शनिबार बिहान साढे ११ बजेतिर कलकत्ताको दमदम सेन्ट्रलमा पुग्दा गेटमा अलिअलि भीड थियो। जेलभित्र परेका आफन्तलाई खाना पुर्याउन/भेट्न आएकाहरू झ्यालबाट नाम टिपाइरहेका थिए।
इलामको चुलाचुलीका प्रकाशचन्द्र तिम्सिना पनि आफ्ना दाइलाई भेट्न जेलभित्र जाँदै थिए।
शुक्रबारमात्रै कलकत्ता आइपुगेका उनी यसपालि दाइलाई घर लैजान लागेका थिए। जेलको गेटबाहिर भारतीय मिडिया थिए।
नेपालबाट गएका मिडिया देखेपछि मानिसहरू हेर्न थाले।
एक जनाले सोधे- को छुट्न लागेको हो। बिजेपी कि तृणमूलको नेता?
यति धेरै मिडियावाला आएको देखेपछि उनले ठूलै नेता छुट्न लागेको ठानेछन्।
४० वर्षदेखि अदालतको सुनुवाइबिना जेलमा परेका नेपाली दुर्गाप्रसाद तिम्सिना छुट्दै छन् भनेपछि एक महिलाले भनिन्- ए कैसा न्याय है?
प्रकाशचन्द्र, नेपाली महावाणिज्यदूतावासका अफिस सेक्रेटेरी सतिश थापा, ह्याम रेडियो अपरेटरको संस्था पश्चिम बंगाल रेडियो क्लबका प्रतिनिधि र वकिलहरू जेलभित्र गए।
जेलभित्रका प्रहरी पनि आज खुसी थिए।
उनीहरूले दुर्गाप्रसाद शान्त स्वभावका भएको बताए। जेलभित्र बस्दा दुर्गाप्रसादले सधैं एउटै गीत गाउँथे रे।
रेशम फिरीरी, रेशम फिरीरी उडेर जाऊँ कि डाँडामा भन्ज्याङ, रेशम फिरीरी।
गीतमा उडेर जाने कुरा थियो, दुर्गाप्रसादको जिन्दगी लाऊँलाऊँ, खाऊँखाऊँ भन्ने बेलादेखि नै जेलका पर्खालभित्र खुम्चिएको थियो। तै पनि उनी यो गीत गुनगुनाइरहन्थे।
शनिबार उनी छुट्नुभन्दा अघि जेलका पुलिसहरूले उनलाई फेरि अन्तिम पटक त्यही गीत गाउन लगाए।
‘उसले सधैं यही गीत गाउँछ, यसको अर्थ के हो भनेर सोध्नुभयो,' महावाणिज्यदूतावासका अफिस सेक्रेटरी थापाले भने,'उहाँले आज पनि गीत गाउनुभयो। त्यहाँका सबै प्रहरी भावुक हुनुभयो। एक-दुई जनाको त आँखामा आँसु पनि आयो।'…
त्यसपछि प्रकाशचन्द्रले एउटा पेपरमा हस्ताक्षर गरे। निस्कने बेला प्रहरीले उनलाई अँगालो हाले।
अनि दुर्गाप्रसाद स्वतन्त्र भए। जुन दिनका लागि उनले ४० वर्षसम्म कुर्नु परेको थियो।
बाहिर निस्कँदा दुर्गाप्रसादले पाइजामा लगाएका थिए। गेटबाहिर निस्कँदा रेडियो क्लबका मानिसहरूले उनलाई रजनीगन्धाको माला लगाइदिए, मिस्टी (मिठाई) खुवाए। वातावरण निकै भावुक बन्यो।
भारतीय मिडियाकर्मीले सोधे- आप इतने सालके बाद रिहा हुए है?
उनले त्यसको जवाफ मौनताले दिए। सोचे होलान्, आजसम्म कसैले सोधेनन्। आज यति धेरै मानिस किन आएका होलान्?
उनी केही नबोली महावाणिज्यदूतावासको गाडीमा चढे। गाडीमा प्रकाशचन्द्रले एउटा फोटो देखाए। दुर्गाप्रसादले भने- आमा।
उनकी आमा ८६ वर्षीया धनमाया तिम्सिना अहिले पनि उनको बाटो कुरिरहेकी छन्।
उनी फेरि मौन बने। गाडीमा बस्दा उनले लगाएका चप्पल फुकाले। जति बोलाउन खोज्दा पनि बोलेनन्।
धेरै टाढा पुगेपछि उनले सोधे- हामी दार्जिलिङ जान लागेको हो?
उनलाई यहाँको जेलले बेला बेलामा दार्जिलिङ लैजान्थ्यो। त्यही भएर याद भयो होला।
बाटोमा फेरि अनुरोध गरेपछि उनले फेरि त्यही गीत गाए- रेशम फिरीरी...
त्यसपछि उनी फेरि मौन बने।
केही समयपछि प्रकाशचन्द्रले सोधे- पुलिसले कुट्यो?
उनले खुट्टा देखाए। खुट्टामा इलेक्ट्रिक सक लगाएको दाग देखिन्थ्यो। उनी फेरि चुपचाप लागे।
केही समयपछि उनले फेरि भने- म निर्दोष छु।
दिउँसो दुई बजेतिर हामी अलिपुरस्थित नेपाली महावाणिज्यदूतावासमा पुग्यौं।
गाडीबाट झरेपछि प्रकाशचन्द्रले दुर्गाप्रसादको हात समाते। उनले चप्पल लगाए।
महावाणिज्यदूतावासको भवनभित्र पसेपछि प्रकाशचन्द्रले भने- दाइ यो हाम्रो सरकारी अफिस हो। यहाँ बसौं।अब हामी जेल जानु पर्दैन।
दुर्गाप्रसादले उनको कुरा पत्याए कि पत्याएनन्। तर जवाफ फर्काएनन्।
सोफामा बस्दा पनि उनी टुक्रुक्क परेर बसे। एकोहोरो उँधो मुन्टो लगाइरहे।
'उहाँलाई अहिले पनि जेलमै छु कि जस्तो लागेको होला,' प्रकाशचन्द्रले भने।
प्रकाशचन्द्र आजै साँझ दुर्गाप्रसादलाई बस चढाएर कलकत्ताबाट बागडोरा जाँदैछन्। उनी भोलि नेपाल पुग्नेछन्। भोलि नै आमासँग उनको भेट हुनेछ।
दुर्गाप्रसाद अब उनले गाउने गीतजस्तै स्वतन्त्रताको आकाशमा उड्न सक्ने छन्।
यी पनिः
४० वर्षपछि दुर्गाप्रसादले देखे जेलबाहिरको संसार
यी पाँच भारतीय, जो इलामका दुर्गाप्रसादका लागि लडे
पूरा हुने भयो ४० वर्षदेखि छोराको बाटो हेरिरहेकी आमाको सपना
४० वर्षदेखि छोराको बाटो हेरिरहेकी आमामा पलायो आश