रमिला श्रेष्ठ कुनै नौलो ठाउँमा छिन्। कहाँ छिन्, कोसँग छिन् उनलाई हेक्का छैन।
त्यही बेला घटटट, कटटट, किररर, चररर गर्दै जमिन हल्लिन थाल्छ। उनी जहाँ छिन्, त्यो ठाउँ रोटे पिङजस्तै मच्चिन थाल्छ। उनी भाग्ने कोशिस गर्छिन्, तर जति कोशिस गर्दा पनि भाग्न सक्दिनन्।
उनलाई आफू कतै अड्केको, कतै चेपिएको, कतै भासिँदै गएको अनुभव हुन्छ।
उनी चिच्याउँदै गुहार माग्न खोज्छिन्, तर बोली फुट्दैन।
कसैले घाँटी थिचेजस्तो भएर आउँछ। सास फेर्न गाह्रो हुन्छ। उनी निस्सासिन्छिन्।
त्यही बेला रमिला असिनपसिन हुँदै झसंग ब्युँझन्छिन्।
रमिलालाई प्रायः बिहानीपख यस्तै सपनाले ऐँठन पार्छ।
‘जुन बिहान म यस्तो सपना देखेर ब्युँझन्छु, त्यो दिन मलाई एकदमै डर लाग्छ,’ नयाँ धरहराको बीसौं तलाको बार्दलीमा उभिएर वरिपरि काठमाडौं हेर्दै रमिलाले भनिन्, ‘सपनामा ठूलो भूकम्प गएको हुन्छ। म भाग्न चाहन्छु, भाग्न सक्दिनँ। मद्दत माग्न चाहन्छु, मद्दत माग्न सक्दिनँ। एक मनले यो सपना त हो नि भन्ने लाग्छ, तर मनको डर जाँदै जाँदैन। अहिले पनि मलाई भूकम्प भनेपछि एकदमै डर लाग्छ।’
सपनामा मात्र होइन, अप्रत्यासित मौसम परिवर्तन हुँदा बिपनामै यस्तै ऐँठन पर्छ रमिलालाई।
झ्याप्पझ्याप्प बत्ती जाँदा होस् वा अस्तिजस्तो वेगसँग हावाहुन्डरी चल्दा, आकाशमा झिलिकझिलिक बिजुली चम्किँदा होस् वा मुसलधारे पानी दर्किँदा, रमिलाको आँखाअगाडि २०७२ वैशाख १२ को त्रासदीपूर्ण क्षण नाच्न थाल्छ।
त्यस्तो बेला कतै एक्लै छिन् भने उनी कहालिन्छिन्, भन्छिन्, ‘फेरि भूकम्प आउने हो कि भनेर मलाई भित्रैदेखि डर लागेर आउँछ।’
‘कुनै घटनाले मान्छेको मनमा त्रास गडेको छ भने त्यो त्रास जति वर्ष बिते पनि मनबाट हराउँदैन रैछ है,’ बार्दलीको सिसा समातेर एकटक सहर नियाल्दै रमिलाले भनिन्।
‘म त्यो दिन सम्झिरहन्छु। आकाशबाटै खसेजस्तो भएको थियो। धरहराको बाटो हिँड्दा पनि घरिघरि त्यही क्षण याद आउँछ। कसरी बाँचे हुँला भन्ने कुरा मनमा खेलिरहन्छ। तर, जति सोचे पनि जवाफ नै पाउँदिनँ,’ उनले अगाडि भनिन्, ‘पुरानो कुरा त बिर्सिजानू नि, झन् त्यत्रो डरलाग्दो घटना किन सम्झिरहनू, तर जति कोशिस गर्दा पनि बिर्सनै सकिन्न रहेछ। किन होला है?’
हुन पनि हो– मान्छे जुन घटना बिर्सन चाहन्छ, जुन घटनालाई अतीतमै पोको पारेर अगाडि बढ्न चाहन्छ, त्यही घटनाले घरिघरि अतीतको पर्खालबाट फुत्त हाम्फालेर सपनाको बाटो हुँदै वर्तमान बिथोल्न आइपुग्छ।
किन आइपुग्छ हँ?
यसको जवाफ रमिलासँग छैन, न त्यस दिन उनीसँगै धरहरा चढ्ने सञ्जीव श्रेष्ठलाई थाहा छ।
सञ्जीवलाई पनि छ वर्षदेखि भुइँचालोको कहालिलाग्दो सपनाले ऐँठन पारिरहेकै छ।
‘म पनि भुइँचालोमा फसेको, पुरिएको, लडेको सपना देखिरहन्छु। सपनामै झस्किएर ब्युँझन्छु,’ उनले पनि बीसौं तलाको बार्दलीमा हामीसँग कुरा गर्दै भने, ‘पहिले त त्यस्तो सपना अलि बढी नै देख्थेँ, एकदमै डर लाग्थ्यो। त्यही दिनको सम्झना आइरहन्थ्यो।’
‘अहिले आउँदैन?’ मैले सोधेँ।
‘अहिले पनि आइरहन्छ। कहिलेकाहीँ एकदमै डराउँछु, कहिले चाहिँ अरू सपनाजस्तै सामान्य ढंगले आउँछ, जान्छ। समय धेरै बितिसकेकाले पनि मनबाट डर हराउँदै गएको होला। आफूले मानसिक रूपमा त्यो घटना स्वीकार गरिसकेकाले डर कम हुँदै गएको हो कि!’ सञ्जीवले भने।
‘अब त झन् नयाँ धरहरा चढिसकेपछि डर अझै कम हुन्छ होला! कि कसो?’
‘अँ अब चाहिँ पहिलेभन्दा कम हुन्छ होला,’ सञ्जीवले हाँस्दै जवाफ दिए, ‘सपनामा पनि तर्साउन आउँदैन कि!’
डर त कम–बेसी हुनसक्छ, त्यो आ–आफ्नो मनको कुरा हो। तर, त्यो क्षणको सम्झना रमिला र सञ्जीव दुवैलाई बराबर छ।
ठ्याक्कै छ वर्षअघि आजकै दिन, वैशाख १२ गते, यी दुई जना साथी सँगसँगै धरहरा चढेका थिए। सँगसँगै टुप्पोबाट खसेका थिए। र, दुवै सँगसँगै बाँचेका थिए।
जुन धरहराबाट उनीहरू खसे, अहिले त्यसको अवशेष मात्र बाँकी छ। ठुटे अवशेषलाई भुइँचालोको साक्षी राखेर छेउमा नयाँ धरहरा ठडिएको छ। रमिला र सञ्जीवको जिन्दगीमा भने अब एउटै चिज ‘साझा’ छ — अतीतको पर्खालबाट फुत्त हाम्फालेर झस्काउन आउने यी सपना!
भुइँचालोले छ वर्ष पूरा गरेको दिन आइतबार रमिला र सञ्जीवलाई हामीले त्यही ठाउँ लगेका थियौं, जहाँ उनीहरूले नयाँ जीवन पाए। र, सँगसँगै त्यो त्रासदी पनि भोगे, जसले उनीहरूलाई आजसम्म पछ्याइरहन्छ।
यसरी पुराना कुरा कोट्टयाएर उनीहरूलाई फेरि डरको खाडलमा फाल हाल्न लगाउनु मेरो उद्देश्य होइन। म चाहन्थेँ, जुन धरहराको कौसीबाट खसेर उनीहरू बाल–बाल बाँचे र जुन घटनाले आजसम्म बिथोल्न छाडेको छैन, उनीहरू फेरि त्यही ठाउँ पुगून्, त्यही घटना फेरि एकचोटि नजिकबाट सम्झना गरून् र लामो सास फेर्दै शान्तसँग मनन् पनि गरून्, ताकि मनभित्र बनेको अजंग डरको घर भुइँचालोमा धरहराजस्तै गर्ल्यामगुर्लुम ढलेर माटो होस्!
मेरो प्रस्ताव दुवैले स्वीकार गरे।
नयाँ धरहराको फेदमा उभिएर मैले सोधेँ, ‘आज यहाँ उभिएर धरहरा हेर्दा कस्तो लाग्दैछ?’
आफ्नो शिर ठाडो पारेर धरहरालाई टुप्पोसम्मै नियाल्दै रमिलाले जवाफ दिइन्, ‘पहिलेभन्दा धेरै अग्लो रहेछ। फराकिलो पनि रहेछ। पहिले एकदमै साँघुरो थियो। भित्र भर्याङ पनि साँघुरो। दुई जना त एकैचोटि हिँड्नै मुश्किल। एक जना चढ्दा अर्को मान्छे तल ओर्लियो भने यसो साइड दिनुपर्थ्यो।’
सञ्जीवले पनि यस्तै वर्णन गरे, ‘पुरानो धरहरा एकदमै साँघुरो र सुरिलो थियो। अहिले त मोटाएछ। यसको फेद पनि पहिलेभन्दा निकै फराकिलो बनाइएछ।’
जसै हामी धरहराभित्र छिर्यौं, रमिला काठको ढोकानिर भुइँमा थुचुक्क बसिन्। आफ्नो दाहिने हातले सुरूमा धरहराको भुइँ छोइन्, त्यसपछि त्यही हात छाती र शिरमा पालैपालो लगिन्।
‘किन ढोग्नुभयो?’ मैले सोधेँ।
जवाफमा उनले भनिन्, ‘मैले यही ठाउँमा नयाँ जीवन पाएँ, त्यसैले यसलाई कुल्चिनुभन्दा पहिला ढोग्न मन लाग्यो।’
भुइँतलाबाट हामी लिफ्ट चढ्यौं र एक मिनेटमै बीसौं तलाको बार्दलीमा पुग्यौं। पहिले साँघुरो भर्याङ चढ्दै माथि उक्लन धेरै समय लाग्थ्यो। बीच–बीचमा भित्ता प्वाल–प्वाल पारेर बनाइएको गोलो झ्याल आउँथ्यो। तिनै झ्यालबाट बाहिर हेरेको रमिलालाई अलिअलि सम्झना रहेछ। त्यहाँबाट हेर्दा उनलाई ‘जमिन निकै तल भएजस्तो’ लागेको थियो। मान्छे र गाडीहरू पनि साना–साना देखिएका थिए, ताँती लागेर कुदिरहेका कमिलाजस्ता।
माथिल्लो झ्यालबाट हेर्दा त उनी तिरिमिरी नै भएकी थिइन्। एकछिन पुलुक्क बाहिर नियालेर हत्तपत्त नजर हटाएकी थिइन्। मन थर्थराएर होला, आँखा चिम्म गरेकी थिइन्।
बार्दलीमा पुगेपछि उनलाई फलामको रेलिङ समातेर एक झलक काठमाडौं सहर हेरेको मात्र याद छ। तल गुडिरहेका गाडी देखाउँदै ‘यहाँबाट त कति सानो देखिँदो रहेछ है’ भनेर सञ्जीवलाई भनेको पनि अलिअलि याद आउँछ। त्यसपछि के–के भयो, उनी राम्ररी सम्झन सक्दिनन्।
उनीहरू बार्दलीमा पुगेकै बेला पर घन्टाघरमा ११ बजेर ५६ मिनेट गएको थियो, जब गोरखाको बारपाकबाट छुटेको भूतरंगले काठमाडौंको भूमि हल्लायो।
लगत्तै धरहराको बार्दली ढलपल ढलपल हल्लिन थाल्यो। वेगले हावा चलेझैं भयो। काग र चराहरूको कोलाहलले कानै खायो। आकाश चिरा परेझैं घटटटट, चरररर आवाज आयो। सामुन्ने उभिएका सञ्जीवलाई पनि तिरिमिरी देखिन् उनले।
सञ्जीव उछिट्टिएर भित्तामा आड लिँदै भुइँमा थुचुक्क बसेका थिए। रमिला पनि बार्दलीको फलामे रेलिङ च्यापेर त्यसैको भरमा थुचुक्क बसिन्। उनको एक हातमा मोबाइल र धरहरा चढ्न काटेको टिकट थियो। अर्को हातले धरहराको रेलिङ बेस्कन अँठ्याएकी थिइन्। मुठ्ठी जति कसे पनि रेलिङमा अडिन उनलाई सकस भइरहेको थियो। मुठ्ठीबाट बालुवा फुस्केझैं फलामको रेलिङ हातबाट खुस्कँदै गएझैं लाग्यो।
कम्पन चर्कंदै गयो, उनीहरूको फड्फडाहट बढ्दै गयो। घरि हुर्रर दायाँ घचेटिन्थे, घरि बायाँ तानिन्थे। त्यो बेला बार्दलीमा धेरै जना मान्छे थिए। ती सबै कहिले गुटुटुटु एक डल्लो पर्थे, कहिले चामलका दानाझैं छरिन्थे।
उनीहरूका चित्कार बेलाबेला कानमा परेको र विस्तारै फिका हुँदै गएको रमिला र सञ्जीवलाई धमिलो सम्झना छ।
त्यही बेला रमिलालाई लाग्यो, धरहरामाथिको आकाश अझ माथि–माथि सर्दैछ। मानौं, बाँसको लिंगोमा झुन्डिएका उनीहरूलाई घिर्नीमा बेरेर कसैले तल झार्दै गरेको होस्। विस्तारै। हलुका–हलुकासँग।
उनीहरू एकछिन टुप्पोबाट घुररर तल खसे, त्यसपछि अलिबेर टक्क अडिए। कुनै शक्तिले च्याप्प अँठ्याएर रोकेजस्तो। दायाँबायाँ कम्पन भने उस्तै थियो।
होस सम्हाल्न पाएकै थिएनन्, आकाश फेरि उसैगरी माथि उचालियो। उनीहरू फेरि तल खस्न थाले। मानौं, चेट भएको चंगाजस्तो हावामा कावा खाँदै तल झरिरहेका छन्।
आकाश जतिजति उचालिँदै थियो, उनीहरू उतिउति तल खस्दै थिए, कोलाहल उति बढ्दै थियो। घटटटट, कटटटट, चररररजस्ता अनेक आवाज कानका जाली फुट्ने गरी सुनिन थालेका थिए। काग र चराको कोलाहलमा मान्छेका कोलाहल पनि मिसिन आइपुगेका थिए। आकाशको गति कहिले थामिएजस्तो हुन्थ्यो, कहिले बढ्दै जान्थ्यो।
रमिलालाई दुईचोटि रोकिँदै–खस्दै तल झरेको र भुइँमा बजारिएको याद आउँछ, उनी भन्छिन्, ‘यो बार्दली त फन्फन्ती घुमेजस्तै लागेको थियो। हामी ढोकाबाट बाहिर निस्कनासाथ त्यस्तो घटना भयो। मान्छेहरूले भूकम्प आयो भागौं भनेको हो कि जस्तो लाग्छ, तर त्यस्तरी हल्लाइरहँदा कसरी भाग्नू?’
धरहराबाट खसेपछि भने उनको आँखामा केही बेर पूरै शून्यता छायो। कति बेर बेहोस भइन् उनलाई पत्तो छैन। जब अलिअलि बौरिइन्, उनको कानमा कताकता टाढाबाट आएजस्तो मसिनो कल्याङमल्याङ चल्दै थियो।
उनले पिर्लिक्क आँखा उघारिन्। मुन्टो दायाँबायाँ घुमाइन्। चारैतिर बुङबुङती धूलो उडिरहेको थियो। उनी ढुंगा, माटोमाथि यस्तरी पसारिएकी थिइन्, जसरी साना केटाकेटी माटोमा लडिबुडी खेल्छन्।
उनको आँखा धूलो र रगतले पुरिएर टालिएको थियो। वरिपरिका दृश्य उनी धमिलो देखिरहेकी थिइन्। उनले खुट्टा चलाउने कोशिस गरिन्। पीडाले मुटुसम्मै पोलेर आयो। खुट्टा सुन्निएर हलचल गर्नै मुश्किल पर्यो।
‘मेरो खुट्टा कतै थिचिएको थिएन, तै पनि मलाई चलाउन गाह्रो भइरहेको थियो, सुन्निएजस्तो लागेको थियो,’ उनले भनिन्, ‘मलाई त्यही बेला खुट्टा भाँच्चियो भन्ने भयो।’
रमिला त्यसपछि बेस्कन चिच्याएर रोइन्। उनी रोएको आवाजले त्यहाँ उद्धारमा खटिएका प्रहरीलाई उनी जिउँदै रहिछन् भन्ने थाहा भयो।
‘मलाई तिनै प्रहरी दाइहरूले जुरुक्क उचालेर गाडीमा हालेजस्तो लाग्छ। गाडीमा मान्छेमाथि मान्छेको खात थियो भन्ने पनि लाग्छ। सबैको रगतपच्छे अनुहार देखेको थिएँ। मेरो आफ्नै अनुहारबाट पनि रगत चुहिरहेको याद आउँछ। मलाई राम्ररी होस आउँदा त म अस्पताल पुगिसकेको थिएँ,’ उनले भनिन्, ‘सञ्जीव कहाँ थिए, कस्तो हालतमा थिए मलाई याद छैन।’
यसबीचको आफ्नो अनुभव र सम्झना सञ्जीवले सुनाए।
रमिलाले भनेजस्तो धरहरा पटक–पटक रोकिँदै, खस्दै गरेको उनलाई हेक्का छैन। उनलाई चर्को आवाज निकाल्दै धरहरा पड्केजस्तो लाग्छ, अनि त्यसको बार्दलीमा थुचुक्क बसी–बसी तलतल खस्दै गरेको उनी सम्झन्छन्।
‘हामी धेरै बेर बस्नै पाएका थिएनौं। ढोकाबाट निस्केर रेलिङसम्म पुग्नासाथ धरहरा हल्लिन थालिहाल्यो,’ सञ्जीवले भने, ‘त्यति बेला त यो बार्दली अहिलेजस्तो फराकिलो पनि थिएन। भर्याङजस्तै साँघुरो थियो। मान्छेहरू टनाटन थिए। कोही फोटो खिच्दै थिए, कोही रेलिङ समातेर तल हेर्दै थिए। हामीले राम्ररी हेर्न पनि पाएनौं। वरिपरि घुम्न पनि पाएनौं। ढोकाबाट बार्दलीमा आउनासाथ हल्लाउन थालिहाल्यो। म ढोकानिरै भुइँमा थुचुक्क बसेँ। रमिला चाहिँ रेलिङसम्म पुगेकी मात्र थिइन्, उनी त्यही रेलिङ समातेर भुइँमा बसिन्।’
बीसौं तलाको सिरसिर बतासले मुख चिसो पार्दै सञ्जीवले अगाडि भने, ‘त्यो दिन पनि यस्तै हावा चल्दै थियो। मलाई त छ वर्षपछि यहाँ आउँदा त्यो घटना सम्झेर अलि अलि डर लागेजस्तो भइरहेको छ। त्यही दिनको जस्तो भुइँ हल्लिएको हो कि भन्ने भान पर्दैछ।’
उनले यसो भन्दै गर्दा मैले खल्तीबाट मोबाइल झिकेर समय हेर्दै भनेँ, ‘आज पनि १२ गते, अहिले सवा १२ बजेछ। त्यो दिन त यति बेला तपाईंहरू खसिसक्नुभएको थियो हगि?’
सञ्जीवले हाँस्दै भने, ‘खसेको मात्र हो र, सायद हामीलाई वीर अस्पताल नै पुर्याइसकेको हुनुपर्छ।’
त्यस दिन उनीहरूको धरहरा चढ्ने पूर्वयोजना थिएन। घुम्दै–घुम्दै सुन्धारा पुगेका थिए र धरहरा चढौं न त भनेर टिकट काटेका थिए।
‘भुइँमा खसेपछिको घटना चाहिँ के–के याद छ?’ मैले सोधेँ।
‘मलाई माथिबाट तल खसिसकेपछि यो बार्दली र गजुर भएको हिस्सा कोल्टेर पल्टेजस्तो लाग्छ। बार्दली लडेपछि हामी पनि रेलिङ सँगसँगै भुइँमा पछारियौं। अलिकति उछिट्टिएर बाहिर पुगेको हो कि भन्ने भान हुन्छ,’ सञ्जीवले सम्झे, ‘म आधी होसमा थिएँ, आधी बेहोस। यति चाहिँ याद छ, माथिबाट तल आइपुग्दासम्म हामी दुवै सँगसँगै थियौं। एकअर्कालाई हेरेरै बसेका थियौं। हामीले अलिकति कुरा पनि गर्यौं। अरू डिटेल याद छैन।’
त्यसैबीच उनले उद्धार गर्न आएका व्यक्तिलाई धमिलो धमिलो देखे र सोधे, ‘दाइ के भयो?
ती व्यक्तिले भनेछन्, ‘भाइ धरहरा ढल्यो।’
यति सुनेपछि त सञ्जीव झन् रिंगिए र बेहोस भए। एकैचोटि बेलुकी साढे पाँच, छ बजेतिर वीर अस्पतालको सडकछेउ उनको होस खुल्यो। उनले वरिपरि हेरे, रमिलालाई देखेनन्। सडकमा उनी एक्लै थिए। भुइँचालोको कम्पन जारी थियो। मान्छेहरू यताउति दौडिँदै थिए। कराउँदै थिए।
त्यति बेला उनलाई आफ्नो आँखा खोल्न पनि गाह्रो हुँदै थियो। रगत र धूलो जमेर आँखा टालिएका थिए। वरिपरि अन्धकारले उनी झन् कहालिए। अलि बेरमा होस सम्हाले र मुटुभरि आँट भरेर नजिकै हिँडिरहेका मान्छेलाई आवाज दिए।
‘मैले वरिपरि केही देखिरहेको थिइनँ। तै पनि सडकमा मान्छे हिँडिरहेको अन्दाजकै भरमा मैले पानी मागेँ। कसैले पानी ल्याएर दिनुभयो। मैले त्यो पानीले आँखा भिजाएँ। त्यसपछि बल्ल हल्का देख्न थालेँ। अन्धकारबाट बाहिर निस्केपछि मेरो सास आयो। अनि त मलाई एकदमै जाडो हुन थाल्यो। म लुगलुग कामेँ। नजिकै एक जना दिदी हुनुहुन्थ्यो। मैले उहाँसँग पछ्यौरा मागेँ। उहाँले खोइ के सोच्नुभयो, उठेर जानुभयो। एकदमै जाडो भएपछि म कराउन थालेँ। करिब आधी घन्टापछि अस्पतालका मान्छेहरू आए। मलाई ब्ल्यांकेट ओढाए र अस्पताल लगे,’ सञ्जीवले आफ्नो अनुभव विस्तार लगाए।
‘राति दस–एघार बजेको थियो होला, मलाई उपचार गर्न एउटा कोठाबाट अर्को कोठा लगिँदै थियो। त्यही बेला मैले रमिलालाई झुलुक्क देखेँ। उसलाई उपचार गरेर वार्डमा ल्याइँदै थियो,’ उनले भने।
रमिला र सञ्जीव अस्पतालमै छँदा एक जना अपरिचित व्यक्तिले उनीहरूलाई एउटा तस्बिर देखाउन ल्याएका थिए। धरहराबाट तल खसुञ्जेल उनीहरू सँगसँगै भएको त्यति बेलाको त्यो तस्बिरबाट देखिन्छ।
रमिलाले ती व्यक्तिलाई सम्झँदै भनिन्, ‘पोखराको एक जना दाइले त्यो बेलाको हाम्रो फोटो खिच्नुभएको रहेछ। हामी ट्रमा सेन्टरमा उपचार गराइरहँदा उहाँ त्यो फोटो देखाउन खोजी–खोजी आउनुभएको थियो। मलाई उहाँको नाउँ याद छैन। उहाँले खैरो रङको लामो कोट लगाउनुभएको थियो। फोटो देखाउँदै ‘तिमीहरू यस्तो अवस्थामा थियौ’ भनेर भन्नुभएको थियो। हामी दुवै जना सँगसँगै थियौं। हाम्रो अनुहार धूलोमा लुट्पुटिएको र रगतले रातो न रातो थियो। म भुइँमा खुट्टा पसारेर लडेकी रहेछु। म त्यो फोटो हेरेर निकै रोएकी थिएँ।’
सञ्जीवले त्यो तस्बिर अहिले पनि सम्हालेर राखेका छन्। ‘बेलाबेला हेर्छु,’ उनले भने, ‘फोटो हेर्दा त्यो दिनको घटना झल्झल्ती आँखाअगाडि नाच्न थाल्छ। सबै याद ताजा भएर आउँछ।’
छ वर्षअघि रमिला र सञ्जीवले धरहरा माथिबाट देखिने दृश्य अनुभव गर्नै पाएका थिएनन्। आइतबार नयाँ धरहराको बार्दलीबाट उनीहरूले आनन्द मानेर चारैतिर हेरे। स्वयम्भूदेखि हनुमानढोका दरबार, टुँडिखेलदेखि विमानस्थल र सहरको झुरूप्प बस्तीदेखि वरिपरि लमतन्न डाँडाकाँडा देखेर दुवै निकै खुसी भए।
‘आज बल्ल धरहराको मजा लिन पाएँ। मलाई त यो धरहरा आफ्नै साथीजस्तो लाग्छ,’ रमिलाले भनिन्, ‘त्यति बेला ठाउँ–ठाउँमा सानो–सानो नमूना धरहरा बनाएर राखेको थियो नि, त्यो पनि म कत्ति हेरेर बस्थेँ। मलाई एकदमै खुसी लाग्थ्यो। यहीँबाट खसेर नयाँ जीवन पाएकाले मलाई यसको नमूना देख्दा पनि एकदमै माया लागेर आउँथ्यो।’
उनले अगाडि भनिन्, ‘नयाँ धरहरा बनेको देख्दा म एकदमै उत्साहित भएको थिएँ। कहिलेकाहीँ बाटोबाटै धरहरा बन्दै गरेको हेरेर बस्थेँ। हिजो राति त लाइट बलेर झिलिमिली भएको देखेँ। त्यो देखेर कति खुसी भएँ कति, म भन्नै सक्दिनँ।’
‘धरहरा त मेरो मुटु नै हो। माया लाग्छ धेरै। खोइ कुन्नि किन लाग्छ, तर धेरै माया लाग्छ। सोचेर बसेँ भने पनि रून मन लाग्छ,’ रमिला निकै भावुक सुनिइन्।
यस्तै भावुकता सञ्जीवको आँखामा पनि झल्किएको थियो।
‘निकै रमाइलो लाग्यो। पहिले अनुभव गर्न नपाएको दृश्य मज्जाले देखियो,’ उनले भने, ‘यहाँबाट त काठमाडौं साह्रै राम्रो, साह्रै फराकिलो, साँच्चै नै सुन्दर देखिँदो रहेछ।’
उनले यो पनि भने, ‘हामी जुन धरहराबाट खस्यौं, त्यसको ठुटो अवशेष जस्ताको तस्तै राखिएको रहेछ। त्यसलाई भुइँचालोको सम्झनामा सिसाले छोपेर संरक्षण गर्ने योजना रहेछ। त्यो निकै राम्रो कुरा हो। धरहरासँग जिन्दगीकै महत्वपूर्ण सम्झना गाँसिएको हामीजस्तो मान्छेका लागि यसले पुराना दिन सम्झाउनेछ। आफू मरेर बाँचेको त्यो क्षण सम्झँदा भाग्यमानी रहेछु भन्ने लाग्छ। गौरवको अनुभव हुन्छ।’
रमिला र सञ्जीव दुवै रामेछापका हुन्। भुइँचालो आउँदा रमिला १६ वर्षकी थिइन्, अहिले २२ लागिन्। सञ्जीव २५ वर्ष पुगे। यसबीच उनीहरूको जिन्दगी निकै अगाडि बढिसकेको छ। त्यति बेला रमिला नौ कक्षा पढ्दै थिइन्। घाइते भएपछि केही समय पढाइ रोकियो। अहिले पढाइलाई निरन्तरता दिएकी छन्। कालिमाटीको सिएमसी कलेजबाट भर्खरै १२ कक्षा पास गरिन्। अब समाजशास्त्र विषय लिएर स्नातक पढ्ने तयारीमा छिन्।
सञ्जीव भने पाटन, कृष्ण गल्लीको एउटा रेस्टुरेन्टमा काम गर्थे। उनी पेसाले ‘सेफ’ हुन्। भारतीय र चिनियाँ परिकार पकाउनु उनको खुबी हो। अहिले उनी चक्रपथको रेस्टुरेन्टमा काम गर्छन्। अब अमेरिकन, इटालियन, कोरियन लगायत विभिन्न देशका परिकार पकाउन तालिम लिने सुरमा छन्।
‘पकाउनु मेरो सोख हो, म यही क्षेत्रमा राम्रो काम गरेर अगाडि बढ्न चाहन्छु,’ उनले भने।
रमिलाको सपना भने पनि कामना भने पनि यत्ति छ, जिन्दगी राम्रोसँग बितोस्। उनी जिन्दगीले जसरी जता लैजान्छ, खुसीसाथ त्यतै डोरिन चाहन्छिन्। भन्छिन्, ‘त्यति ठूलो सपना बोकेर हिँड्ने मान्छे होइन म। ठूलो सपना देख्ने हैसियत भएको मान्छे पनि होइन। जिन्दगी राम्रोसित चलोस् भन्ने मात्र चाहन्छु। त्यति भए मलाई पुग्छ।’
जिन्दगीका यी सपनासँगै भुइँचालोले दिएको निशान उनीहरूले आफूसँगै बोकेर हिँडेका छन्।
रमिलाको निधारको दाहिनेपट्टि लामो खत छ। भाँच्चिएको देब्रे खुट्टामा जोडिएको स्टिलको पाता तीनचोटिको शल्यक्रियापछि गएको वर्ष झिकिन्, तर बेलाबेला पीडा दिइरहन्छ। डाक्टरले धेरै लामो नहिँड्नू र उकालो–ओरालो धेरै नगर्नू भनेका छन्।
‘यही धरहरा पनि लिफ्ट नभइदिएको भए चढ्न सक्थिनँ होला,’ उनले भनिन्।
सञ्जीवको भने देब्रे हात भाँच्चिएको छ। त्यसमा राखिएको पाता अहिलेसम्म भित्रै छ। समस्या नदिए पाता निकाल्नुपर्दैन भनेर डाक्टरले भनेका छन्। सञ्जीवलाई भने अचेल भाँच्चिएको हात बेलाबेला चहराउन थालेको छ।
सम्झना पनि घाउजस्तै हो। जसरी घाउ बेलाबेला बल्झिन्छ, पुरानो सम्झनाले बेलाबेला चहराइरहन्छ।
रमिला र सञ्जीवलाई पनि भुइँचालोको सम्झनाले घरिघरि मन बिथोल्न आइरहन्छ।
जुन दिन भुइँचालोको त्रासदीपूर्ण सपनाले रातमा ऐँठन पार्न छाड्ला, त्यही दिनबाट उनीहरूको पुराना सम्झनाको घाउ बल्झिन बन्द होला। सायद!
यो पनि पढ्नुहोस्: