झापामा कोरोनाको दोस्रो लहर बढ्न थालेको छ। सोमबार एकै दिन जिल्लामा १९ जना संक्रमित थपिएका छन्।
मेचीनगर र विर्तामोड संक्रमणको उच्च जोखिममा परेका छन्।
जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार सोमबार थपिएका सबै संक्रमित एन्टीजेन विधिबाट कोरोना पोजेटिभ देखिएका हुन्।
जसमा सबैभन्दा बढी विर्तामोडमा चार महिला र चार पुरुष गरी आठ जनामा संक्रमण पुष्टि भएको छ।
भारतबाट आएका एक जनासमेत गरी मेचीनगरमा दुई जनामा संक्रमण पुष्टि भएको छ।
दमकमा दुई जना, भद्रपुरमा तीन जना, कनकाईमा तीन जना र झापा गाउँपालिकामा तीन जनामा संक्रमण पुष्टि भएको छ।
चौलागाईंले संक्रमणको लहर बढ्दै गएको हुँदा सर्वसाधारणले सतर्कता अपनाउनु पर्ने सुझाव दिए। घरबाहिर हिँड्दा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनु पर्ने र भीडभाड गर्न नहुने नियम पालना गर्न उनको सुझाव छ।
झापामा हालसम्ममा ४६७८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ४५०७ जना निको भएर डिस्चार्ज भइसकेका छन्। जिल्लामा अहिलेसम्ममा १२९ जनाको मृत्यु भइसकेको र ६२ जना आइसोलेसनमै रहेका छन्।
पछिल्लो समय कोरोना भित्रिने डरले सरकारले सीमा क्षेत्रमा सतर्कता बढाएको छ। काँकडभिट्टा नाकामा होल्डिङ सेन्टर स्थापना गरिएको छ भने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले भारतबाट आउनेहरूको विशेष चेकजाँच र निगरानी गरिरहेका छन्।
काँकडभिट्टा नाकामा कोरोनाको दोस्रो लहर सुरू भएयता १८५ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएको छ।
जसमध्ये ११ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। आइतबार एकैदिन नाकामा आठ जनामा कोरोना पोजेटिभ भेटिएका थिए। तीमध्ये दुई जना मेचीनगरकै थिए। मेचीनगर स्वास्थ्य कार्यालयले नाकामा कोरोना जाँचका लागि सात जना स्वास्थ्यकर्मी खटिएको जनाएको छ।