अमेरिकी अन्तरिक्ष संस्था नासाको पर्सिभिरेन्स अन्तरिक्ष यानले रातो ग्रहको उपनामले चिनिने मंगल ग्रहमा सय दिन बिताएका छ। यो अवधिमा उक्त यानले मंगल ग्रहमा विगतमा जीवको अस्तित्व थियो कि थिएन भनेर अध्ययन गरेको छ। साथै त्यहाँको जलवायु र भू-विज्ञानको अध्ययनका लागि पनि तथ्यांक संकलन गरिरहेको छ।
त्यसका लागि नासाका वैज्ञानिकहरूले यानभित्र हालेर पठाएको इन्जेन्युटी हेलिकप्टरको पनि सहायता लिएका छन्। वैज्ञानिकहरूले पहिलो पटक एक ग्रहबाट कन्ट्रोल गरेर अर्को ग्रहमा उडान गरेका छन्। इन्जेन्युटीले अहिलेसम्म मंगल ग्रहमा धेरै उडान गरिसकेको छ र उसले तस्बिर पनि खिचेको छ।
सात महिना लामो यात्रा गरेर मंगल ग्रहको सतहमा पर्सिभिरेन्स गत फेब्रुअरी १८ मा ल्यान्ड भएको थियो।
पर्सिभिरेन्सको ६ पांग्रे रोभरले जेजेरो कार्टरमा ल्यान्ड भएको थियो।
जेजेरो कार्टरमा कुनै बेला ताल भएको अनुमान गरिन्छ। त्यही भएर मंगल ग्रहमा विगतमा जीवन सम्भव थियो कि थिएन भन्ने अध्ययन गर्न नासाले सोही क्षेत्रमा यान पठाएको हो।
२.७ अर्ब डलर खर्च भएको दुई वर्ष लामो यो अभियानको मुख्य उद्देश्य मंगल ग्रहमा जीवनको अवशेष खोज्नु हो। सूर्यदेखि चौथो टाढाको ग्रहमा ३ अर्ब वर्षपहिले न्यानो र पानीको मात्रा भएकाले त्यहाँ जीवन सम्भव थियो भन्ने वैज्ञानिकहरूको अनुमान छ।
नासाका वैज्ञानिकहरूले अमेरिकाले मंगल ग्रहमा पठाएका २० मध्ये यो सबैभन्दा महत्वाकांक्षी मिसन भएको बताएका छन्।
यस्ता छन् पर्सिभिरेन्सले पठाएका तस्बिरहरू










