पाँच वर्षअगाडि दुर्गानाथ दाहाललाई आफ्नो व्यापारभन्दा अरू काम गर्ने फुर्सदै थिएन। उनी चीन, बंगलादेश, भारत, थाइल्यान्डबाट सामान ल्याएर काठमाडौंमा बेच्थे। १३ वर्ष लगातार व्यापार र व्यवसायमा भिजेका उनलाई पैसाको धेरै खाँचो भएन। परिवार राम्रोसँग पालेका थिए, केही पैसा सामाजिक काममा खर्चिन्थे।
२०७२ सालको भुइँचालोले दुर्गानाथको जीवनमा नयाँ मोड ल्याइदियो। त्यो बेला उनी पाँच तले भवनमाथि थिए। भुइँ काम्दै अग्लो घर हल्लिँदा उनले जीवनको कुनै भर देखेनन्।
'जति पैसा कमाए पनि बाहिर पालमा सुत्नु पर्ने रहेछ' मनमा यस्तै खयाल आयो।
त्यही बेला उनले बुवाले भनेका कुरा सम्झिए- आफ्ना लागि मात्र होइन, अरूका लागि पनि बाँच्ने गर्।
सबै दुःखमा सधैं पैसाले साथ नदिने रहेछ भन्ने उनलाई बोध भयो।
अनि दुर्गानाथ मनको सुख खोज्न हिँडे। दिनदुखीलाई सहयोग गर्न थाले। धनसम्पत्तिको मोह छाडेर व्यापार श्रीमती र साथीभाइलाई जिम्मा दिए। आफू सामाजिक अभियन्ताका रूपमा काम गर्न थाले।
त्यहीक्रममा एकपटक उनले एक बेसहारा व्यक्ति भेटे। दृष्टिविहीन ती व्यक्तिले खान र उपचार गर्न पैसा नभएको बताए।
'मैले उनको उपचार गराउन खोजेँ। उपचार क्रममै उनको मृत्यु भयो,' दुर्गानाथले सम्झिए, 'मृतकका परिवारलाई सम्पर्क गरिदिएँ। उल्टै अपजस पाएँ।'
यसपछि उनलाई लागेछ, संस्थागत हिसाबमा काम नगरेकाले अरूले व्यक्तिगत स्वार्थमा कसैको मद्दत गरेको आरोप लगाउने रहेछन्। साथीभाइले पनि संस्थागत रूपमा काम गरे आफूले हिँडेको बाटोमा अरू पनि आउनेछन् भनेर सुझाए।
'व्यवस्थित संस्था खोल्न ठूलो रकम चाहिन्थ्यो। त्योबेला मसँग एक लाख मात्र थियो,' दुर्गानाथले भने, 'बाँसको सानो टहरो बनाउनै सात-आठ लाख खर्च हुने देखियो। संस्था खोल्न नसकुँला भन्ने भयो।'
उनले हार मानेनन्। अरू नौ जनासँग मिलेर २०७४ सालमा सुरू गरे, नवजीवन परोपकार समाज।
'संस्था खोल्नुअघि कतिले भवन बनाउन सामग्री दिने वाचा गरेका थिए। सबै बोलीमै सीमित भयो,' उनी भन्छन्, 'आफूले चिनेका पसलमा उधारोमा सामान मागेँ। दिएनन्।'
चारैतिरबाट निराशा मात्र हात लागेको थियो। त्यही बेला केही अपरिचित व्यक्तिले उनको कामको विश्वास गरेर पैसा दान गरे।
'बल्ल मेरो सपना पूरा हुने आश पलायो,' नवजीवन परोपकारका प्रमुख सञ्चालक दुर्गानाथले भने।
संस्थामातहत उनले बाटामा अलपत्र परेका कयौं वृद्धवृद्धाको उद्धार गरेर पालेका छन्। अहिले करिब २४ जना बुवाआमा र एकजना बच्चा संस्थामै बसिरहेका छन्। दुर्गानाथका अनुसार उनीहरूले लगभग पचास वटा जिल्लाबाट बेसहारा आमाबुबाको उद्धार गरेका छन्। तीमध्ये धेरै उपचार गरेर आफ्नो घर फर्किसके।
अहिले दुर्गानाथ आफू मानवसेवामै समर्पित भएको बताउँछन्। कसैलाई गाह्रो-साह्रो पर्दा धेरैले उनैलाई सम्झिन्छन्।
दुर्गानाथले मान्छेको मात्र होइन, चराचुरूंगी र जनावरको पनि उद्धार गर्छन्। संस्थामा आमाबुवासँगै केही पशुपंक्षी पनि पालेका छन्। १३ वटा खरायो, चार वटा कुकुर, दुई-दुई वटा कुखुरा र परेवा, एउटा-एउटा मयूर, टर्की र सुगासहित खसी र गाई उनीहरूले पालिरहेका छन्। यी कुनै जनावरमाथि हिंसा नगर्ने र आजीवन पाल्ने दुर्गानाथ बताउँछन्।
'यो संसारमा सबै प्राणीको बाँच्न पाउने अधिकार छ। मानवले मात्र एकलौटि हडप्ने होइन,' उनी भन्छन्, 'फेरि आफू बस्ने ठाउँमा चराचुरूंगी र पाल्तु जनावर भए बुढापाकामा मायाको भावना रहिरहन्छ। बाहिरी मान्छे आउँदा पनि यहाँको वातावरण रमाइलो देख्छन्।'
कति मान्छे त चरा र जनावर हेर्नै भए पनि संस्थामा आउने उनले बताए।
'धेरै संख्यामा भने उद्धार गर्न सकेका छैनौं। सडकमा अलपत्र सबै आमाबुवा र आफ्नो प्राणका लागि रोएका जनावर उद्धार गर्न पनि सक्दैनौं,' दुर्गानाथले भने, 'हामीले प्रतिनिधित्व मात्र गर्ने हो। बाहिरी मानिसमा हाम्रो काम देखेर करूणा पलाउन सक्छ। आफ्नो तर्फबाट यस्तै पहल गर्न सक्छन्।'
दुर्गानाथलाई अहिले संस्थाको काममा भ्याइनभ्याइ छ। मानिसहरू विभिन्न जिल्लाबाट फेसबुक र फोनमार्फत् उनलाई सहयोगका लागि बोलाउँछन्। उनी आफ्नो क्षमताअनुसार मद्दत गरिरहेका हुन्छन्।
यो क्रममा एकपटक नेपालमा हराएकी भारतीय नागरिकलाई समेत उद्धार गरेर घर पुर्याएको उनले बताए। उनका अनुसार केही महिनाअघि ललितपुरमा एक महिला अर्धनग्न अवस्थामा फोहोर खाएर बसेकी थिइन्। उनलाई आफ्नो घरपरिवारबारे याद थिएन। उनीहरूले संस्थामा ल्याएर केही समय राखे। उनले पछि आफ्नो घर भारतको पटना भएको बताइन्।
'ती दिदीको कुरा विश्वास गरेर हामी तीन दिन भारत डुल्यौं। उहाँको घर खोज्यौं र भेट्यौं पनि,' दुर्गानाथले भने, 'आफ्नो घरगाउँको सदस्य फर्किएको देखेर पूरै टोलका मान्छेले हामीलाई धन्यवाद दिएका थिए।'
कति आमाबुबा घरबाट हेला पाएर बाटोमा अलपत्र परेका हुन्छन्। कति मानसिक अवस्था राम्रो नभएर घरबाट निस्केका हुन्छन्। उनीहरूमध्ये केहीलाई आफूले संस्थामा ल्याएर सक्दो हेरचाह गर्न पाउँदा मन आनन्द हुने उनी बताउँछन्।
दुर्गानाथका अनुसार संस्थाबाट केही आर्थिक फाइदा छैन। उनलाई यसमा खासै चिन्ता पनि छैन रे। तर यही कुरा सुरूमा उनको परिवारलाई बुझाउन गाह्रो भएको थियो।
'चीनबाट एक ट्रक सामान ल्याउँदाभन्दा कसैको उद्धार गर्दा बढी खुसी लाग्छ,' उनी भन्छन्, 'दुवै क्षेत्रमा एकैचोटि काम गर्न गाह्रो थियो। अनि मैले व्यापार छाडे। समाजसेवाकै बाटो रोजेँ।'
अहिले उनीसँगै व्यापारमा काम गरेका साथी गाडी चढेर हिँड्छन्। उनीहरूलाई देख्दा कहिलेकाहीँ आफू पनि त्यो ठाँउमा पुग्न सकिन्थ्यो भन्ने दुर्गानाथलाई नलाग्ने होइन। तर जब तिनै साथी संस्थासम्म आएर उनको कामको तारिफ गर्छन्, उनलाई आफूले सही बाटो छानेको अनुभूति हुन्छ।
संस्था चलाउन बेलाबखत पैसा अभाव हुन्छ। लकडाउनमा समस्या अलि चर्केको थियो। त्यो बेला दुर्गानाथ र उनको समूहले घर जान नपाएर अलपत्र परेका करिब दुई हजार जनालाई खाना खुवाएका थिए। जसोतसो मिलाइरहेकाले अहिलेसम्म संस्थामा बसेका बुवाआमालाई खान, लगाउन र उपचार गर्न चिन्ता नभएको उनले बताए।
'पैसा मान्छेलाई जति भए पनि पुग्दैन। हामीलाई बुढा आमाबुवाको दुःख बेचेर पैसा कमाउनु छँदै छैन,' उनी भन्छन्, 'कसैले मनले देखेर दान दिन्छन् भने लिन्छौं। तर मागेका छैनौं। राज्यको सहयोग खोजिरह्यो भने सधैं मगन्ते भइन्छ।'
नवजीवन परोपकार समाज अब आत्मनिर्भर हुने उपाय खोजिरहेको पनि उनले बताए। यसका लागि उनीहरूले काम सुरू गरिसकेका छन्। आफैंले रोपेको फूल बेचेर एक लाख ८० हजार कमाइसके। भान्सामा आफ्नै बारीमा फलेको मकैको ढिँडो र तरकारी पाक्छ। भविष्यमा संस्था भित्रकै जग्गामा अर्ग्यानिक खेती गरेर पैसा जुटाउने लक्ष्य छ। यी सबै खेतीपाती संस्थाका कर्मचारी र त्यहीँका आमाबुबा मिलेर गर्ने उनले बताए।
भन्छन्, 'बजारमा हाम्रा आमाबुबाले उत्पादन गरेको तरकारीको माग छ। उहाँहरूले आफ्नो क्षमता र सीप अनुसार सबै काम गर्नुहुन्छ। आफैंले काम गरेपछि उहाँहरूलाई संस्थाप्रति माया बढ्छ, एकआपसमा मनमिलाप पनि हुन्छ।'
संस्थाको आर्थिक अवस्था राम्रो भए भवन ठूलो र केटाकेटीका लागि छुट्टै घर बनाउने योजना पनि बनाएका छन् उनले। यी काम संस्थाले दानमा पाएको जग्गामा हुने उनले जानकारी दिए।
'बुढापाकालाई सानो क्षेत्रमा कोचिएर बस्न गाह्रो हुन्छ। सास फेर्ने ठाउँ हुँदैन। मानसिक तनाव झनै बढ्छ,' दुर्गानाथले भने, 'हामी आमाबुवाले आराम गर्न पाउने ठाउँ बनाउने योजना बनाइरहेका छौं।'
संस्थालाई व्यवस्थित पारेर उनी भने फेरि व्यवसायमा फर्किने सोचिरहेका छन्। अलि पैसा कमाउन सके योजना पूरा हुने र आमाबुवा तथा पशुपंक्षीको राम्रो हेरचाह हुने सपना दुर्गानाथले देखेका छन्।