दोलखा काठमाडौंबाट धेरै टाढा छैन। उत्तरी दोलखा चाहिँ अलि टाढै छ, जहाँ हिमाल मुनितिर शेर्पा समुदायका बस्ती छन्। जहाँ अलि पूर्वको खुम्बु क्षेत्रसँग मिल्दोजुल्दो, तिब्बती बौद्ध परम्परासँग मिल्दोजुल्दो आफ्नै अद्वितीय संस्कृति छ। सभ्यता छ।
त्यहाँको यात्रा थाल्दा सिन्धुपाल्चोकको मुडेबाट खरीढुंगा उक्लिने बित्तिकै बाटैभरी सेतै झरना देखिन थाल्छन्। चरीकोटतर्फको ओरालो यात्रामा चर्नावती (चरंगे) झरना पनि भेटिन्छ।
दोलखा सदरमुकाम चरीकोटबाट सिंगटीतिर हुत्तिन थालेपछि त एकपछि अर्को झरना हामीलाई स्वागत गर्न सडकमै आइपुगेको भान हुन्छ। तामाकोसीतिरैमा बसेको सिंगटीबाट अझै उत्तर माथिल्लो तामाकोसीतर्फ लामाबगर जाने सडकमा विशाल र प्रसिद्ध भोर्ले झरना सडकमै बज्रिन आइपुग्छ। हामीलाई निथ्रुक्कै रुझाइदिने गरी।
भदौको दोस्रो साता हामी रोलवालिङ उपत्यका प्रवेशद्वारको रूपमा रहेको छेतछेत बजार पुग्दा अर्को लामो, सुन्दर र सेतै झरना हाम्रो स्वागतका निम्ति उभिइदियो।
भोर्ले र छेतछेत झरना त गौरीशंकर हिमालमुनि रहेको रोलवालिङ जाने पदमार्गमा भेटिने अनगिन्ती, सेता र अग्ला झरनासामु होचा प्रतीत हुन्छन्।
तर हिमाली लेकमा परेका वर्षा वा पग्लिएका हिउँ बोकेर रोलवालिङ र तामाकोसीजस्ता नेपालका जल सम्पदालाई जीवन्त राख्न हतारिएर आफ्ना अनेकौं रूप प्रदर्शन गर्दै झर्ने झरना पानीका तीव्र ओरोलो झराइ हुन्। जुन जस्तो आकारमा पनि सुन्दर नै लाग्छन्। यात्रीको आँखालाई जहिले पनि शीतलता दिइरहने।
छेतछेतबाट उकालो लागेर तीन दिनपछि हामी रोलवालिङका प्रसिद्ध दूधकुण्ड र च्छो रोल्पा हिमताल पुग्ने क्रममा भेटिएका थुप्रै झरना हाम्रो आँखामा कहिल्यै बिझाएनन्। ती सबै झरनाले हाम्रो आँखालाई शीतलता दिइरहे।
अझ भनौं बर्खे झरी र पानीले हृष्टपुष्ट भएर पूर्णाकार पाएका ती झरनाले हाम्रो उकाली लाग्दाको थकान भुलाइदिइरहे, मेटाइदिइरहे…।
छेतछेतबाट तामाकोसीमाथिको झोलुंगे पुल तरेर ठाडो उकालो लागेपछि स्वाँ-स्वाँको क्रम सुरू हुन्छ। जुन करिब दुई घन्टामाथि लेकमा बसेको सिमीगाउँ नपुगेसम्म चलिरहन्छ।
तर उकालोमा रोकिएर पछाडि फर्किएर हेर्दा देखिने झरनाले शीतलता दिन्छ। शरीरलाई पुन: ताजा बनाइदिन्छ। सिमीगाउँका हँसिला तामाङ र शेर्पा समुदायका बालबालिका र युवायुवतीका मुस्कानले पदयात्रामा न्यानोपन थपिदिन्छ।
एक्लै च्छो रोल्पा हिँडेकी युवतीः
भदौरे झरीमा २,००० देखि ३,००० मिटर उचाइमा वनैवन र झाडीझाडी कुँदिएका गोरेटोमा जुका सामान्य हुन्। तिनलाई धैर्यपूर्वक टिप्दै फाल्नुको विकल्प हुँदैन। तै पनि कतिपय जुका मोजा छिचोलेर रगत चुस्न सफल भइहाल्छन्। तिनको आक्रमणलाई अशुद्ध रगत चुस्न आएका जुकाको 'थेरापी' मानेर सन्तोषको सास फेर्नुको विकल्प हुँदैन।
छेतछेतबाट कम्तीमा आठ घन्टाको पदयात्रा गरेर सिमी, उत्तिसे, सुरमुचे र क्याल्जे गाउँ छिचोल्दा गौरीशंकर क्षेत्रको पदमार्गमा यदाकदा भरिया र स्थानीयवासी मात्र भेटिए।
क्याल्जेको डिलनजिकै एक दोलखाली ठिटो भेटिए, नाम्दु घर बताउने- 'च्छो रोल्पा घुमेर आएको, साह्रै सुन्दर रहेछ दाइ।'
अगाडि आँखैसामु फेरि सेता झरना देखापरे। तल सानो डोङयाङ उपत्यकाबाट बगिरहेको रोलवालिङ नदीमा झरिरहेका। रोलवालिङको किनारको डोङयाङमा दुइटा प्राय: रित्तै रहने लज हाम्रो स्वागतका लागि लमतन्न सुतिरहेझैं लाग्यो।
नदी किनारमै भान्साघर रहेको दोस्रो लज पुग्दा त्यहाँभित्र अनौठो यात्रामा हिँडेकी एक पदयात्री भेटिइन्।
च्छो रोल्पाको 'सोलो ट्रेक' अर्थात् एकल पदयात्रामा हिँडेकी एक नेपाली युवती दुई बालबालिकासँग खेल्दै रमाइरहेकी थिइन्।
नाकमा बुलाकीजस्तो देखिने पश्चिमा गहना लगाएकी ती युवती करिब २५ वर्षकी देखिन्थिन्। झट्ट हेर्दा सहरबाट आफ्नो गाउँघर फर्किरहेकी कुनै हिमाली छोरीजस्ती। तर सुष्मिता गुरुङ निकै महसुर र आँटिली रहिछन्। किनभने उनी यस्तो भदौरे झरीमा पनि एकलास वन र झाडीझाडीको बाटो च्छो रोल्पा हिमतालको पदयात्रामा जाँदै थिइन्।
सुष्मिताले आफ्नो घर गौरीशंकरदेखि निकै पर, लुम्बिनी नजिकैको भैरहवामा रहेको बताइन्। हिजोआज भारतको मुम्बईमा अभिनय अध्ययन गर्दै गरेकी उनी कोरोना भाइरसको दोस्रो लहर सुरू भएपछि भैरहवा आएकी रहिछन्।
गौरीशंकर यात्रामा तस्बिर खिच्न आइफोन-११ का अतिरिक्त ओस्मो हाते क्यामरा पनि बोकेकी थिइन्। डोङयाङमा भेटिएका दुई बालबालिकासँग खेल्दै रमाइरहेकी थिइन्।
हजुरबुबाको हङकङ आइडीका कारण सानैमा हङकङ पुगेकी उनी उतै हुर्किएकी रहिछन्।
डोङयाङमा हामीलाई भेटेपछि सायद मनमनै खुसी हुँदै उनले भनिन्, 'उमेर तीस वर्ष पुग्नुअघि एकल यात्राहरूमा जानु पर्छ रे। त्यसैले म एक्लै गौरीशंकर पदयात्रामा छु। सोलो यात्रामा जाँदा तपाईंहरूजस्ता नयाँ यात्री भेटिन्छन् र केही नयाँ कुरा सिक्न पाइन्छ।'
तर सोलो ट्रेकको जोखिमबारे उनलाई सचेत गराउनु मैले आफ्नो कर्ताव्य ठानेँ र सन् २०१० यता नेपालका विभिन्न हिमाली क्षेत्रमा हराएका 'सोलो ट्रेकर' महिला र पुरुषका दु:खान्त कथा सुनाइदिएँ –
'हिमाली क्षेत्रमा एक्लै पदयात्रामा आएकी अमेरिकी महिला साको अब्रे सन् २०१० को अप्रिलमा लाङटाङ क्षेत्रमा बेपत्ता भइन् र उनी अझै भेटिएकी छैनन्। सन् २०१२ को अगस्टमा लाङटाङकै चन्दनबारीदेखि तल हराएकी बेल्जियन डेबी मबियुको शव पछि सडेको अवस्थामा फेला परेको थियो। अन्नपूर्ण क्षेत्रमा पनि कैयौं एकल यात्री हराएका छन्। त्यसपछि नेपाल सरकारले एकल पदयात्रा निषेध नै गरिदियो।'
तर सायद एकान्त र स्वच्छन्दताको खोजीमा रमाउने साहसी सोलो ट्रेकरलाई त्यो निषेधले छेकेको छैन।
फूलैफूलको मौसमः
शेर्पा समुदायको बसोबास गरेको बेदिङ गाउँ गौरीशंकर र रोलवालिङ हिमालको काखैमा बसेको छ। त्यहाँ पुग्न डोङयाङबाट पाँच घन्टा कस्सिएरै उकालो र तेर्सो हिँड्नु पर्छ। रोलवालिङ नदी हतारिएर तल झरिरहेको हुन्छ। पदयात्री भने त्यो हेर्दै रोलवालिङको शिरतिर लाग्नु पर्छ।
दोस्रो दिनका यात्रामा हामीले त्यसै गर्यौं।
अब हाम्रो समूहमा सुष्मिता गुरुङ पनि थपिएकी थिइन्। डोङयाङबाट ३,००० मिटरको उचाइ नजिकिन थालेपछि जुकाहरू हराए। तर हावा थोरै पातलिएको अनुभव भयो।
हिमालहरू बादलभित्रै हराइरहे, तर बाटोको दायाँ-बायाँ र नदी बगरमा फस्टाएका बोट-बिरूवा आफ्ना राता, गुलाबी र पहेँला फूलले रंगिएका थिए।
बाटैभरी र वरिपरि भुइँमा फूलहरू यति ढकमक्क थिए कि पूरै रोलवालिङ उपत्यका कुनै बगैंचाजस्तै देखिन्थ्यो। बेदिङ गाउँ प्रवेशद्वारमा रहेका बौद्ध चैत्य र छोर्तेनले प्राकृतिक फूलबारीमा सांस्कृतिक रङ थपिदिए झैं लाग्यो।
बेदिङ (३,७०० मिटर उचाइ) देखि नाँ गाउँ (४,१०० मिटर) जाने बाटो वरिपरि पनि भुँइमा गुलाबी र पहेँला फूल हेर्दा लाग्यो गौरीशंकर संरक्षण क्षेत्रको यो भूभाग कुनै खुला फूलबारी हो। यसलाई हुर्काउन कुनै माली आवश्यक छैन। खासगरी वसन्त, गृष्म र शरदमा अनेकानेक फूलहरू फक्रिरहन्छन्।
हामी नाँ गाउँ पुग्दा नेपाली आकासमा फैलिएको न्यून चापीय रेखा हट्ने कुनै संकेत देखिएन। रातभर भदौरे झरी कायमै रह्यो। हिन्दूले विशेष श्रद्धा गर्ने दूधकुण्ड (४,७०० मिटर) र आकार बढ्दो क्रममा रहेको च्छो रोल्पा हिमताल एकै दिनमा भ्रमण गर्ने योजना पूरा गर्न स्थानीय आरोही पेम्बा ग्याल्जेन शेर्पा सशुल्क हाम्रा गाइड बन्न तयार भए।
पदयात्राको तेस्रो दिन बिहानै रोलवालिङको शिरतिर लाग्दा बगरमा फेरि फूल तथा हिमाली जडिबुटीले सुगन्धित बुट्यान देखिए। तिनको सुगन्धमा रमाउँदै अघि बढ्दा अक्सिजन पातलो हुँदै गएको चालै पाइएन। चार पटक सगरमाथा चुमेका पेम्बा ग्याल्जेनका साहसिक यात्रा वृत्तान्तका किस्साले यात्रा झनै रोमाञ्चक बनाइदियो।
उनी भन्दै थिए, 'सगरमाथामा सन् १९९६ को मेमा मौसम बिग्रिएर कैयौं नाम चलेका आरोही तथा गाइडको मृत्यु भएका बेला म सगरमाथामै थिएँ। म आठ हजार उचाइ नजिकैको बाल्कोनीमा थिएँ। त्यहाँ म तीन दिन टेन्टमा बसेँ। कैयौं बाटो भुलेका आरोहीलाई बचाएँ पनि।'
दूधकुण्ड र च्छो रोल्पा यात्राः
नाँबाट दुई-तीन घन्टा उकालो चढेपछि पुगियो प्रसिद्ध तीर्थस्थल दूधकुण्ड।
यहाँ जनैपूर्णिमा र अन्य अवसरमा हिन्दू तथा बौद्धमार्गी पवित्र स्नान तथा पूजाका लागि आउँछन्। किनारमा एक मन्दिर रहेको दूधकुण्डको पानी नीलो देखियो तर बाक्लो सेतो बादल लागेकाले पूरै कुण्डको आकृति देख्न सकिएन। न त दूधकुण्ड पछाडिका हिमाल नै देखिए।
उच्च हिमाली पदयात्रामा विख्यात आरोही गाइड हुनुका फाइदा अनेक। पेम्बा ग्याल्जेनले पछाडि भिरेको झोलामा बोकेर ल्याएको सानो ग्यास स्टोभ बालेर कुण्डको पानी उमालेर कालो चिया बनाए। रोटी तताए र आलुको तरकारीमा झोल हालेर त्यसलाई पनि उमालिदिए।
झमझम पानी परेका बेला दूधकुण्डको चिसोमा तातो पिउन र खान पाउँदा हामीले आफूलाई निकै भाग्यमानी सम्झियौं।
तातो खाएपछि थकित र लेक लागेर गलित ज्यानमा नयाँ ऊर्जा सञ्चार हुन थाल्यो। अनि हाम्रो बाटो मोडियो च्छो रोल्पा हिमताल जाने छोटो बाटोतर्फ जसलाई पेम्बा ग्याल्जेन 'आफैंले केही वर्षअघि पहिलो पटक पहिल्याएका' थिए।
दक्षिण दिशामा एकैछिन समथरमा हिँडेपछि यो बाटो उकालो लाग्यो र एक सानो चट्टानी शिखर चढ्यो। अनि सुरू भयो भीरको ठाडो ओरालो, जहाँ थोरै पहिरो पनि गएको थियो। त्यो भीरको पिँधमा रोलवालिङ हिमालमुनितिरबाट पग्लिएको हिमनदी गड्गडाएर बग्दै थियो। भदौरे भेल त्यो नदीमा हालिएको साँघुमाथिबाट बगिरहेको थियो।
मन अत्तालियो – 'अब पारि कसरी तर्ने?'
तै पनि पेम्बा ग्याल्जेन अघि लागे र ओरालो झरेपछि चट्टानहरूमाथि पाइला राख्दै खोला तर्न हामीलाई सहयोग गरे। त्यसपछि नयाँ खर्क देखिए जहाँ नयाँ-नयाँ उकालो सुरू भए।
खर्कमा बुट्यान धेर, छिचोल्नै गाह्रो। निकै पसिना बगाएर त्यो सानो शिखर चढेपछि हामी पुग्यौं अर्को गन्तव्य: च्छो रोल्पा हिमतालको प्राकृतिक बाँध (मोरेन ड्याम) जसको मुनितिर विशाल बरफ पनि हुन्छन्।
समुद्र सतहबाट करिब ४६०० मिटर उचाइमा अवस्थित च्छो रोल्पा मोरेन ड्याम भएको नेपालकै सबभन्दा ठूलो हिमताल हो। आकास खुल्दा यो हिमतालमा रोलवालिङ हिमालको हिमनदी पग्लिएर झरेको देख्न सकिन्छ। तर हामीले पूरै ताल बादलले ढाकेको मात्र देख्यौं।
तीन घन्टा झरेपछि नाँ गाउँ पुगियो जहाँ होटलको दाउरा बल्ने न्यानो भान्सामा हाम्रो साँझ बित्यो।
थकित ज्यानलाई आराम आवश्यक थियो। किनभने अर्को दिनको यात्रा निकै लामो हुँदै थियो- एकै दिनमा रोलवालिङजस्तै झरेर सिमीगाउँ अनि छेतछेत पुग्नु थियो।
यो पनि पढ्नुहोस्: 'बेदिङ गाउँ बचाउन ग्याबिन तार चाहिएको छ, काठमाडौं खबर पुर्याइदिनुहोला'
रोलवालिङमा म्याराथनः
रोलवालिङको ओरालोमा झर्दा बिहान केही क्षण गौरीशंकर हिमालको दर्शन पाइयो। भाग्यमानी सम्झियौं।
सुष्मिता गुरुङले आफ्नो मुम्बई र हङकङ बसाइबारे सुनाइन्– 'मुम्बई वरपर र हङकङमा पनि पहाडमा हिँड्न जान्थेँ। हङकङ बस्दा त समुद्रमा स्कुबा डाइभिङ गर्न फिलिपिन्स र इन्डोनेसिया पनि पुगेको छु। त्यो अनुभव निकै रमाइलो थियो।'
गौरीशंकर पदयात्राको चौथो दिन एकै दिन नाँबाट छेतछेत झर्दा लाग्थ्यो, हामी कुनै म्याराथन दुरी पार गर्दै थियौं। बिहान सात बजे सुरू भएको पदयात्रा राति नौ बजे टुंगियो। जतिबेला हामीलाई सयौं जुकाले टोकिसकेका थिए। मेरो मोबाइलको पेडोमिटरले त्यो दिनको पाइला संख्या अत्यधिक देखाइदियो- ४९,००० (करिब ३६ किलोमिटर)।
उत्तरी दोलखामा लुकेको रोलवालिङ पदयात्रामा यात्रीको घुइँचो हुँदैन। भविष्यमा आकास खुलेका बेला फेरि रोलवालिङ फर्किएर लाप्चे क्षेत्र र च्छो रोल्पा पूर्वको टाशी लाप्चा भञ्ज्याङ काटेर खुम्बु जाने धोको छ।