दुई साताअघि काभ्रेको धुलिखेल नगरपालिका-४ स्थित २८ किलोमा एक कुकुरको हत्या भयो। दुई जना पुरुषले बिजुलीको पोलमा बाँधेर एउटा कुकुरलाई फलामको रड र कोदालोले हिर्काएर मारे।
स्थानीय एक जना बालकलाई टोकेको आरोपमा उनीहरूले सडक कुकुरलाई क्रुरतापूर्वक मारेको भिडिओ नजिकैको होस्टलमा बस्ने एक विद्यार्थीले मोबाइलमा खिचेका रहेछन्।
उनले त्यो भिडिओ सामाजिक सञ्जालमा राखे। इन्स्टाग्राममा पोष्ट भएको भिडिओ केहीबेरमै भाइरल भयो। कुकुरमाथि मान्छेले देखाएको निर्ममताले धेरैको मन छोयो।
पाटनकी जनावर प्रेमी सिर्जना ठकुरीले पनि फेसबुकमा उक्त भिडिओ देखिन्। भिडिओ हेर्नेबित्तिकै उनले आफूलाई थाम्न सकिनन्। अरू पशु उद्धारकर्मीलाई लिएर उनी धुलिखेल पुगिन्।
धुलिखेल पुगेका पशु उद्धारकर्मीले कुकुरलाई मार्नेको घर खोजे। स्थानीयसँग उनीहरूको भनाभन भयो।
प्रहरीले उनीहरूले एक जना व्यक्तिको घरमा ढुंगामुढा गरेको बताएको छ। स्थिति असामान्य भएपछि प्रहरीले हस्तक्षेप गर्यो, उद्धारकर्मीलाई नियन्त्रणमा थियो।
निर्मम तरिकाले मारिएको कुकुरको नाम 'खैरे' थियो। गत वर्षको लकडाउनका बेला मालिक गुमाएपछि खैर घरबाट सडकमा पुगेको थियो। वरिपरिका स्थानीयले दिएको खानाले ऊ बाँचेको थियो। केही स्थानीयका अनुसार खैरे ज्ञानी स्वभावको थियो, कसैलाई टोकेको पनि थिएन।
‘खैरेले बालकलाई टोकेको भनिएको छ, तर हामीले हेर्दा बच्चालाई सानो खरोंचमात्र लागेको देखिन्छ,’ सिर्जनाले सेतोपाटीसँग भनिन्, ‘बच्चालाई टोकेको निहुँमा दुई छिमेकीको दुश्मनीका कारण कुकुरलाई मारिएको रहेछ। त्यो टोलका दुई छिमेकीबीच पहिलादेखि नै राम्रो सम्बन्ध थिएन। बीचमा एउटा टोलको कुकुरले अर्को टोलको बालकलाई टोकेको भएर कुकुरलाई मारेको भन्ने सुनेका हौँ।’
कुकुरलाई बालकको परिवारकै सदस्यले नभई मार्नको लागि अर्को टोलबाट कसैले नचिन्ने दुई व्यक्तिलाई बोलाएर मार्न लगाइएको सिर्जनाको भनाइ छ।
यो घटनाबारे प्रहरीले गम्भीर रूपमा छानबिन नगरेको पशु उद्धारकर्मीहरूको गुनासो छ।
‘हामीले प्रहरीलाई उजुरी पनि दिइसकेका थियौं तर कसैमाथि अनुसन्धान भएन,’ सिर्जनाले भनिन्, ‘त्यहाँका स्थानीयलाई जाबो एउटा भुस्याहा कुकुर मारेको भन्ने भएको छ। निमुखा जनावरलाई मानिसले अमानवीय तरिकाले सार्वजनिक स्थलमा नै मारिरहेका छन् तर प्रहरीले तिनलाई कारबाही गर्दैन। हामी उजुरी दिन गयौँ भने मारेको प्रमाण खोज्छन् र छानबिन पनि गर्दैनन्।'
काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुपेन्द्रबहादुर खत्री भने यो घटनामा दुइटा पाटा रहेको बताउँछन्।
'एक त सार्वजनिक स्थानमा कुकुरलाई निर्मततापूर्वक मारिएको छ। यो दण्डनीय हो,’ एसपी खत्रीले भने,‘अर्कातिर पशु अधिकारकर्मी आएर आरोपितको घरमा ढुंगामुढा र तोडफोड गरेका छन्। हामी दुबै कुराको अनुसन्धान गरिरहेका छौं।’
खत्रीका अनुसार कानुनी रूपमा सार्वजनिक स्थलमा पशु चौपायालाई मार्न पाइँदैन। यस्तो मुद्दामा एक महिना कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुन्छ।
‘कानुनी रूपमा कुनै पनि प्राणीलाई मार्ने अधिकार छैन। यस्तो घटना भए सुरूमा प्रहरीलाई उजुरी गर्ने हो, अर्काको घरमा ढुंगा हान्न जाने होइन,’ एसपी खत्रीले भने, ‘कुकुर मार्नेले त गल्ती गरे, अधिकारकर्मीबाट पनि गल्ती भएको छ। हामी नियमअनुसार कारबाही अगाडि बढाउने छौं।’
प्रहरीको निर्णयमा आफूहरूलाई आपत्ति नरहेको सिर्जना बताउँछिन्।
‘हामी वर्षको एकदिन कुकुरलाई पूजा गर्छौं। त्यही कुकुरलाई निर्दयी रूपमा मार्छौं। हाम्रो मानवता यसरी नै हराउने हो भने पछि मान्छेलाई पनि खुलेआम मार्न पछि हट्दैनन्,’ उनले भनिन्,‘अब प्रहरीले उल्टै हामीलाई कारबाही गर्ने भनेको छ। निर्दोष प्राणी मारेको विरोधमा आवाज उठाउँदा जेल जानु पर्छ भने हामीलाई त्यसमा कुनै आपत्ति छैन।’