भूकम्पबाट क्षतिग्रस्त भएपछि पुनर्निर्माण गरिएको धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।
शनिबार सुन्धारास्थित धरहरा परिसरमा एक समारोहबीच पुनर्निर्मित धरहराको प्रवेशद्धारमा राखिएको शिलालेखको प्रधानमन्त्रीले अनावरण गरी ऐतिहासिक धरहराको उद्घाटन गरेका हुन्। त्यसपछि प्रधानमन्त्रीले लिफ्टबाट धरहराको २० औ तलामा पुगेर पुष्पपृष्टि गरे।
२०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएको धरहरा पुनर्निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ फागुन ४ गते ‘मेरो धरहरा मै बनाउँछु’ अभियानको घोषणा गरेका थिए।
२०७५ साल पुस ५ गते प्रधानमन्त्री ओलीबाट नै सिलन्याश गरिएको पुनर्निर्मित धरहराको आज प्रधानमन्त्री ओलीबाटै उद्घाटन भएको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा पुनर्निर्मित धरहराका लागि ३ अर्ब ४८ करोड रुपैयाँमा ठेक्का दिइएको थियो । धरहराको २२ औै तलामा पुरानो धरहराबाट निकालिएको पुरानो शिवलिंङ्ग राखिएको छ ।
९० सालको विनाशकारी भूकम्पले क्षति पुराएपछि ११ तले धरहरा ९ तलामा सीमिति भएको थियो । त्यसपछि ९ तलामा नै सीमित राखेर पुनर्निर्माण गरिएको थियो । तर अहिले भने बाहिरबाट देखिँदा ११ तले रहेपनि भित्र २२ तला रहेको छ । त्यसमा २ वटा लिफ्ट राखिएको छ ।
जमिन मुनि २ तला बनाईएको छ । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहराको वरपर विश्राम स्थलसहितको बगैचाको हुनेछ भने संक्षित ऐतिहासिक सुन्धारामा २४ सै घण्टा पानी आउने व्यवस्था मिलाइएको छ । त्यसैगरी ४ सय गाडी र ७ सय मोटरसाइकल पार्किङको पनि व्यवस्था छ । धरहराको पुनर्निर्माणमा मैलिकताको सम्बर्द्धन गर्दै आधुनिकताको प्रचुर प्रयोग गरिएको छ ।
हेर्नुहोस् तस्बिरहरू
























