प्रधानमन्त्री केपी शर्मा ओली पक्षले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा कार्यकर्ता बोकेर सार्वजनिक यातायातका साधन गएपछि पूर्व-पश्चिम राजमार्गमा सर्वसाधरणको बिचल्ली भएको छ।
राजमार्गमा पूर्व जाने र पश्चिमतर्फ जाने सार्वजनिक यातायातका साधन नभेटिएपछि कतिपय सर्वसाधरण गन्तव्य नै नपुगी फर्कनु परेको छ।
माइधारबाट काँकडभिट्टातर्फ जानका लागि यात्रुबाहक बस कुरेर बसेकी मनमति राजवंशीले गाडी नै पाइनन्।
पूर्वबाट धमाधम सभामा सहभागी हुन सर्वसाधरण बोकेर यातायातका साधन पश्चिमतर्फ गइरहेका छन्।
बस अगाडि प्रधानमन्त्रीको फोटोसहितको ब्यानर राखेर बस हुइँकिरहेका छन्। प्रधानमन्त्रीको कार्यक्रममा जानका लागि कार्यकर्ता बोकेका सार्वजनिक यातायातका साधनले सर्वसाधरण बोक्नका लागि बस नरोकेको यात्रुको गुनासो छ।
पार्टीले रिजर्भ गरेका कतिपय यात्रुबाहक बस खाली नै कुदिरहेका छन्। बस कुरेर बस स्टेन्डमा बसेका अधिकांश सर्वसाधरण अस्पताल, आफन्त र बजार गएका हुन्।
विराटनगरको नोबेल मेडिकल कलेजमा नियमित स्वास्थ्य परीक्षणका लागि जादै गरेका शिवगञ्जका मुरारी साहले गाडी नपाएकै कारण शनिबार जान पाएनन्।
‘सभामै जाने बसमा भए पनि जान्थें, रोक्न हात उठाएँ तर सभामा जाँदै गरेका बस दुधे बस स्टेन्डमा रोकिएनन्,’ उनले भने।
पाँच महिनाअघि उनको मुटुको शल्यक्रिया नोबेल अस्तालमा गरिएको थियो। डाक्टरले फलोअपका लागि शनिबार बोलाएको उनले बताए।
झापाबाट मात्र प्रधानमन्त्रीको सभामा कार्यकर्ता र सर्वसाधरण लिएर ४ सय ५० यातायातका साधन जाँदै गरेको नेकपा ओली समूह झापाका कार्यालय सचिव शिव ढुंगेलले बताए। उनले भने, ‘चार पाङ्ग्रे ४ सय ५० यातायातका साधन विराटनगर जाँदैछन्,’ उनले भने।
उनका अनुसार दमकबाट ५४, कमलबाट २५, शिवसताक्षीबाट ३३, भद्रपुरबाट २२ विर्तामोडबाट ३७ वटा भाडाका साधन जाँदैछन्।
अरु पालिकाबाट पनि उतिकै संख्यामा यातायातका साधन विराटनगरमा आयोजित प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रममा सर्वसाधरण र पार्टीका सदस्य लिएर जाँदैछन्।
झापाका अधिकांश यातायातका साधन विराटनगर गएकाले अन्य यात्रुले साधन नपाएको हुन सक्ने पार्टीका जिल्ला तहका एक नेताले बताए।
झापामा प्रतिदिन ७ हजार सार्वजनिक यातायातका साधन चल्ने गरेको तथ्यांक जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग छ।
कार्यक्रममा प्रदेश नम्बर १ बाट एक लाखभन्दा बढी मानिसहरू जनभासमा उतार्ने तयारी रहेको आयोजकले जनाएको छ। खास गरेर मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा, भोजपुर र उदयपुरबाट बढी मानिस ल्याउने तयारी आयोजकले तारतम्य मिलाएको बुझिएको छ।
यी स्थानबाट चल्ने गाडी पार्टी कार्यक्रमका लागि रिजर्व गरिएका कारण राजमार्गमा सवारीसाधन नपाएको गुनासो यात्रुको छ।