प्रधानमन्त्री केपी शर्मा ओलीले विर्तामोड नगरपालिका वडा नं ५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको आज उद्घाटन गरेका छन्।
उनले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी अस्पताल उद्घाटन गर्नाका साथै कक्षहरु अवलोकन पनि गरे।
विर्तामोड निवासी दुर्गा प्रसाईंका रु ६ अर्ब निजी लगानीमा अस्पताल निर्माण भएको हो जसमा तीन सय शय्या छन्।
करिब एक वर्षअघि नै सेवा सुरू गरेको अस्पतालको आज विधिवत् उद्घाटन भएको हो।
एक वर्षका अवधिमा करिब दुई हजार सात सय बिरामीले अस्पतालबाट सेवा लिएका छन् जसमध्ये करिब एक हजार तीन सय झापाकै बासिन्दा रहेको बताइएको छ।
प्रधानमन्त्री ओलीद्वारा ‘प्रदेश गौरव भिलेज’ उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले विर्तामोड नगरपालिकामा विपन्न तथा आदिवासी समुदायका लागि निर्मित ‘प्रदेश गौरव भिलेज’को आज उद्घाटन गरेका छन्। विर्तामोड–७ मा निर्मित सो ‘भिलेज’मा ३७ आवासगृह छन्।
भद्रपुरका धनजुजु श्रेष्ठ र कमला श्रेष्ठले निःशुल्क प्रदान गरेको एक बिघा तीन कठ्ठा जग्गामा प्रदेश नम्बर १ सरकार, नगरपालिका, ह्याबिटाट नेपाल र सहारा नेपालको रु १४ करोड ८० लाखका लागतमा ग्राम निर्माण गरिएको थियो।
सो अवसरमा प्रधानमन्त्री ओलीले मुलुकमा घरबारविहीन कोही हुनु नपर्ने जनाउँदै देशभर फुसको छानारहित घर निर्माणमा सरकारले सहयोग गर्ने आश्वासन दिए।
नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले सो बस्तीमा अतिविपन्न कुर्मी र सन्थाल समुदायका परिवारलाई बसोबास गराइएको जानकारी दिए।
उनका अनुसार हालसम्म नगरपालिकाभित्र ३०६ घर निर्माण गरेर विपन्न समुदायलाई हस्तान्तरण गरिसकिएको छ। चालु आर्थिक वर्षमा ५०० घर निर्माण गरेर हस्तान्तरण गर्ने योजनानुरूप २०६ घर निर्माणाधीन रहेको उनले बताए।रासस