पाटन, पुल्चोकको अशोक स्तुपसँगै अहिले जुन ठाउँमा श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था छ, त्यसको ठ्याक्कै अगाडि सडक किनारमै कुनै बेला 'समय् फल्चा' (पाटी) थियो।
रातो मच्छिन्द्रनाथको रथयात्रासँग जोडिएको यो फल्चा मासिएको धेरै भयो।
स्थानीय बाबुकाजी महर्जनसँग फल्चाको सम्झना ताजै छ। ७० वर्षीय बाबुकाजीका अनुसार करिब पाँच दशक अघिसम्म अशोक स्तुपसँगै लस्करै ६–७ वटा फल्चा थिए। तीमध्ये एउटामा रातो मच्छिन्द्रनाथको रथ तान्न प्रयोग गरिने लामो काठ घ:मा: राखिएको हामी अहिले पनि देख्छौं।
त्यससँगै अशोक स्तुपको आडैमा नामसंगाती फल्चा छ जहाँ भजन गाइन्छ, मन्त्र पाठ गरिन्छ।
यी दुईबीचको स्थान समय् फल्चा हुनुपर्ने ठाउँ हो। मच्छिन्द्रनाथ जात्रा बेला यहाँ समय् बजी खुवाइन्थ्यो। तर मर्मतसम्भार अभावले फल्चा जीर्ण हुँदै गयो, भत्कियो र मासियो।
जहिलेदेखि फल्चा मासियो, त्यसयता समय् बजी खुवाउने कार्यक्रम अलपत्र छ। कहिले घ:मा: राखिएको लामोपाटी, कहिले पुल्चोकको सोह्रखुट्टे पाटी त कहिले सडक किनारमै पाल टाँगेर समय् बजी खानुपरेको बाबुकाजी बताउँछन्।
ललितपुर महानगरपालिकाले समय् फल्चालाई पुरानै स्वरूपमा ब्युँताउने घोषणा गरेको छ। बिहीबार बिहान ८ बजे ललितपुर मेयर चिरिबाबु महर्जनले फल्चा शिलान्यास गर्ने कार्यक्रम थियो।
परम्परागत फल्चा ब्युँताउन लागेको खबरले उत्साहित भएका बाबुकाजी समयभन्दा आधा घन्टाअगाडि नै त्यहाँ पुगेका थिए। तर उनले सोचेझैं फल्चा शिलान्यास हुन पाएन।
‘सानैदेखि देखेको फल्चा फेरि बन्न लागेको खबरले खुसी हुँदै हेर्न आएको थिएँ,’ उनले सेतोपाटीसँग भने, ‘यो फल्चा जोगाउनु भनेको भगवानको घर जोगाए बराबर हो। तर कार्यक्रम नै हुन पाएन।'
ललितपुर मेयर चिरिबाबु भने शिलान्यास गर्न नपाए पनि तोकिएकै समयमा त्यहाँ पुगेका थिए।
उनले अघिल्लो दिन बेलुकी जिल्ला अदालतबाट काम रोक्न ‘स्टे अर्डर’ आएको जानकारी दिए। रातारात सबैलाई खबर गर्न नपाएपछि आफू तोकिएको समयमै पुल्चोक आएको उनले बताए।
उनले समय् फल्चा बनाउने भनिएको ठाउँमा उभिएर लालीगुराँस सहकारीबाट महानगरले भोग्नुपरेको सास्तीबारे लामो भाषण पनि दिए।
सुरूमा फल्चा शिलान्यास गर्न नपाएको आक्रोश पोख्दै मेयर महर्जनले भने, ‘हिजो यहाँको जग्गा किन्दा अगाडि परम्परागत फल्चा बन्छ भन्ने थाहा पाएरै किन्ने, अनि अहिले आएर झेल्ला गर्न पाइन्छ?’
यहाँ फल्चा बन्दा सहकारीको पूर्वतर्फ बाटो छेकिने हुँदा काम रोक्न सास्ती दिइरहेको उनले बताए। कहिले फुटपाथ त कहिले सडक मापदण्ड मिच्यो भन्दै सहकारीले विभिन्न अदालतमा मुद्दा हालेको उनको भनाइ छ।
'सुरूमा उनीहरू पुनरावेदन अदालत पुगे। त्यहाँ हामीले अशोक स्तुप वरिपरिको पुरानो फोटो देखायौं जसमा यहाँ फल्चा थियो भन्ने प्रस्टै देखिन्छ। फोटो देखाउनेबित्तिकै सहकारीको प्रयास फेल खायो,’ महर्जनले भने।
'त्यसपछि उनीहरू सर्वोच्च गए। त्यहाँ पनि हामीले पुरानै फोटो देखायौं। सर्वोच्चले २०६५ सालमै यहाँ फल्चा बनाउन दिने निर्णय गरेको थियो। दोस्रोपटक पनि फल्चा बनाउने हकमै आदेश आयो।'
सर्वोच्चले आफ्नो आदेशमा लेखेको छ, ‘त्यहाँ पाटी बनाउँदा सडकपेटीमा असर पर्ने कुनै अवस्था छैन। मूल सडक र पैदलमार्ग यथावत् रहने गरी अर्थात् सडक मापदण्ड विपरीत नहुने गरी पाटी निर्माण गर्न लागिएकाले रोक्न मिल्दैन।’
सहकारी भने त्यसपछि पनि चुप बसेन।
उनीहरू गृह मन्त्रालय पुगे। मन्त्रालयबाट प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखियो। प्रमुख जिल्ला अधिकारीले महानगरलाई पत्र लेख्यो। त्यो पत्र पाएपछि मेयर महर्जन सिधै गृहसचिवलाई भेट्न गए। त्यहाँ पनि उनले त्यही पुरानो फोटो देखाए।
त्यसपछि गृहसचिवले प्रमुख जिल्ला अधिकारीलाई भनेछन्, ‘यो हेरेपछि कुरै सकियो नि। रोकेको फुक्का गरिदिनू।’
यसरी अहिलेसम्म विभिन्न सरकारी निकायको चक्कर काटिसकेका मेयर महर्जन जिल्ला अदालतको पछिल्लो ‘स्टे अर्डर’ बाट पनि आत्तिएका छैनन्। उनले भने, ‘हामी अदालतलाई सम्मान गर्छौ। अदालतले भनेअनुसार केही दिन काम रोक्छौं। केही दिन रोकेर केही फरक पर्दैन।’
शिलालेखअनुसार यो फल्चा २०६ वर्ष पुरानो हो। आफूले यही ठाउँमा कुनै बेला समय् बजी खाएको र गुच्चा खेलेको मेयर महर्जनले बताइरहँदा स्थानीयले कानेखुसी गरेका थिए, ‘यहाँ चोरलाई समातेर राखेको पनि इतिहास छ।’
हामीले यसबारे बाबुकाजीसँग जिज्ञासा राख्दा उनले यो फल्चामा कुनै समय प्रहरी चौकी बसेको जानकारी दिए।
२०२९ सालमा भत्किएको फल्चा त्यसयता बनेन। ‘लगभग ५० वर्षमा पनि नबनेको फल्चालाई हामीले कुनै कानुन उल्लंघन नगरी विधिवत् ढंगले बनाउनुपर्छ भनेर नै अदालतको अर्डर मानेका हौं। आजको साटो अर्को कुनै साता हामी झन् ठूलो शिलान्यास गरेर फल्चा बनाउनेछौं,’ ललितपुर मेयर चिरिबाबुले भने।
यो फल्चा बनाउन महानगरले करिब ३० लाख रूपैयाँ हालेको छ भने स्थानीयले करिब ३ लाख उठाएका छन्। यही वर्ष पुस अन्तिमसम्म फल्चा बनाइसक्ने महानगरको लक्ष्य छ।
‘एउटा तस्बिरले हजारौं शब्द बोल्छ’ भनेझैं विभिन्न अदालत र सरकारी कार्यालय धाएका मेयर महर्जन जिल्ला अदालतले पनि त्यो फोटो र अघिल्ला मुद्दा हेरेपछि रोक्का फुकुवा गर्छ भन्नेमा विश्वस्त छन्।
‘कसैले छेकेर यहाँको काम रोकिन्न। आज नभए भोलि त बन्छ बन्छ। यो हाम्रो भीष्मप्रतिज्ञा हो,’ उनले भने।