यो लेख म एक खास व्यक्तिलाई सम्बोधन गरेर लेख्न चाहन्छु।
त्यसैले सधैंजस्तो माइक्रोसफ्ट वर्डमा लेखिरहेको छैन। सिधै जीमेलमा टाइप गर्दैछु, ताकि जसै लेख पूरा होला, म सेन्ड बटन क्लिक गरेर पठाउन सकूँ।
यसरी लेख्दा मलाई ती खास व्यक्तिसँग भावनात्मक तार जोडिएको महशुस हुँदैछ।
...
आदरणीय बन्धुदत्त आचार्य,
तपाईं अहिले जहाँ हुनुहुन्छ, त्यहाँ दिन, हप्ता, महिना र वर्षको गन्ती कसरी हुन्छ मलाई थाहा छैन।
मैले धेरैअघि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको ‘यमलोक’ भन्ने प्रहसन क्यासेटमा सुनेको थिएँ। उनीहरूले ‘यमलोकको हिजो यहाँ पोहोर, यमलोकको अस्ति यहाँ परार’ भनेका थिए। यस हिसाबले त्यहाँको एक दिन हाम्रो यहाँ पृथ्वीमा एक वर्ष हुने भयो र त्यहाँ एक वर्ष बित्दा यहाँ पृथ्वीमा ३६५ वर्ष बित्ने भयो।
यसको अर्थ, तपाईं पृथ्वीबाट विदा भएर यमलोक जानुभएको तपाईंका लागि करिब चार वर्ष मात्र भएछ, हाम्रो यहाँ त चौध सय वर्ष बितिसक्यो।
हुन त तपाईं पृथ्वीमा बाँचेको र पृथ्वीबाट विदा भएको ठ्याक्कै कति वर्ष भयो कसलाई थाहा छ र! तपाईंसँग जोडिएका केही किस्सा–कहानीका आधारमा म मोटामोटी अनुमान चाहिँ लगाउन सक्छु। मेरो अनुमान मिल्यो कि मिलेन पछि आफ्नो जवाफमा भन्नू है!
लिच्छवि राजा नरेन्द्रदेव, पाटनका रथचक्र भन्ने व्यक्ति, टौदहका कर्कोटक नागराज र तपाईंसमेत मिलेर भारतको आसामबाट रातो मच्छिन्द्रनाथ लिएर आएको कथा हामीले सुन्दै आएका छौं। नेपालको इतिहास हेर्ने हो भने नरेन्द्रदेवले बिक्रम सम्बत ७०० आसपासबाट यहाँ शासन गरेको देखिन्छ। उनले ३६ वर्ष राजकाज सम्हाले भन्ने इतिहासकारहरू बताउँछन्।
यसबाट नरेन्द्रदेवले लगभग ७०० देखि ७३६ सालसम्म शासन गरेको मान्नुपर्यो र तपाईंहरू रातो मच्छिन्द्रनाथ लिन आसाम गएको पनि त्यही ७०० देखि ७३६ कै बीचमा हुनुपर्यो। होइन त आचार्य?
हाम्रो पृथ्वीलोकको निम्ति चौध सय वर्ष भनेको निकै, निकै, निकै नै लामो समय हो। यसबीच देशका राजनीतिक नक्साहरू कयौंचोटि उलटफेर भइसक्छन्। शासनसत्तामा एउटा वंशलाई पाखा लगाएर थुप्रै नयाँ वंश उदाइसक्छन्। कयौंले कयौंको रगत बगाइसक्छन् र कयौं पुस्ता यो धर्तीमा आएर विदा भइसक्छन्। हाम्रै नेपालको इतिहास यसको साक्षी हो जहाँ यसबीच लिच्छविहरूले शासन गरे, मल्ल, शाह र राणाहरूले शासन गरे। हामीले पञ्चायत देख्यौं, प्रजातन्त्र देख्यौं। अहिले गणतन्त्र नेपालमा छौं।
यति लामो कालखण्ड बितिसक्दा पनि केही घटना यस्ता हुन्छन् जसलाई समयको घामछायाले धूमिल पार्न सक्दैन। त्यसैमध्ये एउटा घटनाबारे जानकारी दिन म यो इमेल लेख्दैछु जसको सम्बन्ध तपाईंसँग छ।
आदरणीय आचार्य, तपाईंको नजरबाट यो घटना लुकेको छैन भन्ने मलाई राम्ररी थाहा छ। जसले आसाम गएर आफ्नो तन्त्रविद्याको शक्तिले रातो मच्छिन्द्रनाथलाई बाँधेर काठमाडौं उपत्यका ल्याउनुभयो, त्यस्तो महान् तान्त्रिकका लागि स्वर्गमा बसी–बसी मर्त्यलोकको खबर राख्नु ठूलो कुरा पक्कै होइन।
हामी जसरी यहाँ सेतो पर्दामा हिरो–हिरोइन नाचेको सिनेमा हेर्छौं, तपाईंहरू त्यहाँ त्यसैगरी मर्त्यलोकमा हामी रोएको, हाँसेको, मरेको, बाँचेको एक–एक घटना सिनेमाजस्तै हेर्नुहुन्छ होला! अझ हामी त सिनेमा हेर्दा पर्दामा जे चल्दैछ, त्यही मात्र देख्छौं। तपाईंहरू त पर्दामा जे भइरहेको छ, त्यसको अगाडि र पछाडिका घटना पनि रिवाइन्ड र फरवार्ड गरेर हेर्न सक्नुहुन्छ होला है!
खैर, जे भए पनि आजभन्दा चौध सय वर्षअघि लिच्छवि राजा नरेन्द्रदेवका पालामा नेपाल उपत्यकाको प्रतिष्ठित तान्त्रिक रहनुभएका तपाईं आचार्य बन्धुदत्तलाई यो खबर आफ्नै हातले लेखीपठाउनु मैले आफ्नो कर्तव्य ठानेँ।
अब चाहिँ म घटनाक्रम एक औंश तलमाथि नगरी जे भएको हो, जस्ताको तस्तै तपाईंलाई सुनाउँछु।
तेह्र दिनअघिको कुरा हो। शुक्रबार, असार १८ गते। अघिल्लो रातिदेखि परेको पानी बिहानसम्म थामिएको थिएन। मौसम रिमरिम चिसो थियो। पानी पर्दा काठमाडौंको तापक्रम कसरी सेलाउँछ भन्ने तपाईंलाई थाहा छँदैछ नि!
त्यो दिन मैले बिहानको पहिलो चिया नखाँदै, मेरो मुखबाट कोल्गेट टूथपेस्टको रमरम गुलियो पनि नहराउँदै, दिनको पहिलो फोनकल नै कसैको मृत्यु र शवयात्राको सूचना लिएर आयो। सामान्यतया यस्तो खबर सुन्दा मन विरक्त हुन्छ। त्यो दिन चाहिँ मलाई त्यस्तो केही भएन। उल्टो उत्साहित पो भएँ।
यसको अर्थ म मृत्युको खबर सुन्न लालायित भएर पर्खिरहेको थिएँ भन्ने होइन। मृत्युको खबर सुन्न लालायित भएर बस्नलाई त ढुंगाजस्तो कठोर मुटुले पनि सक्दैन। तर त्यो शवयात्राको खबरले मलाई कुनै चिरपरिचित व्यक्तिबाट बिहेको निम्तो पाएझैं व्यग्र बनायो। किनकि जसको मृत्यु भएको थियो र जसको शवयात्रा निकालिँदै थियो, ऊ यो धर्तीमा बाँचेकै र यो धर्तीबाट विदा भएकै कम्तिमा चौध सय वर्ष बितिसकेको रहेछ। त्यति बेलादेखि चल्न थालेको शवयात्रा अहिले पनि जारी नै रहेछ। कति त उसको मलामी पनि गइसके होलान्। मलाई भने यसबारे कुनै जानकारी थिएन।
आचार्य, अब त तपाईंलाई अनुमान भइसक्यो होला, म तपाईंलाई कसको मृत्यु र कसको शवयात्राको खबर दिन यो इमेल लेख्दैछु भनेर। तै पनि क्रमभंग नगरी विस्तारमै लेख्छु।
एकाबिहानै फोन गरेर शवयात्राको सूचना दिने व्यक्तिले सुरूमा मलाई आफ्नो परिचय दिँदै भनेका थिए, ‘म जगदिशलाल श्रेष्ठ, कुपण्डोलमा बस्छु। काठमाडौंको संस्कृति र इतिहासबारे खोजबिन र अनुसन्धान गर्छु।’
उनी छिटोछिटो बोल्थे र एकै सासमा सबै कुरा खर्रर भनी भ्याउँथे। स्वर सुन्दा उनी त्यस्तै ५५–६० वर्षको हुनुपर्छ भन्ने मैले अड्कल काटेँ। उनले फोन गर्नुको कारण सबै बेलीबिस्तार लगाइसकेर अन्तिममा भने, ‘दिउँसो ३ बजेतिर जयबागेश्वरी मन्दिर आउनू है, हामी त्यहीँ भेटेर सँगसँगै शवयात्रामा जाउँला।’
मैले ‘हुन्छ’ भनेर फोन राखेँ।
दिउँसो बाह्र–एक बजेतिर पानी थामियो तर आकाशमा कालो बादलको लिहाफ हटेको थिएन। कालोपत्रे सडक चिसो र भिजेको थियो। सडकछेउ कतैबाट ओसिलो माटोको मतमताउँदो बासना आउँदै थियो।
ठिक तीन बजे म गौशालाको जयबागेश्वरी मन्दिर पुगेँ। जगदिशलाललाई फोन गरेँ। उनले तीन घन्टीमा फोन उठाए। मैले ‘हेलो’ नभन्दै उनले सोधे, ‘खोइ कहाँ हुनुहुन्छ? म त पुगिसकेँ।’
मैले दायाँबायाँ आँखा घुमाएँ। जयबागेश्वरी मन्दिरको ठिकअगाडि पशुपति जाने ओरालो छेउ एक जना मोबाइलमा कुरा गरिरहेको देखेँ। उनले गाढा निलो क्याप लगाएका थिए। खरानी रङको कोट, निलो सर्ट र फिक्का पहेँलो पाइन्ट लगाएका थिए। आकाशे रङको सर्जिकल मास्कले मुख ढाकेका थिए। हातमा कालो रङको सानो झोला पनि बोकेका थिए। मलाई शवयात्राको सूचना दिने संस्कृति अध्येता जगदिशलाल श्रेष्ठ उनै रहेछन्।
बिहानदेखि कम्तिमा चारचोटि फोनमा कुराकानी भइसकेको जगदिशलाललाई सशरीर सामुन्ने देखेर मेरा आँखा चम्के।
म मास्कपछाडि मुसुमुसु हाँस्दै सडक नाघेर उनीतिर बढेँ। मानौं कुनै अन्जान, अन्धकार जंगलमा हिँडिरहेको म पर उज्यालो प्रकाश देखेर खुसी–खुसी त्यता लम्किँदैछु।
‘नमस्कार,’ मैले भनेँ।
उनले मुखले केही भनेनन्, हात जोडेर ‘नमस्कार’ चाहिँ फर्काए।
हामीले आ–आफ्नो मास्क तल सार्यौं र पहिलोचोटि एकअर्कालाई हेर्यौं। उनी मैले अड्कल गरेजस्तै ५५ देखि ६० वर्षकै हुनुपर्छ, न त्योभन्दा बढी न कम। मैले उनलाई यसअघि कहिल्यै देखेको थिइनँ। सायद उनले पनि मलाई देखेका थिएनन्।
आफूलाई चिनाएपछि मैले मास्क पुरानै ठाउँमा फर्काएँ। उनले चाहिँ निकै बेरसम्म चिउँडोमै झुन्ड्याइरहे।
हामी जयबागेश्वरी मन्दिर अगाडिको ओरालो बाटो पशुपतितिर झर्यौं। दुइटा साना गाडी मुश्किलले आरपार हुने योे ओरालो बाटो पशुपतिको खुला परिसरमा खुल्छ र जुन मोहोडामा पुगेर खुल्छ, त्यहीँ देब्रेतिर भुवनेश्वरी मन्दिर छ।
यो हिजोअस्तिको मन्दिर होइन, निकै पुरानो हो– लिच्छविकालीन।
भुवनेश्वरी मन्दिरको नाउँ सुनेर तपाईंको आङ जिरिंग भएन आचार्य? पुराना घटना रोटेपिङझैं तपाईंका आँखाअगाडि नाच्न थालेनन् आचार्य?
हाम्रो यहाँको चौध सय वर्ष र त्यहाँ तपाईंको चार वर्षअगाडि यो मन्दिरमा के भएको थियो, तपाईंले सम्झिनुभयो नि?
मलाई थाहा छ, त्यति बेला जे भयो, त्यो तपाईंबाट जानाजान भएको थिएन। त्यो घटनापछि तपाईंको मन कति ठूलो शोकको आहालमा डुबेको थियो होला भन्ने म कल्पना गर्न सक्छु। त्यसको परिणाम बदल्न तपाईंले हरसम्भव कोशिस गर्नुभएको पनि मैले थाहा पाएँ। तर परिबन्धले तपाईं सफल हुनुभएन र सायद त्यही शोकले यो धर्तीबाट विदा लिनुभयो।
आज यो इमेलमा ती सबै घटनाक्रम सम्झाएर तपाईंलाई फेरि पुरानै शोकको आहालमा डुबाउने वा तपाईंको चित्त दुखाउने मेरो मनसाय होइन। त्यस्तो हुन गएमा म सुरूमै क्षमा चाहन्छु।
हामी भुवनेश्वरी मन्दिर पुग्दा खासै चहलपहल थिएन। कलेजी रङको टिसर्ट र गाढा रातो सुरुवाल लगाएका र काँधमा फिक्का रातो गम्छा भिरेका पुजारी मन्दिरभित्र एक्लै पूजा गर्दै थिए। सुरूमा जगदिशलाल श्रेष्ठ र त्यसपछि उनलाई पछ्याउँदै मैले पनि पुजारीको हातबाट फूल–टीका ग्रहण गरेँ। बाहिर प्रांगणमा चार जना लश्करै बसेर कुराकानी गर्दै थिए। हामी उनीहरूको समूहमा मिसियौं। उनीहरूले शवयात्रा सुरू हुन अझै दुई–अढाई घन्टा लाग्ने बताए। यही मौकामा मैले त्यसको नालीबेली सुन्न चाहेँ।
चार जनामध्ये पशुपति, ग्वल क्षेत्रकै स्थानीय हृदयमान श्रेष्ठ र अरूण श्रेष्ठ मेरा जिज्ञासाहरू मेट्न तयार भए।
उनीहरू पशुपति परिसरका संरचनाहरूको निगरानी राख्न नियुक्त गरिएका दस जना ‘विशत’ मध्ये रहेछन्। दुवैलाई शवयात्राको नालीबेली थाहा थियो। अरूण चाहिँ अलि कम बोल्दा रहेछन्। धेरैजसो जवाफ हृदयमानले नै दिए। उनलाई थाहा नभएको कुरा बीच–बीचमा जोडेर कथा पूरा गर्न अरूणले मद्दत गरे।
उनीहरूका अनुसार शुक्रबार भलभलअष्टमीको दिन यहाँ दुईवटा उत्सव हुँदो रहेछ — एउटा त्रिशूल जात्रा र अर्को यही शवयात्रा।
यी दुईबीच कुनै सम्बन्ध छैन तर मानिसहरू एउटै उत्सवजस्तो सँगसँगै मनाउँछन्। हृदयमान र अरूणले पनि दुवैको कथा सँगसँगै सुनाए।
सुरूमा उनीहरूले त्रिशूल जात्राबारे विस्तार लगाए।
धेरै, धेरै, धेरै नै वर्षअघि, सायद तपाईं पृथ्वीलोकमा बाँचेको चौध सय वर्षभन्दा पनि अगाडिको कुरा होला, होइन त आचार्य? त्यति बेला स्वयम्भू पछाडिको हल्चोक जंगलमा एउटा भयंकर डरलाग्दो राक्षस बस्दो रहेछ जो काठमाडौंका केटाकेटी मारेर खाइदिन्थ्यो, यहाँका अन्नबाली लुटेर लैजान्थ्यो र काठमाडौंका जनतालाई खुब दिन्थ्यो।
एकदिन यहाँका स्थानीयले त्रिशूल, भाला लगायत विभिन्न घरेलु हातहतियारसहित राक्षस बस्ने ठाउँमा धावा बोलेछन्। राक्षस चलाख रहेछ। मान्छेहरू मार्न आए भन्ने थाहा पाएर ऊ पहिल्यै आफ्नो बासस्थानबाट सुइँकुच्चा ठोकिसकेछ।
रिसले तम्तमाएका मान्छेहरूले राक्षस नभेटेपछि उसको घर लडाइदिएछन्, सारा सामान तहसनहस पारिदिएछन् र उसका भुराभुरीलाई बन्दी बनाएर ल्याएछन्। बच्चाहरूको मायाले राक्षस फर्केर आउला भन्ने यहाँका बासिन्दाको आश रहेछ। तर निर्दयी राक्षस कहाँ पाएर आउनू!
आखिरमा मान्छेहरूले राक्षसको रिसमा उसका भुराभुरीलाई त्रिशूल रोपेर मारेछन्। राक्षस जहाँ भए पनि आफ्नो बच्चा मारिएको थाहा पाओस् र डरले कहिल्यै नआओस् भन्ने उनीहरूको मनसुबा थियो। त्यही भएर उनीहरूले त्रिशूल रोपिएका राक्षसका बच्चालाई सिफलको डाँडाबाट प्रदर्शनसमेत गरेछन्।
आज पनि भलभलअष्टमीको दिन राक्षसका बच्चाको प्रतिरूपलाई त्रिशूलमा घोपेर जात्रा निकालिँदै आएको छ। पशुपतिको वत्सलेश्वरी, जयबागेश्वरी र बज्रघरबाट एक–एक बालकलाई त्रिशूल घोपेर जात्रामा सामेल गराइन्छ। ती बालकहरू पशुपति क्षेत्रकै महर्जन समुदायको हुनुपर्ने नियम छ।
आदरणीय आचार्य, त्रिशूल जात्राको कथापछि हृदयमान र अरूणले शवयात्राको वर्णन गरे जुन तपाईंको जीवनसँग प्रत्यक्ष जोडिन्छ।
‘त्यो समय भुवनेश्वरी मन्दिरका पुजारी बन्धुदत्त आचार्य थिए...’ उनीहरूले कथा भन्न सुरू गरे।
त्योभन्दा अगाडि म तपाईंलाई सोधिहालुँ, यी बन्धुदत्त भनेका तपाईं नै हो नि, होइन त आचार्य?
उनी आफ्नो तन्त्रशक्तिको मद्दतले देवीसँग प्रत्यक्ष कुराकानी गर्थे रे, राज्यमा आइपरेका संकटबारे सरसल्लाह लिन्थे रे र देवीसँग दिनकै पासा पनि खेल्थे रे।
एकदिन आचार्य बन्धुदत्त र भुवनेश्वरी देवी मन्दिरभित्र पासा खेल्दै रहेछन्। बन्धुदत्त खेलमा यति मग्न थिए, उनले पछाडि ढोकाबाट आफ्नो छोरा प्रवेश गरेको पनि चालै पाएनछन्।
यही मौकामा भुवनेश्वरीले बन्धुदत्तको श्रद्धा र निष्ठा जाँच्ने विचार गरिछन् र भनिछन्, ‘बन्धुदत्त, तिमी सधैं मसँग केही न केही माग्छौ। आफ्नो राज्यमा संकट पर्दा त्यो संकट टार्ने उपाय पनि मैसँग सोध्छौ। आज म तिमीसँग केही माग्न चाहन्छु। तिमी दिन्छौ?’
अचानक देवीबाट यस्तो कुरा सुनेपछि बन्धुदत्तले खेल्दाखेल्दैको पासा भुइँमा छाडेर हात जोड्दै भनेछन्, ‘प्रभु, हजुरलाई दिन सक्ने मसँग के नै पो छ र! तै पनि हजुर बिन्ती गर्नुस्, म आफूले सक्नेजति टक्र्याउँछु।’
‘म जे माग्छु त्यो दिन्छु भनेर बचन दिन्छौ त?’ भुवनेश्वरीले भनिन्।
‘म बचन दिन्छु प्रभु,’ बन्धुदत्तले भने, ‘हजुर आज्ञा हवस्, म हजुरलाई निराश बनाउँदिनँ।’
‘उसो भए अहिले तिम्रो पछाडि जे छ, तिमी त्यसको आलो रगत मलाई चढाऊ।’
बन्धुदत्तले दुवै हात जोडेर ‘हवस् प्रभु’ भन्दै फरक्क फर्केर हेरे।
पछाडि उनका छोरा पासा खेल्दै गरेका बाबुलाई ‘ध्याउ’ भनेर तर्साउन बिरालोको चालमा आउँदै थिए।
जसै बन्धुदत्तका आँखा आफ्नो छोरामा गयो, उनलाई आफू तीन भुवनको भारमुनि थिचिएझैं अनुभव भयो। तै पनि देवीलाई दिएको बचनप्रति उनी कटिबद्ध थिए। उनले आफ्नो मनलाई अलिकति पनि धर्मरिन दिएनन्। छोरा बलि चढाउनुपरेको पीडाको सानो शिकन पनि उनले अनुहारमा आउन दिएनन्।
उनले देवीको पाउमा शिर निहुराए र आसनबाट जुरूक्क उठे।
मन्दिरमा एउटा चमचमाउँदो खुँडा थियो जसको तेजिलो धार आँखीझ्यालहरूबाट छिरेको सूर्यको प्रकाशमा टिलिक्क टल्किँदै थियो।
बन्धुदत्तले आफ्ना दुवै हातले खुँडाको बिँड चपक्क समाते र आकाशमा बिजुली चम्केझैं छोराको गर्दन छपक्क मार हाने।
सानो बच्चाको एकमुठी गर्दन एकै मारमा छिनियो।
मन्दिरको भुइँमा तातो रगतको आहाल बन्यो। रगतका छिटा उछिट्टिएर बन्धुदत्तका लुगा लाल भए।
उनले त्यही रगत अञ्जुलीमा लिएर भुवनेश्वरीलाई चढाए।
उनको यस्तो श्रद्धा र निष्ठा देखेर देवी प्रसन्न भइन् र भनिन्, ‘बन्धुदत्त, म तिम्रो निष्ठा जाँच्दै थिएँ। तिमी उत्तीर्ण भयौ।’
बन्धुदत्त छोराको रगत लतपतिएका हात जोडेर देवीसामु घुँडा धसेर बसिरहे, निःशब्द।
छेउमा छोराको शव थियो, निस्प्राण।
देवीले भनिन्, ‘म तिम्रो श्रद्धा र निष्ठा देखेर प्रसन्न छु। आफ्नो पुत्रको प्राण गयो भनेर चिन्ता लिनुपर्दैन। म तिमीलाई उसको प्राण फर्काउने उपाय बताइदिन्छु। तिमी पुत्रको शवलाई यहीँ मन्दिरभित्र छाडेर काठमाडौं उपत्यकाबाट सरासर दक्षिण लाग। तिमी तबसम्म अगाडि बढिराख, जबसम्म बाटोमा अमृतको कलश भेट्दैनौ। त्यही अमृत छर्केर तिमी आफ्नो पुत्रको शवमा नयाँ प्राण भर्न सक्छौ।’
‘तर याद राख,’ भुवनेश्वरीले बन्धुदत्तलाई सतर्क गराउँदै र चेतावनी दिँदै भनिन्, ‘तिमी फर्केर नआउञ्जेल यो मन्दिरको ढोका बन्द गरेर राख्नू। यहाँभित्र कसैलाई छिर्न नदिनू। तिमी फर्केर आउनुभन्दा अगाडि नै कसैले तिम्रो पुत्रको शिर र धड आपसमा जोडेर अन्त्येष्टि गरे भने फेरि उसको शवमा प्राण भर्न असम्भव हुनेछ। त्यसपछि म पनि तिम्रो मद्दत गर्न असमर्थ हुने छु।’
यति भनेर भुवनेश्वरी अलप भइन्।
बन्धुदत्तले हतारहतार मन्दिरको ढोकामा ताल्चा मारे र श्रीमतीलाई भने, ‘म एउटा विशेष कामले दक्षिणी प्रदेशतिर जाँदैछु। म फर्केर नआउञ्जेल तिमी कसैगरी पनि मन्दिरभित्र नछिर्नू, अरूलाई पनि छिर्न नदिनू।’
श्रीमती सायद ‘कहाँ जाने? कसरी जाने? कहिले आउने?’ लगायत प्रश्न सोध्न खोज्दै थिइन्, बन्धुदत्त भने उनको कुरा सुन्दै नसुनी फटाफट बाटो लागे।
दक्षिण जाने बाटो बन्धुदत्तका लागि नयाँ थिएन। उनी यसअघि नै राजा नरेन्द्रदेव, कर्कोटक नागराज र रथचक्रको साथमा यही बाटो भारतको आसामसम्म पुगेका थिए र रातो मच्छिन्द्रनाथलाई आफ्नो तन्त्रविद्याको सहाराले वशमा पारेर सँगै लिएर आएका थिए। त्यही मच्छिन्द्रनाथको कृपाले काठमाडौं उपत्यकामा वर्षा भएको थियो र लामो समयदेखिको अनिकाल अन्त्य भएको थियो।
बन्धुदत्त त्यति बेला हिँडेकै बाटो सरासर दक्षिणतिर लागे। उनी यसपालि पनि आसाम नै पुगे कि अन्तै कुनै ठाउँ गए यकिन थाहा छैन। तर भुवनेश्वरी देवीले भनेझैं त्यति बेलासम्म उनका पाइला रोकिएनन्, जबसम्म उनले अमृत भरिएको चाँदीको कलश भेटेनन्।
कयौं दिन, कयौं महिना हिँडेपछि जसै अमृतको कलशमा बन्धुदत्तका दिव्य आँखा परे, उनले सबभन्दा पहिला आफ्ना दुवै आँखा चिम्ले र दुवै हात जोडेर आकाशतिर मुन्टो उठाउँदै भुवनेश्वरी देवीलाई धन्यवाद दिए।
नजिकै गंगा वा ब्रह्मपुत्र नदी बगिरहेको थियो। उनी त्यही नदीमा नुहाइधुवाइ गरेर चोखो भए। नदीको जल ल्याएर अमृतको कलशमा चढाए र पूजाविधि सम्पन्न गरे। त्यसपछि अमृत भरिएको चाँदीको कलश दुई हातले जुरुक्क उचालेर त्यही बाटो फरक्क फर्के, जुन बाटो हिँडेर उनी त्यहाँसम्म पुगेका थिए।
उता बन्धुदत्त आचार्यकी श्रीमती आफ्ना पतिको बाटो हेर्दाहेर्दा चिन्ताले गलिसकेकी थिइन्। कुनै खबरबिना मन्दिरमा ताल्चा मारेर बेपत्ता भएका श्रीमान नफर्केपछि उनको मुटु डरले बरफझैं जम्न थालेको थियो। आफ्नो श्रीमानलाई के विपत् पर्यो होला भन्ने सुर्ताले उनी लाटोकोसेराझैं रात–रातभर जागा रहन थालेकी थिइन्। घरिघरि श्रीमानले ‘कसैगरी पनि मन्दिरभित्र नछिर्नू’ भनेको सम्झन्थिन्।
आखिर उनले किन त्यसो भने? मन्दिरभित्र के छ? यस्तै प्रश्नले उनलाई दिनरात घोच्न थाल्यो।
जे भए पनि श्रीमान नफर्किनुको कारण त्यही मन्दिरको बन्द ढोकाभित्र थुनिएको छ भन्ने निधो गरेर उनले एकदिन श्रीमानको आदेशविपरीत मन्दिरको ताल्चा फोडिन्।
भित्र जे देखिन्, त्यसले उनलाई आफ्नै मुटु उफ्रेर तालुसम्म पुगेझैं भयो। मुटु यस्तरी धड्किन थाल्यो, मानौं कसैले जोडजोडले मन्दिरको घन्टी बजाउँदैछ।
भुइँमा आफ्नै छोराको शिर छेदन गरिएको शव र रगतको आहाल देखेर उनको ज्यान यस्तरी चिसो भयो, मानौं शरीरको रगत बग्दाबग्दै नसाभित्रै जमेको छ।
उनका हातगोडा यस्तरी लुगलुग काम्न थाले, मानौं हावाहुन्डरीले बाँसको झ्यांग बेतोडले हल्लाउँदैछ।
आँशु पनि आँखाको जलाशयमै बरफ भएछन् क्यारे, त्यस्तो पीडाको घडीमा पनि एक थोपा बर्सिएन।
न रूनु न कराउनु, उनी धेरै बेर अवाक् भइन्।
एकछिनपछि शोकले मुर्छा परिन्। अलिबेरमा बौरिइन्। आँखाअगाडि छोराको शिर र धड अलग भएको शव र रगतको आहाल देखेर फेरि मुर्छा परिन्। फेरि बौरिइन्, फेरि मुर्छा परिन्।
यसरी मुर्छा पर्ने र बौरिने क्रम निकै बेर चल्यो।
जब उनको मन अवचेतन अवस्थाबाट चेतनातिर फर्कियो, उनी कपाल फिँजाएर, छाती पिट्दै विलाप गर्न थालिन्। आँखाको जलाशयबाट आँशुको भेलबाढी बाँध फुटेझैं बग्न थाल्यो।
उनको चित्कार सुनेर छरछिमेक, इष्टमित्र सबै भुवनेश्वरी मन्दिरमा जम्मा भए। त्यहाँको अवस्था देख्दा ढुंगाभन्दा कठोर मुटु भएका व्यक्ति पनि खुइय्य सुस्केरा हाल्न बाध्य हुन्थे। बन्धुदत्त आचार्य एकाएक मन्दिरको ढोका थुनेर हराउनुको कारण यस्तो पो रहेछ भन्दै सबैले कुरा काटे।
त्यसपछि बन्धुदत्तले मार हानेको पुत्रको शिर र धड जोडेर शवयात्रा निकाल्ने तयारी सुरू भयो।
उता आफ्नो पुत्रलाई जीवनदान दिन चाँदीको कलशमा अमृत बोकेर फर्किरहेका बन्धुदत्त कयौं दिन, कयौं हप्ता र कयौं महिनाको अविराम यात्रापछि अहिलेको नयाँबानेश्वर आइपुगेका थिए। लामो यात्राले उनी थाकेका थिए। केही बेर आराम गर्छु भनेर उनले अमृतको कलश भुइँमा बिसाए र चउरमा सुस्ताउन थाले।
त्यही बेला पशुपति क्षेत्रबाट हुलका हुल मान्छे आएको देखेर उनले सोधे, ‘तिमीहरू पशुपतिबाट आएजस्ता देखिन्छौ? के छ त्यताको खबर?’
हुल बाँधेर आएका कसैले पनि बन्धुदत्तलाई चिनेनन्। उनीहरूमध्ये एकले भने, ‘आज भलभलअष्टमीको दिन हामी पशुपतिमा त्रिशूल जात्रा हेर्न गएका थियौं, अर्कै जात्रा हेरेर फर्किर्यौं।’
बन्धुदत्तको छाती चिसो भएर आयो। हत्तपत्त सोधे, ‘तिमीहरू अर्को कुन जात्राको कुरा गर्दै छौ?’
‘भुवनेश्वरी मन्दिरका पुजारी बन्धुदत्त आचार्यले आफ्नै छोराको हत्या गरेछन्। मन्दिरको ढोका ताल्चा मारेर श्रीमतीलाई दक्षिणतिर जान्छु भनेर गएका थिए रे, अहिलेसम्म फर्केका छैनन्। आज श्रीमतीले जेसुकै होस् भनेर मन्दिरको ढोका उघार्दा पो भित्र छोराको शिर र धड अलग भएको शव देखेछन्,’ ती व्यक्तिले बन्धुदत्तलाई पशुपतिको सबै विवरण विस्तार लगाएछन्, ‘गाउँलेहरूले बन्धुदत्तका छोराको शिर र धड जोडेर आज शवयात्रा निकाले र बाग्मती घाटमा अन्त्येष्टि गरे।’
‘हामी त्यही मलामी सकेर आएका। तिमी पनि मलामी जान लागेको भए नगए हुन्छ, ढिलो भइसक्यो अब,’ उनले भने।
यति भनेर हुल बाटो लाग्यो, बन्धुदत्त भने ठाउँको ठाउँ मूर्ति भए।
भुवनेश्वरी देवीले भनेझैं अमृत छर्केर छोरालाई प्राणदान दिन नपाएकोमा उनलाई साह्रै पीडा भयो। आफ्नै हातबाट बालखा छोराको मृत्यु भएको ग्लानिले उनी हल न चल भए।
त्यसो त बन्धुदत्त जस्तोसुकै अवस्थामा स्थिर रहनसक्ने उच्च मनोबल भएका सिद्ध व्यक्ति नै हुन् तर पुत्र वियोगले उनको सिद्धि र उनको मनोबल बाफ बनेर हावामा उडेर गए।
बन्धुदत्त आचार्य त्यसपछि कहिल्यै उठ्न सकेनन्। चाँदीको कलश भुइँमै ढल्यो। अमृत भुइँभरि पोखियो।
त्यही बेला एउटा काग काँ काँ गर्दै बन्धुदत्तको नजिक आएछ। बन्धुदत्तको ज्यानमा कुनै प्रतिक्रिया थिएन। कागले पोखिएको अमृतमा केही बेर आफ्नो चञ्चु चोब्यो र स्वाद लिँदै अमृत पिएर भुर्रर उड्यो। अमृत पिएको भएर नै काग अमर भयो भन्ने भनाइ छ। त्यो कागले अलि पर गएर दुबोमा आफ्नो चञ्चु पुछेको हुँदा दुबो पनि कहिल्यै नमर्ने गरी अमर भएछ। धानको बालामा पुछेको भए सायद धान पनि कहिल्यै मर्ने थिएन। हाम्रो खेतमा बाह्रै महिना धानका बाला लहलह झुलिरहने थिए।
नयाँबानेश्वरको त्यो ठाउँ जहाँ बन्धुदत्त आचार्यको प्राण गयो र उनले दक्षिणबाट ल्याएको अमृत पोखियो, त्यसलाई ‘छकूबकू’ भनिन्छ। (नेपाल भाषामा 'छकू' भनेको एक र 'बाकू' भनेको आधा हो। बन्धुदत्तले एक भाँडो अमृत बिसाएको र पछि त्यो भाँडो भुइँमा ढलेर अमृत आधा बचेको हुँदा 'छकूबकू' नाउँ रहेको भनाइ छ)।
भलभलअष्टमीको दिन बन्धुदत्तले बलि चढाएका पुत्रको शवयात्रा भुवनेश्वरी मन्दिरबाट पशुपति क्षेत्र परिक्रमा गर्दै सिफल पुग्छ र त्यहाँबाट फर्केर बाग्मती नदीमा विसर्जन गरिन्छ। यसको चौथो दिन नयाँबानेश्वरको त्यही छकूबकूमा गएर बन्धुदत्त आचार्यलाई पूजा चढाउने चलन छ।
यसपालिको पूजा तपाईंले पाउनुभयो होला नि होइन, आचार्य बन्धुदत्त?
हृदयमान र अरूणको मुखबाट यी कथा सुन्दासुन्दै अढाई घन्टा बितेको पत्तै भएन।
अँ, यही अढाई घन्टाको बीचमा जगदिशलाल श्रेष्ठ, उनको एक जना साथी र म चिया खाने पसल खोज्दै जयबागेश्वरी मन्दिरसम्म पुगेका थियौं। तर यहाँ त्यसको व्याख्या जरूरी छैन।
हामी चिया खाईवरी फर्किंदा करिब साढे पाँच बजेतिर रातो वस्त्रधारी पुजारीले आफ्नो पूजाविधि सम्पन्न गरिसकेका थिए। हामीलाई कथा सुनाइरहेका हृदयमान, अरूणसहित बाँकी दुई जना नजिकै ढुंगेधारामा हातगोडा धुँदै थिए। उनीहरूले मुख पनि कुल्ला गरे। अनुहार मज्जाले पखाले। अञ्जुलीमा पानी भरेर केही थोपा आफ्नो शिर र केही थोपा आकाशतिर छर्के।
सफा र चोखो भएर उनीहरू मन्दिरको ढोकानजिकै पुगे। शवयात्रा सुरू हुनै आँटेको थियो।
मन्दिर भित्रबाट पुजारी र उनका एक जना सहयोगीले सानो, होचो पलङजस्तो देखिने चारकुने वस्तु बाहिर निकाले। दुई जनाले आफ्नो दाहिने काँधमा र दुई जनाले देब्रे काँधमा बोके र शवयात्रा अघि बढ्यो।
त्यो वस्तु के हो मैले चिन्न सकिनँ। अरूलाई भन्न पनि हुँदैन रे। टाढाबाट हेर्दा पलङको खुट्टाजस्तो भाग मात्र देखिन्थ्यो। माथिबाट रंगीन चादर ओढाइएको थियो। त्यसैलाई स्थानीयहरू पुजारी बन्धुदत्त आचार्यका छोराको शव भन्दा रहेछन्।
शवयात्रा मन्दिरको प्रांगण बाहिर निस्क्यो। पुजारी घन्टी बजाउँदै पछि लागे। त्यसको पछिपछि पुजारीलाई रंगीन छतरी ओढाउने व्यक्ति थिए।
जगदिशलाल श्रेष्ठ र मैले शवयात्रा पछ्याउँदै पशुपति परिसर परिक्रमा गर्यौं। त्यहाँबाट हामी त्यही साँघुरो बाटो जयबागेश्वरीतिर उक्लियौं, जुन बाटो हुँदै अढाई घन्टाअघि भुवनेश्वरी मन्दिर आएका थियौं।
बाटोमा पसल–पसलबाट, घरका झ्याल–झ्यालबाट मान्छेहरू शवयात्रा हेर्दै थिए र हाहु हल्ला गर्दै थिए।
आदरणीय बन्धुदत्त आचार्य, यी सबै विवरण म तपाईंलाई यस कारण लेख्दैछु, किनभने आजभन्दा चौध सय वर्षअघि तपाईंले जुन घटनाक्रमको सुरूआत गरेर जानुभयो, त्यसले पशुपतिको भुवनेश्वरी मन्दिरमा आजसम्म निरन्तरता पाउँदै आएको छ। तपाईंले भुवनेश्वरी देवीलाई बलि चढाउनुभएको पुत्रको शवयात्रा काठमाडौंको एक लिच्छविकालीन अमूर्त सम्पदाका रूपमा जीवित छ।
भलै तपाईंले अमृत खुवाएर आफ्नो पुत्रलाई नयाँ जीवन दिन पाउनुभएन तर तपाईंको पुत्र मरेका छैनन्, उनी यो शवयात्रामा जीवित छन्। तपाईं आफ्नो छोराको शवमा प्राण भर्न पाइनँ भनेर मन सानो नपार्नुस् आचार्य, किनभने तपाईंको छोरा अमृत खान नपाए पनि अमर भएका छन्।
आदरणीय आचार्य, कथा-किम्बदन्ती यसै बन्दैन। मलाई त यो अचेलको 'क्यूआर कोड' जस्तै लाग्छ वा गुप्तचर संस्थाहरूले आपसमा सम्प्रेषण गर्ने 'कोड' भाषा जसमा कुनै महत्वपूर्ण सूचना लुकेको हुन्छ। जसरी गुप्तचर संस्थाहरूले आफ्ना एजेन्टबाट प्राप्त 'कोड' भाषा 'डिकोड' गरेर अर्थ खुलाउँछन्, हामी पनि माथिको कथा 'डिकोड' गरेर हेरौं है त!
यो कथा 'डिकोड' गर्दा मलाई आजभन्दा चौध सय वर्षअघि भुवनेश्वरी मन्दिरमा यस्तो भएको थियो कि भन्ने लाग्छ:
त्यो समयकालमा तान्त्रिक पूजापाठ गर्दा देवीलाई नरबलि चढाउने चलन हुनसक्छ। नरबलिको प्रथा अन्य ठाउँमा पनि थियो भन्ने केही प्रमाण हामीसँग छँदैछ। यस आधारमा आचार्य, कतै तपाईंले आफ्नो कुनै भाकल पूरा गर्न वा कुनै विशेष खालको सिद्धि प्राप्त गर्न भुवनेश्वरी देवीलाई आफ्नै पुत्रको बलि चढाउनुभएको त होइन?
र, पछि पुत्रको शोकमा विह्वल आमाको पीडा देख्न नसकेर र आफूलाई पनि पश्चातापको पहाडले थिचेर तपाईं पशुपति क्षेत्रबाट टाढा नयाँबानेश्वरकाे सुनसान ठाउँमा गएर एकान्तबास बस्नुभएको र त्यहीँ तपाईंले प्राण त्याग्नुभएको त होइन?
यो कुरा हो कि होइन भन्न तपाईंबाहेक अरू कसले सक्छ? त्यसैले मलाई जवाफ पठाउँदा यसको पनि सत्यतथ्य खुलाइदिनू है!
म यही इमेलमार्फत् एउटा अर्को महत्वपूर्ण कुरा पनि तपाईंलाई सुनाउन चाहन्छु।
त्यस दिन जुन पुजारीले भुवनेश्वरीमा पूजा गरेका थिए, मैले उनका बुवा पुजारी रवि कर्माचार्यसँग टेलिफोनमा कुरा गरेको थिएँ। उनी आफूलाई गर्वसाथ तपाईंकै खलकको सदस्यका रूपमा चिनाउँछन्।
उनले मलाई भनेका थिए, ‘बन्धुदत्त आचार्य यही मन्दिरका पुजारी हुनुहुन्थ्यो। उहाँ र उहाँको पुत्रको मृत्युपछि सायद पुजारीको अभिभारा उहाँकै खलकको कुनै सदस्यमा हस्तान्तरण भएको हुनुपर्छ। यस्तो हस्तान्तरण पछि पनि धेरैचोटि भयो होला। तर जो जो यहाँका पुजारी भए, सबै कुनै न कुनै रूपले बन्धुदत्तकै खलक हुन्। मलाई थाहा भएसम्म हामी पाँच पुस्तादेखि भुवनेश्वरीको सेवा गर्दै आएका छौं।’
देख्नुभयो त आचार्य, काठमाडौंले चौध सय वर्षपछि पनि तपाईंलाई श्रद्धापूर्वक सम्झिरहेको छ। तपाईंले रातो मच्छिन्द्रनाथ ल्याएर काठमाडौं उपत्यकामाथि जुन गुन लगाउनुभयो, काठमाडौंबासीले त्यसैको बदलामा आजसम्म तपाईंको छोराको शवयात्रा निकाल्न छाडेका छैनन्।
यत्रो कोरोना कालमा नरोकिएको शवयात्रा अझै युग–युगसम्म चलिरहनेछ, समयको घामछायाले यसलाई कसैगरी धूमिल पार्न सक्ने छैन, तपाईं ढुक्क भए हुन्छ।
अन्त्यमा, यमलोकको आफ्नो व्यस्तताबाट फुर्सत निकालेर मेरो यो लामो इमेल पढिदिनुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद आचार्य।
स्वर्गको नियम-कानुनले मिल्छ भने जवाफ पठाउनुहोला। म प्रतीक्षा गर्नेछु।
आजलाई विदा।
...
इमेल टाइप गरिसकेपछि मैले खर्रर पढेँ। भाषा र शुद्धाशुद्धि सच्याएँ। केही लामा वाक्य छोट्टयाएँ। फेरि दोहोर्याएर पढेँ। चित्त बुझेपछि सेन्ड बटन क्लिक गरेँ।
इन्टरनेट स्लो भएर हो वा स्वर्गको दुरी यहाँबाट धेरै टाढा भएर हो, निकै बेर कुइँकुइँ गर्दै कनेपछि बल्लतल्ल इमेल गयो।
अनि मैले लामो सास फेरेँ।
के बन्धुदत्त आचार्यले मलाई जवाफ पठाउलान् त! हँ!
सबै तस्बिर: सुदीप श्रेष्ठ/सेतोपाटी