नागरिकता प्रमाणपत्रमा उल्लेख भएको उमेरअनुसार भाइभन्दा ९ वर्ष कान्छो देखिएका सिङराम चेपाङले अन्ततः १९९५ सालमा जन्मिएको नागरिकता प्राप्त गरेका छन्।
सेतोपाटीमा सिङरामको विषयमा समाचार प्रकाशन भएपछि चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले चासो देखाएका थिए।
‘पुरानो फाइल पल्टाएर हेर्दा उहाँको जन्म मिति १९९५ नै रहेको भेटियो,’ उनले भने, ‘कर्मचारीको त्रुटिका कारण नागरिकतामा उमेर फरक लेखिएको हुनसक्छ।’
राप्ती नगरपालिकाको वडा नम्बर १३ स्थित कान्दाका सिङराम चेपाङ १९९५ सालमा जन्मिएका थिए। उक्त सालको जन्मले सिंगरामको उमेर अहिले ८२ वर्ष पुग्यो। तर, उनले पहिले प्राप्त नागरिकताका अनुसार भने उमेर अहिले ६२ मात्रै पुग्थ्यो।
उनका भाइ लालसिंह ७१ वर्षका भइसके। पुरानो नागरिकताअनुसार भाइ लालसिंहको भन्दा दाइ सिङरामको उमेर ९ वर्ष कम देखिएको थियो।
नागरिकता बनाउने टोली गाउँ-गाउँ जाँदा २०४६ सालमा यी दाजुभाइले पनि नागरिकता बनाएका थिए। त्यतिखेर गाउँतिर जन्ममितिको ठाउँमा उमेर लेख्ने चलन थियो। त्यतिखेर ५१ वर्ष लेख्नुपर्नेमा सिङरामको नागरिकतामा ३१ वर्ष लेखियो।
उमेर छँदा नागरिकतामा कम उमेर हुँदा पनि खुसी रहेका सिङरामलाई बुढेसकालमा भने आपत पर्यो। गाउँका आफू सरहकाले वृद्धभत्ता बुझ्न थालेको १२ वर्ष हुँदा पनि उनले पाएका थिएनन्। वृद्धभत्ता पाउने उमेर पर्खेर बसिरहेका उनले ८२ वर्ष पुगेको प्रमाण बल्ल हात पारेका हुन्।
२०४६ सालको जेठ ८ गते नविनकुमार श्रेष्ठ नामका कर्मचारीले गाउँमै पुगेर सिङरामको नागरिकता जारी गरेका थिए। नागरिकतामा उल्लेख गरिएको उमेर र जिल्ला प्रशासन कार्यालयमा रहेको अभिलेखमा रहेको उमेर फरक देखिएपछि अभिलेखमा रहेको उमेरलाई कायम गर्दै नागरिकताको प्रतिलिपि प्रदान गरिएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत दिवाकर पौडलले सिङरामको जन्म मिति १९९५ साल जेठ ८ गते कायम गरिएको नागरिकता प्रमाणपत्रको प्रतिलिपिमा हस्ताक्षर गरेका छन्।
नयाँ नागरिकता प्राप्त गरेपछि सिङरामले धेरै खुसी लागेको बताए। ‘राजाको पालामा बनाएको नागरिकताले काम गरेन,’ उनले भने, ‘यो पाएपछि त अब भत्ता पाइन्छ होला नि।’
उमेर सच्याइदिन सिङरामले सरकारी कर्मचारीदेखि स्थानीय अगुवाहरूलाई धेरै आग्रह गरेका थिए। तर, २०४६ सालमा बनेको नागरिकतामा ३१ वर्ष उमेर पुगेको लेखिएका कारण सरकारी कर्मचारीहरूले पनि उनलाई सहयोग गर्न मानेनन्।
समाचार प्रकाशन भएसँगै प्रजिअ लामिछानेले चासो देखाएपछि स्थानीय कान्देश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले सिङरामलाई जिल्ला प्रशासन कार्यालयसम्म ल्याएका थिए।
उनको गाउँ पुग्न पूर्व-पश्चिम राजमार्गको भण्डाराबाट करिब तीन घण्टा गाडी चढेर करिब दुई घण्टा पैदल यात्रा गर्नुपर्छ। पहाडका ती बस्तीमा सरकारी निकायको उपस्थिति असाध्यै कम हुन्छ। लामो समय हिँड्नुपर्ने बाध्यताका कारण चुनावको समयमा उम्मेदवार समेत पुग्न सक्दैनन्।
धेरै प्रयास गर्दा पनि नागरिकता नसच्चिएपछि सिङरामले वृद्ध अवस्थामा पनि मेहनत गरेर जीवन निर्वाह गरिरहेका थिए।
उनी कान्दास्थित एक खोलाको आडमा पानी घट्ट चलाउने काम गर्छन्। छिमेकीले ल्याएको मकै, कोदो पिसेर आउनले आम्दानीबाट उनले जीवन चलाउन थालेको वर्षौं भयो। खोलाको डिलमा रहेको घट्ट अनि नजिकै रहेको ठूलो ढुंगामुनिको ओडारलाई बारेर बनाएको कोठामै उनको दैनिकी बित्ने गरेको छ।
उनकी श्रीमती सुकमायाको मृत्यु भइसकेको छ। सुकमायाको तीन वर्षसम्म भत्ता बुझेपछि मृत्यु भएको थियो। भाइ लालसिंहले २०४६ सालकै टोलीबाट नागरिकता बनाउँदा जन्ममितिमा ४० वर्ष लेखिएको थियो। त्यसैले, उनी अघिल्लो सालबाटै भत्ता बुझ्न योग्य भइसके।
सरकारले ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई महिनाको तीन हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरेको छ।
चितवनको विकट पहाडी क्षेत्रमा मुख्य बसोबास भएका चेपाङ नेपालको अति सीमान्तकृत वर्गमा पर्ने आदिवासी हुन्। विकटको बसाइ र विपन्न अवस्थाका कारण यस क्षेत्रका धेरैले अझै पनि नागरिकता समेत पाएका छैनन्।
यो पनि हेर्नुहोस्