कर्णाली प्रदेशमा कोभिड-१९ को जोखिम न्यूनिकरणका लागि राखिएका हेल्थ डेस्क- चेक प्वइन्टहरुमा जनशक्ति अभाव देखिएको छ।
कर्णाली प्रदेशका तीन वटा आन्तरिक नाकाहरुमा अहिले जनशक्ति र स्वास्थ्य सामग्रीको अभाव देखिएको हो।
सुर्खेत र बाँकेको बीचमा रहेको बबई नाका, सुर्खेत र कैलालीको बीचमा रहेको कुइने नाका, सल्यान र दाङको बीचमा पर्ने कपुरकोट नाका कर्णाली प्रदेश भित्रिने मुख्य नाकाहरु हुन्। यी नाकाहरु भएर प्रदेशमा प्रवेश गर्नेहरु विशेषगरी भारतबाट आउने गरेका छन्।
तीन वटा नाकामध्ये पनि मुख्य मानिएको बबई नाकामा स्वास्थ्य क्षेत्रका एकजना मात्र कर्मचारी छन्। दिनभर एक्लै काम गर्दा गाह्रो हुने हेल्थ असिस्टेन्ट (एचए) गोपालबहादुर नेपालीले बताए।
‘बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म एक्लै ड्युटी गर्दा गाह्रो परेको छ, खाना र खाजा खान पनि बल्लबल्ल समय मिलाउनुपर्छ,’ उनले भने, ‘लगातार काम गर्दा आराम गर्नै मिलेको छैन।’
केही समय अघिसम्म २ जना स्वास्थ्यकर्मी रहेकोमा जनस्वास्थ्य सेवा कार्यालयले एकजनालाई फिर्ता बोलाएर कोभिड अस्पतालमा पठाएको थियो।
उनका अनुसार यो समयमा बबई नाकाबाट बढीजसो भारतबाट आउनेहरु प्रवेश गरिरहेका छन्। यो नाकाबाट जाजरकोट, रुकुम पश्चिम, सल्यान, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला लगायतका जिल्लाका मानिस आवतजात गर्छन्।
पश्चिमा सुर्खेत र कैलालीको बीचमा पर्ने कुइने नाकामा स्वास्थ्य सामग्रीको अभाव देखिएको छ। नाकामा स्वास्थ्यकर्मी र प्रहरीका लागि आवश्यक पर्ने मास्क, स्यानिटाइजर लगायतका औषधिजन्य सामाग्रीको अभाव भएको पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापाले बताए।
यो नाकामा हाललाई जनशक्तिको भने समस्या नभएको उनले बताए।
‘अहिले दुई जना स्वास्थ्यकर्मीहरु हुनुहुन्छ, यदि अरु चाहियो भने पनि हामी सहजीकरण गरेर पठाउन सक्छौं,’ मेयर थापाले भने।
सल्यानको कपुरकोट नाकामा पनि २ जना स्वास्थ्यकर्मी छन्। जाजरकोट, रोल्पा, रुकुम, सल्यानका मानिसहरु आवातजावत गर्ने यो नाकामा स्वास्थ्यकर्मी थप्नुपर्ने कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले बताए।
'अहिले केही दिन मानिसको आवागमन कमै भएकाले दुईजना स्वास्थ्यकर्मीले धानेको छ। आसपासका जिल्लाहरुमा जारी निषेधाज्ञा खुलेपछि मानिसको आवतजावत बढ्ने भएकाले जनशक्ति थप्नुपर्ने छ,' उनले भने।
अध्यक्ष सेनका अनुसार अहिले नाकामा खटिएका दुईजना स्वास्थ्यकर्मी पनि कपुरकोट गाउँपालिकाले नै पठाएको हो।
नाकामै परीक्षण गर्न माग
मुख्य नाकाहरु भएका स्थानीय तहका जनप्रतिनिधिहरुले नाकामै कोरोना परीक्षणको व्यवस्था मिलाउनुपर्ने माग गरेका छन्। बढीजसो भारतबाट आउने भएकाले नाकामा कोरोना परीक्षण गरेर मात्र घर पठाउने व्यवस्था मिलाउनुपर्ने जनप्रतिनिधिहरुको माग छ।
‘यहाँ ज्वरो नापेर मात्र घर पठाउने काम भइरहेको छ, अरु नाका जस्तै भिडभाड हुने नाका यो पनि हो,’ कुइने नाका अवस्थित पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापाले भने, ‘बाहिरबाट आउनेहरुमा कोरोना संक्रमण रहेछ भने त जहाँजहाँ बास बस्छन्, त्यहीँ कोरोना सार्छन्।’
नाकामा कोरोना परीक्षण गरेर कोरोना संक्रमितहरुलाई नाकामै आइसोलेसनमा राख्नुपर्ने उनले बताए।
‘सरकारले यसो गर्न चाहेमा हामी अग्र-भागमा रहेर काम गर्छौं,’ थापाले भने।
बबई नाकामा पर्ने भेरीगंगा नगरपालिकाका मेयर भूपेन्द्रबहादुर चन्दले आइसोलेसन सेन्टरको व्यवस्थासहित नाकामा कोरोना परीक्षण गरिनुपर्ने बताए। भारतसहित अन्य मुलुकबाट आएकाहरुले कर्णालीमा प्रवेश गर्ने मुख्य नाका बबई भएकाले कोभिड धेरै फैलिने जोखिम भएको उनले बताए।
‘यहाँ नाम मात्र लेखाएर भएन, बाहिरबाट आएको मान्छे संक्रमित रहेछ भने घरमा जान्छ। घरदेखि छिमेकसम्म कोरोना सार्छ,’ मेयर चन्दले भने, ‘यतै आइसोलेसन बनाएर एन्टिजेन विधिबाट परीक्षण गरेर भए पनि संक्रमितहरुलाई केही दिन नाकामै राख्न व्यवस्था मिलाउनुपर्छ।’
अहिले बबई नाकामा इन्ट्री गर्ने र ज्वरो मात्र नापेर पठाउने गरिएको छ। यदि ज्वरोको मात्र १०० भन्दा माथि भएको व्यक्ति छ भने उसलाई केही समय आराम गर्न लगाएर पुनः ज्वरो नापेर पठाउने गरिएको हेल्थ असिस्टेन्ट नेपालीले बताए।