गत फागुन २४ गते विद्यालय बन्द थियो। यसकारण फुर्सदमा रहेकी आठविस नगरपालिका–३ निमायलकी कल्पना भण्डारीले दिनभर घर परिवारलाई काममा सघाइन्। कल्पनाले बेलुका भान्सामा पनि आफैंले काम गर्ने सोचेकी थिइन्।
करिब सवा ५ बजेको थियो। गाउँभन्दा तल पर्ने कर्णाली नदीमा रहेको पुल नजिकै दुई जनाको शव भेटियो भनेर गाउँमा हल्ला चल्यो। केही समय गाउँमा पनि को हुन् भन्ने थाहा भएन।
घटनास्थलमा पुगेको प्रहरीले शव नदीबाट निकाल्न स्थानीयको सहयोग माग्यो। शव निकाल्न सहयोग गरेका मानिसले उनीहरूलाई प्रष्टै चिने। उनीहरू निमायलका कल्पना बडुवाल र सरिता बडुवाल थिए।
लगत्तै गाउँमा खबर पुग्यो। उनीहरू मानसिंह बडुवालका दुई छोरी थिए। कल्पना भण्डारीले पनि यो कुरा करिब ६ बजेतिर थाहा पाइन्। कल्पना बडुवाल कल्पना भण्डारीकी सबभन्दा निकट साथी थिइन्। उनले आफ्नो भान्सामा काम गर्ने योजना छोडिन्।
‘खबर सुनेपछि आफू कहाँ छु भन्ने पनि थाहा नभएजस्तो भयो, विश्वास गर्ने कि नगर्ने जस्तो भयो,’ पर्सिपल्ट उनीहरूको दाहसंस्कार गर्ने ठाउँमा पुगेकी कल्पनाले भनिन्, ‘हामी सबभन्दा धेरै मिल्ने साथी थियौं, उनी नआए कक्षामा आफू एक्लै छु जस्तो लाग्थ्यो। सायद उनलाई पनि त्यस्तै हुन्थ्यो होला।’
कल्पना बडुवाल धेरै नबोल्ने गमिलो स्वभावकी भएकाले होला उनका मिल्ने साथी धेरै थिएनन्। कल्पना भण्डारीबाहेक उनले आफ्नो नजिकका साथी ठान्ने भनेको घर छिमेकका स्कुलेहरूलाई हो।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्दै गरेकी कल्पना, उनकी आमा र अरू तीन भाइबहिनी कर्णाली नदीको किनारमा मृत भेटिएका थिए। हात बाँधिएको अवस्थामा शव फेला पर्नु र आमासहित एकैचोटि नदीमा शव फेला पर्नुले यो दैलेख घटना रहस्यमय बनेको छ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ५ मा पढ्ने मनिता भण्डारी कल्पनाकी बहिनी सरिताकी साथी हुन्। सरिता पनि कक्षा ५ मा पढ्थिन्।
‘अरू भन्दा पनि उनलाई त सँगै खेलेको सम्झिन्छु, प्राय:जसो डोरी खेल्ने बेला उनी मैसँग हुन्थिन्,’ मनिताले भनिन्, ‘अब त सम्झना मात्र रह्यो।’
कक्षा ४ मा पढ्ने भए पनि विकास बडुवाल ललितका साथी थिए। ३ कक्षामा पढ्ने ललित छिमेकी भएकाले पनि उनीहरूको कुरा मिल्थ्यो। मिलनसार स्वभाव भएका ललितलाई विकासले आफ्नो छिमेकी भन्दा पनि विद्यालयको राम्रो साथीको रूपमा चिन्थे।
‘घर त यहीँ नजिकै हो, नाता पनि लाग्छ,’ विकासले भने, ‘आफन्त हो भन्ने लाग्दैनथ्यो, नास्ता खाने समयमा सँगै जान्थ्यौं,’ विकासका अनुसार ललित पढाइमा पनि राम्रै थिए। कक्षामा हुँदाबाहेक प्रायः उनीहरू सँगै हुन्थे।
फागुन अन्तिम साता भएको दैलेख घटनामा मृत्यु भएका कल्पनाका चारै भाइबहिनी नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पढ्थे।
विद्यालयका प्रधानाध्यापक उजिरसिंह सिजापतिका अनुसार १४ वर्षीया कल्पना कक्षा ७, ११ वर्षीया सरिता कक्षा ५ मा पढ्थे। ८ वर्षका ललित बडुवाल कक्षा ३ मा पढ्थे भने कान्छी बहिनी पाँच वर्षकी रजनी १ कक्षामा पढ्थिन्।
प्रधानाध्यापक सिजापतिका अनुसार कल्पनाका चार भाइबहिनीले सुरूदेखि नै छात्रवृत्ति पाइरहेका थिए। उनीहरू नियमित विद्यालय आउँथे।
‘घर नजिकै भएकाले पनि होला कल्पनाका भाइबहिनी नियमित विद्यालय आउने गरेका थिए,’ सिजापतिले भने, ‘कारणवस कुनै दिन स्कुल 'मिस' भयो भने पनि उनीहरू छुटेको पाठ फेरि पढ्न खोज्थे।’
यो पनि:
दैलेख घटना: आइतबार ३ बजे नै स्कुलबाट बिदा मागेर गएकी थिइन् कल्पना, भोलिपल्ट बहिनीसँगै भेटिइन् मृत
प्रधानाध्यापक सिजापतिका अनुसार कल्पनाले २३ गते दिउँसो विद्यालयबाट ३ बजे नै बिदा मागेर घर गएकी थिइन्। काम पर्यो भनेर बिदा मागेकी कल्पनाले, काम के हो भनेर भनिनन्। त्यसको भोलिपल्ट कल्पना बहिनी सरिताको साथमा मृत भेटिएकी थिइन्।
उनीहरू २४ गते बेलुका हात बाँधिएको अवस्थामा कर्णाली नदीको अछामतर्फको किनारामा फेला परेका थिए। त्यसको भोलिपल्ट २५ गते सोही ठाउँमा कल्पनाकी आमा सुकी बडुवाल र उनका भाइ ललित बडुवालको शव भेटिएको थियो।
उनीहरूलाई २६ गते अछाम जिल्ला अस्पतालबाट पोष्टमार्टम गरी अन्तिम संस्कार गरिएको छ।
गाउँमा भएको यो घटनालाई धेरैले सुकी बडुवालले छोराछोरीसहित लिएर नदीमा हाम फालेर आत्महत्या गरेको आशंका गरेका छन्। कतिपयले यो घटनालाई उनका श्रीमान मानसिंह बडुवालको मदिरा सेवन गर्ने बानीसँग जोडेर हेरेका छन्। माइती पक्षले पनि यही दाबी गरेका छन्।
सुकी बडुवालको घरमा अघिल्लो दिनमात्र पनि यही विषयमा झगडा परेको स्थानीयले बताएका छन्।
‘उनको पेटमा बच्चा रहेछ। त्यसलाई छोरा भए राख्ने नत्र फाल्ने भन्ने सल्लाह अनुसार उनले १० हजार रुपैयाँ ल्याएकी रहिछन्,’ एक जना स्थानीयले भने, ‘त्यो पैसाबाट श्रीमानले एक हजार खर्च गरिदिएपछि झगडा परेको रहेछ, यो निहुँ बनेको जस्तो देखिन्छ।’
सुकीका दाइ पर्ने माइती पक्षका नर थापाले भने श्रीमानको हिंसाका कारण यो घटना भएको बताएका छन्।
‘दैनिक रक्सी खाएर झगडा गर्थे भन्ने गाउँलेबाट सुनिरहन्थ्यौं, हामीसँग भेट भएको बेला पनि बहिनीले भन्थिन्,’ उनले भने।
यद्यपि घटनाको बारेमा अनुसन्धान भने जारी छ। जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएकोले रिपोर्ट आइनसकेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए।