वर्षा सुरू भएसँगै चितवनको राप्ती नदी फराकिलो बन्दैछ। चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने नदी दायाँ, बायाँको भाग कटान गर्दै बहँदा बगरका ढुंगा, गिटी, बालुवा देख्नै मुस्किल पर्छ।
सौराहाबाट करिब ५ किलोमिटर पर रहेको दुधौरामा भने बालुवाले भरिएको केही क्षेत्र भेटिन्छ। यो ठाउँलाई घडियाल गोहीले अण्डा पारेर बच्चा कोरल्ने ठाउँ बनाएको छ।
करिब एक सय मिटर क्षेत्रमा घडियाल गोहीले यसपालि १२ वटा गुँड बनाएको छ। यस क्षेत्रमा गोहीले वर्षेनी करिब ४०० वटा अण्डा पार्ने गर्छन्। एउटा गोहीले वर्षमा २० देखि ९५ वटासम्म अण्डा पर्ने गरेको छ। त्यसमध्ये ५० प्रतिशत अण्डा गोही प्रजनन् केन्द्रमा लगेर बच्चा निकाल्ने गरिन्छ। वर्षेनी १५० देखि २०० वटा बच्चा यहीँ जन्मन्छन्।
गोहीले पानी भएको ठाउँबाट १ देखि ५ मिटरसम्म पर ५०–६० सेन्टिमिटर बालुवा खोस्रिएर अण्डा पार्ने गर्छ। अण्डालाई पुनः बालुवाले पुरेर माउ नजिकैको पानीमा रुँगिरहन्छ। अण्डा पारेको ६७ देखि ७५ दिन सम्ममा त्यसबाट बच्चा निस्कन्छ। ती बच्चालाई करिब ३ महिना जति माउले संरक्षण गर्छन्।
दुधौरामा यसपालि जन्मिएकामध्ये ४८ वटा बाँचेका छन्। उनीहरू नदीको छेउमा रहेको माउको जिउमा चढेर खेलिरहेका भेटिन्छन्। ती फुच्चे गोहीहरूले साना माछा, पानीमा पाइने किरा खान्छन्।
यहाँका केही गुँडमा रहेका अण्डा निकालेर निकुञ्जभित्र रहेको गोही प्रजनन् केन्द्रमा लगिएको छ। केही अण्डाबाट बच्चा निस्कन बाँकी छ। दुधौरामा गत वर्ष एकै पटकमा एक सय २० भन्दा बढी गोहीका बच्चा देखिएका थिए। तर अहिले ती बच्चामध्ये केहीमात्र भेटिएका छन्। बच्चा जन्मने समयमा वर्षा सुरू हुने र नदीको बहाव बढ्ने भएकाले वर्षेनी धेरै बच्चा जन्मिए पनि जोगाउन भने मुस्किल हुने गरेको छ।
चितवन निकुञ्ज क्षेत्रमा रहेका घडियाल गोहीको संरक्षणका विषयमा बेलायतको जियोलोजिकल सोसाइटी लन्डन र हिमालयन नेचरमार्फत् २ वर्षअघि देखि अनुसन्धान गर्दै आएकी बेलायती महिला फोइबे ग्रिफित केही नेचर गाइडसँग गोहीले अण्डा पारेको ठाउँमा हरेक दिनजसो पुग्छिन्। उनले यहाँको बालुवामा काठको लौरो गाडेर क्यामेरा झुण्डाएकी छन्। त्यो क्यामेरामा कैद भएका दृष्यहरू उनको अनुसन्धानको सामग्री बन्ने गरेका छन्।
उनीसँग गोहीले बालुवामा गाडेको अण्डाभित्र हुर्कंदै गरेका बच्चाको अवस्था पत्ता लगाउने उपकरण पनि छ। बालुवामा खाल्डो बनाई त्यो उपकरणलाई गाडेर बच्चाको अवस्था पत्ता लगाउन सकिन्छ। अण्डा पारेको ६७ देखि ७५ दिनमा बच्चा जन्मन्छन्।
उनकाअनुसार माउ गोहीले भने बालुवाभित्र रहेका बच्चाको आवाज सुन्न सक्छ। बच्चा चर्को स्वरमा कराउन थालेपछि गोहीले बालुवा खनेर अण्डाबाट बच्चा निकाल्छ।
फोइबे विशेष प्रकारको एन्टेना ठडाएर बेला-बेलामा जिपिएस, भिएचएफ लगाएर छाडिएका गोहीको अवस्थाबारे जाँच गर्छिन्। त्यसले माउ गोही अण्डा भएको ठाउँबाट कति पर छ भन्ने थाहा पाउन सकिन्छ।
‘घडियाल गोहीले पारेको अण्डा मगर गोहीले पनि कोरल्ने रहेछ, हामीले राखेको क्यामेरामा त्यो दृष्य कैद भयो,’ उनले सुनाइन्, ‘क्यामेरा र अन्य उपकरणले गोही कसरी बसिरहेका छन्, उनीहरू माथि के-कस्तो खतरा छ भन्ने जान्न सजिलो बनाएको छ।’
चितवन निकुञ्जका अनुसार अहिले नारायणीमा ८४, राप्तीमा ८२, बर्दियाको बबईमा ३१ र कर्णालीमा एउटा गोही छन्। प्रजनन् केन्द्रमा करिब ५०० वटा गोही छन्। निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार घडियाल प्रजनन् केन्द्रबाट अहिलेसम्म १ हजार ५ सय १५ वटा गोही विभिन्न नदीमा छाडिएका छन्। तीमध्ये निकै थोरैमात्रै भेटिन्छन्।
अहिले प्रजनन् केन्द्र र राप्तीमा १-१ वटामात्रै भाले गोही छन्।
‘गुँडको तापक्रम ३२ डिग्री सेल्सियस हुँदामात्रै भाले बच्चा जन्मने सम्भावना हुन्छ,’ अधिकारी भन्छन्, ‘त्यसभन्दा कम वा बढी हुँदा पोथी जन्मन्छ।’
निकुञ्जलाई भाले गोही अभाव खड्कन थालिसकेको अधिकारीले बताए।
बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट घडियाल गोहीको संरक्षणको विषयमा पिएचडी गर्दै गरेकी फोइबे नेपालमा जन्मिएका गोहीहरू नदीमा आएको भेलसँगै बगेर भारत पुग्ने गरेको बताउँछिन्।
‘तीमध्ये असाध्यै कममात्रै फर्किएर आएका छन्,’ उनी भन्छिन्, ‘तैपनि प्राकृतिक बासस्थानको संरक्षण गर्न सके संख्या बढाउन सकिने सम्भावना भने देखिन्छ।’
जथाभावी रूपमा नदीजन्य वस्तुको उत्खनन्, बाँध बाँध्ने र तियारी जालको प्रयोग गरी माछा मार्ने काम गोही संरक्षणका लागि मुख्य चुनौतीका रूपमा देखिएको उनी बताउँछन्।
‘यी कुरामा नियन्त्रण भयो भने अबको दश वर्षमा नेपालमा गोहीको संख्या २ हजार पुग्छजस्तो लाग्छ,’ उनी भन्छिन्। निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनसँग जोडिएर बग्ने बुढी राप्ती नदीमा पनि धेरै गोही भेटिन्छन्।
नदीको सरसफाइमा ध्यान दिँदै प्रदुषण कम गर्ने र माछा मार्ने क्रममा नियन्त्रण गर्न सक्ने हो भने गोहीको संख्यामा वृद्धि गर्न सकिने उक्त वनका अध्यक्ष जितबहादुर तामाङ बताउँछन्।
‘प्रजनन् केन्द्रले गोहीको संरक्षणमा ठूलो भूमिका खेलेको छ। त्यहाँबाट सयौं गोही नदीमा छाडिएका छन्, त्यसलाई हामीले जोगाउन सक्नुपर्छ,’ तामाङ भन्छन्, ‘प्राकृतिक बासस्थानलाई सुरक्षित बनाउँदै गोहीको संख्या बढाउन सबैको ध्यान जानु जरूरी छ।’
दुर्लभ सरिसृप प्राणी घडियाल गोही नेपाल र भारतमा मात्रै पाइन्छ। पहिले पाकिस्तान, बंगलादेश र भुटानमा पनि पाइने गरेको यो प्रजातिलाई लोपोन्मुख मानिन्छ।