उनी हरेक रात एक्लै बिताउँछिन्, साढे चार फिट चौडा र आठ फिट लामो टेन्टमा। त्यो पनि जमिनमा राखिएको होइन, उनको सानो कारको छतमा अड्याइएको टेन्ट।
उनको खाना खाने ठाउँ पनि छुट्टै छैन। गाडी पार्किङमा राख्छिन् र नजिकै कतै बसेर कुपुकुपु खान्छिन्।
यो चीनको हेनान राज्यकी ५६ वर्षीया सु मिनको कथा हो। उनका छोरी र दुई नाति छन्। सु मिनले छ महिनामा उनीहरूलाई एकचोटि मात्र भेटेकी छन्। आफ्ना श्रीमानलाई त यो अवधिमा देखेकी पनि छैनन्।
यसका बाबजुद सु मिन दु:खी छैनन्, बरू जीवनकै सबभन्दा खुसीका दिन बिताइरहेको उनको भनाइ छ।
'म कसैकी श्रीमती थिएँ, आमा थिएँ, हजुरआमा थिएँ,' सु मिन भन्छिन्, 'यसपालि म, म मात्र छु। आफैंलाई खोज्न हिँडिरहेकी छु।'
सु मिनले एक आमचिनियाँ महिलाझैं आफ्ना परिवारका सबै आशा पूरा गरिन्। समाजले महिलालाई तोकेका सबै 'कर्तव्य' पालना गरिन्। छ महिनायता भने उनी आफ्नो पहिचान खोज्न तल्लीन छिन्। यो खोजमा उनको खुसीले बादलको चाँदीको घेरा छोइरहेको छ।
आधा वर्ष भयो, सु मिन कार हाँकेर एक्लै रोड ट्रिपमा निस्केको। यसबीच चीनका विभिन्न भाग पुगिसकिन्। इन्टरनेटमा चर्चित पनि भइसकिन्। उनको यात्राबारे जान्न सामाजिक सञ्जालमा उनलाई पछ्याउनेहरू १३ लाख नाघिसके।
उनी यात्रा क्रममा थुप्रै सुन्दर दृश्य कैद गरेर सामाजिक सञ्जालमा राख्छिन्। तर मान्छेले ती दृश्य मात्र मनपराएका होइनन्। उनका पोस्टको सबभन्दा आकर्षक कुरा, उनले दृश्यसँगै अभिव्यक्त गर्ने मनका भावना र अनुभव हुन्।
उनले पाँच दशकभन्दा बढीको जीवनकालमा भोगेका अनुभवले धेरै मान्छेको मन छोएको छ। उनी कहिले हिंसायुक्त बिहेबारे बोल्छिन्, कहिले घरेलु जीवनबाट भएको दिक्दारी पोख्छिन्। आफ्नो पहिचान नभेटेर बन्धक बनेको जीवनबाट आफूले कसरी यो उमेरमा आएर मुक्ति पाएँ भनेर उनी खुलस्त बताउँछिन्।
यिनै अभिव्यक्तिले आज सु मिन चीनमै दुर्लभ देखिने महिलावादको प्रतीक बनेकी छन्।
हाइस्कुल शिक्षा पूरा गरेकी सु मिन कुनै बेला कारखानामा काम गर्थिन्। आज संसारका धेरै मान्छे उनलाई 'फेमिनिस्ट आइकन' मान्छन्।
धेरै पाका महिलाले उनलाई 'मेरो जीवन पनि तिम्रोजस्तै पीडादायी छ' भन्दै सन्देश पठाउँछन्। अनि उनी जहाँ जहाँ पुग्छिन्, त्यहाँ उनका जस्तै भोगाइ भएका महिला फलफूल र घरमा पकाइएका मीठा परिकार लिएर भेट्न पुग्छन्। जवान उमेरका विवाहित महिलालाई भने सु मिन बिहे र बच्चाको पालनपोषणबारे सल्लाह दिन्छिन्।
सु मिनको भिडिओमा एक जनाले लेखेकी छन्, 'मेरी आमा पनि आन्टी सु मिनजस्तै भए हुन्थ्यो भन्ने म कामना गर्छु। जीवनले जे दियो त्यसैमा बन्धक भएर बाँच्नुभन्दा आन्टी सुजस्तै मेरी आमाले पनि आफ्ना लागि जीवन बाँचेको हेर्न चाहन्छु।'
सु मिनले यो यात्रा मिडियामा चर्चा पाउन होइन, मन चंगा पार्न गरेकी थिइन्। तर अकस्मात पाएको चर्चाले चिनियाँ समाजका दुई मुख्य पक्षको टक्कर देखाएको छः
एक, इन्टरनेटको तीव्र विस्तार।
अर्को, परम्परागत पित्तृसत्ताले जरो गाढेको समाजमा लैंगिक समानताबारे बढ्दो सचेतना।
'पहिले त मलाई यो संसारमै दुखी मान्छे म मात्र हुँ जस्तो लाग्थ्यो,' सु मिनले हेनानबाट आठ सय किलोमिटर परको गुइलिन सहर जाने तयारीमा रहेका बेला आफ्नो टेन्टबाटै दिएको अन्तर्वार्तामा भनेकी छन्, 'तर जब मैले इन्टरनेटमा भिडिओ राख्न थालेँ, तब मलाई महशुस भयो, यो संसारमा मजस्ता धेरै मान्छे छन्।'
पोहोर बर्खा सुरू हुनु अघिसम्म सु मिनले विरलै यात्रा गरेकी थिइन्। तर ड्राइभिङमा जाने उनको सपना लामो समयदेखि थियो। तिब्बतमा हुर्केकी सु मिन कहिलेकाहीँ आफ्नो घर फर्किने स्कुल बस छुटाउँथिन्। त्यस्तो बेला उनी हिमाल-पहाडका बीचैबीच झन्डै २० किलोमिटर हिँडेरै घर पुग्थिन्।
त्यसरी हिँडिरहँदा उनको छेउछाउबाट ट्रक गुड्थे। सु मिन ती ट्रकका स्टेयरिङ समातेको कल्पना गर्थिन्। उनलाई स्वतन्त्र, सुरक्षित र सहज अनुभव हुन्थ्यो। कारहरू त्यो बेला विरलै थिए, झन् आफैंले किन्न सक्नु त असम्भव।
१८ वर्षकी हुँदा सु मिन एक मल कारखानामा काम गर्न हेनान आएकी थिइन्। त्यसको पाँच वर्षपछि उनको बिहे भयो। बिहेअघि उनीहरूको भेट एकाध पटक मात्र भएको थियो, जुन त्यो बेलाका लागि सामान्य हो।
बिहे दुई जीवनको मेल हो भने जीवन बिताउन गर्नुपर्ने कामको बाँडफाँट। तर सु मिनको जीवनमा बिहेले खुसीको बहारभन्दा बढी कामको भार थोपरिदियो।
सु मिन एकातिर घरको अथाह कामले थेचारिन्थिन्, अर्कातिर गाली र पिटाइले गल्थिन्। उनका श्रीमान लामो समय घरबाट बेपत्ता हुन्थे। फर्केपछि जब उनी 'कहाँ गएका थियौ' भनेर सोध्थिन्, जवाफमा चड्कन र मुड्की पाउँथिन्।
'एकपटक कुचोले पनि कुटे,' सु मिनले भनिन्।
जीवन नारकीय बनिरहे पनि सु मिनले घर छाड्नेबारे कहिल्यै सोचिनन्। अझै पनि धेरै चिनियाँ समाजमा महिलाले घर छाड्नु राम्रो मानिँदैन। उनी समाजको त्यही सोचको जञ्जालमा अल्झिरहिन्।
सन् २०१७ मा आएर उनले घरका कामबाट मुक्ति पाइन्। उनकी छोरीले जुम्ल्याहा छोरा जन्माएकी थिइन्। सु मिनले आफ्ना नातिको हेरविचार गर्नुपर्ने भयो। यो काममा उनी खुसी नै थिइन्, तर उनलाई आफू घरभित्रै बाँधिएको महशुस हुन्थ्यो।
उमेरसँगै श्रीमानको रिस नियन्त्रण हुन थाले पनि उनी सु मिनसँग विरलै बोल्थे। जब दुईबीच बोलचाल हुन्थ्यो, झगडा नै पर्थ्यो।
सु मिनको मन अशान्त थियो। मनको आँधी थाम्न उनले यात्राहरूबारे उपन्यास पढिन्। कोरियाली रोमान्टिक सिरिअल पनि हेर्थिन्। जे गरे पनि उनलाई सधैं एक्लो महशुस हुन्थ्यो। अझ श्रीमानसँग ठूलो झगडा परेका बेला त उनी बेहोसै हुन्थिन्। उनको स्वास्थ्यमा समस्या देखिन थालेको थियो। डाक्टरले जाँचेपछि थाहा भयो, बिमार उनको तनमा होइन, मनमा छ। उनी डिप्रेसनको शिकार भएकी थिइन्।
सु मिनका निराश दिन जसोतसो कटिरहेका थिए। सन् २०१९ को अन्त्यतिर उनको जीवनमा आशाको किरण पोखियो, जब उनले इन्टरनेटमा एउटा भिडिओ देखिन्। त्यो भिडिओ कुनै व्यक्तिले एक्लै रोडट्रिप गर्दा खिचेका थिए। भिडिओ हेरेपछि सु मिनले आफ्नो बाल्यकालको सपना सम्झिइन्- ड्राइभिङ गर्ने। अनि त्यो सपनाले महशुस गराएको अनुभूति पनि गरिन्, स्वतन्त्र र सुरक्षित।
यसको केही महिनासम्म उनले अनलाइनमा यस्ता रोडट्रिपबारे धेरै भिडिओ खोजीखोजी हेरिन्। ती भिडिओमा भएका मान्छेले दिएका जानकारी टिपेर राख्न थालिन्। उनीहरूले क्याम्प बनाउने ठाउँ रोज्न कुन एप प्रयोग गरे, पैसा जोगाउन के जुक्ति लगाए (सार्वजनिक बाथरूममा नुहाउने, सामानहरू एकमुस्ट किन्ने) जस्ता कुरा ध्यानपूर्वक हेरिन्।
एकदिन उनले सोच बनाइन्- जब नातिहरू शिशु कक्षा भर्ना हुन्छन्, म रोडट्रिपमा निस्किन्छु, एक्लै।
उनीसँग धेरै वर्ष पहिले किनेको सानो कार थियो, जुन उनले आफ्नो बचत र करिब तीन सय डलर मासिक पेन्सन जोडेर किनेकी थिइन्।
त्यही सेतो फक्सवागन कुदाएर उनले यात्रामा निस्किने निधो गरिन्।
उनको यो निर्णयमा परिवारको सहमति भएन। सु मिनले छोरीलाई आफू सुरक्षित रहने आश्वासन दिइन्। श्रीमानलाई त बेवास्तै गरिदिइन्, किनकी उनले सु मिनको कुरा मजाकमा उडाएका थिए।
अनि आयो त्यो दिन, सन् २०२० सेप्टेम्बर २४।
सु मिनले आफ्नो सानो कारको छतमा टेन्ट फिट गरिन्। सानो फ्रिज र राइसकुकर गाडीमा हालिन्। अनि सधैं पीडा दिएको जेनजो सहरस्थित त्यो घरबाट निस्किइन्।
यात्रा सुरू भएदेखि नै उनले आफ्ना भिडिओ सामाजिक सञ्जालमा राख्न थालिन्। सुरूमा ती भिडिओमा खास कसैले चासो देखाएनन्। करिब दुई-तीन सातापछि, अक्टोबरमा त्यसैमध्येको एउटा भिडिओ चिनियाँ टिकटक भनेर चिनिने 'डोयिन' मा भाइरल भयो। उक्त भाइरल भिडिओमा सु मिनले कसरी आफ्ना श्रीमान र घरका कामबाट दबिएको भनेर बताएकी थिइन्।
'मैले किन रोडट्रिप गर्न चाहेँ,' उनी आफैंलाई सोध्छिन्, अनि आफैं जवाफ दिन्छिन्, 'किनकी घरेलु जिन्दगी एकदमै दुःखदायी छ।'
उनको यो भिडिओ लाखौंले हेरे, अनि सामाजिक सञ्जालमा तीव्र रूपमा ह्यास ट्यागहरूसहित सेयर हुन थाल्यो। त्यसमध्ये #रनअवे वाइफ (भागेकी श्रीमती) पनि एक थियो।
सु मिनले देशका विभिन्न कुनामा आफ्नो सानो कार कुदाइरहिन्। ऐतिहासिक क्षेत्रदेखि हिमाली र प्राचीन सहरसम्मको यात्रामा उनले करिब १४ हजार किलोमिटर समेटिन्। सुरक्षित रहन उनी तोकिएका राजमार्गमै हिँड्थिन्।
रात परेपछि कारमाथि बाँधेको टेन्ट खोलेर सुत्थिन्। छतमा टेन्ट राख्दा अलि अग्लो हुँदा सुरक्षित महशुस हुन्थ्यो। अर्को दिन हिँड्नुअघि उनी फेरि टेन्ट कस्थिन्, अनि कारको पछिल्लो सिटमा आफ्नो चिसो तौलिया सुकाउँथिन्। उनका अरू लुगा त्यही सिटमा टाँगिएका हुन्छन्।
उनले पोस्ट गर्ने भिडिओमा सबभन्दा धेरै महशुस गरेको कुरा एउटै छ- सु मिनले भर्खरै फेला पारेको स्वतन्त्रता।
उनी आफूले चाहेको गतिमा गाडी कुदाउन सक्छिन्, चाहेअनुसार झ्याप्प ब्रेक हान्न पाउँछिन्। कार र जीवन दुवैमा उनको नियन्त्रण छ।
सु मिन जहाँ जहाँ रोकिन्छिन्, नयाँ साथी बनाइहाल्छिन्।
गत फ्रेब्रुअरीमा उनी हेनानको पार्किङमा मःम प्याक गर्दै थिइन्। त्यही बेला उनलाई एक पर्यटकले सोधेका थिए- तपाईं कोसँग यात्रा गर्दै हुनुहुन्छ?
उनले बेतोड हाँसेर जवाफ फर्काएकी थिइन्।
'मलाई राता खुर्सानी साह्रै मनपर्छ। तर मेरो परिवारलाई मनपर्दैन। त्यसैले मैले कहिल्यै खान पाइनँ, खाने आश पनि राखिनँ,' उनले अन्तर्वार्तामा भनिन्, 'अहिले म स्वतन्त्र छु, हरेक दिन मलाई मनपर्ने राता खुर्सानी खान सक्छु।'
सु मिनले तय गरेको यो यात्राका कारण धेरैको माया पाएकी छन्, तर कहिलेकाहीँ गाली र धम्की पनि खेप्नुपर्छ। एकपटक एक पुरुषले उनलाई कमेन्टमै धम्क्याएका थिए- तिमी आफ्नो परिवारको निजी मामिला यसरी अनलाइनमा सबैलाई भन्न कसरी सक्छ्यौ? मैले तिमीलाई कहीँ भेटेँ भने कुट्नेछु।
उनले जवाफ दिइन्, 'राम्रो कुरा, मैले तिमीलाई भेटेकी छैन।'
गत महिना सु मिनलाई भेट्न हेनान सहरमा उनकी छोरी आएकी थिइन्। उनले आफ्नी आमा पूरै फेरिएर बिल्कुलै नयाँ मान्छे भएको अनुभव गरिन्।
'पहिले त उहाँ सधैं सबै कुरादेखि डराएजस्तो हुनुहुन्थ्यो, अहिले आफूलाई जे मन लाग्छ, निर्धक्क त्यही गरिरहनुभएको छ,' छोरीले भनिन्।
सु मिनको यो नयाँ जीवनले धेरैलाई प्रेरित गरेको छ, चर्चा पनि दिएको छ। गत मार्चमा नेट-ए-पोर्टर नामको अनलाइन सपिङ वेबसाइटले अन्तर्राष्ट्रिय महिला दिवस पारेर सु मिनलाई विज्ञापनमै खेलाएको थियो।
यत्तिका प्रशंसा र लोकप्रियता पाइसके पनि सु मिनलाई उनको चर्चाबारे सोध्दा लजाउँछिन्। आफू अझै महिलावादीको आइकन हुन योग्य नभएको बताउँदै उनी भन्छिन्, 'मलाई आफ्नो लागि बाँच्नुपर्छ भन्ने बुझ्न धेरै वर्ष लाग्यो। म सधैं यस्तै थिइनँ, भर्खर ब्युँझिँदै छु।'
अहिले मनमौजी भए पनि सु मिनका सबै चाहना फुक्काफाल हुन सक्दैनन्। आफूले चाहेका परिवर्तनलाई सीमाहरूले घेरे पनि उनी एउटा कुरामा पक्का छिन्, यदि श्रीमानले फेरि दुर्व्यवहार गरे उनी घर छाड्नेछिन्।
उनी डिभोर्स भने गर्न चाहन्नन्, किनकी उनलाई थाहा छ, त्यसपछि उनकी छोरीले एक्लै आफ्ना बुवाको हेरचाह गर्नुपर्छ। उनी छोरीमाथि यो जिम्मेवारी थोपर्न चाहँदिनन्।
सु मिन अहिल्यै घर फर्किने योजनामा छैनन्। उनी चीनका पूरा सहर चहार्ने तयारी गर्दैछिन्। यसका लागि उनले अझै केही वर्ष सडकमै बिताउनुपर्नेछ।
उनी भन्छिन्, 'आखिरमा म निराश घरेलु जीवनको दलदलबाट निस्केँ। अब म त्यो जीवन पछाडि नै छाड्न चाहन्छु। मेरा हरेक दुःखका हिमाल पग्लिन समय लाग्छ र म समय दिन चाहन्छु। समयसँगै धेरै कुरा फेरिन्छन्, अनि समयले कहिल्यै नसोचेका नतिजा ल्याउन सक्छन्।'
(न्यूयोर्क टाइम्सका लागि भिभियान वाङ र जोय डोङले लेखेको स्टोरीको भावानुवाद)