चन्द्रशमशेर जंगबहादुर राणाले आजभन्दा ११७ वर्षअघि, विक्रम सम्बत् १९६० मा बडो सोखका साथ युरोपेली शैलीको भव्य दरबार निर्माण गराए।
नयाँ दरबारमा सर्नुअघि उनले आफ्ना महारानीहरूलाई अवलोकन भ्रमण गराउन लगेछन्।
कौसीमा पुगेपछि उनकी जेठी महारानी लोकभक्त लक्ष्मीदेवीले भद्रकाली मन्दिरभन्दा पनि पश्चिम धरहराछेउको बागदरबारतिर इशारा गर्दै भनिन्, 'उ बागदरबार!'
चन्द्रशमशेरले महारानी लक्ष्मीदेवीको इशारा पछ्याउँदै बागदरबारतिर हेरेछन्।
त्यसपछि जेठी महारानीले भनिन्, 'महाराज, त्यो बागदरबार हो भने यसको नाम सिंहदरबार राखे कसो होला!'
चन्द्रशमशेरलाई महारानीको कुरा चित्त बुझेछ।
उनले तुरून्तै आफ्नो नयाँ दरबारको नाम 'सिंहदरबार' रहने घोषणा गर्दै त्यसको माथिल्लो सिरानमा अजंग सिंहको धातुको प्रतिमूर्तिसमेत स्थापना गराए।
सिंहदरबार नामकरणसँग जोडिएको यो विवरण पुरुषोत्तमशमशेर राणाको 'श्री ३ हरूको वृत्तान्त' किताबमा उल्लिखित छ।
सिंहको प्रतिमूर्ति दरबारको पश्चिमी मोहडाको छतमा अहिले पनि छँदैछ, जहाँ नेपालको राष्ट्रिय झन्डा फरफराइरहेको हुन्छ।
सिंहदरबारबारे सुनिने बेलायती बैठकदेखि स्टेट हलसम्म र चन्द्रशमशेरको शयनकक्षदेखि अन्य महत्वपूर्ण कोठाहरूसमेत पश्चिमी मोहडामा पर्छन्, जसको पुनर्निर्माण जारी छ।
सिंहदरबार यात्राको पहिलो भागमा हामीले तपाईंहरूलाई उत्तरी, दक्षिणी र पूर्वी मोहडामा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय देखाएका थियौं, जहाँ पुनर्निर्माणका काम पूरा भइसकेका छन्। २०७२ को भुइँचालोले उठिबास भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अब केही दिनमै यहाँ सर्दैछ।
आज दोस्रो भागमा हामी पुनर्निर्माण क्रममा रहेको पश्चिमी मोहडा घुमाउँछौं। यहाँ जारी काम असार मसान्तसम्म पूरा हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।
के तपाईंहरूले सिंहदरबारको स्टेट हलका बारेमा सुन्नुभएको छ?
राजा वीरेन्द्र र रानी ऐश्वर्यको स्वयम्वर यही हलमा भएको थियो। बेलायतकी रानी एलिजाबेथ लगायत विभिन्न राष्ट्रका राष्ट्रप्रमुखहरू नेपाल भ्रमणमा आउँदा यही हलमा राजकीय भोज लगायत अन्य राजकीय बैठकहरू आयोजना गरिन्थ्यो।
यो सभाहल झन्डै झन्डै हाम्रो दुईतला बराबर छ, जसको माथिल्ला सिरानमा दुइटा अग्ला झ्याल छन्। यी झ्याल चन्द्रशमशेरको शयनकक्षमा खुल्छ। चन्द्रशमशेरले यो स्टेट हल यस्तरी निर्माण गराएका थिए, ताकि यहाँ हुने सम्पूर्ण गतिविधि शयनकक्षबाट हेर्न सकियोस्।
त्यो समय महिलाहरूलाई स्टेट हलमा हुने राजकीय बैठकमा भाग लिने अनुमति थिएन। महिलाहरू यही झ्यालबाट यहाँका गतिविधि अवलोकन गर्थे।
प्राधिकरणले पश्चिमी मोहडालाई पुरानै स्वरुपमा जस्ताको तस्तै राख्ने गरी काम गरिरहेको छ। रेट्रोफिटिङका लागि फलाम प्रयोग गर्नुका अतिरिक्त सुर्कीचुना र इँटाको मात्र प्रयोग गरिएको छ।
अघिल्लो भागमा जस्तै यसपालि पनि प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले आफैं गाइड बनेर हामीलाई पुनर्निर्माण क्रममा रहेको पश्चिमी मोहडाका बहुचर्चित बेलायती कक्ष, स्टेट हल लगायत कक्ष देखाए, पुनर्निर्माण कथा सुनाए, भत्किएको संरचना बलियो बनाउन कहाँ–कहाँ के–के सुधार भए, त्यो पनि देखाए।