्र गुटुमुटु हराउँथ्यो र छिनमै बादलको घुम्टो छ्यांग उघारेर फागुको अबिरझैं निलो आकाशभरि लाल रंग फैलाउँथ्यो।
त्यही बेला चन्द्रागिरिको जुन कापमा घामको डल्लो बिलाउँदै जाँदै थियो, त्यही कापबाट सेतो चन्द्रमा टल्किँदै आउँदै थियो। यस्तो लाग्थ्यो, घामकै अंश छुट्टिएर जून उदाउँदैछ।
त्यो लाखेले घाम र जूनलाई आकाशमा एकै ठाउँ एकै समय यसअघि कहिल्यै देखेको थिएन।
हो, त्यही बेला, ठ्याक्कै त्यही बेला, उसले आकाशमा घाम र जूनलाई पहिलोपटक एकै ठाउँ एकै समय देखेकै बेला, ज्यापुकी कान्छी छोरीलाई पहिलोपटक देखेको थियो।
ऊ खेतालाहरूलाई खाजा खुवाउन छ्वेलाबजी, हाकू मुस्या, आलु–पालु, तुकंको साग, भुटी र अचारको पोका दाहिने कम्मरमा र थोँ भरिएको माटोको सोमा देब्रे कम्मरमा बोकेर खेततिर आउँदै थिई।
लाखेले सुरूमा उसको धमिलो धमिलो आकृति देखेको थियो। जसै ऊ नजिक नजिक आउँदै गई, लाखेले आँखा झिम्क्याउन पनि बिर्स्यो। ऊ छेउमै आएर, दुवै कम्मरको भारी खेतको गरामा बिसाएर, हावाले आँखाअगाडि फिरफिर हल्लिरहेका कपाल पन्छाउँदै जसै उसले पुलुक्क लाखेलाई हेर्यो, हे दैव, लाखे त ठाउँको ठाउँ ठहरै भयो!
ऊ काली काली हिस्सी परेकी थिई। अनुहार बाटुलो थियो। हाँस्दा दुवै गालाको बीचतिर पानीको भुमरीझैं खोबिल्टा पर्थ्यो। चिउँडोको दाहिने कुनामा गाजलको टीका लगाएझैं सानो कोठी थियो। उसका ओठहरू बाक्ला थिए र सधैं थुकले भिजाएझैं रसिला देखिन्थे। उसका बत्तीसवटा दाँत टम्म लहर मिलेका थिए। आँखा लाम्चा र गहिरा र ठूल्ठूला थिए। आँखीभौं मयूरको प्वाँखझैं बाक्लो र सुलुत्त थियो। उसको कुलुङकुलुङ घुंग्रिएको कपाल कम्मरसम्मै लर्किएको थियो। ऊ जब आफ्ना दुवै हातले लर्किएको कपाल स्याहार्थी, दाहिने कान पछाडिको गर्दनमा दुइटा साना काला कोठीहरू आकाशमा ताराझैं टिलिक्क टल्किन्थे।
त्यो झम्के साँझमा उसको एक झलकपछि मानव भेष धारण गरेको लाखेको ज्यानमा थकान एक रत्ति थिएन।
उसले ल्याएको समय् बजी त पेट भर्ने गरी खाएकै हो तर लाखेको भोक मेटिएकै थिएन।
थोँको नशाले पनि उसलाई छुनै सकेन।
खेतीको त्यो याम हेराहेरमै बित्यो। आँखै आँखा मुटुको धडकन साटफेरमै बित्यो।
अर्कोपालि पनि त्यो लाखेले कसो–कसो गरी पाटनको उही ज्यापु परिवारकै खेतमा आफ्नो पालो पार्यो। उसले यो एक वर्ष यसरी पर्खिएको थियो जसरी स्कुल जाने नानीबाबुहरू दसैं विदा पर्खिन्छन्। यसबीच ज्यापुकी कान्छी छोरी पनि सुगन्ध हराएको फूल भएकी थिई। ऊ त्यस्ती नदीजस्ती भएकी थिई जो सागरमा मिसिने पर्खाइमा पहाडका कन्दराहरूमा अलमलिएकी छे।
अर्को वर्ष उनीहरूको बोलचाल सुरू भयो। बोलचाल लुकिछिपी भेटघाटमा बदलियो।
दुवैले आफ्नो प्रेम इजहार गरे।
प्रेममा मुटुको ढोका खोलिन्छ, ढाकछोप गरिन्न। लाखेले पनि आफूलाई ढाकछोप गर्न चाहेन।
एकदिन खेतको काम सकेर छुट्टिने बेला उसले ज्यापुनीलाई भन्यो, ‘आजको मध्यरात तिमी घरपछाडि बारीमा कुरेर बस है। म आउँछु। तिमीलाई एउटा कुरा भन्नुछ।’
ज्यापुनीले ‘हुन्छ’ भनी र लजाएर गई।
त्यो औंसीको रात थियो। चारैतिर चकमन्न अन्धकार थियो। पर कतैबाट भौभौ कुकुर भुकेको र किँकिँ कुँकुँ गर्दै लाटोकोसेरा कराएको मात्र सुनिन्थ्यो। ज्यापुनी मध्यरातभन्दा दस मिनेट अगाडि नै आफ्नो कोठाबाट लुसुक्क बारीमा निस्केर प्रेमीलाई पर्खेर बसेकी थिई। ऊ आफ्नो प्रेमी आउने बाटोतिर आँखा झिमिक्क नगरी नियालिरहेकी थिई। औंसीको अँध्यारोले एक मिटर टाढाको चिज पनि केही देखिन्थेन।
ठ्याक्कै मध्यरात कुकुरको भौभौ चर्कियो। लाटोकोसेरोको किँकिँ कुँकुँ तीखो भयो। बाटोमा झरेका पातपतिंगरहरूबाट चर्याकचुरूक, सर्याकसुरूक आवाज आउन थाल्यो।
त्यही बेला ज्यापुनीले देखी, जुन बाटोतिर ऊ एकटक नियाल्दै थिई, त्यही बाटो हुँदै दुइटा आगोको लप्का मान्छेझैं लमकलमक उसको बारीतिर आउँदै छ। पहिले त उसले सोची, उसको प्रेमी अँध्यारोमा बाटो देख्न हातमा चिराग बोकेर आएको होला।
जसै आगोको लप्का नजिक आइपुग्यो, उसको मन चिसो भयो।
उसको प्रेमी अगाडि ठिंग उभिएको थियो तर हातमा चिराग थिएन, बरू उसका दुई हत्केलाबाट आगोका लप्का छुट्दै थिए।
‘आम्मामामा! के गरेको यस्तो?’ उसले आत्तिएर भनी, ‘तिमीलाई हात पोल्दैन?’
‘मलाई पोल्दैन,’ मान्छेको भेषमा आएको लाखेले भन्यो, ‘म यही कुरा तिमीलाई देखाउन चाहन्थेँ।’
‘तिमी हातमा आगो बोक्न सक्छौ भन्ने कुरा?’
‘होइन, मसँग हातमा आगो बालेर हिँड्ने शक्ति छ भन्ने कुरा।’
‘शक्ति, कस्तो शक्ति?’
‘लाखेको शक्ति’
‘लाखेको शक्ति!’ ज्यापुनी छक्क परी।
‘हो, लाखेको शक्ति,’ मानव भेषधारी लाखेले भन्यो, ‘म मान्छे होइन, म लाखे हुँ। तिम्रो खेतमा काम गर्न आएका सबै खेताला लाखे हुन्। हामी हरेक वर्ष मान्छेको रूप लिएर यसरी काम गर्न आउँछौं।’
ज्यापुनीको बोली फुटेन। उसको मुख बन्द भयो, आँखा खुलेका खुल्यै भए।
लाखेले अगाडि भन्यो, ‘हामीलाई आफ्नो वास्तविक स्वरूप देखाउने अनुमति छैन। तर म तिमीलाई प्रेम गर्छु। तिमीसँग कुनै कुरा लुकाउन चाहन्न। तिमीलाई कुनै भ्रम पनि दिन चाहन्न। मेरो आवरण त मान्छेको हो तर मैले आफ्नो लाखेको मुटुले तिमीलाई प्रेम गरेको हुँ। म चाहन्छु, तिमी पनि मलाई प्रेम गर्ने भए मेरो लाखेको मुटुलाई नै प्रेम गर।’
ज्यापुनीको मुख अझै बन्दै थियो, आँखा खुलेका खुल्यै थिए।
लाखेले आफ्ना दुवै हत्केला बिस्तारै हल्लायो, मधुर हुँदै गएको आगोको लप्का फेरि चहकिलो भएर आयो।
‘तिमीलाई थाहा छ, मैले आकाशमा घाम र जूनलाई एकैचोटि एकै ठाउँमा देखेको थिइनँ,’ उसले भन्यो, ‘पहिलोचोटि तिमीलाई देख्दा घाम र जून सँगसँगै थियो। तिम्रो र मेरो साथ पनि त्यो घाम र जूनजस्तै हो– एउटा उदाउँदा अर्को अस्ताउँछ, एउटा अस्ताउँदा अर्को उदाउँछ। सन्ध्या र बिहानीमा मात्र हाम्रो मिलन हुन्छ, त्यो पनि केही पललाई मात्र। मलाई तिमीसँगको त्यो केही पल नै काफी छ। म त्यो केही पललाई पर्खेर तिम्रो नाममा पूरा जिन्दगी बिताउन सक्छु।’
‘तर मेरो प्रेम स्वार्थी छैन। प्रेम पाउनु मात्र होइन, दिनु पनि प्रेम नै हो। म तिमीलाई प्रेम गर्छु, गरिरहन्छु तर तिमीलाई आफ्नो प्रेममा बाँधेर राख्दिनँ। तिमी स्वतन्त्र छौ आफ्नो जिन्दगी आफ्नो तरिकाले जिउन। एउटा लाखेको प्रेममा तिमीले आफ्ना इच्छाहरू...’
लाखेको कुरा सकिएकै थिएन, ज्यापुनी सुँक्कसुँक्क रून थाली।
लाखेको हातमा बलिरहेको आगोको प्रकाशले ज्यापुनीका आँखाबाट तपतप चुहिरहेका आँशुका ढिक्काहरू झरनाको झरझर पानीमा घामको प्रकाश टल्केझैं टल्किरहेका थिए।
लाखे चुप्प लाग्यो।
कुकुरको भौभौ र लाटोकोसेरोको किँकिँ बन्द भइसकेको थियो। चकमन्न रातमा ज्यापुनीको सुँक्कसुँक्क मात्र सुनिँदै थियो।
ऊ अलि बेरसम्म सुँकसुँकाइरही अनि दुवै हातले आफ्नो आँशु पुछ्दै भनी, ‘तिमीले लाखेको प्रेम त देखायौ तर के प्रेम गर्न लाखेले मात्र जानेको छ? के हामी मान्छेहरू प्रेम गर्न जान्दैनौं? के हामी चाहिँ प्रेममा प्राप्ति मात्र खोज्छौं? आफूले माया गर्ने मान्छेलाई नपाई नपाई प्रेम गर्ने कसरी हो, त्यो हामीलाई पनि थाहा छ।’
उसले लाखेको आगो बलिरहेका ताता हत्केलामाथि आफ्ना चिसा हत्केला राखी।
दनदन दन्किरहेको आगो झ्याप्प निभ्यो।
अब यो अँध्यारोमा लाखे र ज्यापुनीका आँखा मात्र टिलटिल, टिलपिल टल्किरहे।
‘म तिमीलाई प्रेम गर्छु, गरिरहन्छु। मलाई थाहा छ, म तिमीलाई पाउन सक्दिनँ। तिमी मेरो संसारमा सधैंका लागि आउन सक्दैनौ, म तिम्रो संसारमा सधैंका लागि जान सक्दिनँ। तर म आफ्नै संसारमा रहेर त्यो पललाई पर्खेर बस्नेछु जब क्षितिजमा घाम र जून सँगसँगै देखिनेछन्। मलाई पनि तिमीसँगको त्यो केही पल काफी छ। म त्यो केही पललाई पर्खेर तिम्रो नाममा पूरा जिन्दगी बिताउन सक्छु।’
त्यसपछि दुवै केही बोलेनन्। खाली एकले अर्कालाई हेरिरहे।
ज्यापुनीका दुई हत्केला लाखेका दुई हत्केलामाथि खप्टिएकै थिए। लाखेले उसका दुवै नाडी च्याप्प समातेर दुवै हत्केला हेर्यो। आगोले पोलेर कालो डाम बसेको थियो।
उसले दुवै हत्केलामा पालैपालो म्वाइँ खायो र अंगालो मारेर कुलुङकुलुङ घुंग्रिएको लामो कपाल मुसार्न थाल्यो।
‘एक महिना नगरमा बस्दा म हरेक रात तिमीलाई भेट्न आउँछु, यसैगरी हातमा आगो बालेर,’ लाखेले भन्यो।
ज्यापुनीले केही बेर लाखेका आँखामा एकटक हेरिरही र कहिल्यै छुट्टिन नपर्नेझैं गरी न्यानो र कसिलो अंगालोमा बेरी।
पाटनमा हरेक वर्ष गथामुग:देखि येँया पुन्ही अर्थात् इन्द्रजात्रासम्म देखाइने मिप्वाः लाखे भनेको त्यही प्रेमी हो जो अँध्यारोमा आफ्नी प्रेमिका भेट्न हातमा आगो बालेर आउँछ।
येँया पुन्हीकै अवसरमा आइतबार पाटनमा मिप्वा: लाखे नचाइएको थियो। यल लायकू मिप्वा: लाखे पुच:ले आयोजना गरेको यो नाच सौगलस्थित नाट्यश्वर मन्दिर परिसरबाट सुरू भएको थियो। पाटनको भित्री बस्तीका २१ वटा टोलमा यो नाच देखाइन्छ।
लाखे के हो? लाखे को हो? काठमाडौंमा कसरी लाखेको जन्म भयो? लाखे कथाको विस्तृत विवरणका लागि यहाँ क्लिक गर्नुहोस्:
सबै तस्बिर: सुदीप श्रेष्ठ/सेतोपाटी