सुर्खेतको बराहताल गाउँपालिकामा पर्ने इखेनी १५ वर्षअघिसम्म केही सालका रूख र वनमाराले भरिएको जंगल थियो। अहिले गाउँमा परिणत भएको छ।
सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले सुकुम्बासीलाई घरजग्गा दिने अभियान अन्तर्गत बसालिएको बस्तीमध्ये एक हो 'इखेनी वस्ती'।
२०६२ सालमा त्यहाँ जंगल मासेर बस्ती बसालिएको थियो।
घर–जग्गा नभएकालाई इखेनीमा खरको छानो भएका घरमा त बसालियो, अन्न उत्पादन हुने जग्गाको अभाव भने ज्यूँका त्यूँ रह्यो।
'यहाँ हामीलाई बसाल्दा अलिअलि जग्गा त दिइएको हो, दिएर के गर्नु,' इखेनी बस्तीका कल्से कामीले भने, 'रातो माटो मात्र भएको जग्गामा बर्खामा मकै लगाउँछौं। सिँचाइ नहुँदा बाँकी समय त बाँझै हुन्छ।'
कल्सेको परिवार वर्षौंअघि दैलेखबाट सुर्खेतको बाबियाचौरमा झरेको थियो। देवताले गर्दा पुर्ख्यौली जग्गा कमाउन नमिल्ने भएको भन्दै बाबियाचौर झरेको उनको परिवार एउटा सानो घर बनाएर बसेको थियो। २०६२ मा माओवादीले जग्गासहित बसाल्ने भनेपछि आफूले परिवार नै लिएर इखेनी आएको उनले बताए।
इखेनी बस्तीमा अहिले १०५ घरधुरी छन्।
यी सबै परिवार कालापहाड (भारत) को भर पर्ने गरेका छन्। उनीहरूको परिवार पाल्ने आम्दानीको मुख्य स्रोत भनेकै भारतको रोजगारी हो। भारतमा काम खुल्ने सिजनमा इखेनी बस्तीमा रहेका ४६५ जनसंख्यामध्ये ९५ प्रतिशत भारत जाने गरेको स्थानीय उज्ज्वल कामीले बताए।
'वर्षमा दुई सिजन काम पाइने भएकाले कमाउन भारत जाने गर्छन्। सिजनका बेला त यहाँको बस्ती नै सुनसान हुन्छ,' उनले भने, 'यहाँ आम्दानीको कुनै स्रोत नै नभएपछि यसको विकल्प पनि छैन।'
उनका अनुसार इखेनी बस्तीका परिवार छोराछोरी समेत लिएर भारत जाने गरेका छन्।
माओवादीले बस्ती बसालेको बेला सुरूसुरूमा भने उनीहरूले नै खाद्यान्न जोहो गरिदिएका थिए।
'जंगल फँडानी गरेर घर बनाउने बेलासम्म माओवादीले नै खाने कुरा दिएका थिए। पछि उनीहरू गए। हामीले पनि घर बनाएर सक्यौं,' कल्से कामीले भने, 'त्यसपछि घर मात्र भएर भएन, खानुपर्ने खाना किन्ने पैसा कमाउन परिवार नै भारत जाने गर्यौं।'
बस्ती बसालेर माओवादी गइसकेपछि सुरूमा स्थानीयलाई छाक टार्नै धौ भयो।
'सुरूमा त केही उपाय नै थिएन, खाना नभएर थाकलको बोक्रा निकालेर पनि खायौं,' इखेनीकी ज्ञानु वादीले भनिन्,'पछि विस्तारै भारतमा काम खुलेको थाहा पाएपछि त्यहाँबाट कमाएर ल्याउने, यहाँ खाद्यान्न किनेर खान थाल्यौं। भारत नजाने हो भने त यो बस्तीमा अहिले पनि हामी भोकै बस्नुपर्छ।'
बस्तीमा खानेपानीको समेत उत्तिकै समस्या छ। सुरूदेखि नै भेरी नदीबाट पानी बोकेर खाने गरेका स्थानीयलाई अब भने केही राहत मिल्ने भएको छ। यो वर्षदेखि भेरीबाट लिफ्टिङ गरेर बस्तीमा पानी ल्याउने काम भइरहेको स्थानीय धनबहादुर शाहीले बताए।
गाउँका युवा पाहुना मात्र
कल्से कामीको परिवारमा ९ जना सदस्य छन्। तीमध्ये उनका दुई छोरा भारतमा मजदुरी गरिरहेका छन्। कक्षा १२ पास गरेका राजेन्द्र र ९ कक्षामा पढ्दै गरेका तपेन्द्रले आफ्नो पढाइलाई निरन्तरता दिन पाएका छैनन्।
'यो गाउँमा दलित समुदायको १२ पास गरेको केटो भनेको मेरो छोरो मात्र हो। अर्को छोरो पनि ८ कक्षा पास गरेको छ,' कल्सेले भने, 'उनीहरूले यसभन्दा अघि नियमित पढ्नै सकेका छैनन्। भारत नजाने हो भने परिवार कसरी पाल्ने।'
उनको पनि परिवार नै मजदुरी गर्न भारत जाने गर्छ। अहिले घरमर्मत गर्न लागेकाले भने उनका दुई छोराबाहेक अरू सदस्य इखेनीमै छन्। सुरूमा जंगल मासेर ५५ घरधुरी बसेको इखेनीमा अहिले १०५ घरधुरी पुगेका छन्। त्यहाँ दैलेख, अछाम, प्युठान, सुर्खेत, कालिकोट, जाजरकोट र जुम्लाका मानिस बस्दै आएका छन्।
'भारत नगइ हुँदैन। छोराछोरी लैजाने हो भने उनीहरूको पढाइ छुट्छ। यतै राख्ने हो भने उनीहरूलाई हेर्ने कोही हुँदैन,' ज्ञानु वादीले भनिन्, 'यो बस्तीका युवाहरू त यहाँ पाउनाका रूपमा मात्र एक/दुई दिन बस्नेगरी आउँछन्। अरू दिन भारतमै हुन्छन्।'
बाबुआमासँगै छोराछोरी समेत कालापहाड जाने हुनाले स्थानीय विद्यालयमा विद्यार्थीको उपस्थिति न्युन हुने गरेको छ। गाउँमा १–५ सम्म पढाइ हुने जनजागरण प्राथमिक विद्यालय छ। विद्यालयमा यो शैक्षिक सत्रमा ९६ जना विद्यार्थी भर्ना भएको विद्यालयका प्रधानाध्यापक पुष्पा राना मगरले बताइन्।
'यो वर्षको केही दिनअघि भएको परीक्षामा ६४ जनाले मात्र सहभागिता जनाएका थिए,' उनले भनिन्, 'रोजगारीका लागि परिवार नै कालापहाड जाने भएकाले भर्ना भएकाजति विद्यार्थी विद्यालयको परीक्षामा सहभागी हुन सक्दैनन्। अब मार्चपछि यहाँका मानिस गाउँमा फर्किन्छन्। अन्तिम परीक्षामा भने लगभग सहभागी हुन्छन् होला।'
आम्दानीको मुख्य स्रोत नै कालापहाडको मजदुरी भएकाले विद्यार्थीहरूको पढाइ छुट्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उज्ज्वल कामीले बताए।
'वर्षमा दुई सिजन आमाबासँगै केटाकेटी पनि भारत जाने भएकाले ५ महिनामा एकपटक गाउँ आउँछन्,' उनले भने, 'त्यही बेला दुई दिन स्कुल गएर हाजिर लगाउँछन्, अनि फेरि भारततिरै गइहाल्छन्।'
बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतको भने अर्कै योजना छ- इखेनी बस्तीलाई नमूना बस्ती बनाउने। विभिन्न संघसंस्था, शैक्षिक संस्था तथा व्यक्तिहरूसँग साझेदारी गरेर बस्तीलाई नमूना बस्ती बनाउनेगरी लागेको उनले बताए।
'अहिले गाउँमा दुईतिरबाट सडक छ, सुन्दर नेपाल संस्थासँगको साझेदारीमा खानेपानीको आयोजना निर्माणको काम भइरहेको छ,' अध्यक्ष बस्नेतले भने, 'सिँचाइ लगायत अरू आयोजनाका लागि पनि हाम्रो प्रयास जारी छ।'