पाँचथरमा दूरदराजका गाउँ बस्तीहरू कोरोना भाइरस सङ्क्रमणका ‘हटस्पट’ बन्न थालेका छन्।
जिल्लाका आठ वटै स्थानीय तहका दूरदराजका गाउँहरूमा कोरोना भाइरसको संक्रमण निकै तीव्र रूपमा फैलिएको छ। मानवीय उपस्थिति र चहलपहल नै कम हुने गाउँहरूमा सङ्क्रमण तीव्र हुँदा ग्रामीण क्षेत्र पनि प्रभावित बनेको छ।
दूरदराजका गाउँ बस्तीहरूमा घरैपिच्छे सङ्क्रमित भेटिनाले यी स्थान ‘हटस्पट’ बनेका छन्।
हालसम्म जिल्लामा कोभिड–१९ सङ्क्रमणबाट सबैभन्दा प्रभावित स्थान हिलिहाङ गाउँपालिका-५ सुभाङ बनेको छ।
यस वडामा हालसम्म ७५ पुरूष र ४७ महिला गरी १२२ जनाको एन्टिजेन परीक्षण गरिएकामा ७३ जनामा सङ्क्रमण पुष्टि भएको छ। यो वडाको मालबाँसे टोल सबैभन्दा बढी प्रभावित छ। यहाँ हालसम्म ४४ जना सङ्क्रमित छन्। यसै वडाका भालुखोप, अमले, जेभाले लगायत टोलमा समेत सङ्क्रमण निकै तीव्र गतिमा फैलिएको छ।
हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रसाद घिमिरेले भने, ‘घरैपिच्छे बिरामी छन्। कतिपयले परीक्षण गर्न मानिरहेका छैनन्। स्थिति भयावह जस्तै छ।’
सङ्क्रमितहरूमा गम्भीर समस्या नहुँदा आत्तिनुपर्ने स्थिति भने नभएको घिमिरे बताउँछन्।
हिलिहाङ-१ अमरपुरमा २२ जनाको एन्टिजेन परीक्षण गर्दा आठ जना सङ्क्रमित देखिएका छन्। हिलिहाङमा मात्रै हालसम्म ९४ जनामा सङ्क्रमण देखिएको छ।
सदरमुकाम फिदिममा घरैपिच्छेजस्तो सङ्क्रमित भेटिन थालेका छन्। फिदिममा आइतबार मात्रै ३० जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनामा सङ्क्रमण देखिएको थियो।
अव्यवस्थित बसोबास, निषेधाज्ञामा पनि अनियन्त्रित मानवीय चहलपहलले सदरमुकाममा सङ्क्रमित दिनहुँ बढिरहेका छन्। सदरमुकाममै लक्षण देखिएका कतिपयले परीक्षण गर्न इन्कार गरिरहेका छन्।
नगरपालिकाभित्र पर्ने गाउँ बस्तीहरूसम्म सङ्क्रमण फैलिइसकेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ।
सोमबारमात्रै फिदिम नगरपालिका–७ रानीटारमा ५० जनामा गरिएको एन्टिजेन परीक्षणमा २४ जनामा सङ्क्रमण देखिएको छ। यहाँका नाङलपा, बरबोटे, रानीटार, घुमाउनेटार लगायत टोलमा धेरै बिरामी देखिएका छन्।
कोभिड-१९ सँग लक्षण मिल्ने बिरामी देखिएपछि स्थानीयबासीले परीक्षणको माग गरेका थिए।
दक्षिणी मिक्लाजुङका गाउँ बस्तीहरूको अवस्था पनि उस्तै छ।
मिक्लाजुङ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख अग्नीप्रसाद चम्लागाइँका अनुसार हालसम्म उक्त गाउँपालिकाभित्र मात्रै ४९ जनामा सङ्क्रमण पुष्टि भएको छ।
‘मिक्लाजुङ–८ दुर्दिम्बामा धेरै बिरामी देखिएका छन्। उनीहरूमध्ये सबैको परीक्षण समेत गर्न सकिएको छैन’, चम्लागाइँले भने, ‘कतिपयले परीक्षण गर्न मान्नुभएको छैन।’
कन्ट्याक्ट ट्रेसिङमा परेका सबैको परीक्षण गर्न नसक्दा गाउँ बस्तीहरूमा सङ्क्रमणको जालो चुडाउन नसकिएको चम्लागाइँको भनाइ छ।
दक्षिणकै तुम्बेवा गाउँपालिकामा समेत सात जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ।
‘३२ जनामा परीक्षण गर्दा सात जनामा सङ्क्रमण देखिएको छ। केही निको पनि भएका छन्’, गाउँपालिका अध्यक्ष होमनाथ थापाले भने, ‘परीक्षणको दायरा बढाउने प्रयास थालेका छौं।’
पिसिआर परीक्षणका यहाँ सङ्कलित स्वाब धनकुटा वा विराटनगर पठाउनुपर्छ।
दुवै स्थानमा धेरै समय पालो पर्खनुपर्दा सङ्क्रमितको पहिचान ढिलो भई सङ्क्रमण रोकथाम गर्न कठिन भएको अध्यक्ष थापाको भनाइ छ।
पछिल्लोपटक जिल्लाको कुम्मायक र फाल्गुनन्द गाउँपालिकामा सङ्क्रमण निकै तीव्र गतिमा फैलन थालेको छ।
शनिबार कुम्मायक–१ सिम्ले गाउँमा बिरामी भेटिएपछि १४ जनामा गरिएको एन्टिजेन परीक्षणमा छ जनामा तथा कुम्मायक–२ माङ्जाबुङमा १५ जनामा गरिएको परीक्षणमा दुई जनामा सङ्क्रमण देखिएको थियो।
आइतबार गाउँपालिकाको केन्द्र यासोकमा २१ जनामा एन्टिजेन परीक्षण गर्दा चार जनामा सङ्क्रमण देखिएको छ।
‘गाउँ बस्तीहरूमा सङ्क्रमित देखिन थालेपछि हामीले गर्नुपर्ने उपचारात्मक तथा सङ्क्रमण रोकथामका कार्यहरू र तयारीलाई तीव्र पारेका छौं’, कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ भने।
यसैगरी फाल्गुनन्दमा भने गाउँपालिकाको अस्थायी केन्द्र घुर्विसेपञ्चमीसहित चिम्फुला, राँके, नवमीडाँडालगायत क्षेत्रमा गरी हालसम्म २१ मा सङ्क्रमण देखिएको छ।
करिब १५० जनाको एन्टिजेन परीक्षणमा उक्त सङ्ख्यामा सङ्क्रमित देखिएका हुन्।
ग्रामीण क्षेत्रमा समेत सङ्क्रमण फैलँदै गएकाले परीक्षणको दायरा बढाउँदै लागिएको गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङको भनाइ छ।
जिल्लाको याङवरक गाउँपालिकामा भने सङ्क्रमणको जालो एक हदसम्म तोडिएको छ।
याङवरक–१ च्याङ्थापू तथा याङ्वरक–४ थर्पूमा अत्यधिक सङ्क्रमित भेटिएका थिए।
तर पछिल्लोपटक सङ्क्रमण घट्दै गएको छ भने गाउँपालिकाले परीक्षणलाई निरन्तरता दिएको छ।
याङवरक-१ च्याङ्थापूमा ७८ वर्ष माथिका तीन जना वृद्धवृद्धाले कोरोना जितेको गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङ्हाङको भनाइ छ।
ग्रामीण क्षेत्रमा सङ्क्रमण तीव्र हुँदै जाँदा सतर्कता केही बढेको छ।
यद्यपि परीक्षण गर्न अस्वीकार गर्ने, कोभिड-१९ को महामारीलाई सामान्य रूघाखोकी र ज्वरोको रूपमा मात्रै लिई हेलचक्रयाइँ गर्नेको सङ्ख्या उल्लेख्य हुनाले सङ्क्रमण अझै बढ्नसक्ने खतरा देखिएको स्वास्थ्यकर्मीहरू बताउँछन्। रासस