वि.सं. २०२८ को अन्त्यतिर भारत पश्चिम बङ्गालको नक्सलवाडीमा कानु सन्याल र चारू मजुमदारको नेतृत्वमा कम्युनिष्ट पार्टीले सशस्त्र विद्रोह गरिरहेका थिए। त्यसबाट प्रभावित भएर नेपाली कम्युनिष्टहरूद्वारा नेपालको झापा जिल्लामा पनि ‘वर्गशत्रु समाप्त पार्ने अभियान’ चलाइयो।
यो काण्डमा कम्युनिष्टहरूले ‘सामन्त’ आरोप लगाएर केही सर्वसाधारण नागरिकको हत्या गरे।
सर्वसाधरण नागरिकको हत्या गरेको आरोपमा सरकारले रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, रत्नकुमार वान्तवा लगायत केही नेताहरूलाई मारेको थियो। यस काण्डलाई नेपालको इतिहासमा ‘झापा काण्ड’ नाम दिइएको छ।
यही झापा काण्डका एक योद्धा ७६ वर्षीय मनकुमार तामाङ अझै जिउँदै छन्। उनी निहत्था जनताको हत्या गरेको आरोपमा १७ वर्ष ७ महिना ७ दिन जेल परे।
उनीसँगै सोही आरोपमा जेल बसेका पाँच जना सुखानीमा सहिद भए। बाँचेकामध्ये केपी शर्मा ओली मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीसहित एमालेका अध्यक्ष छन्।
तामाङका अनुसार ओलीसँग उनको तँ-तँ र म-म पनि चल्थ्यो। ११ महिनासम्म काठमाडौंको नख्खु जेलमा केपी ओलीसँगै जेल जीवन बिताएका तामाङले भने, ‘राजनीति त गर्दा हुँदोरहेछ। मैले उहाँहरूले जे-जे भन्नुभयो त्यही मानें। २०४६ सालको आन्दोलनबाट संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्था आएपछि उहाँहरू अघि बढ्नुभयो, म जस्ता पछि पर्यौं।’
झापा आन्दोलनका योद्धा तामाङ बस्ने घर घामपानी चुहिने अवस्थामा पुगेको छ। २०४६ सालमा प्रजातन्त्र आएपछि राजा वीरेन्द्रले जेलमुक्त गरेर फर्किएपछि उनले घर बनाएका थिए।
काठको घरको छाना जस्तापाताको भए पनि खिया लागेर मक्काइसकेको छ। बाँसको बेरा मकाएर भुइँमा झर्न थालिसकेको छ।
उनले भने, ‘अब त पक्की घरमा बस्ने आस पनि मरिसक्यो।’
उनले प्रधानमन्त्री ओलीलाई भटेरै मर्ने इच्छा राखेका छन्। ‘उहाँको सुरक्षाको लागि मैले हतियार उठाएँ। बुवा-आमा, दाजु-भाइ लगायतका आफन्तले दिएको कुनै सल्लाह मानिनँ। हामीविरुद्ध तत्कालीन शासकलाई सुराक गर्ने र किसानलाई दु:ख दिने जमिनदार सिध्याउनुपर्ने उहाँले दिएको आदेश पालना गरें। उहाँ कस्तो हुनुभयो एक पटक हेरेर हात मिलाएर मर्ने इच्छा छ,’ उनले भने।
ओलीलाई लुकाउन र उनको सुरक्षाका लागि हतियारसहित अंगरक्षकसमेत रहेका तामाङको जीवन यतिबेला कष्टकर बनेको छ। झापा विद्रोहको मुख्य योजनाकार मानिएका सीपी मैनाली, राधाकृष्ण मैनाली, नरेश खरेल, मनकुमार गौतमलगायत थुप्रै नेताहरूसँग उनले जेल जीवन बिताएका छन्। तर, आनन्दले रात बिताउने घर नहुँदा उनी जीवनको उचरार्द्धमा कठिन जीवन जिइरहेका छन्।
बिहान-बेलुकाको हातमुख जोर्न उनले छिमेकीको शरण पर्नुपर्छ। बाँस मागेर काटेको चोयाबाट उनले डोको बनाएर बिक्री नगर्दा उनको मुखमा माड पस्दैन।
‘बुढो शरीर जनमन गर्न सक्दिनँ,’ उनले भने, ‘धन्न छिमेकी पाएको छु।’
२०४६ सालमा घर बनाउदा गाउँमा उनको मात्र काठको थियो। अरु सबै फुसका थिए। अहिले उनको घर ठिङरिङ्ग काठको त्यो पनि लड्न आँटिसकेको छ, अरु सबैका घर पक्की छन्। मनमनै उनले आफैंलाई धिक्कार्दा रहेछन्।
भन्छन्, ‘के दिनमा राजनीतिमा लागेंछु नि।’
आइतबार उनको घरमा पुग्दा श्रीमती सिँढीमा टुक्रुक्क बसिरहेकी थिइन्। साताअघि आएको हुरीले उनको घर हल्लाएर थङथिलो बनाएको रहेछ।
बलेंसीनजिकै चुलोमा तरकारी पाकिरहेको थियो। तामाङ भने छिमेकीको घरमा बाँस माग्न गएका रहेछन्।
उनले मागेर ल्याएको बाँसबाट निकालेको चोयाले जोड्नी खुस्किएका बिम र बलो बाँध्ने उनले बताए।
‘काँटी कब्जा किन्ने पैसा छैन। अर्कोपटक पनि हुरी आयो भने बासस्थान नै उडाइदिन्छ,’ उनले भने।
उनको घरमा तामाङ दम्पती मात्र बस्छन्। श्रीमती फूलमाया पनि मुटु रोगले थलिएकी छन्।
उपचार गर्ने खर्चै नभएर उनले रोग पालिरहेकी छन्। कान्छो छोरा ललित सात वर्षअघि भारत भासिएका थिए। अहिलेसम्म उनको अत्तोपतो छैन।
आँखाभरि आँशु झारेकी फूलमायाले भनिन्, ‘हामी जस्ताको सुखको दिन कहिले आउला?’
कम्युनिष्ट जुन जगमा उभिएर मुलुकमा शासन गर्देछ, त्यो जग झापा विद्रोह नै भएको स्थानीय पत्रकार कुमार भट्टराईले बताए।
उनले भने, ‘झापा आन्दोलनमा भूमिका खेल्ने योद्धा यतिबेला गाँस, बास र कपास नपाएर प्रताडित छन्। झापा आन्दोलनकै नाइके आज पनि सरकारमा छन्। हिजो किसानका लागि भनेर आवाज उठाउनेहरू फुटपाथमा रहनु बिडम्बना हो।’
एमाले सरकारले ज्येष्ठ नागरिकलाई सहयोग गर्ने भनेकै छ। राजनीतिक दलको हिसाबले नहेर्ने हो भने पनि तामाङलाई सरकारले बस्ने घर बनाइदिनुको विकल्प नरहेको उनले सेतोपाटीलाई बताए।
हुन त तामाङ दम्पती बस्न योग्य हुने घर निर्माणका लागि स्थानीय पत्रकार पनि लागिपरेका छन्। अर्जुनधारा प्रेस क्लवका अध्यक्षसमेत रहेका भट्टराईले भने, ‘दाता खोजेर भए पनि झापा आन्दोलनका योद्धाको घर निर्माण गर्ने योजना बनाएका छौं।’
अर्जुनधारा नगरपालिकाले बासको व्यवस्था नभएका राजनीतिक पीडितलाई प्रजातन्त्र स्थापनाका लागि गरेको योगदानको आधारमा सहयोग गर्न गत वर्षदेखि कार्यक्रम नै ल्याएको छ। गत आर्थिक वर्षमा पालिकाले पाँच लाख विनियोजन गरेको थियो। तर, खर्च नभएपछि त्यो रकम फ्रिज भएको नगरपालिकाका प्रमुख हरिकुमार रानाले बताए।
उनले भने, ‘पत्रकार आफैंले झापा आन्दोलनका पीडितको घर निर्माण गर्ने योजना ल्याएपछि नगरपालिका पछि हट्ने कुरै आउँदैन।’
नगरपालिकाले तामाङको घर निर्माणका लागि तीन लाख रुपैयाँ सहयोग गर्ने नगर प्रमुख रानाले बताए।