नेपालको कानूनले वन्यजन्तुको अंगको चोरी सिकारीमा संलग्नलाई सजायको व्यवस्था गरेको छ। महँगो मूल्यमा देश, विदेशमा बिक्रीका लागि चोरी सिकारीमा संलग्न भएका व्यक्तिलाई तस्करका रूपमा मुद्दा चलाएर वर्षौंसम्म कैदमा राख्ने गरिएको छ।
तर बहुमूल्य मानिने आखेटोपहार(वन्यजन्तुका अंग) का लागि भने उचित भण्डारणको व्यवस्था पनि छैन।
देशभरका संरक्षित क्षेत्र र वन कार्यालय मातहतका क्षेत्रमा विभिन्न कारणले मरेका तथा मारिएका वन्यजन्तुको आखेटोपहारको भण्डारण चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा गर्ने गरिन्छ। करिब चार वर्षयता संकलन गरिएका आखेटोपहार यहाँको भण्डारमा कुहिन थालेका छन्।
सयौंको संख्यामा रहेका एक सिंगे गैंडाका खाग, खुरमा धमिरा लागेका छन् भने गैंडा, बाघ, चितुवाका छाला कुहिएर गन्हाउन थालेका छन्। हात्तीका दाह्रादेखि विभिन्न जन्तुका हड्डी भण्डारको भुइँमा मिल्किएका छन्।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले आखेटोपहारलाई संरक्षणका लागिभन्दा पनि तोकिएको समयमा एकै ठाउँमा नष्ट गर्नका लागि यहाँ भण्डारण गर्ने गरिएको बताए।
‘सरकारले आखेटोपहार ५-५ वर्षमा नष्ट गर्नेगरी कार्यविधि बनाएको छ। नष्ट गर्न केन्द्रमा एक समिति बनेको छ,’ उनले भने, ‘त्यही समितिले कार्यविधिअनुसारको समयमा नष्ट गर्छ।’
५ वर्षको अवधि लामो भएका कारण धेरै आखेटोपहारहरू भण्डारमा थन्किएको उनले बताए।
‘गैंडाका खाग, खुर, बाघ, चितुवा, मृगका छाला कुहिएर दुर्गन्धित हुन थाले। सुरूमा ल्याउँदा एक किलोभन्दा बढी तौलका खाग अहिले धमिरा लागेर नाम मात्रैको भएका छन्,’ बरालले भने, ‘कसैलाई देखाउनु पर्दा सकुशल देखाउन सक्ने अवस्था छैन।’
भण्डारमा राखिएका सबै अंगमा कोड लगाइएको छ। सोही कोडअनुसार सम्बधित अंग कहाँबाट कहिले संकलन भयो थाहा पाउन सकिन्छ। तर सडे-गलेर बिग्रन थालेका धेरै अंगमा लगाइएको कोड नै नबुझिने हुन थालेका छन्।
‘जलाएरै नष्ट गर्नका लागि भण्डारण गरिएको हुनाले हामीले ती आखेटोपहारहरुमा नगल्ने, नसड्ने औषधीको प्रयोग गरेका छैनौं,’ बरालले भने, ‘राम्रो अवस्थामा राख्नका लागि त त्यहीअनुसारको व्यवस्थापन गर्नुपर्छ।’
निकुञ्जको हेडक्वाटर कसरामा पहिले आखेटोपहारको संग्रहालय थियो। सर्वसाधारणलेसमेत संग्रहालयको अवलोकन गर्न पाउँथे। तर अहिले त्यो संग्रहालय बन्द छ। त्यहाँ रहेका दुर्लभ वन्यजन्तुका अंग बिग्रिएका छन्। राख्ने व्यवस्थित ठाउँ नहुँदा धेरै अंग बोरामा पोको पारेर राख्ने गरिएको छ।
२०७४ सालको जेठ ८ गते कसरामा विशेष कार्यक्रमगरी त्यसअघिको लामो समयदेखि भण्डारमा थन्किएका आखेटोपहार जलाएर नष्ट गरिएको थियो।
नेपालका संरक्षित क्षेत्र र वन कार्यालय मातहतका क्षेत्रमा विविध कारणले संकलन भएका विभिन्न प्रजातिका वन्यजन्तुका अंगभाग अन्तर्राष्ट्रिय जैविक विविधता दिवस (२२ मे २०१७)को उपलक्ष्यमा ‘वन्यजन्तुका अङ्गभाग जिवित शरीरमा मात्र महत्वपूर्ण हुन्छन्’ भन्ने सन्देशका साथ कसरामा जलाउने निर्णय २०७४ जेठ ३ गतेको मन्त्रिपरिषद्ले गरेको थियो। सोही निर्णयअनुसार प्रत्येक ५ वर्षमा यहाँ संकलित आखेटोपहार नष्ट गर्नेगरी कार्यविधि बनेको थियो।
२०७४ सालमा कसरामा बाघको छाला ७२ थान तथा हड्डी ४८ बोरा, चितुवाको छाला ४४६ थानसहित हड्डी तथा अन्य अङ्ग, गैंडाको सक्कली खाग ३५७ र नक्कली खाग ७४ थान, छाला ४०४ थान तथा खुर, हड्डी जलाइएका थिए। त्यसैगरी, हात्तीको पुच्छरका रौं ३५७ वटा, हात्तीको दाह्राबाट बनेका सामान, हड्डीलगायतका अङ्ग, कस्तुरीको बिना ४० थान, भालुको पित्त १९ वटा तथा भालुको छाला, पञ्जा, दाह्रालगायतका अंग, चिरुको भुवा ४२ बोरा, हाब्रेको छाला ४७ थान तथा विभिन्न साना बिरालो प्रजातिका छाला ९ थान नष्ट गरिएको थियो।
आखेटोपहार नष्ट गरिएको स्थानमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले २०७५ भदौ १ गते लोकार्पण गरको वन्यजन्तु आखेटोपहार व्यवस्थापन स्मारक छ। त्यसमा संकटापन्न प्रजातिको अन्तर्राष्ट्रिय व्यापार नियमन तथा नियन्त्रण सन्धिको अनुसूची १ मा सूचिकृत प्रजाति २२, अनुसूची २ मा सूचीकृत प्रजाति ४, अनुसूची ३ मा सूचीकृत प्रजाति ५ र अन्य प्रजाति १७ गरी ४८ प्रजातिको आखेटोपहार नष्ट गरिएको उल्लेख छ।
त्यतिखेर बाघको छाला ५ थान, गैंडाको खाग ११ थान, कस्तुरीको विना ४ थान, चिरुको भुवा १ पोका, हिउँ चितुवाको छाला १ थान भने सुरक्षित राखिएको थियो।
प्रमुख संरक्षण अधिकृत बरालले लामो समय थन्क्याएरभन्दा प्राप्त हुनेबित्तिक्कै नष्ट गर्दा व्यवस्थापनमा सहज हुने बताए।
‘आखेटोपहार जहाँ प्राप्त हुन्छ त्यहीँ तत्कालै नष्ट गर्नु उपयुक्त हुन्छ। यसका लागि निकुञ्ज स्तरको समूह बनाउन सकिन्छ जहाँ स्थानीय प्रशासन, स्थानीय तह, पत्रकार, नागरिक समाज सबै समेटिन सक्छन्,’ उनी भन्छन्, ‘यसरी नष्ट गर्ने कार्यविधि बनाइए सहज हुन्थ्यो र निकास पाइन्थ्योजस्तो लाग्छ।’
भारतमा गैंडा मरे खाग पनि सँगै नष्ट गर्ने चलन रहेको भन्दै उनले नेपालमा पनि यसो गर्दा सहज हुने उनी बताउँछन्।
‘हाम्रोमा पनि जलाएर नष्ट नै गर्नु छ भने वर्षौंसम्म थन्काएर राखिराख्न जरूरी छैन,’ उनी भन्छन्।