शुक्रबार दिउँसो हुँदै गएपछि काठमाडौं उपत्यकावासीले आँखा पोलिएको अनुभव गर्न थाले। धुँवा र धुलो मिसिएको हावाले वायुमण्डल ढपक्कै भएको थियो।
दिउँसो ३ बजेपछि त काठमाडौंको भिजिबिलिटी यति कम भयो कि त्रिभुवन विमानस्थलमा जहाज अवतरण र उडान हुनै नसक्ने भयो।
साढे १२ बजेसम्म काठमाडौं एयरपोर्टमा भिजिबिलिटी ३ हजार ५ सय मिटर थियो तर ३ बज्दा त्यो १ हजार मिटरमा झरिसकेको थियो।
स्विट्जरल्याण्डको आइक्युएआइआरका अनुसार शुक्रबार अपरान्ह काठमाडौंको एयर क्वालिटी इन्डेक्स १९८ थियो। अर्थात् शुक्रबार काठमाडौं संसारका प्रदुषित हावा भएका सहरमध्ये पहिलो स्थानमा पुग्यो। काठमाडौंपछि चीनको राजधानी बेइजिङ (१८८) र भारतीय सहर मुम्बईको एयर क्वालिटी इन्डेक्स १७४ पुगेको थियो।
काठमाडौंको स्टेशनले कम देखाए पनि भक्तपुर, कीर्तिपुर र ललितपुरको भैंसेपाटीमा भने प्रदुषण झन् धेरै देखिएको छ।
वातावरण विभागको तथ्यांकअनुसार शुक्रबार दिउँसो भैंसेपाटीमा इन्डेक्स ४४३, कीर्तिपुरमा २२१ र भक्तपुरमा २२० छ।
एक्युआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्युआई१५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्युआई३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि जानु चाहिँ घातक हो।
काठमाडौंको हावामा शुक्रबार धुलोसँगै धुवा पनि मिसिएको छ।
'वायुमण्डलमा धुलोसँगै धुवा पनि मिसिएको देखिएको छ। धुँवा धेरै मिसिएकाले आँखा पोल्ने समस्या भएको हो,' मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले भने।
काठमाडौंको हावामा यति धेरै धुँवा कहाँबाट आयो भन्ने खुलिनसकेको उनले बताए।
पूर्वसचिव तथा मौसमविद् ऋषिराम शर्माले देशका विभिन्न भागमा भएको आगलागीको असर काठमाडौंमा परेको हुन सक्ने बताए।
गृह मन्त्रालयका अनुसार पछिल्लो साता देशका विभिन्न ११० भागमा आगलागी भएको छ।
'यो सिजन नै आगलागीको हो। अहिले काठमाडौं आसपासका क्षेत्रमा धेरै आगो लागेको छ। त्यही भएर यहाँको हावामा धेरै धुँवाको मिसिएको देखिन्छ,' शर्माले सेतोपाटीसँग भने,'वायुमण्डलको माथिल्लो तह न्यानो भइराखेकाले हावा सतहको वायुमण्डलमै रहेको छ।'
चारैतिर घेरिएको काठमाडौं उपत्यकाको भू-बनोटले इन्भर्सन लेयर बन्न सजिलो हुन्छ।
'सामान्यत: बिहान भएपछि सतहको हावा तात्दै जाने र माथि चिसो हुने हुन्छ। तर कहिलेकाहीँ इन्भर्सन लेयर बनेर माथिको हावा न्यानै रहेपछि तलबाट हावा माथि जान सक्दैन,' शर्माले भने,'आज पनि त्यस्तै भएको हो।'
कचौंरा आकारजस्तो उपत्यका भएकाले पनि काठमाडौंमा यस्तो बेला हावा बाहिर जान नसक्ने शर्माले बताए।
'वायुमण्डलको माथिल्लो तहको हावाले काठमाडौंको सतहको हावालाई लैजान सक्दैन। त्यसैले पनि यो यहीँ घुमिरहन्छ,’ उनले भने।
रिलिज हुन नपाएको काठमाडौंको हावामा गाडी मोटर, इँटाभट्टाको धुँवा र धुलो मिसिएकाले प्रदूषण ह्वात्तै बढेको उनले बताए।
पानी परे वा बेस्सरी हावा चलेमा काठमाडौंको प्रदुषण कम हुने उनले बताए।
विज्ञहरूले काठमाडौंको हावा घातक भएकाले अत्यावश्यक नपरी घरबाहिर ननिस्कन, कम सवारी साधन चलाउन र मास्कको अनिवार्य प्रयोग गर्न सुझाव दिएका छन्।
यसअघि गत पुस २० गते काठमाडौं संसारकै प्रदुषित हावा भएको शहर बनेको थियो।