काठमाडौंमा कोरोना संक्रमितका बिरामीलाई हेलिकप्टरमार्फत् झापा ल्याइएको छ।
आइसियूसहितको उपचार कक्ष नपाइएपछि झापा शिवसताक्षी-५ का कोरोना संक्रमितलाई विर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएको हो।
सोमबार दिउँसो १ बजे काठमाडौंको मनमोहन मेडिकल कलेजबाट ३५ वर्षीय मदन पाठकलाई हेलिकप्टरमार्फत् उपचारका लागि विर्तामोडको बिएण्डसी अस्पताल ल्याइएको छ।
अस्पतालले उनलाई आइसियूमा राखेर उपचार सुरू गरेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताए।
पाठकलाई सिम्रिक एयरको हेलिकप्टरले बिएण्डसी ल्याएको गिरीले बताए।
पाँच दिनअघि पनि शिवसताक्षी नगरपालिका घर भई काठमाडौं बस्दै आएका सङ्क्रमित नरप्रसाद उप्रेतीलाई पनि हेलिकप्टरमार्फत् उपचारका लागि बिएन्डसी ल्याइएको थियो।
‘मनमोहन अस्पतालमा आइसियू बेड नभएको र भेन्टिलेटरसमेत चाहिन सक्ने डाक्टरले औंल्याएपछि बिएण्डसी ल्याइएको आफन्तले बताएका छन्,’ गिरीले भने।
बिएण्डसीमा अहिले १९ जना कोरोना संक्रमित छन्। त्यसमध्ये ९ जना आइसियूमा छन्।
बिएण्डसीमा २५ बेडको आइसियूसहितको भेन्टिलेटर छ। हालसम्म भेन्टिलेटरमा भने कसैलाई राख्नुनपरेको गिरीले बताए।