गत पुस १८ गते बिहान हेटौंडाबाट सर्लाहीतर्फ जाँदै गरेको कारले बाघलाई ठक्कर दियो। पूर्व-पश्चिम राजमार्गको हेटौंडा-पथलैया खण्डअन्तर्गत जितपुर सिमरा उपमहानगरपालिका-१ को आधारभार जंगलमा कारको ठक्कर खाएको पोथी पाटेबाघको घटनास्थलमै मृत्यु भयो।
यो राजमार्गको दायाँ-बायाँ दुबैतर्फ पर्सा राष्ट्रिय निकुञ्जको जंगल छ। यो जंगल बाघको बासस्थान मानिन्छ। आफ्नै क्षेत्रमा एकतर्फबाट सडक ‘क्रस’ गर्दै अर्को तर्फको जंगल जान लागेको बाघलाई कारले ठक्कर दिएको थियो। त्यसो त नेपालमा सडकमा दुर्घटनामा परेर वन्यजन्तुको मृत्यु भइरहेकै छ। आर्थिक वर्ष २०७५/०७६ मा निकुञ्ज र आरक्ष क्षेत्रमा ४ सय ९५ वटा वन्यजन्तु मरेकोमा १ सय १९ वटा गाडीको ठक्करबाट मरेको तथ्यांक छ। यो कूल मृत्युको २४ प्रतिशत हो। त्यसअघिका दुई वर्षमा कूल मृत्युको ४१ र ३१ प्रतिशत वन्यजन्तु सवारी साधनको ठक्करबाट मरेका थिए।
पूर्व-पश्चिम राजमार्ग र हुलाकी राजमार्गको ठूलो हिस्सा वन क्षेत्रमा पर्छ। यी राजमार्गमा वन्यजन्तुको आवतजावतका लागि आवश्यक संरचना नबनाइँदा दुर्घटनामा परेर धेरै वन्यजन्तुको मृत्यु हुँदै आएको छ। सडकमा बढ्दो चहलपहलले वन्यजन्तु माथिको जोखिम पनि बढेको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले ‘स्याटेलाइट जिपिएस कलर’ लगाएर निगरानी गरिरहेको पर्सा राष्ट्रिय निकुञ्जको एउटा पाटेबाघको गतिविधिलाई नियाल्ने हो भने जंगलको बीचमा रहेका व्यस्त सडकबाट वन्यजन्तुले कतिसम्म सास्ती पाउँछन् भन्ने अनुमान गर्न सकिन्छ।
गत फेब्रुबरी १४ तारिखमा विभागले अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) र अमेरिकाको युनिभर्सिटी अफ मिचिगनको आर्थिक तथा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को प्राविधिक सहयोगमा ‘प्रारम्भ’ नामको बाघमा ‘स्याटेलाइट जिपिएस कलर’ जोडेको थियो। अन्दाजी ८ वर्षको भाले पाटेबाघको आनीबानी, आहार, बाटो, हिँडडुल गर्ने समयलगायतका गतिविधि निगरानी गर्ने उद्देश्यले उसको घाँटीमा स्याटेलाइट कलर जोडिएको थियो।
राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका प्रमुख डाक्टर बाबुराम लामिछानेले त्यसयताका ५ महिना उक्त पाटेबाघको गतिविधिबारे नियमित रूपमा अनुगमन भइरहेको बताए। उनकाअनुसार स्याटेलाइट कलर जोडिएको तीन महिनापछि मात्रै त्यो बाघ राजमार्ग क्रस गर्न सफल भयो।
‘राजमार्गबाट पूर्वतर्फ रहेको त्यो बाघले पश्चिम आउन धेरै कोसिस गर्यो तर सडक क्रस गर्ने आँट गर्न सकेन,’ उनले भने, ‘सडकको नजिक-नजिक भएर धेरै किलोमिटरको यात्रा गर्यो तर क्रस गरेर पश्चिम जान सकेन।’
स्याटेलाइट कलरको संकेत हेर्दा राजमार्गमा सवारी साधनको चाप अत्याधिक भएका कारण बाघले चाहेर पनि क्रस गर्न नसकेको देखिन्छ।
कोरोनाभाइरसको दोस्रो लहरको संक्रमण बढेको भन्दै अप्रिलको अन्त्यतिर देशका विभिन्न क्षेत्रमा निषेधाज्ञा घोषणा हुन थाले। निषेधाज्ञाको आदेशसँगै राजमार्गमा चहलपहल पातलियो। त्यसपछि भने यो बाघले राजमार्ग क्रस गर्ने आँट गरेको स्याटेलाइट कलरले देखाउँछ।
डाक्टर लामिछानेका अनुसार स्याटेलाइट कलर जोडेको तीन महिनापछि गत मेको २० तारिखमा प्रारम्भले पहिलो पटक राजमार्ग क्रस गर्यो। त्यतिखेर निषेधाज्ञाले गर्दा राजमार्गमा असाध्यै कम सवारी साधन चलेका थिए।
‘अप्रिलको अन्त्यबाटै निषेधाज्ञाको प्रभाव देखिए पनि बाघले झट्टै सडक क्रस गरेर पश्चिमतर्फ जाने आँट गरेन,’ उनले भने, ‘पटक-पटक सडकनजिक आउने छेउ-छेउ हिँड्ने गरिरह्यो। केही हप्ता सवारी आवागमन पातलो भएपछि उसले क्रस गर्ने आँट गर्यो।’
प्रारम्भ त्यसयता पटक-पटक राजमार्ग क्रस गरेर कहिले पूर्व, कहिले पश्चिम गरिरह्यो। तर जब निषेधाज्ञा खुकुलो भयो र सडकमा सवारी साधनको चाप बाक्लो बन्यो त्यसपछि उसले क्रस गर्ने आँट गरेको छैन। अहिले यो बाघ राजमार्गको पश्चिम क्षेत्रमा छ। जुन क्षेत्र ऊ लामो समयदेखि बस्दै आएको क्षेत्र होइन। बाघले पटक-पटक सडक क्रस गरेको ठाउँ गत पुसमा गाडीको ठक्करबाट बाघको मृत्यु भएकोबाट नजिकै पर्छ।
पर्सा राष्ट्रिय निकुञ्जको यो क्षेत्रमा २ भाले, २ पोथी र एउटा लिंग पहिचान नभएका बाघ छन्। गत नोभेम्बरसम्म एउटा बच्चा पनि भेटिए पनि पछिल्ला दिनमा त्यो देखिएको छैन।
बाघको विषयमा लामो समयदेखि अध्ययन गरिरहेका डाक्टर लामिछाने व्यस्त सडकमा वन्यजन्तुलाई आवातजावत गर्न मिल्नेगरी अन्डरपास वा ओभर ब्रिज बनाउन सके दुर्घटनाको क्रम घट्ने बताउँछन्।
‘लामो दूरीको यात्रा गर्ने बाघले बासस्थान परिवर्तन गरिरहन्छ, पर्साको दुबै क्षेत्र बाघको बासस्थान हो तर सडक काट्ने अवस्था नहुँदा ऊमाथि खतरा बढेको देखिन्छ,’ उनले भने, ‘स्याटेलाइट कलरमार्फत् निगरानी गर्दा देखिएको तथ्यलाई आधार मानेर संरचना निर्माण गर्नुपर्ने देखिन्छ।’
उनले स्याटेलाइट जिपिएस कलरको मध्यमबाट निगरानी गर्दा बाघको समग्र गतिविधिको बारेमा जानकारी भएको र यसले संरक्षणका लागि आवश्यक योजना बनाउन सहयोग गर्ने बताए।
‘यो प्रविधिको प्रयोग गर्दा बाघको संरक्षणका साथै बाघबाट हुने क्षति न्यूनीकरणमा पनि सहयोग पुग्छ,’ उनले भने।
लामिछानेले केही महिना अघि पूर्व-पश्चिम राजमार्गको चितवनस्थित टिकौली जंगलमा क्यामेरा राखेर वन्यजन्तुको निगरानी गरिएको थियो। क्यामेरामा गैंडा, भाले बाघ, चितुवालगायतका वन्यजन्तुले राजमार्ग क्रस गरेको रेकर्ड भएको थियो। पोथी बाघ भने डराएर क्रस नगर्ने गरेको देखिन्छ। बरण्डाभार जंगल क्षेत्रमा पर्ने यो सडकमा सवारी साधनको चाप अत्याधिक भए पनि वन्यजन्तुको आवागमनका लागि संरचना छैन। यो खण्डमा सडक क्रस गर्ने क्रममा चित्तल, हरिणलगायतका वन्यजन्तुको मृत्यु हुनु सामान्य विषय बन्न थालेको छ। बरण्डाभार क्षेत्रमा मात्रै १० भन्दा बढी बाघ रहेको तथ्यांक छ। तर पछिल्ला दिनमा ८ वटा मात्रै देखिने गरेका छन्।
भरतपुरबाट माडी, पर्साको ठोरी पुग्न चितवन निकुञ्जको हेडक्वाटर कसराको छेवैबाट निकुञ्जको कोर क्षेत्र हुँदै यात्रा गर्नुपर्छ। यी क्षेत्रमा वन्यजन्तु सडकमै भेटिन्छन्।
नेपालमा जंगलकै बीचबाट र जंगललाई छोएर बनेका सडक धेरै भए पनि त्यहाँ वन्यजन्तु संरक्षणलाई ध्यानमा राखेर बनेका संरचना असाध्यै कम छन्।
बन्दै गरेको नारायणघाट-बुटवल सडक खण्डको दाउन्ने पूर्वको भागमा चारवटा अन्डरपास र एउटा ओभरपास राखिँदैछ। यस क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्छ। निजगढ-काठमाडौं द्रुतमार्गमा पनि वन्यजन्तुका लागि अन्डरपास बनाइँदै छ। नारायणघाट-मुग्लिङको ३३ किमी सडक खण्डमा चारवटा अन्डरपास छन्। त्यसबाट वन्यजन्तुहरू सहज रूपमा आवातजावत गर्ने गरेका छन्।
सन् २०१८ को गणनाअनुसार नेपालमा बाघको संख्या २ सय ३५ रहेकोमा ९३ वटा चितवन निकुञ्जमा छन्। पर्सामा १८ वटा बाघ छन्। बाँकी बाघ बर्दिया, बाँके र शुक्लाफाँटा निकुञ्जमा छन्।
सरकारले बाघका अलावा हिउँचितुवा, हाब्रे, गैंडा र हात्तीलगायत जन्तुसँगै गिद्ध र खरमुजुरलगायत पन्छीमा पनि स्याटेलाइट कलर जोडेर अनुसन्धान गरिरहेको छ।