झापाको मेचीनगर नगरपालिकाले आफ्नो नगरमा रहेका कोभिडका बिरामीलाई नि:शुल्क उपचार गर्ने भएकाे छ।
नगरप्रमुख विमल आचार्यले नगरमा कोभिड संक्रमितहरूलाई नि:शुल्क उपचार गरिने बताएका हुन्।
काेराेनाकाे समयलाई मध्यनजर गर्दै नगरभित्रका जनताकाे सेवाकाे लागि नि:शुल्क एक्स-रे मेसिन सञ्चालनमा ल्याउने पनि उनले जानकारी दिए।
कोरोनाको महामारीका बेला नगरका जनताको सेवाकाे लागि नि:शुल्क रूपमा एक्स-रे गर्नकाे लागि मेसिन सञ्चालनको तयारी भएकाे नगरप्रमुख आचार्यले बताए।
राज्यकाे नियम कानुनले गर्दा केही समस्या भएकाेले अब २/३ दिनमा भित्र एक्स-रे मेसिन सञ्चालन ल्याउने उनले बताए।
नगरप्रमुख आचार्यले भने,‘म आफैं काेराेनाकाे कारण मृत्युलाई जितेर नयाँ जीवन पाएकाे मान्छे भएकाेले नगरका सबै जनताकाे सेवाकाे लागि नगरले कोभिड-१९ नियन्त्रण र रोकथामका लागि सबै संयन्त्र परिचालन गरेको छ।’ धाइजनमा रहेकाे आइसोलेसन वार्डमा एक्स-रे मेसिन जडान अन्तिम चरणमा पुगेको नगरप्रमुख आचार्यले जानकारी दिए।
‘हामीले कोभिड नियन्त्रण र उपचारका लागि काम गर्न प्रोत्साहन गर्नुपर्छ भन्ने ठानेर फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी तलबको ५० र ३० प्रतिशत हुने गरी थप भत्ता उपलब्ध गराउने निर्णय गरेका छौं’, उपप्रमुख मीना पोखरेल उप्रेतीले भनिन्,‘फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी कोरोना संक्रमित भए सबैको उपचारमा लाग्ने आइसियू, एचडियू, भेन्टिलेटर लगायत सबै उपचार खर्च पनि नगरले व्यहोर्ने निर्णय भएको छ।’
कुनै पनि नगरबासीलाई कोभिड-१९ को लक्षण देखापरे उपचार गर्न अस्पताल लैजानुपर्ने भएकाले नगरपालिका परिसरमा दुइटा एम्बुलेन्स तयारी अवस्था राखिएको छ।
निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, दिन बिराएर पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने गरेको नगरप्रमुख आचार्यले बताएका छन्।
कुनै अप्ठ्यारो परे तत्काल नगरपालिकामा सम्पर्क गर्न फोकल पर्सनको व्यवस्था गरी सम्पर्क नम्बरसमेत सार्वजनिक गरिएको नगरपालिकाका प्रमुुख प्रशासकीय अधिकृत खेमराज ओझाले सेतोपाटीलाई बताए।
मेचीनगरकाका सबै वडास्तरीय स्वास्थ्य चौकी प्रमुखलाई वडागत कोभिड फोकल पर्सन तोकेको उनले जानकारी दिए।