पूर्व-पश्चिम राजमार्गको झापा खण्डमा ठूला-ठूला खाल्डा पर्न थालेको छ। समयमै त्यस्ता खाल्डा नपुरिँदा दुर्घटनाको जोखिम समेत बढेको छ।
दमक र विर्तामोड बीचको सडकका खाल्डा गनिसाध्य छैन। खाल्डोका कारण चालकलाई सवारीसाधन जोगाउन मुस्किल छ।
बा१३च ३८५६ का सवारी धनी कृष्ण खरेल भन्छन्, ‘हाइवेका खाल्डोले गाडीको आयु घटाउन थाल्यो।’ उनका अनुसार सवारी धनी, चालक र यात्रुको जीवन पनि सडकका खाल्डोका कारण जोखिममा छ।
रतुवा पुल, पाडाजुँगी सीतापुरी केर्खा लगायतका क्षेत्रमा सयौं खाल्डा छन्। दुधे, झिलझिले, माइधार, सुरुङ्गा, लक्ष्मीपुर क्षेत्रमा पनि खाल्डा सयौं छन्। कनकाई, रतुवा, घाग्राजस्ता साँघुरा पुलमा पनि खाल्टा परेका छन्।
कतिपय खाल्डा आधा फिट गहिराई र तीन फिट फराकिला बनेका छन्। लक्ष्मीपुर ट्राफिक पोष्ट अगाडिको एउटा खाल्डो १ फिटभन्दा गहिरो भएको स्थानीय प्रकाश उप्रेतीले बताए।
हुइँकिएर आएका यातायातका साधनको टायर खाल्डामा जमेको पानीमा पर्दा त्यहाँको उछिट्टिएर पैदल यात्रुलाई भिजाउने गरेको छ।
खाल्डोका कारण मोटरसाइकल चालक पनि हैरान छन्। कनकाई नदीको पुल ७०३ मिटर लामो छ। यो पुल २०२८ सालमा बनेको हो।
पुलको पश्चिम भागतिर साना र ठूला गरी २८ वटा खाल्डा छन्। सडक विभागले यी खाल्टा पुर्न वा मर्मत गर्न कुनै चासो नदेखाएको सडक किनारका स्थानीयले बताए।
बरु जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सडकका खाल्डा पुरेर सम्भावित दुर्घटनाबाट यातायातका साधन जोगाएको छ।
सडक डिभिजन कार्यालय दमकका प्रमुख रमेश पौडेलले कनकाई पुल लगायत राजमार्गका खाल्डा चाँडै मर्मत गर्ने बताए। कनकाई पुल पश्चिम क्षेत्रको सडकमा परेका खाल्डाखुल्डी पुर्ने काम भइरहेको उनले बताए।
सडक तथा पुल मर्मतका लागि गत चालू आर्थिक वर्षमा १० करोड रुपैयाँ बजेट आएको उनले बताए।
कोरोना महामारीका कारण लामो अवधिसम्म निषेधाज्ञा जारी हुँदा राजमार्गमा यातायातका साधन ठप्प थिए। पुल तथा सडकको मर्मत सम्भार गर्ने त्यस्तो उपयुक्त अवसरमा सडक डिभिजन कार्यालय खाल्डा पुरेको थिएन।