स्पेन र फ्रान्सको सीमा नजिकै क्याटोलिना पहाड छ। त्यहाँ दस हजार जनसंख्या भएको एउटा सहरको पबमा वेटर काम गर्छन्, अल्बर्ट सोला जिम्नेज।
६५ वर्षीय सोला ग्राहकलाई खानेकुरा दिँदै कथा सुनाउँछन्- म राजाको छोरा हुँ।
उनको कथा यसरी सुरू हुन्छ।
सोला अनाथ थिए। उनलाई सुरूमा मेडिटेरियन टापूका किसानले हुर्काए। पछि उनलाई स्पेनको राजधानी बार्सेलोनाको एक विशाल हवेलीमा लगियो। त्यहाँ कूटनीतिज्ञ र जनरलहरूको कानेखुसी उनको कानसम्म आइपुग्थ्यो- सोला कुलघरानाका छोरा हुन्।
धेरै वर्षपछि एक स्पेनी गुप्तचर सोलाकहाँ आइपुगे। उनले सोलाको जन्मबारे खोजबिन गरिदिने भए। त्यही खोजबिनको सारांश सोला अहिले पबमा आउने ग्राहकहरूलाई सुनाइरहेका छन्, 'म राजा जुआन कार्लोसको छोरा हुँ।'
कार्लोस स्पेनका पूर्वराजा हुन्। सन् २०१४ मा उनले राजगद्दी त्यागेका थिए।
यो कथा उधिन्न धेरै वर्ष खर्चेका सोलाका कुरा सुनेर अधिकांश मान्छे छक्क पर्छन्। धेरैले काल्पनिक भन्छन्। किनकि, यसको पुष्टि गर्ने ठोस प्रमाण उनीसँग छैन। न यो दाबी कसैले प्रमाणित गरिदिएको छ।
राजपरिवारसँग सम्बन्ध भएको दाबी गर्ने सोला इतिहासका एक्ला होइनन्। धेरै वर्षपहिले एना एन्डरसनले आफू रसियाकी राजकुमारी भएको दाबी गरेकी थिइन्। त्यस्तै, लियोनार्दो दि बर्बनले आफू राजा अल्फोन्सो तेह्रौं र स्पेनी अभिनेत्री कार्मेन रुजका सन्तान भएको बताएका थिए। सन् २००२ मा 'द रोयल बास्टर्ड' नामको आत्मसंस्मरणमार्फत् आफ्नो कथा भनेपछि बर्बनले राजकुमार उपाधि प्रयोग गर्ने अधिकार पाएका थिए।
संसारका विभिन्न शाही परिवारसँग जोडिएका यस्ता कहानी सार्वजनिक भइसकेको अवस्थामा सोलाको कथाले हलचल नल्याउने कुरै भएन। राजा कार्लोसका लागि भने यो टाउको दुखाइको विषय बन्यो। विवादले घेरिँदै गएपछि सन् २०१४ मा उनले राजगद्दी त्यागे। त्यसपछि लगभग बेपत्ता भएका उनी गत वर्ष आफ्नो वित्तीय छानबिन क्रममा संयुक्त अरब इमिरेट्स (युएई) मा देखापरेका थिए। त्यो बेलादेखि उनी ठूलो मात्रामा बक्यौता कर तिरिरहेका छन्।
यता सोलाले जीवनका अधिकांश वर्ष कार्लोस आफ्ना बुवा भएको दाबी गर्दै बिताए। उनले शाही निवासमा धेरै चिठी पठाए। टेलिभिजनहरूमा अन्तर्वार्ता दिए। किताब प्रकाशन गरे। डिएनए परीक्षणका लागि अनुरोध गरे, अनुमति पाएनन्। मुद्दा हाले, खारेज भयो। अनि आफूले काम गर्ने पबमा ग्राहकहरूलाई कथा सुनाउन थाले।
उनको कथा सुनेका ग्राहकहरू उनलाई 'साना राजा' भनेर चिन्छन्।
के साँच्चै उनी राजा कार्लोसका छोरा हुन् त?
उनी प्रमाणका रूपमा केही कागजात पेस गर्छन्, जसमा दुइटा महत्वपूर्ण छन्।
एउटा, उनले बेल्जियन महिला इनग्रिड सारतिआउसँग लिएको जेनेटिक परीक्षण रिपोर्ट। इनग्रिडले पनि सोलाले झैं आफूलाई राजा कार्लोसकी अर्की श्रीमतीबाट जन्मिएको सन्तान दाबी गरेकी थिइन्। बेल्जियमको प्रयोगशालाले उक्त परीक्षण सही भएको प्रमाणीकरण गरेको छ। सोला र इनग्रिड सौतेनी दाजुबहिनी हुन सक्ने उक्त रिपोर्टले देखाएको छ।
अर्को कागजात हो, सोलाको जन्म प्रमाणपत्र। उनी सन् १९५६ मा जन्मेका हुन्। कार्लोस बुवा हुन् भने, सोला उनका जेठा छोरा हुने सम्भावना छ। यसो हुँदो हो त, सानो सहरमा वेटर काम गरिरहेका सोला स्पेनका राजा हुन सक्थे।
'यो दाबीले शाही परिवारमा ठूलो समस्या निम्त्याउन सक्छ,' पूर्वराजा कार्लोसका आत्मकथा लेखक रेबेका क्विन्टान्स भन्छिन्।
सोलाको दाबी उनको जन्मको मात्र होइन, उनको देशको विगतको कथा पनि हो।
रेबेकाका अनुसार स्पेनको तानाशाही राज सन् १९७० दशकमा सकियो। त्यसबीच अविवाहित आमाहरूबाट धेरै बच्चा जन्मिए। करिब तीन लाख बच्चा अनाथ भए। कुनै कागजात वा अभिलेखबिनै ती बच्चाको लालनपालनको जिम्मा अरू कसैलाई दिइयो। अहिले स्पेनले त्यो पुस्ताका व्यक्तिलाई आफ्ना अभिभावकबारे जानकारी खोज्न सहज होस् भनेर कानुन संशोधन गर्ने सोच बनाइरहेको छ।
सोला त्यही पुस्ताका तीन लाख अनाथमध्ये एक भएको अनुमान छ।
स्पेनका कथित चोरिएका बच्चाहरूबारे चर्चित किताब लेख्ने मारिया जोश एस्टेसो पोभ्स सोलाको घटना त्यही समयसँग मेल खाने बताउँछिन्, 'त्यो बेला कुनै महिला विवाहअगाडि गर्भवती हुन्थिन्। उनीहरूलाई आफ्नो बच्चा लुकाउन अर्कै परिवारलाई सुम्पनुपर्ने बाध्यता हुन्थ्यो।'
यसबारे शाही परिवारका प्रवक्ताले भने कुनै टिप्पणी दिन चाहेनन्।
सोलाको वास्तविकताबारे धेरै प्रश्न अनुत्तरित नै छन्। तर उनी काम गर्ने पब एल ड्राकमा यसको जवाफ प्रस्ट छ। पबका मालिक म्यानुअल मार्टिनेज भन्छन्, 'सानो सहरका लागि यो ठूलो कुरा हो। हाम्रो पबका वेटर वैधानिक राजा हुन्।'
हुन पनि सोलाका आँखा र नाक कार्लोससँग मिल्दाजुल्दा छन्। उनको अनुहारले नै कार्लोसका छोरा हुन् भन्ने केही प्रमाण छाड्छ। सोला आफ्नो बालापन सम्झिँदा अरू अनाथ बच्चामध्ये आफू अलग भएको केही कुरा याद गर्छन्।
जस्तो उनको वास्तविक नाम हो, अल्बर्टो फर्नान्डो अगस्टो बच रेमन। धेरै मान्छेले यस्तो नाम कुलीन घरानाको मात्र हुनसक्छ भनेर सुनाउँथे।
जन्मेको केही समयमै सोलालाई इबिजा टापू लगिएको थियो, जहाँ उनलाई किसान परिवारले हुर्कायो। सोलालाई हुर्काउने महिलाकी छोरी इलुलिया मारी राजधानीका प्रमुख परिवारका 'नाजायज' सन्तान हुर्काउनु सामान्य भएको बताउँछिन्। तर, सोलाको मामिलामा कुरा फरक थियो।
मारीलाई याद छ, सोलालाई हुर्काउने जिम्मा दिँदा सामान्य बच्चाको तुलनामा दोब्बरभन्दा बढी पैसा दिइएको थियो।
सोलाका अनुसार उनी सन् १९६१ मा सानो छँदै एकपटक फेरि बार्सेलोना गएका थिए। त्यहाँ ठूलो हवेली र अग्ला पर्खालले घेरिएको बगैंचामा खेले-कुदेको उनी सम्झिन्छन्। दिउँसो एक जना शिक्षक पढाउन आउँथे। अनि एक बूढी महिला उनलाई भेट्न आउँथिन् र खेलौना दिन्थिन्। ती महिला आफ्नी हजुरआमा भएको सोलाको विश्वास छ।
आठ वर्षको छँदा सोला फेरि त्यहाँबाट निस्किए। त्यो बेला उनलाई फ्रान्सको सीमा नजिकै गिरोना प्रदेशमा लगियो र किसान साल्भाडोर सोलाको परिवारलाई जिम्मा दिइयो।
साल्भाडोरको परिवार धेरै गरिब थियो। तर, जसै सोला उक्त परिवारको सदस्य बने, साल्भाडोरको सम्पत्ति बढ्यो। उनले गाडी चलाउन सिके। रहस्यमयी तरिकाले महँगो कार र मोटरसाइकल पाए। त्यस्तै, पहिले सैन्य सेवामा काम गरेबापत भन्दै उनलाई उपचार सुविधा पनि दिइयो।
यी सबै अनुभवले सोलाको दिमागमा प्रश्नहरू खडा गरायो।
सन् १९८२ मा उनी बार्सेलोनाको कार्यालय गए, जहाँ लालनपालनको जिम्मा दिइएका अनाथ बालबालिकाको अभिलेख हुन्थ्यो। त्यहाँका निर्देशकले उनलाई सहयोग गर्न चाहेनन्। उनले घुमाउरो पारामा भनेका थिए- यो इतिहासकै सबभन्दा जटिल 'एडप्सन' थियो।
सन् १९९९ तिर सोला मेक्सिको बस्न थालेका थिए। त्यहाँ कूटनीतिज्ञहरूले उनलाई 'तिमी शक्तिशाली परिवारबाट आएका हौ' भनेर सुनाए। त्यसपछि उनी फेरि स्पेन गए र आफ्नो बारेमा रहेका अभिलेखहरू हेरी पाऊँ भन्दै अदालत गुहारे।
सोलाका अनुसार न्यायाधीश जर्ज माजाले उनलाई भेटेर भने, 'तिमी राजा जुआन कार्लोसका छोरा हौ।'
कार्लोस त्यो बेला राजा नै थिए।
तर, न्यायाधीश माजाले पछि यसलाई अस्वीकार गरे। एक अन्तर्वार्तामा यसबारे सोध्दा आफूले यी कुरा सोलालाई कहिल्यै नभनेको उनले बताएका थिए।
योसँगै सोलाको दाबीमा प्रश्नहरू ज्यूँका त्यूँ रहे।
यसपछि सन् २००७ मा सोलाले राजा कार्लोसका नाममा शाही निवासमै पत्र पठाए।
उनले लेखेका थिए- प्रिय बुवा...।
उक्त पत्र राजासम्म पुर्याइएको जानकारी उनले शाही निवासबाट पाएका थिए। उनलाई राजाले जवाफ पठाउँछन् भन्ने आशा पनि थियो। तर आएन। उनले फेरि पत्र पठाए। फेरि कुनै प्रतिक्रिया पाएनन्।
सोलालाई रिस र दिक्क दुवै लागेपछि उनले एक पत्रमा लेखे, 'मलाई केही जवाफहरू दिनुहोस्, अनि म कहिल्यै सोध्ने छैन।'
उनको धैर्य टुटिसकेको थियो। त्यही बेला एक स्पेनी गुप्तचरसँग भेट भयो, जसले उनको कथामा विश्वास गरे।
ती गुप्तचरले यो लेख निम्ति आफ्नो परिचय खुलाउन मानेनन्। तर, राजा कार्लोसकी आमासँग सोला सानो हुँदा खेल्दै गरेको फोटो आफूलाई एक सहकर्मीले देखाएको उनले दाबी गरे। सोला ती महिलालाई हवेलीमा छँदा आफूले सम्झेकी हजुरआमा भएको विश्वास गर्छन्।
सोलासँग जोडिएका यति कथा भए पनि उनको पहिचान रहस्यमयी नै छ। रहस्यका केही पाटा खुलेसँगै जीवनमा केही परिवर्तन महसुस गरिरहेका छन् उनले।
उनी अहिले पनि वेटरकै काम गर्छन्। भर्खरै एल ड्राक छाडेर नजिकैको अर्को पबमा काम थालेका छन्। उनी नयाँ पबमा काम गर्न गएकोबारे स्थानीय पत्रिकाले खबरै छाप्यो। उक्त पबमा 'राजाका छोरा' सँग फोटो खिच्न आउने ग्राहकको घुइँचो बढेको छ।
'संसारभरबाट मलाई खोज्दै मानिसहरू आउँछन्,' सोलाले भने, 'उनीहरू मेरो अनुहार हेरेर हो वा मेरो कथा सुनेर, मेरो कुरामा विश्वस्त देखिन्छन्।'
(द न्यूयोर्क टाइम्समा प्रकाशित स्टोरीको भावानुवाद)