वन र वन्यजन्तु अवलोकन गर्न खोज्ने पर्यटकका लागि प्रमुख गन्तव्य हो चितवन।
चितवन राष्ट्रिय निकुञ्ज, यसको मध्यवर्ती क्षेत्र, अन्य सामुदायिक वन, खोला, नदी दुर्लभ प्राणीको मुख्य बासस्थान हुन्।
यी क्षेत्र अवलोकन गर्ने पर्यटकलाई लक्षित गरेर आसपासका क्षेत्रमा पर्यटकीय गतिविधि बढ्दै छन्।
पर्यटक भित्र्याउन गरिएजति कसरत उनीहरूलाई देखाउने प्राकृतिक सम्पदा र यहाँ रहने प्राणीको संरक्षणमा भने गरिएको पाइँदैन।
पर्यटकको आगमन बढेसँगै छरपष्ट बन्ने फोहोर व्यवस्थापनमा उत्तरदायित्व लिने कोही हुन्न।
चितवनको सौराहा, पटिहानी, मेघौली तथा नारायणी नदीसँग जोडिएका देवघाट, नारायणगढलगायतका क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको रोजाइका गन्तव्य हुन्। तर आसपासका वन क्षेत्र, नदी, खोलाका तटहरूमा जथाभावी फोहोर फाल्ने गरिएको छ।
घुम्न जाने पर्यटकले फालेका प्लास्टिकजन्य फोहोरले वन, नदी क्षेत्र दुषित त भएका छन् नै ती फोहोर खाएर वन्यजन्तुहरू बिरामी पनि पर्ने गरेका छन्।
राज्यका निकाय, पर्यटन व्यवसाय तथा यससँग सम्बन्धित संस्थाको उदासिनताका बीच पटिहानी क्षेत्रका बासिन्दाले भने राप्ती तटीय क्षेत्रमा सरसफाई अभियान चलाएको चार वर्ष भयो।
आफ्नो वरपरका क्षेत्रमा बढेको फोहोरले संरक्षणमा असर गरेपछि स्थानीय युवा अपिल घिमिरेको नेतृत्वमा चार वर्षअघि सफाइ अभियान चलेको थियो।
राप्ती तटीय क्षेत्र सरसफाइ अभियानले नियमित रूपमा यस क्षेत्रका वन, खोला, तटीय क्षेत्रदेखि गाउँको सरसफाइ गर्दै आएको छ।
‘कहिले खुट्टामा सिसा गडेर गैंडाको बच्चा घाइते भएको देख्नुपर्ने, कहिले बँदेल, चित्तलको आन्द्रामा प्लास्टिक अड्किने, जनावरको दिसामा प्लास्टिक र रगत भेटिने गर्दथ्यो,’ घिमिरे भन्छन्, ‘जथाभावी फालिएका फोहोरले जनावरमा गम्भीर असर गरेको महसुस गरेपछि सरसफाइमा स्थानीयवासीको चासो हुनुपर्छ भनेर अभियान थालेका थियौं।’
२०७४ सालको माघ १० गते पटिहानीको घडगाईबाट गाडा लिएर फोहोर बटुल्न निस्किएको स्थानीयवासीको समूहले राप्ती नदीको किनारबाट दुई गाडा प्लास्टिकजन्य फोहोर र सिसा संकलन गरेको घिमिरे सम्झन्छन्।
‘ती फोहोरले वन्यजन्तुलाई कति धेरै असर गर्यो होला, हामीले त्यसरी संकलन गरेर नष्ट नगरेको भए अझ खराब अवस्था आउन सक्थ्यो,’ उनी भन्छन्, ‘त्यसपछि हामीले यो अभियानलाई निरन्तरता दिन थालेका थियौं।’
त्यसयता यस संस्थाले हरेक शनिबार बिहान एक घन्टा उक्त क्षेत्रमा संरक्षणका लागि सरसफाइ गर्दै आएको छ।
सरसफाइ अभियानमा स्थानीय समाजसेवी, युवा, विद्यार्थी, पटिहानी मध्यवर्ती उपभोक्ता समिति, बेलशहर मध्यवर्ती सामुदायिक वन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना, नेपाल प्रहरी, पर्यटन प्रहरीहरुको पनि सहभागिता रहने गर्छ।
पटिहानी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शंकर महतो राप्ती कोरिडोरको ४ किलोमटिर बढी क्षेत्रमा पालैपालो सरसफाइ गर्ने गरिएको बताउँछन्।
‘हामीले हाम्रो वन क्षेत्रलाई त पूर्ण रूपमा सफा बनाइराख्ने गरेका छौं,’ उनी भन्छन्, ‘त्यसका अलावा गाउँघरमा पनि पुगेर सरसफाइसम्बन्धी जनचेतना जगाउने, प्लाष्टिकजन्य वस्तुको प्रयोगमा निरूत्साहित गर्ने जस्ता अभियानहरू चलाइरहेका छौं।’
उनले तटीय क्षेत्र तथा वनमा सरसफाइ गरी घडियाल गोही र बाघको बासस्थान जोगाउँदै आएको बताए।
‘एक हप्तामा एक घन्टामात्र समय दिनुस् हामी हाम्रो समुदाय हुँदै पृथ्वीलाई सफा राख्न सक्छौं भनेर समुदायलाई सरसफाइमा प्रेरित गर्दै आएका छौं,’ महतो भन्छन्, ‘सबैको साथले पहिले बाटो हिँड्दा पनि फोहोरले आङ सिरिङ्ग हुने ठाउँ अहिले वातावरणीय हिसाबले धेरै राम्रो भएको छ।’
स्थानीय कमला महतोलाई जथाभावी भेटिने सिसाका कारण काम पर्दा पनि वन क्षेत्रमा हिँड्न डर लाग्थ्यो।
जंगल जाँदा जनावरले घाँससँगै प्लास्टिक खाएको उनले धेरै पटक देखेकी छन्।
‘त्यसो नभए हुन्थ्योजस्तो त लाग्थ्यो तर चाहेर पनि म एक्लैले गर्न सक्दैनथें,’ उनी भन्छिन्, ‘अहिले समाज नै लागेपछि धेरै कुरामा सुधार आएको छ। पहिले जस्ता घटनाहरू कम भएका छन्।’
बेलशहर मध्यवर्ती सामुदायिक वनले वन घुम्न जाने पर्यटकसँग उसले लिएर जाने खानाको आधारमा पैसा धरौटी राख्ने गरेको छ।
अध्यक्ष चेतबहादुर रानाभाटकाअनुसार वन भित्र जाँदा पर्यटकले खाना बोकेका प्लास्टिक, चाउचाउ, बिस्कुट लगायतका खोल, बोतलहरू यत्रतत्र नफालुन् भनेर धरौटी राख्ने गरिएको छ।
‘उहाँहरू फर्किंदा ती फोहोरहरू देखाएपछि डस्टविनमा फाल्न लगाएर धरौटी फिर्ता गर्छौं,’ उनले भने, ‘यति गर्दा पनि कतै फोहोर छ कि भनेर बेला–बेलामा आफै बोरा लिएर फोहोर बटुल्न हिँड्छौं। संकलित फोहोरलाई महिनामा एकदिन भरतपुर महानगरपालिकाको गाडीले लैजाने व्यवस्था पनि मिलाएका छौं।’
पर्यटकीय गन्तव्य आसपासका कतिपय गाउँमा चेतनाको कमीले सरसफाइमा समस्या देखिएको छ।
शिक्षाको कमीले गर्दा सरसफाइ गर्नुपर्छ भन्नेमा कसैको चासो हुन्न। त्यस्ता गाउँलाई महत्व दिएर राप्ती तटीय क्षेत्र सरसफाइ अभियान सञ्चालन भइरहेको छ।
कालिबहादुर-सीतामाई टोल विकास संस्थाका अध्यक्ष चेतबहादुर तामाङ निरन्तर अभियान चलाउन थालेपछि उनीहरू पनि जागरूक बनेर सरसफाइमा साथ दिन थालेको बताउँछन्।
राप्ती टोल विकास संस्थाका अध्यक्ष तेजबहादुर रानाभाट ६० वर्षका भए।
वन र वन्यजन्तुको समिपमै जन्मिएर हुर्किएका उनमा सरसफाइमा देखिँदै गएको सक्रियताबाट गाउँले कोल्टो फेर्छ कि भन्ने आशा पलाएको छ।
‘देश, विदेशबाट आउने पर्यटकले भरिने गाउँ सफा नहुँदा खिन्न लाग्थ्यो,’ उनी भन्छन्,‘गाउँ, वन, खोला सबैतिर सफा वातावरण देखेपछि पर्यटक खुसी होलान्, हाम्रो गाउँ अझ विकास होला कि भन्ने सपना देख्न थालेको छु।’
यस क्षेत्रको सीतामाई मन्दिर धार्मिक महत्व बोकेको स्थल हो। चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको विक्रमबाबाको दर्शन गर्नेले सीतामाईको दर्शन गर्नै पर्ने मान्यता रहेको स्थानीय बताउँछन्। पर्यटकमार्फत् यसको महत्वलाई फैलाउन पनि स्थानीयले सरसफाइमा ध्यान दिने गरेका छन्।
होटल, रेष्टुरेण्ट परिसरबाटै वन र वन्यजन्तुको अवलोकन गर्न पाइनु यस क्षेत्रको विशेषता हो।
चितवन निकुञ्जको हेडक्वाटर कसराको ठ्याक्कै अगाडि राप्ती नदीको किनारसँग लहरै बनेका होटल तथा रेष्टुरेन्टहरूबाट एक सिंगे गैंडा, चित्तल, गोहीलगायतका जनावरहरू सहजै देखिन्छन्। जाडो छल्न विभिन्न देशबाट आएका पानी चराहरूको अवलोकनका लागि पनि यो क्षेत्र महत्वपूर्ण मानिन्छ।
‘हामीले यहाँको विशेषतालाई प्रचार गरेरमात्रै पुग्दैन, यस क्षेत्रको सुन्दरतालाई कायम राख्न कोलाहल र फोहोरबाट मुक्त गर्नसक्नुपर्छ,’ पटिहानी पर्यटन विकास समितिका अध्यक्ष शंकरराज थपलिया भन्छन्, ‘शान्त र स्वच्छ कायम राख्न सकेमात्र पर्यटक पटक-पटक यहाँ आउँछन्, यसबाट हामीले धेरै फाइदा लिन सक्छौं।’
पटिहानी क्षेत्रमा स्थानीयको अग्रसरतामा सरसफाइ अभियानले निरन्तरता पाए पनि मुख्य पर्यटकीय गन्तव्यमै पर्ने सौराहा, मेघौली तथा आन्तरिक पर्यटकको चहलपहल बाक्लो हुने नारायणी नदी आसपासका क्षेत्रको नियमित सरसफाइमा खासै चासो देखिँदैन।
नारायणी नदी किनारलाई भरतपुर महानगरपालिका भरिको फोहोर फाल्ने डम्पिङ साइटको रूपमा प्रयोग गर्न थालेको वर्षौं भयो। नारायणीमा जस्तै अन्य नदी, खोलाहरूमा आधिकारिक रूपमै डम्पिङ साइट नबनाइए पनि जथाभावी फालिएका प्लास्टिक, सिसालगायतका वस्तुले वन्यजन्तुमा असर पुगिरहेको छ।
यही फोहोरका कारण पहिले पहिले डल्फिन देखिने नारायणी नदीमा अहिले गोही देख्न पनि मुस्किल पर्छ। घडियाल गोहीको मुख्य बासस्थान राप्ती नदीमा समेत गोहीको संख्या वर्षेनी घट्दो छ।
खोला, नदी क्षेत्रमात्र नभई वन क्षेत्रमा पनि अव्यवस्थित रूपमा फोहोर फाल्ने गरिएको छ। भरतपुर महानगरपालिकासँगको सीमा क्षेत्र पदमपुर नजिकैको राष्ट्रिय वनमा कालिका नगरपालिकाको फोहोर थुपार्न थालिएको महिनौं भयो।
फोहोरको रसायन र दुर्गन्धले प्राकृतिक सम्पदामा गम्भीर असर पारिरहेको देखिन्छ।
‘व्यवस्थित ल्याण्डफिल साइट बनाएर फोहोर व्यवस्थापनको काम राज्यबाटै हुन सक्यो भने प्रभावकारी हुन्थ्यो तर राज्यका निकायको ध्यान यसतर्फ पुग्न सकेन,’ अभियन्ता घिमिरे भन्छन्, ‘अहिलेसम्म त हाम्रो प्रयासमा राप्ती किनारबाट संकलन भएको फोहोरलाई नारायणी किनारमा लगेर थुपार्ने काम मात्रै भएको छ। यताका वन्यजन्तु जोगिए पनि उताका लाई त असर परिहाल्छ। फोहोरबाट प्रकृति र कुनै पनि प्राणीमा असर नपर्नेगरी व्यस्थापन गर्न राज्य नै लाग्नुपर्छ।’
पछिल्लो समय चितवन निकुञ्ज तथा आसपासका क्षेत्रमा वन्यजन्तुको मृत्यु हुने क्रम अस्वभाविक रूपमा बढेको छ।
यस आर्थिक वर्षमा मात्रै चितवन निकुञ्जमा २६ वटा एक सिंगे गैंडाको मृत्यु भएको छ। ती मध्ये २२ वटा प्राकृतिक कारणले मरेको भनिएको छ।
‘प्राकृतिक कारणले धमाधम गैंडा मर्नुमा पनि वातावरणीय प्रदुषणकै भूमिका हुन सक्छ,’ संरक्षणकर्मीहरू भन्छन्, ‘वन्यजन्तु संरक्षण नगरे वाइल्डलाइफ टुरिजम सकिन्छ। यीनलाई जोगाउन सबैको प्रयास आवश्यक छ।’