कोरोना संक्रमणको दोस्रो लहरमा जिल्लाको शिवसताक्षी नगरपालिका अति प्रभावित बनेको छ।
नगरका ११ वटै वडामा दिनहुँ सक्रमणको दर फैलँदो अवस्थामा छ। दुधे, झिलझिले, धरमपुर, शिवगञ्ज, माइधार, मंगलबारे जस्ता बजार कोरोनाका कारण प्रभावित बनेका छन्। सरकारले निशेधाज्ञा खुकुलो बनाएपछि संक्रमण दर उच्च भएको तथ्यांकले देखाएको छ।
कोरोनाको पहिलो लहरको तुलनामा दोस्रो लहरमा सर्वसाधरण बढी प्रभावित भएका छन्। पहिलो लहरमा तीन तहकै सरकार कठोर रुपमा प्रस्तुत हुँदा संक्रमण न्यून थियो। दोस्रो लहरमा तिनै सरकार लचिलो बन्दा संक्रमण फैलिएको बताँउछन् स्थानीय।
शिवसताक्षी नगरका केही मानव बस्तीमा घरैपिच्छे संक्रमण छ। एक साता अघिमात्र ३३ जनाको एन्टीजेन परीक्षण गरिएकोमा १७ जनामा संक्रमण पुष्टि भएको थियो। यो भनेको कुल परिक्षणको संक्रमण दर ५१ प्रतिशत माथि हो।
शिवसताक्षी नगरको स्वास्थ्य शाखाका निरीक्षक सञ्जय ठकुरीका अनुसार पहिलो लहरको यो अवधिमा शिवसताक्षीमा ३४ जना मात्र संक्रमित थिए। पहिलो लहरमा सरकारले २०७७ चैत्र ११ गते लकडाउन गरेको थियो। दोस्रो लहरमा झापा प्रशासनले वैशाख १४ देखि निषेधाज्ञा जारी गरेको थियो। दोस्रो लहरको निषेधाज्ञा साउन ७ देखि प्रशासनले खुकुलो पारेको थियो।
पछिल्लो एक सातायता शिवसताक्षीमा मात्रै दैनिक २५ जनाको हाराहारीमा कोरोना भाइरस कोभिड-१९ संक्रमित भेटिन थालेका छन्। पहिलो लहरको यो अवधिकमा नगरमा दुई जनाको संक्रमणका कारण मृत्यु भएको थियो।
दोस्रो लहरको यो अवधिमा अर्थात् वैशाख १४ यता शिवासताक्षी नगरमा संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ। यी सबै कारणले पनि शिवसताक्षी नगरपालिका कोरोना संक्रमणको ‘हट स्पट’ बन्न थालेको स्थानीयले बताए। नगरमा हालसम्म सक्रिय संक्रमितको संख्या १२७ रहेको छ। सबैभन्दा धेरै वडा नम्बर १ मा ४० जना र संक्रमण नभएको वडा नम्बर ३ र ६ रहेको जनस्वास्थ्य निरीक्षक ठकुरीले बताए।
वडा नम्बर ११ को एउटा सिंगै बस्तीमा संक्रमण उच्च तहमा पुगेको छ। पटक-पटक भिडभाडमा, बजार, मलामी, जन्ती, भोज भतेरमा सकेसम्म सहभागी नहुन गरेको आग्रहलाई अटेर गरेकाले कोरोना संक्रमणको भयावह स्थिति आएको शिवसताक्षी नगरको स्वास्थ्य शाखाले जनाएको छ। कोभिडका फोकल पर्सन रोशन अधिकारीले भने, ‘गाँउमा तास, लुँडो, क्याराम बोर्डजस्ता समूहमा खेलिने खेलले संक्रमण फैलाएको हो।’
गत वर्ष कोरोनाको सुरुवात विदेशबाट काठमाडौं हुँदै गन्तव्यमा आएकाबाट फैलिएको थियो। त्यसको केही महिनापछि मात्रै शिवसताक्षीमा संक्रमणको ग्राफ उकालो लागेको थियो। यसपटक भने सुरूमै अतिप्रभावित पालिकाका रुपमा शिवसताक्षी परेको र संक्रमणको गति तीव्र रुपमा बढिरहेको अधिकारीले बताए।
कोरोना महामारीको पहिलो लहरमा विशेष गरेर स्थलमार्ग हुँदै विभिन्न नाकाबाट नगर प्रवेश गर्नेहरूले बढी संक्रमण भित्र्याएका थिए। यसपटक भने समुदायभित्रै नजानिँदो पाराले संक्रमण फैलिएको र ह्वात्तै बढेको अधिकारीले बताएका छन्।
कोरोना संक्रमण दर तीव्र रुपमा बढ्दा झापाका अस्पतालहरूमा बिरामीले हत्तपत्त भर्ना पाउने अवस्था छैन। झापाका अस्पतालहरूमा इलाम, पाँचथर, ताप्लेजुँङ्गका संक्रमितहरू उपचारका लागि आउने र कतिपय ठूला सहरबाट पनि उपचारका लागि आउने कारणले अस्पतालका बेड खाली नभएका हुन्। पछिल्ला दिनमा अस्पतालको आइसोलेसनमा बस्ने भन्दा पनि होम आइसोलेसनमा बस्नेको संख्या बढ्न थालेको छ।
शिवसताक्षीका स्थानीयले नगरलाई तत्काल सिल गर्न अधिकार प्राप्त कार्यपालिकासँग माग गरेका छन्। संक्रमणका कारण दिनहुँजसो मानवीय क्षति हुन थालेपछि नगरबासी आत्तिन थालेको शिवसताक्षी ११ का केशव नेपालले बताए। उनले भने, ‘कोरोनाविरूद्धको पूर्ण खोप घोषणा नहुञ्जेलसम्मका लागि अति आवश्यक काम कारबाहीबाहेक नगर ठप्प भए मात्र बाँच्न सकिन्छ।’
तर, स्थानीय तहलाई कानुनले यो अधिकार दिएको छैन। कार्यपालिकाको बोर्ड बैठक वा नगर समन्वय समितिको बैठकले गरेको निर्णय सिफारिस गरेर गृह मन्त्रालय मातहतको प्रशासनलाई पठाएपछि मात्र प्रमुख जिल्ला अधिकारीले तोकेको क्षेत्रमा निषेधाज्ञा जारी गर्न सक्ने व्यवस्था छ।
शिवसताक्षी नगरको स्वास्थ्य शाखाका अनुसार लाखौं मुल्यको यातायातका साधनमा यात्रा गर्नेले पाँच रूपैयाँ पर्ने मास्क पनि लगाउँदैनन्। खुला बजारमा निर्वाध हिँडडुल गर्दा उनीहरू स्वयम् स्वास्थ्य सुरक्षाको भरपर्दो माध्यम मास्कबिनै हुन्छन्। जनस्वास्थ्य निरीक्षक ठकुरी भन्छन्, ‘परिवारका सदस्यबीच पनि सामाजिक दुरी र न्यूनतम् स्वास्थ्यको मापदण्ड अपनाउने हो भने कोरोना संक्रमण नियन्त्रण हुन्छ।’