सुर्खेतकी राधिका (नाम परिवर्तन) र उनका भाइहरूलाई आमाले दु:ख सुखले पालिरहेकी थिइन्।
राधिका आमालाई सघाउने भइसकेकी थिइन्। सात वर्षअघिको कुरा हो। उनी १३ वर्षकी हुँदै थिइन्।
एकदिन राधिकाको भेट मामाकी छोरीसँग भयो। भारतमा काम गर्ने उनी राधिकाको घरै आएकी थिइन्। आउनेजाने क्रम बढ्यो। राधिका र ती दिदी खुब नजिकिए।
मामा दिदीले मुम्बईमा पुस्तक पसलमा काम गर्ने बताएकी थिइन्। राधिकासँग उनले नौरंगी मुम्बईको कथा सुनाउँथिन्।
बेला बेला उनले भन्ने गर्थिन्, 'तिमी पनि मुम्बई जाने भए पुस्तक पसलमा काम गरौली म लगाइदिन्छु।'
राधिका यसै त सानी थिइन्। आफैंले निर्णय गरिनन्। आमालाई सोध्नुपर्छ भन्न थालिन्। ती दिदीले आफ्नी फुपूलाई सोध्न गाह्रो थिएन।
तर राधिकाकी आमाले छोरी सानै भएकाले भारत नपठाउने बताइन्।
दिदीले भने राधिकालाई प्रलोभनको जालमा पारिसकेकी थिइन्।
आमाले नमाने पनि राधिकालाई उनले त्यसै दिन भगाएर आफ्नो घरमा लगिन्। घरमा राधिकालाई माइजुले पनि फकाउन थालिन्।
‘भाइबहिनी साना छन्, बुवा हुनुहुन्न। तिमी गएपछि त्यहाँ राम्रो कमाइ छ। यता परिवार पाल्न हुन्छ,' दिदी र माइजुसमेतले माइजुका दुई आमाछोरीले फकाएपछि उनी काम गर्न भारत जान तयार भइन्।
२०७१ साल जेठ १८ गते राधिका र उनका मामाकी छोरी भारत जान हिँडे।
भारतको दिल्लीमा पुगेपछि राधिकालाई मामाकी छोरीले आफू बस्ने कोठामा राखिन्। दुई दिन कोठामा राखेर उनले राधिकालाई अर्कै ठाउँमा लगिन्।
किताबको फ्याक्ट्रीमा काम लगाइदिन्छु भनेकी दिदीले होटलजस्तो ठाउँमा लिएर गइन् र भनिन्, ‘अब तैंले यहीँ काम गर्नुपर्छ।’
राधिकाले सुरूमा मानिनन्। पछि उनलाई मामाकी छोरीले कोठामै लगिन्। अनि धम्की दिन थालिन्। आफूले भनेको काम नगरे यस्तो घिन लाग्दो काम गर्छे भनेर घरगाउँमा हल्ला फिँजाइदिने धम्की दिइन्।
'अनि तँलाई घर जाँदा पनि कसैले हेर्दैन,' राधिकाले दिदीले दिएको धम्की सम्झिइन्।
राधिकाले आफूलाई घरै पठाइदिन बिलौना गरिन्। उनलाई कोठीमा बेच्न ठिक्क परेकी दिदीको मनमा कसरी पलाउँथ्यो र दया! त्यसको एक हप्तापछि फेरि उनले राधिकालाई कोठीमै लगिन्। उनलाई त्यहाँ जबर्जस्ती छोडिदिइन्।
कोठीमा बस्नुबाहेक उनको कुनै उपाय थिए। विस्तारै ग्राहकहरू आउन थाले।
१३ वर्षकी बालिका राधिकाको शरीर तन्नेरी पुरूषहरूको कब्जामा पर्न थाल्यो।
‘मान्छेहरू आएर ममाथि चढ्न थाले। मलाई त्यतिबेला लाग्थ्यो- म अब मरिसकेँ, म ज्यूँदो छैन,’ राधिकाले सम्झिइन्।
पछि उनले आफू बाँचेकै अवस्थामा आफूलाई फेला पार्थिन् अनि फेरि 'मर्न' उनी तयार हुनुपर्थ्यो।
राधिकाले कतिपय समय ग्राहकसँग पनि सम्पर्क राख्न मानिनन्। ग्राहकले त्यतिबेला उनलाई गालामा थप्पड हान्थे।
कोठीका मालिकसँग कम्प्लेन गरिदिने धम्की दिन्थे।
आफन्तको क्रूर व्यवहारले यौन धन्दामा लाग्न बाध्य भएकी राधिकालाई ६ महिना पछि पेटमा बच्चा भयो।
उनलाई योसम्म थाहा थिएन कि बच्चा कसरी हुन्छ।
दिनहुँ दर्जनौं पुरूषसँग हुने यौनसम्पर्क सबै सुरक्षित नभएका हुन सक्छन्।
‘एकपटक ग्राहकसँग शारीरिक सम्बन्ध हुँदै गर्दा मलाई अचानक दु:खाइ भयो, त्यसपछि मलाई यतिसम्म दु:खाइ भयो कि न मलाई बस्न मिल्थ्यो न पल्टिन। उभिनसमेत नसक्ने अवस्था आयो,’ उनले भनिन्, ‘मैले त्यसबेला मलाई भारत लैजाने मामाकी छोरीलाई घर जान्छु भनें, उसले मानिन।’
घर जान नपाएपछि अन्त्यमा उनले आफूलाई बरू अस्पताल लगिदिन आग्रह गरिन्।
उनलाई अस्पताल भने लगियो। अस्पताल जानेबित्तिकै दुखाइ कम गर्न डाक्टरले सुई लगाए। उनलाई पेटमा बच्चा छ भनिएको थिएन। बालिका भएकाले उनलाई भारत लैजाने मामाकी छोरीहरूको मञ्जुरीमा अपरेसन गरेर डाक्टरले बच्चा फालिदिए। डाक्टरसँग उनीहरूले राधिकाको बिहे भएको बताएका थिए।
‘मलाई अस्पताल लैजाँदा पेटमा बच्चा छ पनि भनेनन्। तिम्रो पेट सुनिएको छ, औषधी खाए निको हुन्छ भनेर भने,’ उनले भनिन्, ‘अपरेसन थिएटरमा लिएर डाक्टरले मेरो अपरेसन गरे, त्यसपछि थाहा भयो मेरोमा बच्चा थियो भनेर।’
अपरेसनपछि होस खुलेपछि यता उनकी मामाकी छोरीले ‘तिम्रो पाठेघर झिकेर फालिएको छ, तिमी कहिल्यै अब आमा बन्न सक्दिनौ’ भनेर भनेकी थिइन्।
उनीहरूले यो भन्नुको आशय राधिकाले यौनधन्दा नै गरोस् भन्ने थियो।
त्यति सानै उमेरमा राधिकाको अपरेसनपछि पाठेघरमा टाका लगाइएको थियो। डाक्टरले ६ महिनासम्म शारीरिक सम्बन्ध राख्न नहुने सल्लाह दिएका थिए।
राक्षसी व्यवहार देखाएर आफ्नै फुपूकी छोरीलाई बेचेकी उनले डाक्टरको सल्लाह मान्ने कुरै भएन। अपरेसन गरेको एक महिनामा लगाइएका टाका झरे। टाका झर्नेबित्तिकै राधिकालाई मामाकी छोरीले उही कर्ममा लिएर छोडिन्।
त्यसपछि उनलाई झन् गाह्रो भयो।
‘त्यो ठाउँमा एक/दुईजना मात्र ग्राहक आउने भए पनि म सहन सक्थें होला, गन्ती गर्न नसकिने गरी ग्राहक आउँथे। न्यूनतम १० जनादेखि ४० जनासँग एकैदिन काम गर्नुपर्थ्यो,’ राधिकाले भनिन्।
त्यसको दुई महिनापछि उनलाई फेरि बेसञ्चो भयो। उनलाई फेरि त्यही अस्पताल लगियो। ६ महिनासम्म शारीरिक सम्बन्ध नराख्नु भनेका डाक्टरले किन सम्बन्ध गरेको भनेर रिसाए। कुरा मिलाएर राधिकालाई उनकी मामाकी छोरीले अस्पतालबाट भोलिपल्टै ल्याइन्।
अस्पतालबाट ल्याएको दिनै त्यही काममा लिएर छोडिदिइन्। त्यहाँ लिएर उनले राधिकालाई भनिन्, ‘तँ यो काम गर्दै गर, तँलाई दु:खाइ भयो भने म औषधी ल्याइदिन्छु। तर काम गर्न नछोड्।’
राधिका निरीह बनेर त्यही काम गरिरहिन्। अस्पताल लिएर अपरेसन गराएयता उनलाई कुनै दिन पनि सञ्चो भएन। तर उनी आफ्नो यौन पेशा गर्नुपर्ने बाध्यताबाट पनि बँच्न सकिनन्।
एक दिन उनी सुतिरहेकी थिइन्। खाटबाट अचानक भुइँमा लडिन्। उनको निधारमा चोट लागेर सुन्नियो। त्यो कोठीको काउन्टरमा काम गर्ने एक जना नेपाली युवा थिए। उनले राधिका लडेर चोट लागेको कुरा राधिकाको मामाकी छोरीलाई भने।
मामाकी छोरी उनलाई लिन स्कुटर लिएर आइन्। साथमा उनका केटा साथी पनि आएका थिए। राधिकालाई बीचमा राखेर उनका केटा साथीले स्कुटर चलाए, उनले पछाडि बसेर राधिकालाई अड्याइन्।
मामाकी छोरीले राधिकालाई गालीगलौज गर्दै अस्पताल लैजाँदै थिइन्। राधिकाले त्यसबेलै उनलाई भनेकी थिइन्, ‘यस्तो गाली नगर तँ मेरो आफ्नै मामाकी छोरी होस्। यति गाह्रो काम तैंले गराउँदा पनि मैले गरिरहेको छु।’
उनले यसो भन्दा मामाकी छोरीले भने राधिकालाई दिल्लीको त्यो कोठीमा बन्धक भइसकेको र जिन्दगीभर त्यहीँ बसेर काम गर्नुपर्ने बताएकी थिइन्।
अस्पताल जाँदै गर्दा राधिकाले आँट गरिन्। स्कुटर रोक्न भनिन्। उनीहरूले मानेनन्।
राधिकाले स्कुटर नरोके आफूले हाम फाल्ने बताइन् । उनीहरूले डराएर स्कुटर रोके।
राधिका ओर्लिएर भागिन्।
उनलाई कहाँ जाने भन्ने थाहा थिएन। भारत गएको सुरूदेखि नै बन्द कोठामा बसेकी उनलाई केही कुरा थाहा हुने कुरा पनि भएन।
‘बस कहाँ मिल्छ, कता जाने हो भनेर मलाई थाहा थिएन,’ राधिकाले सम्झिइन्, ‘नेपालमा हुन्थें भने त केही थाहा भइहाल्थ्यो कि।’
राधिकासँग पैसा पनि थिएन।
उनी मुम्बई जाने बसको सिटमुनि छिरिन्। दुई दिनमा बस मुम्बई पुग्यो।
यसरी आँट गरेर दिल्लीको कोठीबाट उम्किन उनलाई १५ महिना लाग्यो।
राधिका मुम्बईमा बस रोकिएपछि ओलिइन्। आफू कहाँ आएको भन्ने पनि उनलाई थाहा थिएन।
संयोगबस एक जना महिला भेटिइन्। ती महिलाले राधिकालाई निकै माया गरिन्। उनका छोराछोरी रहेनछन्। राधिकालाई उनले घर लगिन्।
‘मुम्बईमा पुगेपछि अलपत्र परेकी थिएँ, एक जना आन्टी भेटिनुभयो। उहाँले मलाई घर लैजानु भयो। छोरीझैं राख्नुभयो,’ उनले भनिन्, ‘मलाई खान–बस्न सबै कुरा दिनुभयो।’
उनी धेरै समय त्यहाँ बसिन्। उनलाई भारतमै कसैकी छोरी बनेर बस्नु थिएन, नेपाल फर्किनु थियो। उनलाई नेपाल फर्किने बाटो नै थाहा थिएन।
त्यहाँ रहँदा बस्दा उनी ठूली भैसकेकी थिइन्। काम गर्न सक्ने उमेर भइसकेपछि उनले यत्तिकै बस्दिनँ भनिन्। ती आन्टीले पनि काममा जान उनलाई रोकिनन्।
मुम्बईकै एउटा निजी अस्पतालमा उनले काम गरिन् ।
त्यहाँ काम गरेर उनले पाँच हजार रूपैयाँ कमाएकी थिइन्।
मुम्बईमा आक्कलझुक्कल नेपाली भेटिन्थे। उनीहरूसँग उनले कसरी नेपाल जान सकिन्छ भनेर सोध्ने गर्थिन्।
नेपालीहरूले उनलाई नेपालगञ्जसम्म पुग्ने बाटो र गाडीको बारेमा भनिदिए।
अस्पतालमा काम गर्दा कमाएको पैसाको आडमा आफूलाई छोरी मानेको घरबाट उनी भागिन्।
नेपालगञ्ज आइपुगिन्।
मामाकी छोरीको प्रलोभनमा परेर भारत गएको सात वर्षपछि राधिकाले यही भदौ २३ गते नेपालमा पाइला टेक्न पाइन्।
नेपालगञ्जमा पनि उनले आफ्नो घरसम्म जाने गाडी र बाटोबारे सोधिन्। त्यहाँबाट उनी अटो रिक्सा चढेर कोहलपुर पुष्पलाल चोक आइन्। पुष्पलाल चोकबाट बस चढेर छिन्चु पुगिन्। त्यहाँबाट हिँडेरै घर पुगिन्।
सात वर्षपछि घर आउँदा उनी २० वर्षकी पुगिसकेकी छन्। राधिकालाई गाउँमा पुग्दा भाइको नाममात्र याद थियो। उनले भाइको नाम लिँदै अरूलाई सोध्दै घरसम्म पुगिन्।
‘म घरमा पुग्दा त यति खुसी भएँ, एकछिन त भारतमा १५ महिनासम्म गरेको त्यो कामको पीडा नै बिर्सिएँ,’ उनले भनिन्, ‘मलाई आशै थिएन, मेरी आमा जीवित हुनुहुन्छ भनेर। आमालाई भेट्न पाएर अझ खुसी भएँ।’
आफू सात वर्षअघि भारत जाने बेलाको भन्दा धेरै वातावरण परिवर्तन भएको उनले महसुस गरिन्।
‘बाटो, बजार घरहरू सबै फेरिएछन्,’ उनले भनिन् ।
उनले भारतमा यौनधन्दा गर्नु परेको दिल्लीको त्यो ठाउँलाई चाँदनी चोक भनिन्छ।
राधिकाका अनुसार त्यसलाई जिबी रोड भनेर पनि भन्ने गरिएको छ। उनलाई त्यहाँ पुर्याउने मामाकी छोरीकी दुई बहिनी त्यो ठाउँमा काम गर्छन्। उनीहरूको धन्दा नै गाउँबाट मान्छे लिएर कोठीमा पुर्याउने हो।
राधिका भारत गएको दिन २०७१ जेठ १८ गते नै उनकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन्। उनी फर्किएपछि २०७७ माघ १६ गते प्रहरीले फेरि जाहेरी दर्ता गर्यो। आमाले राधिकाकी माइजु र उनकी छोरीविरूद्ध किटानी जाहेरी दिएकी थिइन्।
माइजुलाई प्रहरीले यही भदौ २७ गते पक्राउ गरी थुनामा राखेको छ। सुरूमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ती प्रहरी अधिकृतले बताए।
‘उनकी मामाकी एउटा छोरी पहिलेदेखि नै कोठीमा काम गरिरहेको सुन्नमा आएको छ, उनी पहिलेदेखि नै दिल्लीको त्यो कोठीमा काम गर्ने भएकाले पछि उनलाई मान्छे ल्याउने जिम्मा पनि कोठीले दिएछ,’ राधिकाको मुद्दा हेरिरहेका एक जना प्रहरी अधिकृतले भने, ‘त्यो काम उनले आफ्नी कान्छी बहिनीलाई लगाइछन्, उनकी कान्छी बहिनीले नेपालबाट केटीहरू लिएर त्यहाँ बेचबिखन गर्ने गरेको भन्ने बुझिएको छ अनुसन्धान हुँदैछ।’
उनीहरूविरूद्ध मानव बेचविखन तथा ओसारपसारको आरोप लगाइएको छ।
‘१३ वर्षको बालिकालाई १५ महिनासम्म यस्तो काम गराउनु भनेको भयंकर अपराध हो। उनले हामीसँग बताएको कथा यस्तै दर्दनाक छ,’ ती प्रहरी अधिकृतले भने।