प्रधानमन्त्री केपी शर्मा ओलीले तयार पारेर पठाएका राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति चितवनको माडीस्थित अयोध्यापुरीमा निर्माण गरिएको मन्दिरमा स्थापना गरिएको छ।
बागमती प्रदेश सरकारको लगानीमा बनेको अस्थायी मन्दिरमा बुधबार रामनवमीको अवसर पारेर मूर्ति स्थापना गरिएको हो।
बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईं, मुख्यमन्त्री डोरमणि पौडेल, पर्यटन मन्त्री भानुभक्त ढकाल, प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश अहिराज तथा हिन्दू धर्मगुरूहरू, हजारौं व्यक्तिहरूको उपस्थितिमा मूर्ति स्थापना गरिएको थियो।
प्रधानमन्त्री ओलीले नौ महिनाअघि भानु जयन्तीमा आयोजित कार्यक्रममा बोल्दै भगवान रामको जन्म नेपालमा भएको दाबी गरेका थिए। लगत्तै उनले माडीको आयोध्यापुरी रामको जन्मभूमि रहेको भन्दै यहाँ अयोध्याधाम निर्माण गर्न निर्देशन दिएका थिए।
अयोध्याधाममा बन्ने भव्य मन्दिरको डिपिआर तयार पार्न लगाउँदै उनले राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति आफ्नै खर्चमा बनाउन लगाएका थिए। केही हप्ता बालुवाटार परिसरमै रहेको मूर्ति मंगलबार पूजा, अर्चना गरी उनले रथ यात्रासहित चितवन पठाएका थिए।
मंगलबार साँझ तनहुँको देवघाटधाममा पुर्याइएका मूर्तिलाई बुधबार बिहान तामझामका साथ माडी पुर्याइएको हो।
पत्थरमा कुँदिएका मूर्तिलाई क्रेनले उचालेर मन्दिरभित्र राखिएको थियो। हनुमानको मूर्तिलाई भने मन्दिरको बाहिर राखिएको छ।
मूर्तिलाई क्रेनले उचालेर स्थापना गर्न लाग्दा उपस्थिति भीडले पुष्प गुच्छाले स्वागत गरेका थिए।
मूर्ति स्थापनाका लागि आयोजित औपचारिक समारोहमा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले माडीलाई धार्मिक पर्यटनको स्थल बनाएर विश्वमाझ चिनाउने अवसर आएको बताए।
अयोध्याधाम निर्माण भएपछि भारतबाट पनि पर्यटकहरू आउने दाबी गरे।
उनले अयोध्याधाममार्फत् माडीको विकास हुने बताउँदै उनले प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए।
पर्यटन मन्त्री ढकालले रामको जन्मभूमि नेपालमै रहेको विषयलाई सरकारले पुष्टि गर्ने दाबी गरे।
रामको जन्मभूमिको विषय भारतमासमेत विवादित रहेको भन्दै उनले भने, ‘सरकारले यसको तथ्य पत्ता लगाउँछ। नेपालमै रामको जन्मभूमि रहेको तथ्य प्रमाणित हुन्छ।’