कोभिड-१९ को सङ्क्रमणविरुद्ध सचेतना फैलाउन जिल्लाको पाँच स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ।
झापामा भोलिदेखि निषेधाज्ञा जारी गरिएको छ। त्यसअघि सेनाको टोली विभिन्न ठाउँमा निस्केको हो।
मेचीनगर र भद्रपुर नगरपालिकासहित कचनकवल, गौरीगञ्ज र झापा गाउँपालिकामा सेनाको टोली परिचालन गरिएको नेपाली सेनाका चारआलीस्थित श्रीनाथ गणका प्रमुख सेनानी अमरजङ्ग थापाले बताए।
गत वर्षसमेत कोभिड–१९ को महामारी तीव्र गतिमा फैलिएका बेला नेपाली सेनाको टोली दक्षिण झापाको कचनकबल गाउँपालिकामा परिचालन गरिएको थियो।
नेपाली सेनाले काँकडभिट्टा नाकामा होल्डिङ सेन्टर निर्माण गर्न थालेको छ।
श्रीनाथ गणबाट क्याप्टेन विजय निरौलाको कमाण्डमा गएको टोलीले काँकडभिट्टा खेलमैदानमा शुक्रबारदेखि होल्डिङ सेन्टरको पूर्वाधार निर्माणको काम सुरू गरेको हो।
पहिलो दिन सेनाको टोलीले खेलमैदानको आधा भाग ओगट्ने गरी रेखाङ्कन गरेको छ भने बाँसलगायत सामग्री किनेर घेराबेरा बनाउन थालेको छ। यहाँ एक हजार क्षमताको होल्डिङ सेन्टर बन्न लागेको हो।
यसैबीच, झापामा भारतसँगको १४४ दशमलव दुई किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरीले ४४ वटा फरवार्ड पोस्ट स्थापना गरेको जनाएको छ।
सशस्त्र प्रहरी बल २ नम्बर गणका सूचना अधिकारी प्रेम भण्डारीका अनुसार सीमा सुरक्षा र अपराध नियन्त्रणका लागि गत वर्ष १३ वटा फरवार्ड पोस्ट स्थापना गरिएका थिए।
यसपालि ३१ वटा पोस्ट सीमा क्षेत्रमा स्थापना गरिएका छन्। कोभिड-१९ सङ्क्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिन थालेपछि सीमाबाट अवाञ्छित आवागमन हुन नदिन सशस्त्र प्रहरीले फरवार्ड पोस्ट स्थापना गरेको उनले बताए।
झापाका सीमावर्ती क्षेत्रमा हाल १८ वटा बोर्डर आउट पोस्ट रहेका छन्। सशस्त्र प्रहरीको परिचालन र पोस्टको बढोत्तरीपछि सीमा क्षेत्रमा नेपाली सुरक्षा व्यवस्था कसिलो भएको छ।
झापामा कोभिड १९ को दोस्रो लहर सुरु भएपछि सक्रिय संक्रमितको संख्या ३३८ पुगेको छ। यसमध्ये ५६ जना आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ। कोरोनाका कारण झापामा १३४ जनाको मृत्यु भइसकेको छ।
भारतसँग सीमा जोडिएको पूर्वी नेपालको झापामा भोलि मध्यरातिदेखि सात दिनका लागि निषेधाज्ञा आदेश जारी गरिएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले कोरोना महामारीको बढ्दो संक्रमणदरलाई मध्यनजर गर्दै निषेधाज्ञा आदेश जारी गरेका हुन्।
निषेधाज्ञामा अत्यावश्यक कामबाहेक घरबाट ननिस्किन सर्वसाधारणलाई भनिएको छ। सार्वजनिक, निजी सवारीसाधन बन्द हुनेछन् भने अत्यावश्यक सेवामा सवारीसाधनलाई परिचय पत्रका आधारमा सञ्चालन हुन दिइने छ।
सामाजिक दूरी, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने, हात धुने, मास्क र सेनिटाइजरको प्रयोग गर्न भनिएको छ।
यस्तै, निषेधाज्ञामा हात बजार, मेला, जात्रा, महोत्सव, पार्टी भोजलगायत भिड बन्द गरिने छ। अत्यावश्यकबाहेक १० वर्षभन्दा मुनि र ६० वर्षभन्दा माथि उमेरका व्यक्ति र दीर्घरोगीलाई घरबाहिर आवत-जावत नगर्न भनिएको छ।
निषेधाज्ञामा सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, विमा एवम् राष्टर बैंकबाट इजाजत प्राप्त सहकारी संस्था, कर्मचारीको अवस्था हेरी आलोपालो सेवा सञ्चालन गर्न भनिएको छ। यस्तै, अत्यावश्यबाहेकका सेवा हाललाई स्थगित गर्न भनिएको छ।