दोस्रो लहरको कोरोना संक्रमण दिनानुदिन बढ्दै गएपछि झापाको शिवसताक्षीमा रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधी संक्रमितका घर-घरमा पुर्याउन थालिएको छ।
केही दिनअघि आयुर्वेद विभागले जारी गरेको प्रोटोकल अनुसार दुधे आयुर्वेद औषधालयले संक्रमितका घरघरमै जडिबुटी जन्य औषधी पुर्याउन थालेको हो। स्थानीय पालिकासँग समन्वय गरेर संक्रमितका घरमा शक्तिवर्धक जडिबुटी औषधी पुर्याउउन थालिएको दुधे आयुर्वेद औषधालयका कविराज राजेन्द्र पोख्रेलले बताए।
बुधबार जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ मा वडाध्यक्ष मनोज खुलाल कार्कीलगायतका जनप्रतिनिधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने जडिबुटीजन्य औषधी संक्रमितका घरैमा पुर्याए।
स्वास्थ्यकर्मी लिएर जनप्रतिनिधि औषधीसहित घरमा आउँदा आफूहरूलाई आधा रोग निको भएको महसुस सङ्क्रमितले गरेका छन्। कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेकी गोमादेवी कार्कीले वडाअध्यक्ष आफैं आयुर्वेदका कविराज सहित औषधी लिएर घरमा आउँदा ज्वरो घटेको महसुस भएको बताइन्।
छरछिमेक र आफन्तको सम्पर्कमा नरहेकी कार्कीले बुधबार वडाध्यक्ष र कविराजसँग कोभसिडका बारेमा खुलेर कुरा गर्न पाएको बताइन्। ‘घरैमा शक्तिवर्द्धक औषधी लिएर आउँदा मेरो आत्मबल उच्च भएको छ,’ उनले भनिन्।
वडाध्यक्ष कार्कीले १८ वर्षीया अर्की कोरोना संक्रमित भावना कार्कीलाई पनि घरैमा गएर भेटेका थिए। कार्कीको अवस्था सामान्य रहेको छ।
उनलाई सुझाउँदै अध्यक्ष कार्कीले भने,‘पटक–पटक तातोपानी, झोलिलो वस्तु, हरियो सागपातसँगै हामीले ल्याएको औषधि सेवन गर्दा कोरोनालाई सहजै जित्न सकिन्छ।’
वडा नम्बर ६ ले पहिलो लहरमा पनि घर-घरै पुगेर संक्रमितलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने घरेलु औषधी र अन्य स्वास्थ्य सामग्री प्रदान गरेको थियो।
गुडूँची क्याप्सुल, आमलकी चूर्ण, कोर्डिजोन क्याप्सुल, च्यवनप्राशसहित मास्क र सेनिटाइजर वडा कार्यालयले संक्रमितलाई प्रदान गरेको हो। यस्तै, अश्वगन्धा चूर्ण, यष्ठीमधु चूर्ण लगायतका जडिबुटी जन्य औषधी पनि दुधे आयुर्वेद कार्यालयले संक्रमितलाई घर-घरमा पुर्याउने कार्यक्रम भइरहेको कविराज पोखरेलले जानकारी दिएका छन्।
वडा कार्यपालिकाले दिएका सबै औषधिले रोगप्रतिरोधात्मक क्षमता बढाउने र शरीरमा विभिन्न खाले भाइरसको असरलाई नियन्त्रण गर्ने खरेलले बताए। संक्रमितलाई औषधी सेवन गर्ने तरिका सिकाउँदै शिवसताक्षी नगरमा धमाधम औषधी वितरण गर्ने काम भइरहेको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ।
‘हामी घर-घरमा रहेका संक्रमित र अस्पतालमा रहेका संक्रमितलाई पनि रोग प्रतिरोधात्मक क्षमता बढाउने जडिबुटी जन्य औषधी लैजाने तयारीमा छौं,’ पोखरेलले भने।
शिवसताक्षी नगरमा कोरोनाको दोस्रो लहर सुरु भएपछि ४५ जना संक्रमित छन्। त्यसमध्ये छ जना कोरोनामुक्त भएका छन्। गम्भीर प्रकृतिका तीन जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।