इलामका दुर्गाप्रसाद तिम्सिनाले अनाहकमा ४० वर्ष भारतीय जेलमा बस्नुपर्यो।
हत्या आरोपमा दार्जिलिङबाट पक्राउ परेका उनी भारतीय प्रहरी र जेल प्रशासनको लापरबाहीले यति लामो समय जेल बस्नु परेको हो।
यो बीचमा दुर्गाप्रसादलाई राख्ने जेल फेरिए, जेलर पनि फेरिए। तर ती कसैले सोचेनन्- यो मान्छे अहिलेसम्म किन यहाँ छ? अनि कहिलेसम्म रहिरहन्छ?
उनीहरूका लागि दुर्गाप्रसाद सायद आफूजस्तै खुला आकाशमा रमाउन चाहने मान्छे थिएनन् किनकी उनी पराई भूमिको जेलमा थिए। न उनी राम्ररी बोल्न सक्थे, न परिवार उनको खोजीनीति गर्न नेपाल सरकारलाई भन्न सक्थ्यो।
दुर्गाप्रसादको मुद्दा हेरेका कलकत्ता उच्च अदालतका न्यायाधीशले दुर्गाप्रसादले भोगेको यो घोर अन्यायलाई विश्वको ठूलो प्रजातान्त्रिक मुलुक भारतको आधुनिक न्याय प्रणालीको इतिहासमा एउटा विरल घटना भनेका छन्।
भारतीय प्रशासनले जति नै अन्याय गरे पनि दुर्गाप्रसादको भाग्यमा एक पटक फेरि आमाले पकाएको तातो भात खानु लेखेको रैछ। गत वर्ष उनको भेट कलकत्तास्थित दमदम सेन्ट्रल जेलमा राधेश्याम दाससँग भयो।
दासले दिएको सूचनाका आधारमा अभियन्ताहरूले उनकी आमा पत्ता लगाए र कलकत्ता उच्च अदालतमा मुद्दा लडे।
उनीहरूकै निरन्तर लडाइँले गत शनिबार दिउँसो दुर्गाप्रसादले जेलबाहिरको संसार देखे।
जेलबाट बाहिर निस्कँदा उनी बोलेनन्। ४० वर्षसम्म आफूमाथि भएको अन्यायलाई व्यक्त गर्ने शब्द सायद उनलाई थाहै भएन!
जेलबाट निस्किएपछि दुर्गाप्रसाद ४१ वर्षअघि छुटेको आफ्नो मातृभूमिमा फर्किएका छन्।
कलकत्ताको दमदम जेलदेखि लुम्बाक घरसम्मको उनको यात्रा हेर्नुस् भिडिओमा:
यी पनि हेर्नुहोस्