कोरोना संक्रमण भएर होम आइसोलेसनमा बस्दै आएका बिरामीलाई स्वास्थ्य सामग्रीसहित जनप्रतिनिधिहरूले घरमै पुगेर भेट्ने गरेका छन्।
सोमबार तातो घामको रापमा पनि शिवसताक्षी नगरपालिकाकाका जनप्रतिनिधि वडा नम्बर २ मा रहेको होम आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका संक्रमितलाई भेटिरहेका थिए।
संक्रमितको स्वास्थ्य अवस्था बुझ्न र आवश्यक स्वास्थ्य सामग्री, औषधी उपलब्ध गराउन घरदैलो अभियानमा शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधि गएका हुन्।
वडा नम्बर २ का अध्यक्ष कुलबहादुर बस्नेतका अनुसार दोस्रो लहरको कोरोना भाइरसबाट नगरका १ सय ३२ जना संक्रमित भएका छन्। संक्रमितमध्ये २१ जना निको भइसकेका छन्। अन्य संक्रमित निको हुने चरणमा छन्।
शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार दुई जना संक्रमितबाहेक अन्य होम आइसोलेसनमा छन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
वैशाखयता कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
संक्रमितको स्वास्थ्य बुझ्न होम आइसोलेसनमा बसेकाको घर-घरमा अहिले जनप्रतिनिधि पुग्ने गरेका छन्।
संक्रमितको स्वास्थ्य अवस्था र समस्या बुझ्न घरदैलो कार्यक्रम चलाएको शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले बताए।
उनले भने, ‘ रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी लिएर संक्रमितको स्वास्थ्य अवस्था बुझ्न जाने गरेका छौं। आवश्यक परेकालाई तत्काल औषधी पनि उपलब्ध गराउँछौं।’
सम्बन्धित वडाध्यक्ष, सदस्य, स्वास्थ्य शाखा प्रमुखलगायतको टोली संक्रमितको घरदैलोमा पुग्ने गरेको उनले बताए।
‘यसरी जाँदा संक्रमितलाई के आवश्यक छ, स्वास्थ्य अवस्था के छ, संक्रमणको स्वास्थ्य प्रतिकूल बने हामी जनप्रतिनिधि र सम्बन्धित शाखाको सम्पर्क नम्बर छोडेर आउने गरेका छौं,’ शेर्माले भने, ‘के कस्तो पौष्टिक आहारा खाने भन्ने विषयमा पनि सल्लाह दिएका छौं। मनोबल बढ्ने सकारात्मक खालका समाचार हेर्न पनि संक्रमितलाई आग्रह गरेका छौं।’
संक्रमितको घरदैलोमा पुग्दा उनीहरू खुसी हुने गरेको मेयर शेर्माले सुनाए। स्वास्थ्यको विषयमा जानकार नहुँदा मानवीय क्षतिसमेत हुने गरेकाले संक्रमितको स्वास्थ्यस्थिति बुझ्न उनीहरूकै घरमा जाने गरेको नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले बताइन्।
वडा नम्बर २ की संक्रमित महिलाका श्रीमान डिकबहादुर बोहराले स्वास्थ्य सामग्रीको कोसेली लिएर संक्रमितलाई घरैमा भेट्न आउँदा आफूहरूको मनोबल उच्च भएको बताए। उनले नगरप्रमुखसँग भने, ‘संक्रमितका घरमा जनप्रतिनिधि र स्वास्थ्यकर्मीले यसरी भौतिक उपस्थिति जनाउँदा आफूहरूलाई संक्रमणको पीडा भुल्न मद्दत पुगेको छ। कतिपय संक्रमितले स्वास्थ्यको सामान्य ज्ञान नराख्दा र आत्मबल दरो बनाउन नसक्दा ज्यान गुमाउने गरेका छन्।’
शिवसताक्षी नगरपालिकाले दिएको रोगप्रतिरोधात्मक क्षमताका औषधी सेवन गरेकै कारणले संक्रमणमुक्त भएको सोही वडाका अजित मण्डलले बताए। उनले भने, ‘स्वास्थ्यकर्मीले दिएको औषधी उहाँहरूकै सल्लाहअनुसार सेवन गर्दा संक्रमणमुक्त भएँ।’
पहिलो लहरमा संक्रमितका घर-घरमा पुगेर संक्रमितलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि प्रदान गर्ने कार्यक्रम सञ्चालनमा थिएन।
कोरोनाको पहिलो लहरको अवधिमा शिवसताक्षी नगरमा सात जनाले ज्यान गुमाएका थिए। तर, दोस्रो लहरको अवधिमा तीन जनाले ज्यान गुमाएका छन्।