विर्तामोडस्थित बिएण्डसी अस्पतालमा शुक्रबार एकै दिन दुई स्थानबाट कोभिड-१९ का जटिल बिरामीलाई हेलिकप्टरबाट उपचारका लागि ल्याइएको छ।
भेन्टिलेटरसहित आइसियूको अभाव भएपछि दाङ र पर्साका सङ्क्रमितलाई ‘हवाई लिफ्ट’ गरी बिएण्डसी अस्पतालमा ल्याइएको हो।
अस्पतालका सूचना तथा जनसम्पर्क अधिकृत प्रमिस गिरीका अनुसार शुक्रबार दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत ९ दिनदेखि उपचाररत् ४५ वर्षीय पेमा योगी र वीरगञ्जस्थित अली अस्पतालमा उपचाररत् २९ वर्षीय हरि पौड्याललाई ‘हवाई लिफ्ट’ गरी बिएण्डसी अस्पतालमा ल्याइएको हो।
बिरामीका आफन्तले ती अस्पतालमा भेन्टिलेटरको अभाव भएपछि ‘हवाई लिफ्ट’ गरेको बताएका छन्।
सोही अस्पतालमा वैशाख १५ र २० गते काठमाडौंस्थित ह्याम्स र मनमोहन अस्पतालमा उपचारार्थ दुई सङ्क्रमितलाई थप उपचारार्थ ‘हवाई लिफ्ट’ गरिएको थियो।
दुबै बिरामीलाई सिम्रिक एयरको हेलिकप्टरले विर्तामोड पुर्याएको थियो।
ती बिरामीका आफन्तले भेन्टिलेटरसहितको आइसियू शैया नपाएपछि बिएण्डसी ल्याएका थिए।
अहिले ती बिरामीमध्ये एक जनाको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको चिकित्सकको भनाइ उद्धृत गर्दै गिरीले बताए।
अहिले अस्पतालहरूमा आइसियू बेड, अक्सिजन र जनशक्ति अभाव भइरहेको छ। त्यही अभावका कारण हेलिकप्टर चार्टर गर्दा महंगो शुल्क लागे पनि संक्रमितका परिवारले आफन्तलाई बचाउन सुविधासम्पन्न अस्पतालमा लैजाने गरेका छन्।
‘भेन्टिलेटरसहित आइसियूका लागि देशभरबाट बिएण्डसीमा सम्पर्क गर्ने क्रम बढिरहेको छ। काठमाडौं, दाङ, धनगढी, नेपालगन्ज लगायतका क्षेत्रबाट दिनहुँ अस्पतालमा आइसियू र भेन्टिलेटरका बारेमा जानकारी राखिरहेका छन्,’ उनले भने।
उनका अनुसार अस्पतालले कोभिड र अन्य बिरामीलाई उपचार गर्न अलग-अलग भेन्टिलेटरसहित आइसियू शैयाको ब्लक सञ्चालनमा ल्याएको छ।
विशेषगरी कोभिडका बिरामीलाई क्रिटिकल केयर एनेस्थेसियाका वरिष्ठ चिकित्सक राजु श्रेष्ठ, फिजिसियन चिकित्सकद्वय लक्ष्मण ठाकुर र करण पोखरेलले दिइरहेका छन्।
अस्पतालको २५ आइसियू बेडमा कोभिडका संक्रमित बिरामीको उपचार भइरहेको छ।
कुनै पनि बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था नरहेको गिरीले बताए।
अस्पतालमा कोरोनाका जटिल बिरामीलाई थप उपचार गर्न अत्याधुनिक भेन्टिलेटरसहित आइसियू अलग्गै छ।
बिएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल ६५ भेन्टिलेटरसहित आइसियू शैया रहेको गिरीले बताए।
तीमध्ये २५ भेन्टिलेटरसहित आइसियू शैया कोभिडका बिरामीलाई छुट्याएको र बिरामीको आवश्यकताअनुसार थप गर्दै जाने उनले सेतोपाटीलाई बताए।