झापा शिवसताक्षी नगरपालिका वडा नम्बर १० दोमुखाका ४७ वर्षीय रामकुमार थेवेको व्यस्तता सूर्य उदाउँदादेखि अस्ताउँदा पनि सकिएको हुँदैन।
रातको समयमा बिजुली बालेर पनि उनी आफ्नो दिमागले अह्राएको वस्तुको आकृति दिइरहेका हुन्छन्। त्यसैको आम्दानीले परिवारको गुजारा र छोराछोरीको पढाइ खर्च जुटाइरहेका छन्।
खोलानालाले बगाएर ल्याएका र जंगलमा कुहिन लागेका काठका जरालाई विभिन्न जीवजन्तुको आकृति दिन्छन्, बेच्छन्।
यसबाट परिवारको गुजारा मात्र चलेको छैन, छोराछोरी पढाउन सकेको उनी बताउँछन्।
उनी दुई वर्षयता खोलाले बगाएर ल्याएका, जंगलमा सडेर गइरहेका काठ, बाँसका जरालगायतका वस्तु भेला पार्छन्। तिनलाई हातको कलाले विभिन्न वस्तुको आकृति दिन्छन्।
यसरी बनाइने जीव-जनवारका आकृति बेच्नका लागि बजारसम्म पुग्न नपरेको उनी बताउँछन्।
‘धेरैजसो घरमै बेच्छु,’ थेवे भन्छन्।
थेवेले जंगलबाट सुकेका बिरुवाको जरा, बाँस ल्याएर विभिन्न आकृति दिएर तोङ्वा, खरायो, जरायो, बियर पिउने गिलास, ड्रेसिङ टेवल, घोडाका आकृतिलगायत वस्तु बनाउँदै आएका छन्।
यस्तै, ठेकी, ओख्ली, घैंटो पनि बनाउँछन्।
‘यो सिप मलाई कसैले सिकाएको होइन, मलाई मेरै दिमागले सिकाएको हो,’ उनले भने।
खोलानाला र जंगलबाट जस्तोसुकै काठको जरा ल्याउँदा उनी कुनै न कुनै जीवको आकृति सम्झन्छन्।
‘ल्याउनेवित्तिकै यसलाई बनाउन थाल्नु हुँदैन। सात दिनसम्म अध्ययन गर्नुपर्छ,’ उनी भन्छन्, ‘कुन जीवको आकृति बनाउन सकिन्छ, अनि मात्र कुँद्न थाल्नुपर्छ। काठ वा जराको आकार अनुसारको जीवजन्तुको आकृति सानो वा ठूलो बनाउन सकिन्छ। साइज अनुसार कुँदेर बनाउन समय लाग्ने हो।’
थेवे पेशाले डकर्मी हुन्। उनी ढुङ्गा, गिटी, बालुवा, सिमेन्ट, इँटाको काम छोडेर हस्तकलातिर लागेका हुन्।
‘पैसा त डकर्मी काम गर्दा धेरै हुन्छ। तर, जोखिम धेरै हुन्छ,’ उनले भने, ‘रोग लागिहालो भने डकर्मी बनेर कमाएको पैसाले उपचार गर्न पनि पुग्दैन। ज्यान त्यसै खेर जान्छ। बरु थोरै कमाई होस्, ज्यानको सुरक्षा धेरै होस्।’
घरमै बसेर गरेको मिहेनतले मासिक ३० हजार रुपैयाँसम्म कमाई हुने गरेको थेवेले बताए।
उनले भने, ‘बिनालगानी, मेहनत र समय दिएपछि घरमै बसेर परिवारको जीविका चल्ने गरेको यो काम गर्न थालेपछि थाहा पाएँ।’
थेवेको परिवार अतिविपन्न वर्गको परिवार हो। मोरङको पथरीबाट दोमुखा आएको दुई वर्ष भयो।
विपन्नताकै कारण उनले ९ वर्षअगाडि श्रीमती रोशनी थेवेलाई वैदेशिक रोजगारका लागि कुवेत पठाए।
‘गएको पाँच महिनासम्म त म सँग कुराकानी भइरहेको थियो। त्यसपछि अत्तोपत्तो छैन,’ उनले भने।
पहिलो छोरा साजन १५ वर्ष पुगे। छोरी मुस्कान १३ वर्ष पुगेकी छन्।
दाजु-बहिनी स्थानीय बालनिकुञ्ज माध्यमिक विद्यालयमा पढ्दैछन्। दुबै कक्षा ९ मा अध्ययनरत् छन्। आफ्नो पेशाबाट उनीहरूको पढाइ खर्च धानिरहेको थेवे बताउँछन्।
कोरोना महामारीका कारण गत साल लकडाउन भएपछि उनको व्यवसाय पनि चौपट्ट भएको थियो।
खेतीपाती नभएका कारण उनको घरमा खाद्यान्न भण्डारण गरिएको थिएन। त्यही सिपबाट बनाएका वस्तु बेचेको पैसाले लकडाउनभर खाद्यान्न किन्ने पैसा जुटेको थेवे बताउँछन्।
बजारमा प्लाष्टिकजन्य वस्तुको माग घट्न थालेपछि काठ, दाउरा, बाँस र काठका जराबाट निर्माण भएका सामानको माग र मूल्य बढेको बताउँछन् थेवे।
दोमुखामा हस्तकलाबाट आम्दानीसँगै उनले पहिचान पनि बनाएका छन्। आफूले बनाएका हस्तकलाका सामान विभिन्न कार्यालयमा सजावटका लागि राखिँदा उनी दंग पर्छन्।
हस्तकलाका सामान बनाउनका लागि आवश्यक काठ, दाउरा, सुकेका जराहरू, बाँसको जरा, रुखको डाँठ गैडे सामुदायिक वन र कनकाई नदीको बगरबाट खोजेर ल्याउने गर्छन्। त्यसबाट उनले चरा, सिंह, जरायो सर्पलगायतका आकृति बनाउने गर्छन्।
‘आफ्नो हातमा भएको सिप नै यही हस्तकलाका सामान बनाउने हो,’ उनले भने, ‘पहिले मानिसले बुझ्दैनथे, अहिले सबैको रोजाइमा पर्छ।’
यसरी बनाएका सामान कसै-कसैले उपहार दिनका लागि पनि अर्डर दिने गरेको उनले बताए।
उनका छिमेकी रामबहादुर योङया (लिम्बू) भन्छन्, ‘छोटो समयमा धेरै आम्दानी गर्न सकिने व्यावसायिक क्षेत्र भएकाले पछिल्लो समय यसको माग बढेको छ।’
सरकारले यसमा संलग्नहरूलाई आर्थिक, सिपसम्बन्धी ज्ञान र बजारको लागि सहयोग गर्ने हो भने नेपाली हस्तकलाको भविष्य राम्रो देखिएको योङया बताउँछन्।