२०७२ को भुइँचालोमा नराम्ररी क्षति पुगेको सिंहदरबारलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले झन्डै छ वर्षपछि पुरानै स्वरूपमा उभ्याएको छ। यसको उत्तरी, दक्षिणी र पूर्वी मोहडाका काम सकिएका छन्। पश्चिमी मोहडा असार मसान्तसम्म पूरा हुने प्राधिकरणले जनाएको छ।
भुइँचालोपछि कतिपयले सिंहदरबारको जीर्ण भवन जोगाउन सकिँदैन भनेका थिए। उनीहरू जगैदेखि नयाँ बनाउनुपर्छ भन्थे। प्राधिकरणले घिटी-घिटी दरबारको प्राण जोगायो। यसनिम्ति घरका हाडछालाहरूको केही सघन शल्यक्रिया भने गर्नुपर्यो।
जसरी एक कुशल हाडजोर्नी विशेषज्ञले भाँच्चिएका हाडहरू जोडेर मान्छेलाई आफ्नै खुट्टामा उभ्याउँछ, त्यसरी नै भुइँचालोले मक्किएका, चर्किएका, टुटेका, फुटेका, लुला भित्ता र छतहरूलाई प्राधिकरणका इञ्जिनियरले जोडजाड पारे। स्टिलका छड र पाता हाले, नटबोल्ट कसे र उही पुरानो जगमा उसैगरी ठड्याए। जसरी एक कुशल प्लास्टिक सर्जनले मान्छेका डढेका छालामा प्राण भर्छ, त्यसैगरी इञ्जिनियरहरूले सिंहदरबारको बाहिरी आवरण पनि चम्काए। जीर्ण घर जोगाउने यही विधिलाई इञ्जिनियरिङ भाषामा 'रेट्रोफिटिङ' वा 'प्रबलीकरण' भनिन्छ।
भुइँचालोले उठिबास भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अब केही दिनमै यहाँ सर्दैछ। प्रधानमन्त्री केपी ओलीले गत साता फागुन ३ गते दरबारको मूलआँगनमा उभिएर तीन वर्षको 'प्रगति विवरण' पढेका थिए, जसमा सिंहदरबार पुनर्निर्माणको पनि चर्चा थियो।
हामीले केही दिनअघि सिंहदरबारको पुनर्निर्मित भवन घुम्ने मौका पायौं। प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले आफैं गाइड बनेर हामीलाई प्रधानमन्त्री कार्यालयका कोठा–चोटा, करिडोर–कौसी, भित्ता र भर्याङहरू देखाएका थिए। उनले हामीलाई पुनर्निर्माण कथा सुनाए, भत्किएको संरचना बलियो बनाउन कहाँ–कहाँ के–के सुधार भए, त्यो पनि देखाए।
ज्ञवालीसँग प्रधानमन्त्री कार्यालय सिंहदरबारको हाम्रो एक्सक्लुसिभ भिडिओ टूर हेर्नुहोस्ः